वर्ष २०७६ : एसिड प्रहार, बैंक ह्याक, सुन तस्करी र धर्मको आवरणमा अपराध | Khabarhub Khabarhub

वर्ष २०७६ : एसिड प्रहार, बैंक ह्याक, सुन तस्करी र धर्मको आवरणमा अपराध

सिरिन्ज आक्रमणदेखि इन्काउन्टरसम्म


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले जति नै सुरक्षा सतर्कता बढाएको भने पनि वर्ष २०७६ पनि अपराधका दृष्टिकोणबाट धेरै परिवर्तन देखिएन ।

अपराधीले नयाँ शैली अपनाएर प्रहरीलाई झुक्याएको देखियो । अनौठो घटना सिरिञ्ज आक्रमणदेखि विदेशीले आपराधिक समूहले गरेको बैंक ह्याकसम्मका घटना यो वर्ष भए ।

यसबाहेक अघिल्ला वर्षझैं यो वर्षपनि हत्या, लागूऔषध तस्करी, धम्की, फिरौती, बलात्कार जास्ता घटना दोहोरिए । त्यस्तै अपराधीवरुद्ध प्रहरी इन्काउन्टर पनि यो वर्ष दोहोरियो ।

अपराधको हिसाबमा कस्तो रह्यो त वर्ष २०७६ ?

चिनियाँ नागरिकको बढ्दो संलग्नता

गत पुसमा प्रहरीले अवैध बसेको तथा आर्थिक अपराधमा संलग्न रहेको आशंकामा काठमाडौंका विभिन्न स्थानमा छापा मार्दा १२२ जना चिनियाँ पक्राउ परे । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै ठूलो अपरेसन हो। यसबाहेक पनि यो वर्ष चिनियाँ नागरिक संलग्न अपराधमा घटना शृङ्लाबद्ध देखिए ।

त्यसअघि १५ भदौमा बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परे । त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिए । यो घटनामा चिनियाँ नागरिकलाई सहयोग गर्ने तीन नेपाली पनि समातिए ।

प्रहरीका अनुसार एटीएको पीन ह्याक गरी पैसा निकाल्ने मुख्य व्यक्ति चिनियाँ नागरिक नै थिए । त्यसैगगरी १२ मंसिरमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन जना चिनियाँलाई पक्राउ गर्‍यो । त्यस्तै साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज अवैध चार किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे ।

भदौमा मात्र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले विवाहको बहानामा नेपाली युवती चीनमा बेचेको आरोपमा १० जनालाई पक्राउ गर्‍यो । जसमध्ये ६ जना नेपाली र चार चिनियाँ नागरिक थिए ।

भदौ महिनामै जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परे । टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेका दुई चिनियाँ काठमाडौंमा पक्राउ परे ।

यसबाहेक पनि वन्यजन्तुका अंग, जडीबुटी तस्करी, ह्याकिङ तथा अवैध चिकित्सकीय अभ्यासका घटनामासमेत चिनियाँको संलग्नता देखियो ।

यो पनि पढ्नुहोस्

यस्तो छ नेपालमा बढ्दो चिनियाँ दबाबको नालीबेली

आवरण धर्मको : घटना हत्या, बलात्कार र ठगी

यो वर्ष पनि धर्मको आवरणमा हुने घटना दोहोरियो । धर्मकै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायतका अपराधका घटनामा धर्मगुरुहरूहको वास्तकिवता उदाङ्गो भयो ।

आफूलाई बुद्धको रूप अर्थात लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लाग्यो तर पीडित परिवारले खोजतलास गर्न प्रहरीमा निवेदन दिएको एक वर्ष बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन । उनी अहिले प्रहरीको खोजी सूचीमा छन् ।

माघ दोस्रो साता गुल्मी जिल्ला घर भएर बाबा बनेका विजय भण्डारीले ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा निवेदन परेपछि पक्राउ पूर्जी जारी भएको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरी थुनामा छन् ।

यसबाहेक युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दीपक भण्डारी पनि यही वर्ष पक्राउ परे । बाराको रमपुर्वा गाउँमा करिब पाँच वर्षदेखि साधु बाबाको भेषमा बस्दै आएका रामेश्वर भनिने हरिनारायण शर्मा जबर्जस्ती करणी अभियोगमा पक्राउ परे ।

ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी अनुयायीलाई बलात्कार गरेको आरोपमा यही वर्ष पक्राउ गरियो । प्रहरीका अनुसार, उनले पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ भन्दै भ्रम छरेर एक युवतीलाई पटक–पटक करणी गरेको आरोप लागेको थियो ।

यो पनि पढ्नुहोस्

धर्मको आवरणमा अपराध : हत्या, बलात्कारदेखि ठगीसम्मका घटना

पाँचथरमा ९ जनाको हत्या

वर्ष २०७६ को जेठ ७ गते मध्यराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा सुतिरहेको अवस्थामा दुई परिवारका नौ जनाको हत्या भयो ।

एक परिवारको पाँच र अर्को परिवारका चार गरी नौ जनाको हत्या भएपछि अनुसन्धानका लागि खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको खुलेको थियो ।

दोहोरियो इन्काउन्टर

नेपालमा प्रहरीको इन्काउन्टमा थुप्रै व्यक्तिको मृत्यु भइसकेको छ । कयौं मान्छे घाइते बनेका छन् । इन्काउन्टरमा पर्नेमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बढी छन् । केही घटनामा आपराधिक क्रियाकलाप गरेर फरार रहेका पनि छन् । यही क्रम यो वर्ष पनि जारी रह्यो ।

यो वर्ष जेठ, असार, साउन र पुसमा चार इन्काउन्टरका घटना भए । इन्काउन्टरमा गुण्डा नाइकेदेखि लुटेरासम्म तीन जना घाइते बने । एकजनाको भृत्यु भयो ।

प्रहरी इन्टकाउन्टरको शृंखला
– २०७६ पुस २७ गते, काठमाडौंको बौद्धमा इन्काउन्टर, गुण्डानाइके विष्णु तामाङ घाइते
– २०७६ साउन २४ गते, काठमाडौंको विजेश्वरीमा इन्काउन्टर, लुटेर मिलन लामा घाइते
– २०७६ जेठ ६ गते, काठमाडौंको टोखाका इन्काउन्टर, डाका विष्णु तामाङ घाइते
– २०७६ असार ५ गते, सर्लाहीको लालबन्दीमा प्रहरी इन्काउन्टरमा परि नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु ।

यी मध्ये सर्लाहीको लालबन्दी घटनाको निकै चर्चा भयो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षले गर्‍यो भने मृतक पक्षले हत्या भएको दाबी गरिरहेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले पनि घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेको थियो । आयोगले कात्तिक ४ मा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको निष्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरीलाई कारबाही सिफारिस गरेको छ । आयोगको निर्देशन सरकारबाट कार्यान्वयन भएको छैन ।

यो पनि पढ्नुहोेस्

‘प्रहरी इन्काउन्टर’को नालीबेली: लुटेरादेखि ‘गुण्डा’ नाइकेसँगको मुठभेड !

मिर्गौला तस्करी

गत असोज २९ गते ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा भएको एउटा घटनाले बिरामीहरू अस्पतालमै सुरक्षित छैनन् भन्ने स्पष्ट पारेको छ । जहाँ अञ्जान व्यक्तिको मिर्गौला ललाई फकाई प्रत्यारोपण गरिएको थियो ।

मिर्गौलाको समस्या भोगिरहेका रामेछाप दोरम्बा–३ का शंकरलाल लामा निदान अस्पतालमा भर्ना भएका थिए । उनको मिर्गौला पत्यारोपण गर्नुपर्ने देखियो । सोही अनुसार लामालाई मिर्गौला दान गर्ने व्यक्ति उनैका भान्जा खडा गरियो । प्रक्रियाका लागि मात्र भान्जा देखाइए पनि अर्कै व्यक्तिबाट मिर्गौला निकालिएको घटना पर्दाफास भयो ।

घटनाको वास्तविकता बाहिर आएसँगै प्रहरीले संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गर्‍यो ।

यो पनि पढ्नुहोस्

एक दशक यता मिर्गौला तस्करीका ९ घटना, नक्कली नाता गाँस्दै झिकिए मिर्गौला

एसिड आक्रमणको त्रास

गत भदौमा विद्यालय जाने क्रममा पर्सामा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भयो । वीरगञ्ज महानगरपालिका छपकैयाको आफनो घरबाट विर्तास्थित त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगञ्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो ।

त्यस्तै २०७६ जेठ १ गते बुधबार राति, काठमाडौं कालोपुलमा २२ वर्षीया जोनी खड्कालाई श्रीमानले एसिड आक्रमण गरे । अहिलेसम्म भएका एसिड आक्रमणका घटनाको अध्ययन गर्दा प्रायःजसो महिलालाई चरम यातना, पीडा दिने, कुरुप र अन्धो तथा अपांग बनाउने उद्देश्यबाट भएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना

बलात्कारको आरोपमा गुम्यो सभामुख पद

यही वर्ष असोज १९ गते संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परे ।

महरामाथि असोज १२ गते राति संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयासको आरोप लागेको थियो । आरोपछि उनले असोज १४ गते सभामुखबाट राजीनमा दिए ।

बलात्कार उद्योग मुद्दामा डिल्लीबजार कारगारमा करिब १०३ दिन बसेका महरालाई फागुन ५ गते जिल्ला अदालत काठमाडौँले सफाइ दियो ।

शक्तिशाली नेता आलम पक्राउ

असोज २६ गते रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परे । २०६४ चैत २७ गते राजपुरको बम विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई रौतहटको इद्रिस गेट अगाडिबाट पक्राउ गर्‍यो ।

आलमलाई जिल्ला अदालत रौतहटले कात्तिक २९ गते पुर्पक्षका लागि जेल चलानको आदेश दियो । अदालतको आदेश लगत्तै उनलाई रौतहट जिल्ला कारागार चलान गरिएको थियो । सुरक्षाको कारण देखाउँदै सोही दिन राति ललितपुरको नख्खु कारागार ल्याइएको थियो । अहिले आलम जेलमा छन् ।

पूर्वसचिवकी श्रीमतीको रहस्यमय हत्या

गत माघ २७ गते पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित आफ्नै निवासमा हत्या भएको अवस्थामा फेला परिन् । उनकै घरमा काम गर्ने व्यक्ति सोही निवासमा मृत फेला परे ।

रहस्यमय ढंगबाट दुईजना मृत फेला परेसँगै प्रहरीले घटनाको अनुसन्धान थाल्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कामदारले कार्कीकी श्रीमती मुनाको हत्या गरेको देखिएको छ ।

अहिले पनि प्रहरीले कामदारले मुनाको हत्या गर्नुको कारण खोजिरहेको छ । यद्यपी टुंगो लगाउन भने सकेको छैन ।

यो पनि पढ्नुहोस्

श्रृङ्खलाबद्ध सिरिन्ज आक्रमण : प्रहरी भन्छ– आत्तिनु पर्दैन

शृङ्खलाबद्ध सिरिन्ज आक्रमण

यो वर्ष घटेको अर्को अनौठो घटना सिरिन्ज आक्रमणको हो । जुन घटनाले युवती तथा महिलामाझ त्रास फैलायो । प्रहरीमा परेको उजुरी अनुसार, युवती लक्षित ‘सिरिन्ज’ आक्रमणका घटना भएका छन् ।

दुई साताको अवधिमा राजधानीमा ५ महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरेको उजुरी प्रहरीमा परेको थियो । पछि असार १३ गते युवतीमाथि शृङ्खलाबद्ध रुपमा भइरहेको सिरिञ्ज आक्रमणमा संलग्न युवक पक्राउ परे ।

प्रहरीले रामेछापमा सन्तोष कार्कीलाई पक्राउ गरेको थियो । रेष्टुरेण्ट व्यवसायी कार्कीले बयानका क्रममा कार्कीले रमाइलोका लागि त्यस्तो गरेको स्वीकारे ।

शृङखलाबद्ध विष्फोट

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले यही वर्ष राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट गरायो ।

काठमाडौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भयो । सात जना घाइते भए ।

सुकेघारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । दुबै घटनामा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बम बनाउने क्रममा विस्फोट भएको थियो ।

यो पनि पढ्नुहोस्

विप्लवविरुद्ध प्रहरीको ‘एक्सन’– ४ महिनामा १० थान हतियार फेला

अपराधका घटनामा आएन कमी

अघिल्लो वर्ष साउनमा कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान यो वर्ष पनि टुंगोमा पुग्न सकेन ।

पछिल्ला वर्षमा नयाँ नयाँ प्रविधि प्रयोगबाट हुने अपराधका घटना बढेका छन् । साइबर क्राइमका घटना बढेका छन् ।

व्लाकमेलिङ, इमेलमा आउने धम्की, कम्प्यूटरको सूचना चोरी, गोपनीयता भंग, एटीएमबाट पैसा चोरी लगायतका घटना पनि यो धेरै भए ।

यसबाहेक सुन तस्करी, बोक्सीको आरोपमा हुने दुव्र्यवहार, दाइजो नपाएको निहुँमा हुने हिंसा, यौन दुव्र्यहारलगायत महिला हिंसाका घटना पनि दोहोरिए ।

यो वर्ष बाल यौन दुराचारका घटनाका घटनासँगै लागुऔषध तस्करी, चोरी, लुटपाट, वन्यजन्तु अपराधलगायतका घटना पनि दोहोरिए ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : २८ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार