धर्मको आवरणमा अपराध : हत्या, बलात्कारदेखि ठगीसम्मका घटना | Khabarhub Khabarhub

धर्मको आवरणमा अपराध : हत्या, बलात्कारदेखि ठगीसम्मका घटना



काठमाडौं– पछिल्लो समय धर्मको आवरणमा अपराधका घटना बढ्दै गएका छन् ।

धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा धर्मगुरुहरु संलग्न हुन थालेका छन् ।

यो अपराध कुनै एक धर्ममा मात्र सीमित छैन । जुनसुकै धर्म अबलम्बन गरेपनि धार्मिक गुरुका नाममा स्वार्थ लुट्ने गिरोह बढ्न थालेको छ । आफूहरुलाई धर्म गुरु बनाउनेहरुले आफ्नो स्वार्थ लुट्ने गरेको पाइएको छ ।

यही धर्मका आडमा अपराध कर्ममा लागेका केही धर्मगुरुहरुको वास्तविकता उल्लेख गरिएको छ ।

घटना नम्बर १  : आफू लाई बुद्धको रुप अर्थात लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनमाथि एक वर्षअघि चारजना अनुयायीलाई बेपत्ता बनाएको आरोप लागेको थियो ।

पीडित परिवारले खोजतलासका लागि प्रहरीमा निवेदन दिएको एक वर्ष बितिसक्दा पनि प्रहरीले बम्जनलाई फेला पार्न सकेको छैन । प्रहरी प्रवक्ता डीआईजी शैलेस थापाका अनुसार, अहिले पनि बम्जन प्रहरीको खोजी सूचीमा छन् ।

बम्जन माथी मकवानपुरकी फूलमाया रुम्बा, नुवाकोटकी कर्मा भनेर चिनिने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल बाइबा र बाराका सुरेशकुमार आले मगर बेपत्ता बनाएको भनेर उजुरी परेको थियो ।

उनीहरुको हत्या भएको हुन सक्ने आशंका गरिएपनि अहिले सम्म प्रहरीले प्रमाण भेट्टाउन भने सकेको छैन । यो विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।

घटना नम्बर २ : १६ मंसिर २०७६ मा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा सुनसरी बराहस्थित हनुमान मन्दिरका पुजारी सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परेर धरौटीमा छुटेका थिए ।

तर, माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई पुनः पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । आदेश आउनु भन्दा केही घण्टा अघि मात्र उनि भारततर्फ फरार भए ।

घटना नम्बर ३ : धर्मको आडमा अपराध गरेको आरोपमा अर्का ‘बाबा’ पनि गिरी सँगसँगै फरार छन् । माघ दोस्रो साता गुल्मी जिल्ला घर भएर बाबा बनेका विजय भण्डारीले ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा निवेदन परेपछि पक्राउ पूर्जी जारी भएको छ ।

उनले पछिल्लो समय २५ करोडभन्दा बढी रकम संकलन गर्ने योजना बनाएर चितवनमा कोटी होम चलाइरहेका थिए । तर ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएसँगै अहिले कोटीहोम कार्यक्रम स्थगित भएको छ ।

घटना नम्बर ४  : २८ पुस २०७६ मा युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दिपक भण्डारी पक्राउ परे । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार, उनले ४ जनालाई युरोप लगिदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेका थिए ।

एसएसपी थापाका अनुसार, स्थायी घर गुल्मी भएका भण्डारीले युरोपका विभिन्न ठाउँका तस्वीर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् ।

घटना नम्बर ५ : २० माघ २०७६ बाराको रमपुर्वा गाउँमा करिब पाँच वर्षदेखि साधु बाबाको भेषमा बस्दै आएका रामेश्वर भनिने हरिनारायण शर्मा जबर्जस्ती करणी अभियोगमा पक्राउ परे ।

भारतको राजस्थान बुन्दी जिल्ला, थाना पाटन, सिन्ता ग्राम पञ्चायत बस्ने वर्ष ५३ का रामेश्वर भनिने हरिनारायण शर्मा १३ वर्षीया एक किशोरीलाई करणी गरेको अरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, उनले पीडितलाई आफ्नो चंगुलबाट उम्कन नदिएर धाकधम्की देखाइ जबर्जस्ती कारणी गरी भाग्न लागेको अबस्थामा पक्राउ गरिएको हो ।

घटना नम्बर ६ : २७ पुस २०७६ साँझ ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने ध्रुवबाबा जोशी अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे ।

प्रहरीका अनुसार, उनले पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउनुहुन्छ भन्दै भ्रम छरेर एक युवतीलाई पटक–पटक करणी गरेका थिए ।

यो घटनाको विषयमा अहिले महानगरीय प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

घटना नम्बर ७  : २५ चैत २०७५मा मोरङको रामजानकी मन्दिरमा ‘बाल सन्त स्वामी श्रीनिवासाचार्य’ माथि गोली प्रहार भयो । घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

तर, अनुसन्धानका क्रममा श्रीनिवासाचार्य आफैंले चितवन, बेलचोक घर भएका बडीगार्ड माधव चौधरीलाई आफूमाथि गोली हान्न लगाएको खुल्यो । प्रहरी अनुसन्धान अनुसार, उनले धार्मिक एजेन्डालाई उग्र बनाउन भन्दै यस्तो हर्कत गरेका थिए ।

घटना नम्बर ८ : ५ जेठ २०७५ बर्दिबास नगरपालिका ३ भब्सीस्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका प्रमुख पूजारी बसन्त बलम्पाकी हात हतियारसहित पक्राउ परे ।

भोले बाबाको भेषमा अपराधिक तथा यौनजन्य क्रियाकलाप गर्ने आरोपमा उनलाई प्रहरीले चार थान खुकुरीसहित पक्राउ गरेको थियो ।

स्थानीयका अनुसार, उनले झारफुकको लागि मन्दिर पुग्ने मानसिक रोगीलाई गाँजा खुवाउने, निगार खुवाउने, त्यसले नपुगे बेहोस् बनाएर कुटपिट गरी उपचार गर्ने गरेका थिए । यतिमात्र होइन, झारफुकको लागि मन्दिरमा पुग्ने युवतीलाई महिना दिनसम्म राखेर यौन शोषण गर्ने गरेको स्थानीयको आरोप छ ।

घटना नम्बर ९ : १९ असोज २०७४ मा काठमाडौंको दक्षिणकाली बोसन गाउास्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान योञ्जन टुल्कु लामामाथि बलात्कारको आरोप लाग्यो ।

घटनाको अनुसन्धान गरेका तत्कालिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) प्रमुख पुष्कर कार्कीका अनुसार, झारफुक गर्न गुम्बामा पुगेकी युवतीमाथि ५७ वर्षीय लामाले करणी गरेका थिए ।

पछि मंसिर ५ मा उनीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले १५ असोज २०७५ मा लामालाई साइबर अपराध मुद्दामा ५० हजार जरिवाना र पीडितलाई १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गर्‍यो ।

पछि २९ असोज २०७६ मा उच्च अदालत पाटनले करणीकै कसुरमा दोषी ठहर गर्दै ७ वर्ष कैद र पीडितलाई ३० लाख क्षतिपूर्ति भराउने फैसला सुनायो ।

माथि उल्लेखित घटना त धार्मिक आवरणमा हुने गरेका अपराधका यी केही उदाहरण मात्र हुन् ।

धार्मिक आवरणमा हुने आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको सुरक्षाविदहरु बताउँछन् । प्रहरी प्रवक्ता डीआईजी थापा भन्छन् – ‘मन्दिरका पुजारी, चर्चका पास्टर, गुम्बाका रिम्पोछेलगायत विभिन्न धर्मभिरु व्यक्तिहरु हत्या, बलात्कार, ठगीजस्ता अपराधमा मुछिएका छन् ।’

धर्मगुरुलाई मानिसले विश्वास गर्ने भएकाले पनि सर्वसाधारणको विश्वासलाई नै घात गर्दै धर्मगुरुहरु आपराधिक गतिविधिमा सजिलै छिर्ने गरेका छन् । पूर्वडीआइजी हेमन्त मल्ल भन्छन् – ‘धर्म गुरु भनेपछि व्यक्तिले पत्याउने, व्यक्तिगत समस्या लगायत जतिपनि समस्या हल हुन सक्ने भन्ने भ्रम हुन्छ । र नजिकिदै जाँदा शारीरिक शोषण लगायतका घटना हुने गरेको पाइएको छ ।’

धार्मिक आवरणमा खेल्ने धर्मगुरु बढेकाले यसलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय भएर लागेको छ । प्रहरी प्रवक्ता थापा भन्छन् – ‘धार्मिक आस्थाको आवरणमा खेलवाड गर्ने अधिकार कसैलाई छैन । जो सुकैले जुनसुकै बहानामा अपराध गरोस् उसले कसुर अनुसारको कारवाही भोग्नुपर्छ ।’

प्रवक्ता थापाले यस्ता आडम्बर ढोंगी र गलत क्रियाकलापहरुको पछि नलाग्न समेत आम नागरिकसँग अनुरोध गरेका छन् ।

धार्मिक गतिविधिसँगै धर्मगुरुप्रति सर्वसाधारणको विश्वास बढ्दा बलात्कार, हत्या तथा ठगीका घटना बढ्दो रहेको पूर्वडीर्आजी मल्ल बताउँछन् । उनले भने, ‘धर्म प्रति विश्वासले गर्दा धर्म गुरु प्रति विश्वास बढेको हो । त्यही विश्वास माथि उनिहरुले खेलवाड गर्ने गरेको पाइएको छ । त्यसैले आम नागरिकमा सचेतना जगाउनु आवश्यक छ ।’

जोगी, बाबा, रिम्पोछे, पादरीलगायतको खोल ओढेर अनुयायीमाथि बलात्कारजस्ता जघन्य अपराध गर्ने तथाकथित धर्मगुरुलाई दण्डित गर्नुपर्ने सुरक्षाविज्ञ बताउँछन् । यसका साथसाथै कुनै पनि धर्मले दुर्व्यवहार गर, अपराध गर भन्दैन र गेरु वस्त्रधारी सबै धर्मगुरू होइनन् भन्ने आमनागरिकमा सचेतना फैलाउनु आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०