नेपाल–चीन सीमा विवाद संयुक्त अनुगमन गरेर समाधान गर्न सुझाब | Khabarhub Khabarhub

नेपाल–चीन सीमा विवाद संयुक्त अनुगमन गरेर समाधान गर्न सुझाब


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र चीनका बीच रहेको सीमा विवाद संयुक्त सीमा निरीक्षण, आधुनिक जीपीएस प्रणालीको उपयोग तथा राजनीतिक र कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने धारणा अध्येताहरूले प्रकट गरेका छन् ।

शुक्रबार पेभेलियन हलमा आयोजित ‘खबरहब बहस’ मा सहभागी वक्ताहरूको समान धारणा थियो– चीनसँग सीमा विवादको कुरा धेरै सार्वजनिक नहुने भए पनि विवाद छैन वा कतै पनि अतिक्रमण भएको छैन भनेर ढुक्क हुन सकिँदैन ।

कार्यक्रममा सहभागीहरु के भन्छन् (भिडियो)

वक्ताहरूले चीनले नेपालको सीमा मिच्दैन, मिच्ने काम त भारतको मात्रै हो भन्ने जबरजस्त भाष्य निर्माण हुन थालेको र यो चिन्ताको कुरा रहेको पनि बताए । छिमेकी देशसँगको विवादमा कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाब दिएका छन् ।

हुम्लामा चीनसँगको सीमा विवादबारे ‘खबरहब बहस’मा सहभागीहरु । तस्वीरः खबरहब ।

अर्थ राजनीतिक विश्लेषक अच्युत वाग्लेले चीन र भारतसँग नेपालको सम्बन्ध अन्तनिर्भरतामा आधारित हुन नसकेकाले नेपाल जटिलतामा पर्दै गएको बताए । नेपाललाई चीन र भारत दुवैतिरबाट आयात गर्न आवश्यक पर्ने तर उनीहरू दुवैलाई नेपालसँग कुनै वस्तुमा पनि भर पर्नु नपर्ने अवस्था रहेको उनको भनाइ छ ।

वाग्लेका अनुसार नेपाल–भारत व्यापार अनुपात एक : सात छ । अर्थात् भारतबाट नेपालले सात करोडको आयात गर्दा एक करोडको निर्यात गर्छ । भूकम्पपछि चीनसँग भने अनौठो व्यापार सम्बन्ध बनेको छ । नेपाल–चीन व्यापार अनुपात एक : तीन सय छ । अर्थात् नेपालले एक करोडको निर्यात गर्दा चीनबाट तीन अर्बको आयात गर्छ ।

भूकम्पपछि नेपाल चीन नाकाहरू करिब बन्दको अवस्थामा छन् । कोभिड प्रसार रोक्न भन्दै चीनले नाकाहरू बन्द गर्‍यो । वाग्लेले प्रश्न गरे, ‘भारतले पनि त्यसै गरी नाका बन्द गरेको भए के हुन्थ्यो ?’ उनले भूकम्पयता हालसम्म केरुङ नाकामा मात्रै नेपाली व्यवसायीका १४ सय कन्टेर विभिन्न सामान खेर गएको बताए ।

उनले चीनसँगको सीमा अध्ययन र संयुक्तरूपमा प्रमाणीकरणको कुरामा राजनीति नगर्न आग्रह गरे । उनले नेपालको कूटनीति र परराष्ट्र नीति पुनर्परिभाषित गर्न आवश्यक रहेको पनि बताए ।

वाग्लेले चीनसँग कोरोना भेरोसेल खोप ल्याउँदा सार्वजनिक गर्न नमिल्ने गोप्य सम्झौताको औचित्य माथि प्रश्न उठाए । उनले प्रश्न गरे, ‘अरू देशसँग पनि गोप्य हुन्छ कि चीनसँग मात्रै ?’

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै प्राध्यापक उद्धव प्याकुरेल । तस्वीरः खबरहब ।

प्राध्यापक उद्धव प्याकुरेलको विचारमा नेपालमा भारतसँगको सीमा विवादमा तुरुन्तै प्रक्रिया जनाउने तर चनिसँगकोमा मौन बस्ने प्रवृत्ति छ । उनले चीनसँग सीमा सम्झौता गर्दा त्यति बेला विवाद रहेका ठाउँहरूमा राजनीतिक र लेनदेनका आधारमा टुङ्गो लगाइएको बताए ।

उनका अनुसार हरेक १० वर्षमा सीमा पुनरावलोकन अर्थात अनुगमन गर्ने भनिकोमा त्यसो हुन नसकेको छैन । उनले भने, ‘पुनरावलोकन भएको भए विवाद हुने थिएन ।’

प्याकुरेलले नेपालमा चीनले नेपालको अहित हुने कुनै पनि काम गर्दैन, सीमा मिच्दैन भन्ने धारणा बन्न थालेको पनि बताए । उनले नेपाललाई दुवै छिमेकीबाट सीमामा जोखिम रहेको र नेपाल सोहीअनुसार चनाखो हुनुपर्ने बताए ।

हुम्लामा चीनसँगको सीमा विवादबारे ‘खबरहब बहस’मा सहभागीहरु । तस्वीरः खबरहब ।

राजनीतिक लेखक तथा विश्लेषक देवेश झाले हालै नियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सन्तुलित परराष्ट्र नीतिबारे स्थलगत अध्ययन गर्न सुझाब दिए । उनले नेपालले एक चीन नीति स्वीकार गरेपछि तिब्बतसँग भएका सबै सम्झौताहरू ओझेलमा परेको पनि बताए ।

उनले चीनबाट रेल आउँछ भन्ने सन्दर्भ कोट्याउँदै प्रश्न गरे, ‘चीनबाट रेल आयो भने के लिएर आउँछ र के लिएर फर्किन्छ ?’ उनले नेपाल सरकाले भारतसँगको सीमा विवाद ९८ प्रतिशत समाधान भएको भनेको भए पनि ठाउँठाउँमा विवाद छ भने चीनसँग कहीँ पनि समस्या छैन भन्न नसकिने बताए ।

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै नागरिक अगुवा गणेशकुमार मण्डल। तस्वीरः खबरहब ।

नागरिक अगुवा गणेशकुमार मण्डलले चीनसँग सीमा विवाद छ र चीनले नेपाली भूमि मिचेको छ भन्न डराउनुपर्ने अवस्था रहेको बताए । उनले केही जिल्लामा सीमा स्तम्भहरू चीनले आफ्नोतिर पारेको बताए । उनको विचारमा चीनसँगको सीमा क्षेत्रमा नेपाली सुरक्षा चौकी नहुनुले पनि समस्या उत्पन्न भएको छ ।

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै भूराजनीतिका अध्येता तथा विश्लेषक अरुणकुमार सुवेदी । तस्वीरः खबरहब ।

भूराजनीतिका अध्येता तथा विश्लेषक अरुणकुमार सुवेदीले नेपाल–चीन सीमाका स्तम्भ र बिन्दूहरूको जीपीएस कोअर्डिनेट सार्वजनिक गर्न माग गरे । उनका अनुसार अहिले ११ र १२ नम्बरका पिलरको जीपीएस कोअर्डिनेट सार्वजनिक गर्ने हो भने नापीको सामान्य प्राविधिकले पनि सीमाको कुरा भन्न सक्छ ।

नेपाल र चीनबीच सीमा प्रोटोकलमा हस्ताक्षर नहुँदा नेपालको सीमा मिचिँदै जाने खतरा रहेको सुवेदीको भनाइ छ । उनले भने, ‘आगामी १५–२० वर्षमा धेरै हिमाली टाकुराहरू कागजमा मात्रै नेपालका रहनेछन् ।’ उनले सगरमाथा चुचुरोलाई चीनले सीमा बिन्दु भनेकोका आपत्ति प्रकट गरे । उनले भने, ‘चीनसँगको सीमा स्थिति निकै गम्भीर छ ।’

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै कांग्रेस सांसद रङ्गमती शाही । तस्वीरः खबरहब ।

हुम्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद रङ्गमती शाहीले १२ नम्बरको सीमा स्तम्भ चीनले नयाँ बनाएको र ९ नम्बरको सीमा स्तम्भ फुटाएर त्यसलाई चीन भित्र पारेर तारबार गरेको बताइन् । उनले आफ्नो भूमि मिचिएकोले जनप्रतिनिधिको हैसियतले आफू बोलेको बताइन् ।

उनका अनुसार हुम्लामा नेपाली भूमि मिचिएको प्रष्ट प्रमाण छ । उनले हालै सरकारले पठाएको अध्ययन टोलीले जस्ताको तस्तै प्रतिवेदन बुझाउने विश्वास प्रकट गरिन् ।

हुम्लामा चीनले सीमा मिचेकोबारे प्रस्तुती दिँदै पूर्वराजदूत विजयकान्त कर्ण । तस्वीरः खबरहब ।

पूर्वराजदूत विजयकान्त कर्णले लामो समयदेखि सीमाको संयुक्त अनुगमन हुन नसक्दा नेपाली भूमि मिचिएको बताए । उनले सन् १९६२ मा भएको सम्झौता दुवै पक्षले मान्नु पर्ने र सोहीअनुसार सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कर्णले सरकार आफैँले सीमा क्षेत्र निरीक्षण गर्न पठाएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई दुःख दिएको भन्दै आपत्ति प्रकट गरे । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको सहायक प्रमुख जिल्ला अधिकारीलाई सरकारले सरुवा गरेको थियो । उनले आफ्नो सीमा अध्ययन गर्न डराउनुपर्ने कारण नरहेको बताए ।

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै पत्रकार पंकज दास । तस्वीरः खबरहब ।

पत्रकार पंकज दासले चीनसँग सात वटा जिल्लामा सीमा विवाद भए पनि सरकार जानीबुझी हुम्लामा मात्रै केन्द्रित हुन खोजेको शंका गरे । उनले चीनसँगको सबै सीमाना अध्ययन, अनुगमन र पुनरावलोकन हुनुपर्ने बताए । आफूलाई राष्ट्रवादी हुँ भन्नेहरू चीनले सगरमाथा दाबी गरेको विषयमा मौन रहेको आरोप लगाए ।

हुम्लामा चीनसँगको सीमा विवादबारे धारणा राख्दै पत्रकार युगनाथ शर्मा पौडेल । तस्वीरः खबरहब ।

पत्रकार युगनाथ शर्मा पौडेलले सगरमाथा नेपाल र चीनको साझा हो भन्ने कुरा आएको भन्दै आपत्ति प्रकट गरे । उनले भने, ‘सगरमाथा सधैँ नेपालको हो, कहिल्यै पनि हुँदैन, पहिले पनि थिएन ।’ उनले हुम्लामा सीमा अध्ययन गर्न टोली पठाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए ।

कार्यक्रममा धारणा राख्दै पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ साथमा कांग्रेस सांसद रङ्गमती शाही । तस्वीरः खबरहब ।

कार्यक्रमको सुरुमा पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले नेपाल-चीन सीमा विवाद र व्यापार सम्बन्ध लगायतका विषयमा विज्ञहरूबीच छलफल गराउन चाहेको बताए । श्रेष्ठले कार्यक्रममा अन्त्यमा वक्ताहरूलाई धन्यवाद दिए ।

हुम्लामा चीनसँगको सीमा विवादबारे ‘खबरहब बहस’मा सहभागीहरु । तस्वीरः खबरहब ।

कांग्रेस नेता शाही भन्छन्- चीनले हुम्लाको नेपाली भूमिमा चिनियाँ झण्डा गाडेको छ (भिडियो)

यो पनि पढौँ

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : २७ बजे

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र