नेपाली सिनेमा – दर्शक नभएका होइनन्, नआएका !

अर्घेलो थापा

मङ्लबार, जेष्ठ १४, २०७६

Reading Time: 6 minutes

नेपाली सिनेमा – दर्शक नभएका होइनन्, नआएका !

काठमाडौं–गत जेठ ३ गते एकै दिन दुई सिनेमा प्रदर्शन गरिए । स्टारकास्टका हिसाबले ती दुवै सिनेमा प्रदर्शनअगावै चर्चामा थिए । अर्कातिर दुवै सिनेमा सफल चलचित्रका सिक्वेलका रुपमा निर्माण गरिएका थिए । प्रदर्शन हुने दिनसम्म दुवै चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्ने आँकलन गरिएको थियो । तर, सिनेमा प्रदर्शनपछि दर्शकले आफ्नै व्यक्तिगत समीक्षाको तराजुमा दुवै सिनेमालाई तौलिन थाले । जुन सिनेमा राम्रो लाग्यो, सोही सिनेमाले पैसा छाप्यो । व्यापक चर्चा कमायो ।

यहाँ कुरा गरिएको हो, एकसाथ प्रदर्शन भएका दुई सिनेमा ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को ।

यसअघि नेपालका सिनेमा हल हलिउड सिनेमाले ‘हाउसफूल’ गराइरहेका बेला ‘जात्रै जात्रा’ यस्तो सिनेमा बनेर आइदियो, जसले एक सातासम्म हाउसफूलको व्यापार गर्ने ल्याकत राख्यो । तर, सोही मितिमा प्रदर्शन भएको अर्को सिनेमा ‘वीर विक्रम २’ मा चलेका कलाकार भएर पनि हलका सिट दर्शकले भरिएन् । यसबाट स्पष्ट हुन्छ कि, अब नेपाली सिनेमा हेर्ने दर्शक चानचुने सिनेमामा अल्झिनेवाला छैनन् । बलिउडमा पनि आमिर खान र शाहरुख खानका सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जीरो’ बक्स अफिसमा फ्लप हुनु र आयुष्मान खुरानाका सिनेमा ‘अन्धाधुन’ र ‘बधाई हो’ ले अकल्पनीय व्यापार गर्नुले पनि यही कुरा पुष्टि गर्छ ।

नेपाली सिनेमाले सीमित दर्शक मात्र पाएको छैन । हल सङ्ख्या पनि सीमित पाउने गरेको छ । अर्कातिर दूरदराजमा सिनेमा हलको चलन छैन । ती दर्शकले सिनेमा हेर्ने मौका त्यही युट्युबको ‘प्लेटफर्म’ मा पाएका छन्

नेपाली बजारमा पनि समीक्षाले ठूलो प्रभाव पारेको हुन्छ । भारतमा समीक्षात्मक रुपमा असफल चलचित्र नेपालमा पनि असफल हुने गरेका उदाहरण छन् ।

एउटा रमाइलो कुरा के छ भने, हिजो हिन्दी र अङ्ग्रेजी सिनेमालाई बढी ‘शो’ दिने र नेपाली सिनेमा भनेपछि नाक खुम्च्याउने हलवालाहरुले पनि ‘जात्रै जात्रा’ लाई पर्याप्त ‘शो’ दिएका छन् । नेपाली सिनेकर्मीका लागि अझ खुशीको कुरा, तीमध्ये कतिपय शो दोस्रो हप्तामा पनि हाउसफूल छन् । नेपालमा यस्तासम्म उदाहरण छन्, चल्तीका स्टार भएका सिनेमाले पनि प्रदर्शनको पहिलो दिन नै पानी खान पाएका थिएनन् । दोस्रो दिनमा आइपुग्दा हलबाट ती सिनेमाका ‘शो’हरु हटाइएका थिए ।

नेपालका हल विदेशी सिनेमाले कब्जा गरिरहेको छ भन्ने आवाज उठ्दै जाँदा नेपाली सिनेमाले पनि कम्तीमा आशा देखाउनु पक्कै सामान्य कुरा होइन ।

‘वीर विक्रम २’ किन चलेन र ‘जात्रै जात्रा’ किन चल्यो भनेर सिनेकर्मीले मूल्याङ्कन मात्र गरे भने पनि धेरै निर्माता जोगिने अवस्था आउँछ । तर यहाँ झनभन्दा झन् कमसल सिनेमाको निर्माण हुँदा दर्शक भड्किने काम सिनेकर्मीबाट भइरहेको छ । जुन निर्माता सिनेमाको मूल मर्मलाई नबुझी कमाइ गर्नका लागि लगानी अरुका हातमा छोडिदिन्छन्, ती निर्माताहरु आफू त डुब्छन् नै । सँगसँगै नेपाली सिनेमाको बजारलाई पनि अस्वस्थ प्रतिस्पर्धाको भुमरीमा घुलमिल गराइदिन्छन् । यस्तो अवस्थामा नेपाली सिनेमाको बजार विदेशमा पनि फैलिनु भनेको ‘पिसाबको न्यायो’ जस्तै हो हालका लागि ।

कतिपयले नेपाली सिनेमाको बजार निकै नै सानो भएको भएर तर्किने गरेका छन् । यसरी तर्किनेहरुले नै नेपाली सिनेमाको भविष्य बिगार्न भूमिका खेलेको भनेर केही सिनेकर्मीले आरोप लगाउँदै आएका छन् । तर, नेपाली सिनेमाको बजार नै छैन भन्नु भनेको सीधा हिसाबमा तर्किने बहाना मात्र हो ।

जबकि, सिनेमा हेरेका प्रत्येक दर्शकबाट गाली खाएको सिनेमा ‘दाल भात तरकारी’ ले पनि व्यावसायिक रुपमा आफूलाई ‘सुरक्षित’ राख्न सफल भएको छ । निर्माण टिमको कुरालाई विश्वास गर्ने हो भने त यो सिनेमाले प्रदर्शनअघि नै आफ्नो लगानी उठाइसकेको थियो । जब सिनेमाले प्रदर्शन अघि नै आफ्नो सिनेमाको लगानी सुरक्षित गर्न सक्छन् भने कसरी नेपाली सिनेमाको बजार छैन भन्न सकिन्छ ?

कम्तीमा दर्शकले पत्याउने शैलीका सिनेमा चाहिँ बन्नुपर्‍यो । तर, दर्शकले आशा गरेका निर्माण टिमबाट ‘दाल भात तरकारी’ जस्ता सिनेमा बने भने नेपाली सिनेमाबाट दर्शकको विश्वास झनै गुम्दै जानेमा दुई मत छैन ।

त्यसो त नेपालमा सिनेमाकै अस्वस्थ प्रतिस्पर्धा छ । पछिल्लो समय सिनेकर्मीहरु ‘बी ग्रेट’ का जस्ता सिनेमा बनाएर आफूलाई घाटामा पार्नुहुन्न भन्नेमा केही सचेत भएका छन् । तर, सिनेमा निर्माणको क्रम जारी छ । दर्शक चाहन्छन् कि, ‘सिनेमा कम्तीमा हेर्नलायक बनून्, हामीले नेपाली भएकैले हेरिदिएको अनुभव गर्न नपरोस् ।’

नेपालमा सिनेमा क्षेत्रको हालत यति ‘बिचरा’ हुनुको एउटा ठूलो समस्या के हो भने, कला भएका सिनेकर्मी (जो नयाँ प्रयोग गर्न चाहन्छन्) ले नेपाली सिनेमा बनाउन अन्तराष्ट्र्रिय स्तरका ‘फण्ड’ को बाटो कुर्नुपर्ने अवस्था छ । राज्यका तर्फबाट नेपाली सिनेमालाई राहतको व्यवस्था छैन । यो ठूलो वितृष्णा हो सिनेकर्मीका लागि ।

अहिले नेपाली सिनेमा युट्युबमा हिट भएकोझैँ देखिएको छ । जुन सिनेमाले पनि हलमा दर्शक पाएझैँ लाग्छ । तर, दर्शकले सिनेमा मन पराएकै कारण हेरेका होइनन्

राज्यले त नेपाली सिनेमालाई हेरेन नै । यहाँ हलवालाले पनि नेपाली सिनेमालाई व्यापारको हतियार मात्र बनाएका छन् । यदि विदेशी सिनेमाको बढी क्रेज छ भने नेपाली सिनेमालाई कम ‘शो’ दिन्छन् । कतिपय नेपाली सिनेमाको मिडियामा समेत चर्चा हुँदैन । दुई/चार दिन निर्माताले हलमा मान्छेको भीड बढेको भन्दै फेसबूकमा पोस्ट गर्छन्, त्यसपछि हराउँछन् ।

हलवालाको अर्को पनि एउटा प्रवृत्ति हुन्छ–उनीहरु नेपाली सिनेमाको भन्दा विदेशी सिनेमाको बढी प्रचार गरिदिन्छन् । घरेलु दर्शकलाई विदेशी सिनेमा हेर्न बाध्य पार्ने प्रयास गर्छन् । नेपाली सिनेमाको प्रचार गर्नुलाई आफ्नो कमजोरीका रुपमा हेर्छन् कतिपय हल सञ्चालक ।

तर, यो प्रवृत्तिले पछिल्लो समय केही रंग फेरेको हो कि भन्ने पनि देखिन्छ सिनेमा जगतमा ।

अहिले नेपाली सिनेमा युट्युबमा हिट भएकोझैँ देखिएको छ । जुन सिनेमाले पनि हलमा दर्शक पाएझैँ लाग्छ । तर, दर्शकले सिनेमा मन पराएकै कारण हेरेका होइनन् । युट्युबमा दक्षिण भारतीय सिनेमा बाहेक अरु सिनेमा सहजै उपलब्ध नभएर नेपाली सिनेमाका लागि समय खर्चेका हुन् । अर्को त, सिनेमा हलको पहुँच नभएका वर्गले पनि युट्युब कुरेर नेपाली सिनेमा हेर्ने गरेका छन् ।

नेपाली सिनेमाले सीमित दर्शक मात्र पाएको छैन । हल सङ्ख्या पनि सीमित पाउने गरेको छ । अर्कातिर दूरदराजमा सिनेमा हलको चलन छैन । ती दर्शकले सिनेमा हेर्ने मौका त्यही युट्युबको ‘प्लेटफर्म’ मा पाएका छन् ।

यस्तै रीतले नेपाली सिनेमाको अवस्था अगाडि बढ्दै जाने हो भने भने नेपाली सिनेमाको अवस्था झन् धराशायी नहोला भन्न सकिन्न । नेपाली सिनेमालाई बलियो उद्योग बनाएर कसरी अगाडि बढाउने भन्नेमा सिनेकर्मीले मात्र होइन, अब राज्यले पनि उत्तिकै संवेदनशील भएर सम्भावनाका खाका तयार पार्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्:

भर्खर

0