नेपाली सिनेमा क्षेत्र ‘मिस गाइड’ भइरहेको छ « Khabarhub
Logo
१२ मंसिर २०७८, आइतबार

नेपाली सिनेमा क्षेत्र ‘मिस गाइड’ भइरहेको छ



काठमाडौं – नेपालको राजनीतिक परिवेशले राज्यका समग्र अंगलाई पनि समानान्तर रुपमा प्रभाव पारिरहेको हुन्छ । राष्ट्र समुन्नत नहुँदा पूर्वाधारदेखि अन्य क्षेत्रको विकासमा पनि उत्तिकै प्रभाव परिरहेको हुन्छ । अपवाद, केही राष्ट्रका सिनेमा उद्योग भने देशको परिवेशभन्दा माथि उठेर विश्वमाझ परिचित बनेका उदाहरण छन् ।

नेपाली सिनेमा उद्योग भने पछिल्लो समय व्यापारको दलदलमा फसेर नराम्रोसँग खुम्चिएको छ । त्यसो त राजनैतिक र राष्ट्रिय रुपमा निकै उपेक्षित क्षेत्र हो, सिनेमा क्षेत्र । सरकारले बेवास्ता गरेको यो क्षेत्रमा सीमित कलाकारहरुले फिल्म बनाइरहेका छन् । अवार्डका कार्यक्रम सञ्चालन गरिरहेका छन् । र, कलाकारको ट्रेन्ड निर्माण गरिरहेका छन् । यो सबथोक फिल्मकर्मीले एउटै कारणका लागि गरिरहेका छन्, त्यो हो व्यापार ।

एक अर्थले फिल्मकर्मीले धन्न फिल्म निर्माण गरिरहेका छन् । दर्शकलाई जेनतेन चित्त बुझेका सिनेमाले मात्र व्यापारको चास्नी चाख्न पाएका छन् । वर्षभरि उत्पादन भएका एकसय फिल्ममध्ये बढीमा आधा दर्जन फिल्मले मात्र आफूलाई सुरक्षित राख्न सफल हुन्छन् । अरु फिल्म भने डुब्नकै लागि निर्माण भएजस्तो भइरहेको छ नेपालमा ।

फिल्म क्षेत्रको ठूलो हिस्साले सिनेमालाई ‘व्यापार’ को माध्यम भनिरहँदा केही फिल्मकर्मी भने सिनेमालाई कलाका रुपमा पनि व्याख्या गरिरहेका छन् । उनीहरु भन्छन् – सिनेमा व्यापार मात्र होइन, कला पनि हो । सिनेमा कला मात्र होइन, व्यापार पनि हो ।

अर्थात्, सिनेमा कला र व्यापार दुवै हो । कला र व्यापार दुवै हो भने के सिनेमा कुदिरहेको अहिलेको गति सही छ ?

छैन, सिनेमा क्षेत्र ‘मिस गाइड’ भइरहेको छ । जसरी समग्र राष्ट्र आन्तरिक द्वन्द्व र सीमित राजनीतिक स्वार्थमा फसेको छ, त्यसरी नै सिनेमा पनि सांगठनिक स्वार्थ र राजनीतिको भुमरीमा गाँजिएको छ । यसलाई बुझेको एउटा वर्ग मौन छ, अर्को वर्ग उत्तेजित छ । निकै नै सानो फिल्मको बजारमा पनि वर्षे च्याउझैँ वर्ग र स–साना गुट उब्जिएका छन् । जसका कारण समग्र सिनेमा बजार प्रभावित बन्न पुगेको छ । सिनेमाको एउटा विकसित लय बन्न सकेको छैन । सिनेमाको हितका लागि खुलेका संस्थाहरु चुनावका बेलामा बढी सक्रिय देखिन्छन् ।

फिल्म निर्देशक तथा विश्लेषक मनोज पण्डित भन्छन् – सिनेमा ‘मिस गाइड’ हुनलाई त कसैले गाइड गर्नुपर्छ । यो क्षेत्र त ‘गाइड’ समेत भएको छैन । उनका अनुसार सिनेमा कसरी अगाडि बढ्ने, कस्तो बन्ने समग्र क्षेत्र कस्तो बनाउने, विदेशी बजार कसरी खोज्नेजस्ता सामान्य कुराको पनि सिनेमा उद्योगसँग कुनै खाका छैन ।

निर्देशक पण्डितले भनेझैँ नेपाली सिनेमा क्षेत्रको कुनै धारणा नै देखिँदैन । बजारमा जे चल्छ, त्यही हेरेर केहीले निकै ‘कामचलाउ’ फिल्म बनाउँछन् । फिल्मकर्मीले फिल्म चलेन भने त्यसको दोष अरुलाई थोपर्ने काम गर्छन् । मिडियामा आफू चोखो हुनलाई अरुको खिल्ली उडाउँछन् । र, त्यसैमा रमाउँछन् ।

फिल्म क्षेत्रमा दुई धार छन् । एकथरी भन्छन्, बजारमा चल्ने फिल्म नै सुपरहिट फिल्म हो, कला थोपरिएका फिल्महरु फ्लप फिल्म हुन् । यता फिल्ममा कला खोज्नेहरुको पनि आफ्नै धारणा छ । उनीहरुका लागि फिल्म व्यापार मात्र होइन, कला पनि हो । फिल्ममा कला र व्यावसायिकता दुवै हुनुपर्छ ।

दुर्भाग्य, कलालाई मुख्य मन्त्र बनाएर निर्माण गरिएका फिल्मले पनि दर्शकको साथ पाउन सकेनन् । बरु कामचलाउ मनोरञ्जन पस्किएका सिनेमाले फिल्मको बजारको खोजी गरे । नेपालमा फिल्मको बजारको सम्भावना देखाए ।

निर्देशक नरेशकुमार केसी भन्छन्, ‘सिनेमा कला मात्र होइन, व्यापार पनि हो, यहाँ व्यापार गर्ने फिल्म पनि बन्नुपर्छ, भोलि नेपाली सिनेमा बन्नै छोड्यो भने के हुन्छ ?’

केसीको बुझाइमा नेपालमा फिल्म क्षेत्रको अवस्था निराशाजनक छ । नेपाली दर्शकले फिल्ममा खोजेको स्वाद फिल्मकर्मीले दिन सकेका छैनन् । अहिले सिनेमा बजारमा राम्रो कथाको मुख्य खडेरी छ । यसकारण पनि राम्रा सिनेमा बनिरहेका छैनन् । सिनेमाको बजार स्थापित भएपछि मात्र बल्ल सिनेमाको बजार कता लैजाने भन्ने हुन्छ ।

उनी अगाडि थप्छन्, ‘यस्तो प्रवृत्तिले हामी सबैलाई घाटा छ, कम्तिमा पनि एक करोड लगानी गरेर फिल्म बनाउनुपर्दा निर्मातालाई पनि घाटा भइरहेको छ ।’
पछिल्लो समय फिल्मको समालोचनालाई लिएर पनि बहस हुन थालेको छ । समीक्षकले आफ्नो सर्कलका फिल्मकर्मीका फिल्मलाई राम्रो भनिदिने र अरु फिल्मकर्मीका फिल्मलाई सक्दो पेलेर लेख्ने गरेको आरोप पनि खेप्दै आएका छन् ।

सीधा हिसाबले हेर्दा नेपाली सिनेमालाई कला र व्यापार गरी दुई हिस्सामा विभाजन गरेको देखिन्छ ।

समीक्षामा दर्शकको विश्वास गुम्दै गएको छ । भाषाको बोधगम्यताका हिसाबले सबैभन्दा नजिक रहेको हिन्दी सिनेमा उद्योगमा समीक्षकले ‘फ्लप’ भनेका फिल्म बक्स अफिसमा पनि फ्लप हुने र उत्कृष्ट भनेका फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गर्ने गर्छन् । तर, नेपालमा भने त्यसको ठ्याक्कै उल्टो हुन्छ । समीक्षकले समीक्षा लेखेकै भरमा गाली खाने अवस्था सिर्जना हुन्छ । फिल्मकर्मीले समीक्षकमाथि नकारात्मक पक्ष मात्र खोतलेर समीक्षा लेख्ने गरेको आरोप लगाउँदै आएका छन् ।

सीधा हिसाबले हेर्दा नेपाली सिनेमालाई कला र व्यापार गरी दुई हिस्सामा विभाजन गरेको देखिन्छ । फिल्म विश्लेषक तथा निर्देशक मनोज पण्डित समीक्षामा एकरुपता नभएको स्वीकार्छन् ।

‘नेपालमा समीक्षा पनि प्रभावित भयो, हुनुपर्ने तरिकाले भएन, खासमा सिनेमा पूरा नहेरुञ्जेल समीक्षा गर्न पाइँदैन,’ मनोज पण्डित दाबी गर्छन्, ‘यहाँ त फिल्मलाई पूर्ण नहेरी व्यक्तिगत अवधारणाका आधारमा सिनेमाको समीक्षा गर्ने प्रवृत्ति छ, हामीले फिल्म हेरेर त्यसको प्रभावमाथि छलफल गर्नुपर्ने हो तर दुःखका साथ भन्नुपर्छ, हामीले संरचनामाथि समालोचना गरिरहेका छौँ ।’

निर्देशक पण्डितले भनेझैँ समीक्षकमा यो खालको समस्या पहिलेदेखि नै चल्दै आएको छ । बजारमा चलेका केही अभिनेतालाई समीक्षकले कलाकार नै नमान्ने र ती कलाकारको फिल्म चल्दा शुरुमै यसलाई सिध्याउनुपर्छ भनेर समीक्षक लागेको भन्ने आरोप पनि समीक्षकले खेपेका छन् । फिल्म निर्देशन र अध्ययन गर्ने मनोज पण्डित पनि समीक्षाले तत्कालीन समाजको मानवीय चेतनालाई कसरी प्रभाव पार्छ भन्नेमा अध्ययन गर्नुपर्नेमा स्टार या व्यावसायिक फिल्म हुँदैमा त्यो झुर हुन्छ भन्ने अवधारणाको विकास भएको स्वीकार्छन् ।

हामीले फिल्म हेरेर त्यसको प्रभावमाथि छलफल गर्नुपर्ने हो तर दुःखका साथ भन्नुपर्छ, हामीले संरचनामाथि समालोचना गरिरहेका छौँ ।

‘फिल्म फरक हुनेबित्तिकै पूर्वाग्रह राखियो, नेपाली सिनेमाको विकासमा पक्ष र विपक्षको अवधारणा बनिदियो, हाम्रोमा पक्ष र विपक्षको राजनीति भयो, जसकारण फिल्म मेकरले पनि हिनताबोधमा काम गर्नुपर्ने देखियो, पूर्ण सिनेमाका लागि सिनेमा मेकिङ हुनै सकेन ।,’ उनी आफ्नो तर्क राख्छन् ।

यस्तो खालको माहोलले नेपाली सिनेमामा बिचौलियालाई बढी फाइदा पुगेको देखिन्छ । ती बिचौलियाले पनि सिनेमालाई ‘मिस गाइड’ गरिरहेका छन् । बिचौलिया ती हुन्, जो व्यक्तिगत स्वार्थका लागि सीमित वर्गलाई बोकेर हिँडिरहेका छन् ।

एकथरी सिनेकर्मी छन्, जो मिडियामा नकारात्मक कुरालाई उठाउन नै दिँदैनन् । नकारात्मक बहस र तार्किक समीक्षामा पनि विचार विमर्श गर्न चाहँदैनन् । यसको असर सम्रग नेपाली फिल्मको विकास क्षेत्रमा दीर्घकालीन रुपमा परेको हुन्छ ।

सिनेमाको मुटुमा आफूलाई पाउन सकेका छैनन् । बरु विदेशी फिल्ममा मानवीय संवेदना पाएका छन् । चाहे ती फिल्म कुनै उडनतस्तरीका होऊन् या रोबोटका होऊन् ।

फिल्म मेकिङ सैद्धान्तिक ज्ञान मात्र नभएर कल्पनाशीलताको एउटा सुन्दर सृष्टि पनि हो । फिल्मलाई समाजको चित्र पनि भनिन्छ । तर, नेपाली दर्शकले घरेलु सिनेमामा आफ्नो समाजको चित्र पाएका छैनन् । सिनेमाको मुटुमा आफूलाई पाउन सकेका छैनन् । बरु विदेशी फिल्ममा मानवीय संवेदना पाएका छन् । चाहे ती फिल्म कुनै उडनतस्तरीका होऊन् या रोबोटका होऊन् ।

समग्रमा भन्नुपर्दा नेपाली सिनेमाको बजार सीमित फिल्मकर्मीको दबदबा, वितरकको मनोमानी, मिडियाबाजी र समीक्षकको अपुष्ट धारले ‘लरबर’ गरिरहेको छ । अर्कातिर दर्शकलाई पनि नेपाली सिनेमा राम्रो बन्छन् भन्ने विश्वास हराउँदै गएको छ । केही पक्षले फिल्मको बारेमा नराम्रो बोल्नै हुन्न भन्ने र केही पक्षले नेपाली कलाकारलाई कलाकार नै नमान्ने प्रवृत्तिले कलाकारलाई पनि आफ्नो वृत्ति स्थापना गर्न गाह्रो भइरहेको स्पष्ट छ । अझै पनि सीमित फाइदाका लागि मात्र सोच्ने हो भने भोलि नेपाली फिल्मको बजार झन् भासिने भय हुन्छ ।

‘नेपाली सिनेमाको विश्लेषण विषयकेन्द्रित कालखण्डको आधारमा भइरहेको छ, २० वर्ष पुरानो सिनेमाको आधारमा भइरहेको छ, दुर्भाग्यवश हाम्रो सिनेमा ४० वर्ष पछि छ ।,’ मनोज पण्डितको भनाइ छ ।

अब केही वर्ष हामीले कम्तिमा नेपाली सिनेमाको बाटोको खोजी गर्न सकेनौँ भने हामी यही भुमरीमा सधै हराइरहने र उस्तै सिनेमा बनिरहने प्रवृत्तिको लामो समय पनि अन्त्य हुने छैन ।


भर्खर

0