फिल्म राम्रो भनिदिए समीक्षक, नराम्रो लेखे सिकारु ? | Khabarhub Khabarhub
Logo
२२ मंसिर २०७६, आइतबार

फिल्म राम्रो भनिदिए समीक्षक, नराम्रो लेखे सिकारु ?




काठमाडौं – नेपाली फिल्मकर्मीको एउटा विशेषता के छ भने उनीहरु निकै नै कामचलाउ फिल्म बनाउँछन् । जसरी एउटी आमाले आफ्ना केटाकेटी फकाउन खेलौना दिन्छिन्, त्यस्तै फिल्मकर्मीले पनि दर्शक फकाउन कलाको जलप लगाई कामचलाउ सिनेमा बनाएर दर्शक फकाउन खोज्छन् ।

तर, बाल चेतना र फिल्म हेर्ने दर्शकमा ठूलो फरक हुन्छ ।

त्यसो त आम मानिसलाई फास्टफुड र चकलेटी कुरा मन पर्ने गर्छ, चाहे त्यो फिल्म होस्, या त खानेकुरा । तर, सिनेमाको बजार चाहिँ बजारमा पाइने मःमको बजारजस्तो होइन । सिनेमामा कला हुन्छ, कल्पनाशीलता हुन्छ । एउटा छुट्टै विश्व हुन्छ । सिनेमा बनाउनका लागि लागि तिक्ष्ण दिमाग र दर्शकको मनोविज्ञान बुझ्नुपर्छ ।

विश्वबजारमा मार्भलका सिनेमाले व्यावसायिक रुपमा विभिन्न रेकर्ड राख्नु र सबैको ‘बहुप्रतीक्षित’ बन्नु त्यसैको एउटा उदाहरण हो । नेपाली सिनेमा निर्माता भने फिल्ममा कल्पनाशीलताको खोजी गर्दैनन्, बजारमा के चलेको छ भन्ने बुझेर त्यहीअनुसार फिल्म बनाउँछन् । तीमध्ये केही फिल्मले थोरै भए पनि नयाँपनको प्रयोग गर्दा दर्शकको साथ पाउने गरेका छन् । धेरै फिल्मले लगानी सुरक्षित गर्नुलाई नै ठूलो सफलता मानेका छन् ।

अझै पनि फिल्ममेकरले यत्ति बुझेका छन्, गोपीकृष्ण हलमा रिलिजको दुई दिन ओइरो लाग्ने दर्शक नै सिनेमाका असली दर्शक हुन् । तर, विश्वमै फिल्ममा आमूल परिवर्तनको खोजी भइरहँदा नेपालमा भने अझै पनि टेलिशृङ्खलाजस्ता फिल्म बन्ने क्रम हाबी छ ।

फेरि यस्ता फिल्म तत्कालका लागि सफल बने पनि कालान्तरमा जीवन्त बन्न सक्दैनन् भन्नेमा सबै जानकार छन् । शायद कुनै नेपाली फिल्म पनि विदेशीको सिफारिसमा पर्दैनन् । पचास वर्ष लामो फिल्म इतिहासमा एउटा फिल्म पनि सम्झनलायक नबन्नु ठूलो चुनौतीको विषय हो ।

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले व्यावसायिक रुपमा खासै सफलता पाउन सकेन । तर, फिल्म मेकिङ पक्षको समीक्षकले खुबै तारिफ गरे । सोही वर्ष रिलिजमा आएको अर्को फिल्म ‘हरि’ का पनि सकारात्मक समीक्षा पत्रिकामा छापिए । तर, बक्स अफिसमा सो फिल्मले पैसा छाप्न सकेन । यही जडमा टेकेर व्यावसायिक चलचित्र बनाउने फिल्मकर्मीहरु खुलेआम भनिरहेका छन्, ‘समीक्षकले समीक्षा गर्न जानेनन्, हामीले समीक्षकका लागि फिल्म बनाएका होइनौँ ।’

एक हिसाबले जायज छ कि, फिल्म समीक्षकका लागि मात्र बनाउने होइन । फिल्म बनाउने ठूलो सङ्ख्यामा विश्वभर फैलिएका दर्शकका लागि नै हो । तर यसो भनिरहँदा के समीक्षकका लागि छुट्टै र दर्शकका लागि छुट्टै फिल्म बनाउनुपर्ने हो ? यस्तो भूतबाट तथाकथित सफल फिल्मकर्मीले पनि सोच्नुपर्ने हुन्छ ।

हालै प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले समीक्षा पनि राम्रो पायो । दर्शकको साथ पनि उत्तिकै पायो । यसअघि उनै निर्देशकले बनाएको फिल्म ‘शत्रु गते’ ले मिश्रित प्रतिक्रिया पाएको थियो । भलै उक्त चलचित्र सफल भएको थियो तर कति दर्शकले टेलिशृङ्खलाजस्तो भएको प्रतिक्रिया दिएका थिए । यहाँ दर्शक आफै समीक्षक हुन् । समीक्षक आफैमा दर्शक हुन् ।

फिल्मकर्मीले आफ्नो फिल्मको नकारात्मक प्रतिक्रिया आउनासाथ ‘समीक्षक’ को बिल्ला भिराउनु भनेको आफ्ना कमजोरी लुकाउन खोज्नु हो । हुन त यो हरेक नेपालीको साझा ‘रोग’ पनि हो । तर, यहाँ फिल्म राम्रो भनिदिए राम्रो समीक्षक, नराम्रो भनिदिए सिकारु समीक्षक भन्ने चलन फिल्मकर्मीमा छ ।

‘जात्रै जात्रा’ ले किन यति धेरै सकारात्मक समीक्षा पायो भन्ने अरु फिल्मकर्मीका लागि पनि पाठ हो । फिल्ममा स–साना कुरालाई पनि कलात्मक रुपमा प्रस्तुत गरिएको छ । दर्शक हँसाउन द्वीअर्थी संवाद नै राख्नुपर्ने सोच भएका निर्माताका लागि पनि यो एउटा उदाहरण हो । त्यसो त भोलिका दिनमा प्रदीप भट्टराईले यस्तै फिल्म बनाउने छन् भन्न पनि गाह्रो छ ।

हतारमा फिल्म बनाउँदा फिल्म कस्तो बन्छ भन्ने उदाहरण हो वीर विक्रम २

यसअघि ‘पशुपतिप्रसाद’ बनाएर चर्चा कमाएका दीपेन्द्र के. खनाल र ‘लूट’ बाट पर्याप्त चर्चा कमाएका निश्चल बस्नेतले अरु फिल्म त्यस्तै कामचलाउ बनाइदिए ।

‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘मैले यसको कथा मात्र १७ पटक च्यातेर फालेँ, पुन:लेखन त कतिपटक गरियो गरियो ।’

‘जात्रै जात्रा’ को जति चर्चा भएको छ, त्यसको एउटा कारण यसको स्किृप्टको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ । यो कथा तयार पार्न पात्र भट्टराईलाई झण्डै डेढ वर्ष लागेको थियो । लामो समय लगाएर कथा राम्रोसँग माझेकाले यो फिल्मबाट उनले तारिफ बटुले ।

हलमा यही फिल्मसँग एकैदिन प्रदर्शन भएको अर्को फिल्म हो, ‘वीर विक्रम २’ । सिक्वेल बनाइएको र चलेका कलाकार लिइएकाले यो फिल्मको पनि उत्तिकै चर्चा थियो । तर, रिलिजपछि फिल्मले न दर्शकको साथ पाउन सक्यो, न त समीक्षकले नै राम्रो भने । फिल्मको कथाले नै दर्शकको मन जित्न सकेन । यता फिल्मका लेखक प्रदीप भारद्वाजले शानका साथ भनिदिए, ‘मैले यो फिल्मको कथा डेढ महिनामा तयार पारेको थिएँ ।’

हतारमा फिल्म बनाउँदा फिल्म कस्तो बन्छ भन्ने उदाहरण हो वीर विक्रम २ । जस्तो फिल्म बनाए पनि फिल्मकर्मीहरु नकारात्मक प्रतिक्रिया स्वीकार्न तयार छैनन् । मुख्य समस्या यही हो ।

कलाकार दीपकराज गिरी भन्छन्, ‘एक चलचित्र समीक्षक गुनासो गर्दै थिए, नेपालमा सञ्जय लीला भन्सालीजस्ता फिल्मकर्मी जन्मेनन्, सही हो, न सञ्जय लीलाजस्ता फिल्मकर्मी जन्मिए, न तरण आदर्शजस्ता समीक्षक, हामी पनि सिक्दैछौँ, तपाईं पनि सिक्दै जानूस् ।’

उनको भनाइमा समीक्षकलाई समीक्षा लेख्न सिक्नुपर्ने भनिएको छ । गिरीले भनेका छन्, ‘नेपालमा तरण आदर्शजस्ता समीक्षक भएनन् ।’

तरण आदर्श बलिउड फिल्मका समीक्षा गर्छन् । उनी फिल्म जस्तो छ, त्यस्तै हिसाबले समीक्षा गर्छन्, उनी बलिउडका चर्चित विश्लेषकमध्ये एक हुन् । दीपकराज गिरीले नेपाली समीक्षकलाई समीक्षक नै नमान्ने तर सीमापारिका समीक्षकको खोजी गरेका छन् ।

तरण आदर्शले कमजोर फिल्मलाई कमजोर नै भनेर समीक्षा गरिरहेका हुन्छन् । मानौँ कि, उनले अब नेपाली फिल्मको पनि समीक्षा गर्ने भए, के उनले नेपाली फिल्मलाई ‘ब्लकबस्टर’ भनिदिन्थे त ?

तुलनात्मक एउटै शैलीका चलचित्रलाई पनि समीक्षकले फरक–फरक रेटिङ दिएका उदाहरण छन् ।

पछिल्लो समय नेपाली फिल्मकर्मीहरु समीक्षाका कारण तर्सिन थालेका छन् । समीक्षकले पनि आफूले चाहेजस्ता फिल्म नबन्दा बारम्बार फिल्मको स्तरीयतामाथि औँला उठाउने गरेका छन् । दुःखको कुरा यो छ कि, समीक्षकले कुनै फिल्ममाथि औँला उठाउनु भनेको यो क्षेत्रको ठूलो समूहसँग पङ्गा लिनुजस्तै भएको छ ।

खासमा फिल्मको समीक्षाले फिल्मकै कमी कमजोरी औँल्याउनुपर्ने हो, नेपालमा भने समीक्षालाई पचाउन सक्ने फिल्मकर्मी एउटै औँलामा गन्न सकिन्छ । अर्कातिर फिल्मको स्तरीयता पनि वर्षौँदेखि जहाँको तहीँ घुमिरहेको छ ।

त्यसो त समीक्षामा पनि समालोचक चेतना नभएको भन्ने आवाज उठ्न थालेको धेरै भइसकेको छ । समीक्षकले पनि आफ्नो गुटका कलाकारका बारेमा राम्रो लेखिदिने र अरुका बारेमा नराम्रो भनिदिने गरेको आरोप खेप्दै आएका छन् । तुलनात्मक एउटै शैलीका चलचित्रलाई पनि समीक्षकले फरक–फरक रेटिङ दिएका उदाहरण छन् ।

अर्कातिर फिल्ममा नाटकमा जस्तो वास्तविकता हुनुपर्ने भन्दै फिल्मकर्मीले आफ्ना समीक्षामा ‘सुझाव’ दिएका हुन्छन् । केही समीक्षकले त फिल्म र फिल्मले सामाजिक रुपमा पार्ने समस्यालाई भन्दा पनि यो हेर्दा दर्शकको पैसा बच्छ कि बच्दैन भन्ने टाइपको समीक्षा गरिरहेका हुन्छन् ।

फिल्मकर्मीले आफूले बनाएको फिल्मलाई जुनै हालतमा पनि राम्रो भन्न खोज्नु र समीक्षकले पनि आफ्नो समीक्षा मात्र राम्रो भनेर वकालत गर्नुको साटो बरु कसरी फिल्म उद्योगलाई फाइदा हुन्छ, र फिल्म कस्ता बन्नुपर्छ भन्नेमा ध्यान दिन जरुरी छ । होइन, भने समीक्षक र फिल्मकर्मीको शीत युद्ध उग्र हुँदै जान्छ ।

दर्शक पनि नेपाली फिल्मभन्दा विदेशी फिल्म हेर्नतिर लाग्छन् । फिल्म पण्डितहरुको भनाइ छ, ‘समीक्षकले पनि आफ्नो गुटलाई मात्र बचाउन खोज्नुभएन र फिल्मकर्मीले पनि आफूलाई अपग्रेड गर्नुपर्‍यो, होइन भने नेपाली फिल्म उद्योग सधै परालको आगो हुनेछ ।’


भर्खर