प्रचण्डलाई कसले बनाउँछ अन्तिमपटक प्रधानमन्त्री ? | Khabarhub Khabarhub

प्रचण्डलाई कसले बनाउँछ अन्तिमपटक प्रधानमन्त्री ?

गठबन्धनको कार्ड बोकेर प्रधानमन्त्रीका लागि देउवासँग बार्गेनिङ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजनीति सरल रेखामा चल्दैन । र, वक्र रेखामा चल्न नजान्नेहरु राजनीतिमा टिक्न सक्दैनन् । यो कुरालाई राम्रोसँग बुझेका र अरु दलभित्र घुसेर राम्रैसँग खेल्न जानेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्ने लालच बोकेर दौडधुपमा लागेका छन् ।

उनले आफू प्रधानमन्त्री बन्ने लालसा सार्वजनिक रुपमै पटक–पटक व्यक्त गरेका छन् । खासगरी दुई ठूला दल कांग्रेस र एमालेलाई सुनाउनकै लागि उनले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्न थालेका हुन् । प्रचण्डले पुनः प्रधानमन्त्री बन्ने इच्छा पहिलोपटक गत असार ९ मा व्यक्त गरेका थिए । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै आफूले मुलुकको नेतृत्व लिन चाहेको उनको धारणा थियो ।

‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ । भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ ।,’ उनले भनेका थिए ।

त्यसको भोलिपल्टै नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा पनि उनले सोही कुरा दोहोर्‍याए । त्यतिबेला उनले भने, ‘पहिलोपटक प्रधानमन्त्री हुँदा त यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना बित्यो, दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ, अब फेरि एकपटक देशको नेतृत्व गर्ने सपना छ ।’

६ साउनमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पनि प्रचण्डले आफूलाई देशको बागडोर लिनबाट कसैले नरोक्ने ठोकुवा गरे । आफ्नो पार्टी बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो नहुने दाबी गर्दै उनले भने ‘आगामी निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’

प्रचण्डले प्रधानमन्त्री बन्ने चाहना गत साउन १४ मा  पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा पनि दोहोर्‍याए । उनको भनाइ थियो, ‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनु छ, मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस्, यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही दिने सपना मैले राखिराखेको छु ।’

स्थानीय तहको चुनावी परिणामपछि यसरी प्रचण्डले पटक–पटक प्रधानमन्त्री बन्ने इच्छा मात्रै व्यक्त गरिरहेका छैनन् । कांग्रेस र एमाले दुवै दलभित्र खेल्नसमेत खोजिरहेका छन् । आफ्नो ‘लास्ट इनिङ’ भन्दै उनले घुमाउरो ढंगबाट कांग्रेस र एमालेमध्ये जसले आफ्नो इच्छा पूरा गर्न सहयोग गर्छ, उसैसँग तालमेल गरेर चुनाव लड्ने संकेत गरेका छन् । र, त्यसका लागि उनले दुवै दलसँग केही खास नेतामार्फत छलफल चलाइरहेका छन् ।

कांग्रेससँग गठबन्धन गरिरहेका उनको खास बार्गेनिङ प्रधानमन्त्री पदकै विषयमा चलिरहेको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरुको दाबी छ । प्रतिनिधिसभामा कति सिट पाउनेभन्दा पनि निर्वाचनपछि प्रधानमन्त्री पद दिने कि नदिने भन्ने विषयमा उनी कांग्रेस नेतृत्वसँग स्पष्ट हुन चाहिरहेका छन् ।

कांग्रेसका केही नेताहरुले प्रचण्डको यो इच्छालाई स्वभाविक रुपमा लिनुपर्ने टिप्पणी गरेका छन् । कांग्रेस नेता राजेन्द्र केसी प्रचण्डको इच्छा स्वभाविक भएको र यसका विषयमा पार्टीमा छलफल हुनुपर्ने बताएका छन् । ‘देउवालाई माओवादीले प्रधानमन्त्री बनाउन सहयोग गर्नहुन्छ भने कांग्रेसले माओवादी नेतालाई प्रधानमन्त्री बनाउन किन हुँदैन ?,’ उनले खबरहबसँग भने ।

नेता केसीले यस विषयमा छलफल सकिने धारणा अगाडि सार्छन् ।

केसी तिनै व्यक्ति हुन्, जसले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा प्रचण्डलाई पराजित गरेका थिए ।

चुनावको मिति घोषणा हुँदाको दिनसम्म अहिलेकै गठबन्धन कायम राखेर संसदीय चुनाव लड्ने बताउँदै आएका उनी भित्रभित्रै भने एमालेसँग पनि संवाद अघि बढाइरहेका छन् ।

नारायणकाजी श्रेष्ठदेखि वर्षमान पुनसम्मका नेताहरुलाई उनले यसका लागि खटाएका छन् । एमालेसँग पनि प्रचण्डको उही शर्त छ, संसदीय निर्वाचनपछि कम्तिमा २ वर्ष माओवादीलाई सरकारको नेतृत्व गर्न दिनुपर्छ । एमालेका नेताहरु यो संवादका विषयमा केही बताइरहेका छैनन् तर, माओवादीका स्थायी समिति सदस्य पुनले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुनसक्ने बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तरवार्तामा उनले विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने उल्लेख गरेका छन् । उनले एमालेसँग तालमेलदेखि एकतासम्मको विषयमा निरन्तर छलफल गर्दै आएका छन् ।

विदेशी शक्तिसँग सामिप्यता बढाउँदै प्रचण्ड

कांग्रेस र एमालेसँग समानान्तर ढंगले संवाद अघि बढाएका प्रचण्डले प्रधानमन्त्री बन्नका लागि दुईधारे तरबार चलाइरहेका छन् । यता वा उता जता लागे पनि आफ्नो इच्छा पूरा हुने भरपर्दो आधार खोजिरहेका छन् । त्यसका लागि उनले देशी शक्तिलाई मात्रै होइन, विदेशी शक्तिलाई समेत फकाउन सुरु गरेका छन् ।

‘प्राइम मिनिस्टर इन वेटिङ’ का रूपमा आफूलाई दर्ज गराउन खोजिरहेका उनले छिमेकी देशसँग निकटता बढाउन थालेका छन् । कांग्रेस लगायतका दलसँगको गठबन्धन कसिलो बनाउने तयारीमा रहेका उनी भारत, चीन र अमेरिका लगायतका मित्रराष्ट्रसँग सम्बन्ध थप प्रगाढ बनाइरहेका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निम्तोमा प्रचण्ड हालै दिल्ली पुगेर फर्किए।  उनले आफ्नो भ्रमण दिल्लीसँगको सम्बन्ध थप प्रगाढ बनाउने अवसरका रूपमा उपयोग गरेका कतिपयको तर्क छ ।

प्रचण्ड भारतका नेता तथा अधिकारीहरूसँग आफ्नो पुरानो सम्बन्धलाई पुनर्ताजगी गराएर फर्किसकेका छन् । यति मात्र होइन ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताउँदै आएका छन् ।

भारत जानुअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओसँग भेटेका प्रचण्डले कोभिड नियन्त्रणपछि चीन जान चोहेको उनी निकटका नेताहरू बताउँछन् ।

पछिल्लो समय बाक्लो रूपमा नेपाल आउजाउ गरिरहेका अमेरिकी अधिकारीसँग पनि प्रचण्डले छलफलको मौका पाइरहेका छन् ।

स्वादै नपाई सकियो प्रचण्डको दुई कार्यकाल

भदौ २०६५ मा उनी पहिलोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । १० वर्ष लामो सशस्त्र सङ्घर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बनेपछि उनले त्यो अवसर पाएका थिए । तर, बिडम्बना त्यो कार्यकालमा प्रधानसेनापति हटाउन खोज्दा आफै हट्नुपर्ने अवस्था सिर्जना भयो ।

प्रचण्डले पहिलो कार्यकालको समीक्षा गर्दै आफैले भन्ने गरेका छन्– सत्ताको व्यवस्थापन गर्न नसक्दा नराम्ररी पछारिनुपर्‍यो ।

गत असार १० गते मात्रै उनले एक कार्यक्रममा भनेका थिए, ‘पहिलोपटक प्रधानमन्त्री हुँदा त मलाई यो सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना बित्यो ।’

दोस्रोपटक भने उनी १९ साउन ०७३ मा कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए । निकै उतार चढावपछि दोस्रोपटक प्रधानमन्त्री बनेका उनले दोस्रो कार्यकालमा भने केही गर्ने प्रयत्न गरेका थिए । तर, सहमति अनुसार उनले दोस्रो कार्यकाल पनि १० महिना भन्दा बढी चलाउन पाएनन् ।

पूर्वसहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको चाँबी बुझाए । उनको दोस्रो कार्यकाल पनि सत्ताको स्वाद राम्रोसँग चाख्नै नपाई बितिगयो ।

दुवै कार्यकालमा अत्यन्त छोटो समय मात्रै सरकार चलाउन पाएका उनी अहिले लास्ट इनिङ भन्दै प्रधानमन्त्री बन्ने लालसा व्यक्त गरिरहेका छन् । अब उनको त्यो इच्छा कसले पूरा गरिदिन्छ त्यो समय क्रमले देखाउला । तर, एउटा कुरा चाहिँ के सत्य हो भने आगामी संसदीय निर्वाचनपछि शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावना जति बलियो छ, प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना त्यो भन्दा कमजोर छैन ।

किनकि वक्र रेखामा चल्ने राजनीतिमा कसरी खेल्नुपर्छ भन्ने कुरामा प्रचण्ड पारङ्गत छन् । अस्थिर र चतुर नेताको छवि बनाएका उनी जता नाफाको राजनीति चल्छ, त्यतै हाम फाल्न एक सेकेन्ड पनि लगाउँदैनन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ०६ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा