बजेटबारे विज्ञहरू : निजी क्षेत्रलाई सकारात्मक, अनौपचारिक क्षेत्र उपेक्षित | Khabarhub Khabarhub

बजेटबारे विज्ञहरू : निजी क्षेत्रलाई सकारात्मक, अनौपचारिक क्षेत्र उपेक्षित


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत बजेट सार्वजनिक भएसँगै आर्थिक क्षेत्रमा सरोकार राख्नेहरूले आआफ्ना धारणा सार्वजनिक गरेका छन् ।

कोरोना महामारीको बेला अध्यादेशबाट ल्याइएको बजेटको आकार ठूलो भएको र कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको धारणा विज्ञहरूको पाइएको छ ।

बजेट सार्वजनिक भएको भोलिपल्ट (आइतबार) इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनमिक रिसर्च (आइएसएसआर) ले आर्थिक क्षेत्रका विज्ञहरूसँग बजेटमाथि समीक्षात्मक छलफल आयोजना गरेको छ । भर्चुअलरूपमा कार्यक्रममा अर्थविद् र व्यवसायीहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । प्रस्तुत धारणाहरूको मुख्य अंश प्रस्तुत गरेका छौँ-

प्रा. विश्वम्भर प्याकुरेल/अर्थविद

बजेटलाई सम्पूर्ण कोणबाट हेर्दा त्यति नराम्रो देखिँदैन । राजनीतिक खिचातानीका कारण मुख्या मुद्दाहरू सर्वाेच्च अदालतमा अड्किएर बसेको अवस्था भोलि के हुन्छ भन्ने कुरा थाहा छैन ।

कोरोना महामारीको यो परिस्थितिमा हाल मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण बजेट कार्यान्वयनमा समस्या हुन्छ कि भन्ने खतरा छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा विद्युतीय सवारीसाधनका विषयमा पनि यस्तै कुरा आएको हो तर कार्यान्वयन कहाँ पुग्यो सबैलाई थाहा छ । अहिले फेरि पनि उही कुराको पुनरावृत्ति छ । यो पटक केही हुन्छ कि भन्ने अपेक्षा छ ।

बजेटले आगामी वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुन्छ भनेको छ । त्यो आर्थिक वृद्धिदर हुने ग्यारेन्टी छैन । बजेटले गरिबहरूको आवश्यकता कसरी पूर्ति गर्छ र गरिबीलाई घटाउँछ भन्ने प्रष्टरूपमा आउन सकेको छैन ।

केही रिपोर्टहरूले नेपालमा गरिबी ३४ प्रतिशतले बढेको देखाएका छन् । बजेटले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मानिसहरूलाई पनि समेट्न नसकेको देखिन्छ ।

कोरोना विरुद्धको भ्याक्सिनको लागि सरकारले छुट्ट्याइएको रकमले सबै नेपालीहरूलाई पुग्छ, यसमा सरकारलाई केही भन्ने ठाँउ छैन । तर भ्याक्सिनको लागि जुन रकम छुट्ट्याइएको छ, त्यो पनि कार्यान्वयनमा चुनौती छ ।

युनिसेफ, डब्ल्यूएचओ र ग्यावी अलाइन्स मिलेर ९४ वटा देशमा सर्वेक्षण गरेका थिए । त्यसमा के देखिएको थियो भने डेलिभरी खर्च सहित गरेर ३ दशमलव ७० डलरमा दुई डोज खोप लगाउन पुग्छ । नेपालको सन्दर्भमा ८ डलर नै प¥यो भने पनि अहिले छुट्ट्याएको रकम बढी हुन आउँछ ।

यो बजेटमा समावेश नभएको कुनै कुरा छैन । बजेटले सकेसम्म सबै कुरा समेट्न खोजेको छ । खाद्यान्नमा २० प्रतिशत सहुलियत दिने सरकारको कुरा पनि राम्रै देखिएको छ ।

तरकारी, दुध लगायतका वस्तुहरूको ढुवानीमा २५ प्रशितसम्म छुट दिने निर्णयले देशका विभिन्न ठाउँहरूमा खेर गइरहेका वस्तुहरूले बजार पाउने सम्भावना देखिन्छ ।

अहिले विषेश गरेर दुई वटा अस्थिरता देखिएका छन् । एउटा राजनीतिक र अर्काे आर्थिक अस्थिरता । आर्थिक स्थिरताका लागि ल्याइएको बजेट नै गोलमाल भएर आएको छ । यो भोलि ठूलो मुद्दा भयो भने यसले अर्काे समस्या निम्त्याउला भन्ने डर छ ।

डा. शंकर शर्मा/अर्थविद्

अघिल्लो वर्षसम्मको बजेटको अनुसूची १ मा हामीहले के देख्थ्यौँ भने त्यहाँ चालु खर्चभित्र सामाजिक सुरक्षा कति भएको थियो, सामाजिक सुरक्षा देखिएन ।

यो बजेट गत वर्षको भन्दा ठूलो आकारको भएकाले त्यो खर्च गर्न सक्छौँ कि सक्दैनाँै भन्ने कुरा पनि आउँछ । यो बजेट धैरै खर्च भयो भने पनि १३ खर्बभन्दा बढी खर्च हुने सम्भावना देखिँदैन ।

लोन (ऋण) बढ्ने क्रम बढ्दै गएको छ । यो बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याइएको छ । यो कहाँबाट आयो भन्दा वल्र्ड बैंककै लोनबाट आएको हो । सरकारले यसलार्ई रोजगारी भनेको भए पनि रोजगारी नभएर राहत भएकाले यसमा लगानी गरेर फाइदा हुँदैन । यस्ता खर्चहरूले उत्पादन केही नहुने भएकाले सरकारले लोनमात्रै तिर्नुपर्ने हुन्छ ।

बजेटमा धेरै राहतका र छुटका कार्यक्रमहरू भए पनि ज्यालादारी मजदुर, अनौपचारिक क्षेत्रमा काम गर्ने ३० लाख मानिसहरूलाई जुन किसिमको राहत दिनुपर्ने हो, त्यो देखिएको छैन ।

ज्यालादारी गर्ने मानिसहरूलाई राहत दिने कुरा छुटेको जस्तो देखिएको छ । अहिले ढुवानीमा २५ प्रतिशत छुट भनिएको छ तर कसरी दिने, कुन वर्गलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो भन्ने कुरा स्पष्ट पारिएको छैन ।

अघिल्लो आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष राख्यौँ तर ऋणात्मक २ भयो ।

गोविन्द नेपाल/अर्थविद्

अहिले देशमा स्वास्थ्य संकट, राजनीतिक संकट र स्वस्थ्य संकटबाट सर्जित आर्थिक संकट छ । यो संकटै संकटकाबीच बजेट आएको छ ।

यो बजेटले अर्थिक संकट र स्वास्थ्य संकटलाई सम्बोधन गर्ने हिसाबले प्राथमितामा राखेको देखिन्छ । अहिलेको बजेट अर्थशास्त्रको सिद्धान्तमा आधारितभन्दा पनि राष्ट्रिय आवश्यकता र संकटमा आधारित भएर ल्याइएको जस्तो लाग्छ ।

अहिले सरकारले निजी क्षेत्र लागयत विभिन्न व्यवसायलाई राहत र सहुलियत दिएको छ । कोरोना महामारीका कारण थला परेको व्यवसाय क्षेत्र कोरोना सकिएपछि पुनः सञ्चालनमा आउन सकून् भन्ने उद्देश्यले दिइएको जस्तो लाग्छ । यो राम्रो कुरा पनि हो ।

न्यून आय भएका मजुर र दैनिक ज्यालादारी गर्ने मानिसहरूलाई अहिलेको बजेटले राहत ल्याउने पर्ने भए पनि त्यो कुरा बजेटले समेट्न सकेको छैन । न्यून आय भएका कम्तीमा एउटा परिवारलाई सरकारले १४ हजार रुपैयाँका दरले राहत दिनुपर्ने अवस्था देखिन्छ ।

अहिले पनि बजेट कार्यान्वयमा समस्या देखिएको छ । अहिलेको बजेट कार्यान्वयन हुन किन आवश्यक छ भने यो जीवन मरणसँग सम्बन्धित छ । यो कार्यान्वयन हुन अति आवश्यक छ ।

प्रा.डा. शिवराज अधिकारी/अर्थविद्

अहिलेको बजेट अलि बढी राजनीतिक भयो कि जस्तो लागेको छ । बजेटमार्फत फर्मल सेक्टरमा राहत दिने कुरा ग¥यौँ तर इन्फर्मल क्षेत्रलाई छोडिएको देखिन्छ ।

कुनै अनुसन्धानविना नै आर्थिक वृद्धिदरको लक्ष्य राख्ने गरिएको छ । हरेक वर्ष औषत ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुन्छ भन्ने गरिएको पाइन्छ ।

डा. चन्द्रमणि अधिकारी/अर्थविद्

बजेट संवैधानिक प्रमाण हो, राजनीतिक प्रमाण हो । यो विकास र जनतासँग जोडिन्छ भन्ने कुरा हामीले बिस्तारै बिर्संदै गइरहेका छौँ कि जस्तो लाग्छ । बजेटलाई देखाउने अर्थसाहित्यको हिसाबले हेर्दा राम्रो देखिने तर कार्यान्वयनमा नजाने खालकोे आउने गरेको विगतको अनुभवले देखाउँछ ।

अहिलेको बजेटलाई सबै कोणबाट हेर्दा सबैलाई समेट्न खोजेको, सबैलाई निम्तो बाँढ्न खोजेका जस्तो देखिन्छ ।

सरकारको राहत र सहुलियतमा पहुँच भएकालाई त दियो तर जोसँग पहुँच छैन, त्यसलाई समेट्न सकेको देखिँदैन ।

सरकारले कृषकलाई बिउमा दिएको अनुदान जग्गा भएको कृषकले त पाउला तर जग्गा नै नभएका कृषकले कसरी सरकारको राहत पाउने ? बजेटले यस्तै अवस्था दर्शाउँछ ।

एउटा यस्तो ठूलो समूह छ जसले दैनिक काम गरेर जीवन निर्वाह गरिरहेको छ । त्यसलाई सरकारको बजेटले समेट्न सकेको छैन ।

डा.विन्दु लोहोनी/अर्थविद्

यो विषम परिस्थितिमा ल्याइएको बजेटमा बाहिरी रूपमा हेर्दा कस्तो रेस्पोन्स हुन्छ भने यो उत्तरदायी हुने अवस्था छैन । शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रका लागि ल्याइएका बजेटमा क्ल्यारिटी छैन । यो लागू गर्न पहिले नयाँ ग्रोथ कहाँबाट आउँछ, ग्रोथको स्रोत के हो, त्यो महत्वपूर्ण हुन्छ । यति उति प्रतिशत मात्र भनेर मात्र हुँदैन, यो कहाँबाट आउँछ त्यो प्रष्ट हुनु पर्दैन ?

विश्व परिवेशमा हेर्दा बजेटले क्राइसिसको अवस्थामा धेरैलाई अवसरहरू प्रदान गर्ने गरेको पाइन्छ । विभिन्न प्याकेजहरू घोषणा गरिएका हुन्छन् । लक्षित वर्गहरूलाई प्राथमिकतामा राखिएको हुन्छ । विकसित मुलुकमा यो पेन्डामिकको बेला नयाँ रोजगारी, नयाँ सिपको व्यवस्था लगायतलाई विशेष प्राथमिकतामा राखेर समेटिएको हुन्छ ।

अहिलेको बजेटको कुरा गर्दा हाम्रोमा १०० वटा इलेक्ट्रिकल सवारी साधन, ५०० चार्जिङ स्टेसन भनिएको छ । यो सरकारका लागि कुनै ठूलो कुरा होइन । बजेटमै समेटिनुपर्ने विषय पनि होइन । सरकारले घोषणा गरेका यस्ता कार्यक्रमहरू ‘ग्रीन ग्रो’ का रुपमा प्याकेज राख्दा यसबाट लक्षित वर्गले अवसर प्राप्त गर्न सक्छन् ।

त्यस्तै, अर्को नेपालको डिजिटल फ्रेम वर्कमा सरकारले धेरै कुरा गर्नु जरुरत पनि छैन । निजी क्षेत्रलाई यसमा सहभागी गराउने हो भने अझ बढी प्रतिफल प्राप्त हुने अवस्था रहन्छ । यसका लागि सरकारले सपोर्टिङको भूमिका खेल्नुपर्छ । यसबाट युवा वर्ग पनि लाभान्वित हुने अवस्था रहन्छ ।

विश्वव्यापीरूपमा तुलना गर्ने हो भने नेपालको प्रविधि र गुणस्तर निकै कमजोर छ । सरकारले २० हजार लिटरसम्म खानेपानीमा महशुल छुट गर्ने घोषणा गरेको छ तर खानेपानीको लिकेज कति हुन्छ, त्यसतर्फ ध्यान दिने कुरामा चुकिरहेका छौँ । यसका लागि प्रविधि मजबुत हुँदा सबै समस्या हल हुन्छ ।

नेपालमा स्मार्ट इनर्जीको पनि ठूलो सम्भावना छ तर टेक्नोलोजीमा हामी निकै पछि छौँ । यसतर्फ ध्यानदिनुपर्छ । सरकारले अस्पतालमा बेडको कुरा गरेको छ तर गुणस्तरीय बनाउने कि परिमाणमा मात्र ध्यान दिने ?

सबैभन्दा पहिले हामीले गुणस्तरमा ध्यान दियौँ भने स्वास्थ्य उपचारका लागि न त भारतको मेदान्त पुग्नुपर्छ न सिङ्गापुर, न बैंकक वा अन्य विदेशी अस्पतालमा नै । यसका लागि हामीले निश्चित क्षेत्र नै छट्ट्याएर पूर्वाधार तयार गर्नतर्फ लाग्नुपर्छ । कार्यान्वयन हुने पाटो हेरेर मात्र ल्याउनुपर्छ ।

डा. रवीन्द्र पाण्डे

समग्रमा हेर्दा बजेट राम्रै देखिन्छ तर चुनाव अगाडि आएको बजेट भएकाले बढी वितरणमुखी देखिएको छ । सरकारले नै ६ महिनापछि देश चुनावी मैदानमा जाने भनेकाले अहिलेका अवस्थामा यति ठूलो बजेट ल्याउनु उचित हो कि होइन भन्ने कुरा पनि उठेको छ ।

बजेटको प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्र छन् जुन अहिलेको अवस्थामा आवश्यक पनि हो । तर, यो बजेट विषम परिस्थितिकाबीच सामान्य तबरले ल्याइएको देखिन्छ । यो संकटको अवस्थालाई लक्षित गरेर ल्याइएको बजेट जस्तो देखिएको छैन ।

निजी क्षेत्रलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता कुरा बजेटका सकारात्मक पक्ष छन् ।

नरेश श्रेष्ठ

अघिल्ला वर्षहरूका बजेटले निजी क्षेत्रमा कर बढाएर सताइरहेको अवस्थामा यो वर्षको बजेटले कर छुट व्यवस्था गरेकाले व्यापारी वर्गलाई केही राहत दिन खोजेको देखिएको छ ।

थोरै भए पनि सहुलियत दिएकाले निजी क्षेत्र बजेटबाट खुशी र आशावादी देखिएको छ । यो बजेट निजी क्षेत्रका लागि स्वागत योग्य नै छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ४५ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न