फ्रान्सेली शहर मार्सेइलमा लागुऔषधको डरलाग्दो जालो | Khabarhub Khabarhub

फ्रान्सेली शहर मार्सेइलमा लागुऔषधको डरलाग्दो जालो


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्सेली शहर मार्सेइल धेरै कारणले चर्चामा छ । पछिल्लो दशक यो शहर फुटबल पारखीका लागि समेत परिचित छ । पुरातात्त्विक र सांस्कृतिक छवि बोकेको फ्रान्सको यो शहर बन्दरगाहको कारण औद्योगिक र व्यापारिक रूपले पनि महत्त्वपूर्ण मानिन्छ ।

केही समययता भने यो शहर बदनाम हुँदैछ । लागुऔषधको कारोबार बढ्दै जानु र यसैका कारण धेरैको ज्यानसमेत जान थालेपछि शहरलाई हेर्ने कतिपयको दृष्टिकोण नै फेरिएको हो । यस शहरको उत्तरी भागमा गत महिना लागुऔषधसँग जोडिएका आपराधिक घटना धेरै भए । प्राय: घटनामा बन्दुक प्रहार गरिएकाका समाचारहरू बाहिर आए । लगातार बढ्दै गएको लागु औषध कारोबार र झै–झगडाका कारण प्रहरी प्रशासन पनि आजित भइसकेको छ ।

रायिने नामका एक १४ वर्षीय युवकको गृष्ममा यसै खाले घटनामा परेर ज्यान गएपछि फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनले दुईपटक त्यहाँको भ्रमण गरिसकेका छन् । अगस्टको मध्यमा सो दु:खद घटना भएपछि राष्ट्रपति माक्रोन सेप्टेम्बर र अक्टोबर गरी दुईपटक भ्रमणमा गएका थिए । दुवै भ्रमणमा उनले समस्या समाधानका लागि अर्बौँ डलर खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अर्को वर्षको सुरुवातमै हुने राष्ट्रपति निर्वाचनमा माक्रोनका सामु धेरै चुनौती छन् । यी सामाजिक र आर्थिक मुद्दालाई उनका विपक्षीले गतिलोसँग उठाउने निश्चित नै छ । विपक्षी दल र ती दलका समर्थकले अहिले नै ती मुद्दालाई अगाडि बढाउन शुरु गरिसकेका छन् ।

मार्सेइलका केही गरीब क्षेत्र छन् । युरोपका अन्य क्षेत्रको तुलनामा धेरै गरिबी रहेको क्षेत्रमा गरिबी, रङ्गभेद र आइसोलेसनका मुद्दा प्राथमिकताका साथ उठाइएका छन् । त्यो क्षेत्रमा जनजीवनमा नै समस्या परेको छ । स्वास्थ्य संयन्त्र खराब बनिरहेको छ । युवाहरू लागु औषध ओसारपसारमा सक्रिय छन् । गाँजा, भाङ र कोकिनको नसामा लट्ठ हुनेको जमात यत्रतत्र देख्न सकिन्छ ।

यसरी लागु औषधको विकराल अवस्थाको शिकार हुने एउटी प्रतिनिधि पात्र हुन्, फतिमा (नाम परिवर्तन) । उनका छोराको सन् २००९ तथा श्रीमानको सन् २०१० मा ज्यान गएको थियो ।  लागु औषध कारोबारीकै डरले उनी आफ्नो वास्तविक नाम बताउन चाहन्निन् ।  यसरी लागु औषध कारोवारीको विरुद्धमा आफ्नो वास्तविक  परिचयसहित बोल्दा घरमा रहेका अन्य बालबच्चाको ज्यान नै असुरक्षित हुने जोखिममा पनि उनी छिन् ।

आफ्ना प्रियहरूको ज्यान गए पनि फतिमामा न्याय पाउने आशा मरिसकेको छ । १२ वर्षको अन्तरालमा आफूलाई सम्हालिरहेकी त छिन् ।  परन्तु, समय–समयमा आफ्नो श्रीमान् र छोराको यादले अझै सताइ नै रहन्छ ।

फतिमाका छोरा गोली लागेर ज्यान गुमाउँदा २२ वर्षका थिए । लागु औषध ओसारपसारमा संलग्न उनी कैयौँपटक जेल पनि पठाइएका थिए । उनलाई बारम्बार लागु औषध बेचिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो ।

सन् २००९ को जुनमा फतिमाका छोरा मारिए । आफ्नो लक्का जवान छोरा मारिएपछि बाबुलाई असह्य भयो । उनी छोराको हत्यारा पत्ता लगाउन लागिपरेका थिए ।

एक वर्ष पनि नहुँदै सन् २०१० को मेमा आफ्ना चार बच्चा लिन विद्यालय गएका श्रीमान् नफर्केपछि फतिमा बाहिर खोज्न निस्केकी थिइन् । श्रीमान् भेट्टाउँदा आफ्नै कारभित्र थिए । अवस्था यस्तो थियो कि, टाउको बाँकी रहे पनि शरीरका अन्य अङ्ग छिन्नभिन्न भइसकेका थिए ।

एकभन्दा कम समयको अन्तरालमा आफ्नो सबैभन्दा प्रिय दुई व्यक्तिलाई गुमाएकी फतिमा चार सन्तानको  सुरक्षित जीवन र भविष्यका लागि दु:ख गरिरहेकी छिन् । उनले अहिलेसम्म न्याय पाएकी छैनन् । उनलाई यस कुरामा आशा पनि छैन । “म कतै मजाक गरिरहेको भए पनि या कतै काममा कटिबद्ध देखिए पनि मेरो मनमा एउटा कहिल्यै नपुरिने घाउ छ,’  आफ्नो पीडा सम्झँदै फतिमा भन्छिन् ।

उनी बाँकी रहेका सन्तानका लागि नै आफ्नो जीवन समर्पित गरेको बताउँछिन् ।

यो पीडा भोग्ने फतिमा एक्ली महिला होइनन् । उनका छिमेकीहरू पनि लागु औषध कारोबारीको आँखामा परेका छन् । कुनै पनि समय जो कोही युवा गोली खाएर मर्न सक्ने डरले अभिभावक भयभीत हुन थालेका छन् ।

पाँच वर्ष अघिको भन्दा मार्सेइलको अपराध दरमा कमी आएको प्रहरीको तथ्याङ्क छ । यद्यपि यस बीचमा एक्लोपनको वृद्धि भइरहेको छ भने गोली लागेर मारिने युवाको सङ्ख्या बढी हुन थालेको छ ।

१७ वर्षीय एमाइन केसास्की लागु औषध कारोबारले चरम गरिबीमा राहत दिएको बताउँछन् । उनी युवा लागु औषध कारोबारी अपराधी नभई परिस्थितिको शिकार भएको बताउँछन् । बेरोजगारी र गरीबीको शिकार भएपछि धेरै जना यो पेशा रोज्न बाध्य भएको उनको मत छ । अभावै अभावका बीचको जिन्दगीका कारण धेरैले गलत बाटो रोजेको उनी बताउँछन्  ।

केसास्कीको दाजु २२ वर्षीय ब्राह्मिक पनि फतिमाका छोराजस्तै गोली लागेर मरेका थिए । सन् २०२० को डिसेम्बरमा जलेको शरीर भेट्टाइएको उनको हत्यामा  संलग्न भएको आशङ्कामा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

केसास्कीकै अनुसार दाजु लागु औषधमा संलग्न भएको अभिभावकले थाहा पाए पनि छोराप्रतिको सम्मानमा कमी आएन । राज्यले नै उत्तरी क्षेत्रमा बढ्दै गएको यो समस्यालाई बेवास्ता गरेका उनी बताउँछन् ।

मार्सेइलमा बसेर पत्रकारिता गरिरहेका फिलिप पोजुलले यसरी शिकार हुने धेरै जना उत्तरी अफ्रिकन समुदायको भएको बताउँछन् । उनकै विचारमा बेरोजगारी र यसपछि उत्पन्न भएको जीवनयापनको समस्याले उनीहरू यस्तो पेशामा आबद्ध भएका हुन् ।

पुजोलकै विचारमा उत्तरी क्षेत्रमा बासिन्दा माथि हुने भेदभाव नै एउटा समस्या हो । उनका अनुसार कतै रोजगारीका लागि पुगे पनि घर र ठेगाना भन्ने बित्तिकै खराब नजरले हेर्ने गरिन्छ । बासेनमा बस्ने २२ वर्षीय नासेर रिबोह लगातार कामको खोजी गरे पनि पाउन असमर्थ रहेको बताउँछन् । उनकै विचारमा यी सबै रङ्गभेदका कारण भएको हो ।

रोजगारदाताले कामको बारेमा बुझ्दै नबुझी तिरस्कार गर्ने गरेको उनी बताउँछन् । उनको गुनासोमा अन्य युवाको पनि स्वीकारोक्ति छ । उनी भन्छन्, “जति युवा छन्, उति मर्ने सम्भावना बढी छ ।”

उनकै विचारमा बेवास्ताको ककटेल रहेको मार्सेइलमा उनका एक साथीले पनि ज्यान गुमाएका थिए । जहाँ गरिबी, कमजोर शिक्षा, स्थानीय क्षेत्रमा विद्यालयको अभाव, सामुदायिक सेवाको अभाव र प्रहरीको कमजोर उपस्थिति छ । ती क्षेत्रमा यस्ता आपराधिक गतिविधि अझै बढी बढेका छन् । यी सबै त्यहाँको पर्याय बनेका छन् ।

रिबोहको विचारमा लागु औषध नियन्त्रणको सवालमा प्रहरीले रङ्गभेदी नीति लिएको छ । थुप्रै पटक निर्दोष उत्तरी अफ्रिकन गिरफ्तार भएका छन् । प्रहरीले वास्तविक दोषी पत्ता लगाउने प्रयास नगरेरै अश्वेतलाई लक्षित नै गर्ने गरेको उनको गुनासो छ । त्यस क्षेत्रका प्रहरी अधिकारी बाउचेस डी रोन शङ्का लागेको व्यक्तिलाई सोधपुछ गर्ने प्रहरीको अधिकारको उपयोग गरेको बताउँछन् ।

उनको विचारमा नियममा कुनै  भेदभाव त छैन । तर, अन्य सामाजिक संरचनाको असर प्रहरीको मानसिकतामा पनि परेको भने साँचो हो । उनी यी यावत् समस्याको बावजूद लागु औषध समस्यामा लागी परेको बताउँछिन् ।

अगस्ट महिनामा १४ वर्षीय रायिनेको हत्या भएको केही समय पछि नै अन्य दुई जनाको ज्यान गएको थियो । यस लगत्तै राष्ट्रपति माक्रोनले त्यहाँ भ्रमण गरेका थिए । रायिने फ्रान्समा लागु औषधसँग सम्बन्धित घटनामा ज्यान गुमाउने सबैभन्दा कान्छा व्यक्ति थिए । यसपछि त्यहाँ भ्रमण गरेका माक्रोनले घटनाले आफूलाई स्तब्ध पारेको बताउँदै यो घटना देशकै दुर्भाग्य भएको सन्देश दिएका थिए ।

सरोकारवालाका अनुसार अहिले विभिन्न देशबाट त्यहाँ लागुऔषध ओसारपसार भइरहेको छ । यो ओसारपसारको केन्द्र पत्ता लगाउन प्रहरीले निरन्तर प्रयास गरे पनि पूर्ण सफलता हात लाग्न सकेको छैन । नजिक भने पुगेको जनाइन्छ ।

प्रहरी अधिकारीका अनुसार यस वर्ष ८ सय लागु औषधका डिलर प्रहरीले पक्राउ गरे । यो गिरफ्तारी गत वर्षभन्दा दुई गुणा बढी हो । यसले प्रहरीको सक्रियतालाई प्रमाणित गरेको छ । पत्रकार पुजोल नै भने लाग औषधको यो चेनमा युवालाई प्रयोग गर्दा सहज हुने भएकाले युवाहरूको प्रयोग गरिएको बताउँछन् ।

डिलरले ती युवालाई ऋण बोकाउँछन् । यसै कारण ती ऋण असुल गर्न एकले अर्कालाई मार्ने गरेका छन् । प्रहरीकै अनुसार उनीहरू ग्राहकको चाहे अनुसारको लक्ष्य राख्ने गरेका छन् । धेरै डिलरले युवालाई सुरुवाती दिनमा भाङको आदती बनाउने गरेका छन् । यसपछि कोकीनको व्यापार पनि उनीहरूबाटै गराउने गर्छन् ।

यसै व्यापारमा प्रत्येक २ सय हाते बन्दुक र २ सय ठूला बन्दुक पनि एक वर्षको बीचमा भित्रिने गरेका छन् । त्यहाँसम्म यो लैजाने क्रममा अन्तर्राष्ट्रिय क्षेत्रमा नै एउटा गिरोह सञ्चालित छ । गत अगस्टमै मार्सीलेका मेयर फ्रान्सेलन्फोले बजारमा चकलेट किन्नभन्दा हतियार किन्न सहज भएको प्रतिक्रिया दिएका थिए । उनले सरकारसँग बन्दुक नियन्त्रण नीति बनाउन अनुरोध गरेका थिए ।

गत सेप्टेम्बरमा राष्ट्रपति माक्रोनले यो समस्यालाई निराकरण गर्न स्थानीय तहमै पहल शुरु गर्नु पर्ने बताएका हुन्  । यसको निरीक्षण गर्न अक्टोबरको अन्त्य र सन् २०२२ को फेब्रुअरीमा फेरि भ्रमण गर्ने जनाएका थिए । उनले धेरै जना पक्राउ भएकोमा प्रहरी प्रमुख कामलरीको प्रशंसा गरेका थिए ।

यसपछि नै राष्ट्रपतिले  लागु औषध नियन्त्रणका लागि ३ देखि ४ अर्ब युरो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

हामीले सोचेजस्तो युरोपका सबै भाग उत्तिकै सुन्दर छैनन् ।  संसारको समृद्धमध्येको एक देश फ्रान्सको यो कहालीलाग्दो अवस्था हाम्रा लागि अनपेक्षित हो । राष्ट्रपति माक्रोनको यो पछिल्लो प्रतिबद्धताले शायद अब त्यहाँको अवस्थामा सुधार हुनेछ ।

–एजेन्सीहरूको सहयोगमा 

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ९ : ०० बजे

स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं– सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो

वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

काठमाडौं– अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको

विपद् पूर्वतयारीका लागि सामूहिक योजना 

खजुरा– लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारी र प्रतिकार्यका

सगरमाथा दिवस : बङ्गलादेशमा तस्बिर प्रदर्शनी

काठमाडौं– सगरमाथा दिवसका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा तस्बिर प्रदर्शनी आयोजना

जसपा महाधिवेशन : पदाधिकारी र सदस्यहरूको दस्तुर निर्धारण

काठमाडौं– जनता समाजवादी पार्टी जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको दस्तुर निर्धारण