काठमाडौँ– थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २-० गोल अन्तरको अग्रता लिएको थियो ।
खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० गोल अन्तरको अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको ८२ औँ मिनेट बंगलादेशले एक गोल गर्दै खेल २-१ को स्थितिमा पुगेको थियो ।
बंगलादेशका १० नम्बरका खेलाडी मामुबुल रहमानले गोल गरेका थिए । पहिलो हाफ निकै शानदार खेलेको नेपालको प्रदर्शन दोस्रो हाफमा केही फितलो देखिएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल गर्न नसक्दा नेपाल २-१ गोल अन्तरले विजयी भएको हो ।
खेल हेर्न प्रधानमन्त्री केपी ओली, कलाकार र फुटबल प्रेमी नेपालीको उपस्थिति उल्लेख्य रहेको थियो । नेपाली खेलाडीले पहिलो गोल गर्दा नै प्रधानमन्त्री लगयत दर्शकहरु निकै उत्साहित बनेका थिए ।
शुरुवाती ११ मा नेपाली खेलाडीका तर्फबाट गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी मैदानमा उत्रिएका थिए ।
त्यसैगरी मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल थिए भने भने फर्वार्डमा अन्जन विष्ट थिए ।
थ्री नेसन्स कप प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगिताको पहिलो खेलमा खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो ।
लिग चरणका खेलमा कुनै पनि गोल नगरी फाइनल प्रवेश गरेको नेपालले फाइनल खेलमा भने २ गोल गर्न सफल भएको हो ।
म्यान अफ दि म्याच बने संजोग
प्रतियोगितामा नेपालका लागि सुरुवाती गोल गरेका संजोग राई म्यान अफ दि म्याच बनेका छन् । उनले २५० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी ‘मस्ट भ्यालुएबल’ प्लेयर राोहित चन्द बने । उनले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
बिराजले लिए सन्यास
यसैबीच डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पूरा गरेका उनले सोमबार सन्यास लिएका हुन् ।
काठमाडौँमा भएको थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजको यो प्रतियोगिता राष्ट्रिय टिमको अन्तिम प्रतियोगिता बन्यो ।
सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् ।
विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए ।
उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगे । उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए ।
राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए । अनिल गुरुङले सन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए ।
नेपालले बंगबन्धु गोल्डकप, १२औँ साग र सोलिडारिटी कप जित्दा विराज मैदानमा कप्तानको भूमिकामा थिए ।
प्रतिक्रिया