यस सत्रको आइपीएलमा अस्ट्रेलियाली खेलाडीको वर्चस्व | Khabarhub Khabarhub

यस सत्रको आइपीएलमा अस्ट्रेलियाली खेलाडीको वर्चस्व


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) ११ अप्रिलमा सुरु हुँदै छ । संसारका धेरै फ्रेन्चाइजमध्ये आइपीएलको प्रभाव सबैभन्दा बढी छ ।

भारतीय बजारमा क्रिकेटको उपस्थिति तथा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावका कारण आइपीएल पनि बढी चर्चामा रहने गरेको छ । विगतको झैँ यसपटक पनि ड्रिम ११ मुख्य प्रायोजक बन्ने भएको छ ।

गत सिजन कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा पाँच महिना ढिला संयुक्त अरब इमिरेट्समा आइपीएल भए पनि यस सिजन निर्धारित समयमै हुने जनाइएको छ ।

यसका लागि १८ फेब्रुअरीमा अक्सन सकिएपछि सबै टोलीको टुङ्गो लागेको छ । यस पटक आइपीएलको अक्सनमा केही खेलाडी चर्चाको शिखरमा रहे । टेस्ट विशेषज्ञ ब्याट्सम्यान चतेश्वर पुजारालाई यस पटकको आइपीएलमा चेन्नाइले ५० लाख भारुमा अनुबन्ध गरेको छ ।

त्यसो त भारतीय राष्ट्रिय टोलीको पुनःसंरचनाको एउटा आधार नै आइपीएल रहने गरेको छ । हालका चर्चित ब्याट्सम्यान शिखर धवन आइपीएलमा छाएपछि भारतीय राष्ट्रिय टोलीमा अटाएका हुन् ।

शुभमन गिलको भारतलाई युवा विश्वकप दिलाउन महत्त्वपूर्ण योगदान थियो । परन्तु, गत सिजनमा गरेको प्रदर्शन भारतीय टोलीमा रहने एउटा मुख्य आधार बनेको छ ।

भारतीय सञ्चार र भारतीय बजार दुवैमा क्रिकेट र चलचित्रले उत्तिकै पकड जमाए । यी दुईलाई जोड्ने सेतु पनि आइपीएल बनेको छ । प्रीति जिन्टा र साहरुख खानको उपस्थितिले आइपीएललाई अझ लोकप्रिय बनाएको छ । साहरुख कलकत्ताका मालिक हुन्, प्रीति पन्जाबकी । मुकेश अम्बानी मुम्बइका मालिक हुन् ।

सबैभन्दा महँगा खेलाडीका रूपमा भारतीय कप्तान १७ करोड भारुमा रोयल च्यालेन्जर बङ्गलोरमा यथावतै रहेका छन् ।

१० करोडभन्दा बढी मूल्यका सबैभन्दा धेरै खेलाडी यसै टोलीमा छन् । कायल जेमिसनका लागि १५ करोड भारु खर्चिएको यो टोलीले ग्लेन म्याक्सवेलका लागि १४.२५ करोड तथा एबी डी भिलियर्सका लागि ११ करोड भारु खर्चिएको छ ।

राजस्थान रोयल्सले १६.५ करोडमा दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिसलाई भित्र्याएपछि अर्को सनसनीपूर्ण समाचार बनेको छ । सबै टोलीले विगतको भन्दा व्यवस्थित टोली बनाएको जनाए पनि कलकत्ता नाइट राइडर्स यसपटक गत सिजनको भन्दा फरक देखिएको छ ।

कलकत्ताले गत सिजनका प्रमुख खेलाडीलाई यथावत राख्दै अस्ट्रेलियाका अलराउन्डर बेन कटिङ, बङ्गलादेशका अलराउन्डर सकिबल अल हसन र भेट्रान स्पिनर हर भजन सिंहलाई टोलीमा समावेश गरेको छ ।

किङ्स पन्जाब ११ नाम परिवर्तन गर्दै पन्जाब लायन भएको छ । यो टोली सन् २०२१ को आइपीएलमा केही पाटामा भाग्यमानी पनि देखिएको छ ।

पन्जाबले शीर्ष बरियताका टी २० ब्याट्सम्यान इङ्ल्यान्डका डेभिड मलानलाई १.५ करोड मात्र खर्चिएर आफ्नो टोलीमा राख्न पाएको छ । १४ करोड भारु बलर जे रिचर्डसनका लागि खर्चिएको पन्जाबले कम मूल्यमा टोली तयार गरेको छ ।

गत सिजन प्रभावकारी रहेका दक्षिण अफ्रिकाका एन्चरिच नोर्तेजेलाई दिल्ली क्यापिटलले ३० लाख भारुमै आफ्नो टोलीमा राख्न पाएको छ । यस पटकको आइपीएल अक्सनको यो एउटा चर्चाको समाचार बनेको छ ।

वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र अस्ट्रेलियाका खेलाडीको उपस्थिति धेरै टोलीको लागि निर्णायक साबित हुने गरेका छन् । इङ्लिस खेलाडी मोइन अलीका लागि चेन्नाई सुपर किङ्सले ७ करोड भारु खर्चियो । अफ स्पिनर अलराउन्डर अलीले गत सिजन भने धेरै खेल बेन्चमै बिताएका थिए । इङ्लिस गत सिजन झैँ इङलिस खेलाडीकै प्रभावमा रहने टोली राजस्थान रोयल्स रहेको छ ।

फास्ट बलर जोफ्रा आर्चर ७.२ करोड भारुमा सोही टोलीमा यथावत छन् । जोस बटलर र अलराउण्डर बेन स्टोक्स पनि सो टोलीमा यथावतै छन् । स्टोक्स १२.५ करोड तथा बटलर ४.४ करोड भारुमा सो टोलीमा रहेका हुन् । यस सिजनमा मोरिस र तीन इङलिस खेलाडी नै नियमित खेल्ने सम्भावना बढेको छ ।

चेन्नाई सुपर किङ्सले ५ करोड भारु खर्चिएर साम कुरानलाई टोलीमा यथावत राखेको छ । कलकत्ताले ७५ लाख भारुमा हेरी गुर्नेलाई आफ्नो टोलीमा यथावत राखेको छ ।

दिल्ली क्यापिटलले साम विलिङ्सलाई २ करोड तथा टम कुरानलाई ५.२५ करोड भारुमा टोलीमा आबद्ध गरेको छ । यो निर्णयले इङलिस खेलाडीको दिल्लीमा समेत राम्रो उपस्थिति देखिएको छ ।

मुम्बई इन्डियनले भने रोहित शर्माका लागि १५ करोड भारु खर्चिएको छ । सो टोलीले हार्दिक पाण्डेका लागि ११ करोड तथा क्रुनाल पाण्डेका लागि ८.८ करोड भारु खर्चिएको हो ।

आइपीएलमा सबैभन्दा सफल टोली मुम्बईले एडम मिल्ने र नाथन कुल्टर नाइनलाई टोलीमा राखेको छ । कुल्टर नाइन ५ करोड तथा मिल्ने ३.२ करोडमा आबद्ध भएका हुन् । मुम्बईले जेमी निसमलाई पनि ५० लाखमा टोलीमा भित्र्याएको छ ।

विगतदेखि आइपीएलमा वेस्ट इन्डिजका खेलाडीको प्रभाव उत्तिकै रहँदै आएको छ । विस्फोटक ब्याटिङका कारण आइपीएलमा यिनीहरूको प्रभाव बढेको हो । सबैभन्दा धेरै उपाधि जितेको मुम्बईको विजय यात्रामा किरोन पोलार्डको भूमिका धेरै छ ।

त्यसैगरी लामो समय बङ्गलोरमा बिताएका क्रिस गायल पछिल्ला केही सिजन देखि पन्जाबमा आबद्ध छन् । एकै पारीमा सबैभन्दा धेरै रनको उनको कीर्तिमान कायम छ ।

गत सिजन पन्जाबबाट खेल्दै निकोलास पुरणले पनि आफूलाई त्यत्तिकै विस्फोटक ब्याट्सम्यान सिद्ध गरे । उनी ४.२ करोड भारुमा पन्जाबमा यथावत छन् ।

कलकत्ताका लागि त आन्द्रे रसेल र सुनिल नारायण प्रभावकारी खेलाडीको रूपमा लामो समयदेखि रहँदै आएका छन् । चेन्नाइले उपाधि जित्दा पनि ड्वान ब्राभोको भूमिका उत्तिकै थियो । गायल २ करोड भारुमा पन्जाबमा यथावत छन् ।

रसेल ८.५ करोड तथा नारायण १२.५ करोड भारुमा कलकत्तामा यथावत छन् । पोलार्ड ५.४ करोड भारुमा मुम्बइमा तथा ब्राभो ६.४ करोड भारुमा चेन्नाइमा यथावत छन् ।

दक्षिण अफ्रिकी खेलाडीमा मोरिसको अलावा क्वीन्टन डी कक, फाफ डु प्लेसिस र इम्रान ताहिर यस सिजनको आइपीएलमा देखिने छन् ।

डी कक २.८ करोडमा मुम्बइमा यथावत छन् । डु प्लेसिस १.६ तथा भेट्रान स्पिनर ताहिर १ करोड भारुमा चेन्नाइमा यथावतै रहेका हुन् । सोही टोलीमा दक्षिण अफ्रिकी फास्ट बलर लुङ्गा एनगीडी पनि छन् । एनगीडीको मूल्य ५० लाख भारु रहेको छ । मुम्बईले २० लाख भारुमा मार्को जेन्सनलाई टोलीमा राखेको छ । उनका लागि यो ब्रेक थ्रु कस्तो रहने हो, प्रतीक्षाको विषय बनेको छ ।

यसपटक आइपीएल बजारमा अस्ट्रेलियाका खेलाडीको उपस्थिति महत्त्वपूर्ण देखियो । प्याट कुमिन्स १५.५ करोडमा कलकत्तामा यथावत रहे । ग्लेन म्याक्सवेललाई बंगलोरले १४.२५ करोड भारु खर्चेर आफ्नो टोलीमा राखेको छ ।

यी दुई खेलाडी महँगा भए पनि हैदरावादलाई सन् २०१६ मा उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका विस्फोटक ब्याट्सम्यान तथा अलराउन्डरलाई बेन कटिङलाई कलकत्तामा ७५ लाख भारु मात्र खर्चेर आफ्नो टोलीमा राखेको छ ।

बङ्गलोरले २० लाख भारुमै जोस फीलीपलाई आफ्नो टोलीमा यथावत राख्न सफल भएको छ । सोही टोलीले डानियल क्रस्चियनलाई ४.८ करोड भारु खर्चेर आफ्नो टोलीमा राखेको छ । एडम जाम्पा बङ्गलोरमा रहने अस्ट्रेलियाका चौथो खेलाडी हुन् । उनलाई १.५ करोड भारु खर्चेर टोलीमा यथावतै राखिएको हो ।

मुम्बई इन्डियन्सले २ करोड भारु खर्चेर क्रिस लियनलाई टोलीमा राखेको छ । दुई सिजन अघि कलकत्तामा जम्न नसकेपछि गत सिजन मुम्बई पुगेको लियन सो सिजन त झन् धेरै समय बेन्चमै बिताउन बाध्य भए ।

यसबीचमा मुम्बइमा रहेका कुल्टर नाइनको मूल्य स्वाभाविक मानिएको छ । जोस हजेल उड २ करोड भारुमा चेन्नाइमा यथावत रहे ।

अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथ राजस्थान रोयल्सबाट दिल्ली पुगेका छन् । दिल्लीले २.२ करोड भारुमा उनलाई टोलीमा राख्न सफल भएको छ । गत सिजन स्मिथले राजस्थानको कप्तानी सम्हालेका थिए । थुप्रै खेलमा दिल्लीलाई जिताउन अहम् भूमिका निभाएका मार्कस स्टोनिस ४.८० करोडमा दिल्लीमा यथावतै रहे ।

अलराउन्डर मोइसेस हेन्रिक ४.२ करोड भारुमा पन्जाबमा रहेका छन् । झाए रिचर्डसन पनि १४ करोड भारुमा पन्जाबमा रहे । उनी सो टोलीका सबैभन्दा महँगा खेलाडी पनि हुन् । आन्ड्रयु टाय १ करोड भारुमा राजस्थानमा यथावतै रहे ।

सनराइजर्स हैदरावादलाई सन् २०१६ को उपाधि दिलाउन सफल कप्तान तथा आइपीएलमा सबैभन्दा सफल प्रारम्भिक ब्याट्सम्यानको रूपमा रहेका डेभिड वार्नर १२.५ करोड भारुमा पुरानै टोली हैदरावादमा यथावतै रहेका छन् । अलराउण्डर मिचेल मार्स २ करोड भारुमा हैदरावादमै छन् । केन रिचर्डसनका लागि बङ्गलोरले ४ करोड भारु खर्चेको छ ।

त्यसो त पछिल्लो समय क्रिकेटमा फड्को मारिरहेको अफगानिस्तानका एकाध खेलाडी यस सत्रको आइपिएलमा पनि देखिएका छन् । संयोग वश तीन खेलाडी हैदरावादमै रहेका छन् ।

टोलीका प्रमुख खेलाडी रसिद खान पुरानै टोलीमा यथावतै रहेका छन् । अलराउण्डर मोहम्मद नावी १ करोड भारुमा सोही टोलीमा यथावत छन् । पछिल्लो सिजन पन्जाबमा रहेका मुजिबुर रहमान १.५ करोडमा हैदरावादमा आबद्ध भएका छन् ।

न्युजिल्यान्डको पनि उत्तिकै महत्त्वपूर्ण उपस्थिति देखिएको छ । कायल जेमिसनसँगै अलराउन्डर जेम्स निसम पनि यो आइपिएलमा देखिने छन् । निसम ५० लाख भारुमा मुम्बइमा आबद्ध भएका छन् । मिल्ने पनि सोही टोलीमा रहेका छन् । विगतदेखि सोही टोलीमा रहेका ट्रेन्ट बोल्टलाई टोलीमा यथावतै राख्न मुम्बई ले ३.२ करोड भारु खर्चिएको छ ।

मिचेल सान्टनर ५० लाख भारुमा चेन्नाइमा र लुकी फर्गुसन १.६ करोड भारुमा कलकत्तामा यथावत छन् । केन विलिम्सनलाई टोलीमा यथावत राख्न हैदरावादले ३ करोड भारु खर्चेको छ ।

नेपालका लागि यस पटकको आइपिएल त्यति रोमाञ्चक रहेन । विगतमा दिल्लीमा रहँदै आएका सन्दीप लामिछाने यस पटक आइपिएलमा देखिने छैनन् । तीन वर्षअघि आइपीएलमा मौका पाएपछि संसारका धेरै फ्रेन्चाइजमा मौका पाएका सन्दीपलाई यसपटक दिल्लीले पत्याएन । गत सिजन पनि उनले बेन्चमै बिताए ।

खासमा भारत बाहिरका ४ खेलाडी मात्र खेल्न पाउने र भारतमा धेरै राम्रा स्पिनर भएका कारण सन्दीपका लागि अन्य फ्रेन्चजाइज भन्दा आइपिएल कम उपयुक्त ठहरिँदै आएको थियो ।

हाल कुनै टोलीमा नभए पनि तीन वर्ष अघि माइकल क्लर्क र रिक्की पोन्टिङका कारण आइपीएलमा प्रवेश पाएका सन्दीपका लागि त्यो आइपीएल नै जीवनको एउटा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको हो ।

विश्व क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण फ्रेन्चाइजका अन्य महत्त्वपूर्ण पाटा हुन सक्लान् । तर, यो सिजनको आइपीएलमा अस्ट्रेलिया क्रिकेटरहरूको प्रभाव हालसम्ममै सबैभन्दा धेरै रहने निश्चित झैँ रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ३८ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको