चैत्र ५ सम्म स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव | Khabarhub Khabarhub

चैत्र ५ सम्म स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच सोमबार छलफल भएको छ ।

भेटमा आगामी २१ फागुन ०७८ मा रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन र स्थानीय तहको चुनाव कहिले गर्ने भन्नेबारे छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा पनि प्रधानमन्त्री र आयुक्तहरूबीच छलफल भएको आयोगका सहसचिव भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानून सम्बन्धमा पनि छलफल भएको छ । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली संकलन गर्ने र बाह्य जिल्ला मतदाता नामावली दर्ताको विषयमा पनि छलफल भएको छ ।

निर्वाचन प्रणालीलाई प्रविधियुक्त बनाउने विषय र सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानुनी तथा प्राविधिक विषयमा पनि छलफल भएको सहसचिव भट्टराईले बताए ।  छलफलपछि निर्वाचन तथा उपनिर्वाचनका विषयमा सत्ता राजनीतिक दलहरूबीचमा छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाले बताएको आयोगका सहसचिव भट्टराईले जानकारी दिए ।

स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले बताएको छ । तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ । प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताए । आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

यस्तै स्थानीय तहको निर्वाचन आगामी चैत्र ५ सम्म गरिसक्ने गरिको प्रस्ताव पनि आयोगले राखेको छ ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने आयोगको भनाइ छ  ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था छ । सोही आधारमा जेठ ५ अघि नै चुनाव गर्ने गरि आयोगले प्रस्ताव गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले ‘अर्ली इलेक्सन’ को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री र आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री  पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए ।

‘अर्ली इलेक्सन’ को चर्चा भइरहँदा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

दलहरूबीच तीनै तहको  निर्वाचन एकैचोटी गर्ने कि फरक फरक गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । एमालेले अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै आएको छ । तर सत्तारुढ गठबन्धनमा यसबारे छलफल भएको छैन ।

 

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ५५ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा