रेड पाण्डाको सात थान छालासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

रेड पाण्डाको सात थान छालासहित तीन जना पक्राउ

शिकारीदेखि तस्करसम्म नियन्त्रणमा आएको प्रहरीको दाबी


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– रेडपाण्डा (रातो हाब्रे)को सात थान छालासहित प्रहरीले तस्करीमा संलग्न तीन जनालाई सोलुखुम्बुबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवित कटवालका अनुसार मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरिदबिक्री तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई महाकुलुङ गाउँपालिकाबाट पक्राउ गरेको हो ।

खबरहबसँग कुरा गर्दै कटवालले भने, ‘हामीलाई आएको विशेष सूचनाका आधारमा परिचालित प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले सात रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डा मार्न प्रयोग गर्ने पासो पनि बरामद गरिएको छ ।’

छाला र पासोसहितका उनीहरुलाई घरैबाट सोमबार साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा महाकुलुङ –२ का ७६ वर्षीय जगतबहादुर राई, महाकुलुङ–३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् ।

पक्राउ गरिएको यो समूहका व्यक्ति रेड पाण्डाको शिकार गर्नेदेखि सप्लाई गर्ने सम्म रेहेको डिएसपी कटवालले बताए । कटलालले भने, ‘हामीले पक्राउ गरेको समूहमा पासो थापेर रेड पाण्डाको सिकार गर्नेदेखि चीनतर्फ सप्लाई गर्ने सम्मका व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ ।’

पक्राउ गरिएका तीनै जनालाई कानूनी कारवाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइएको डिएसपी कटलावले बताए ।

यस्तो छ कानून

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार उनीहरुलाई पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ ।

के हो लोपोन्मुख प्रजातिको रेडपाण्डा ?
रेड पाण्डालाई आइयुसीएनले सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी कटवालका अनुसार रेडपाण्डाको छाला चीन र म्यानमार तर्फ तस्करी हुने गरेको छ ।

कटवालले भने, ‘दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बढ्दो क्रममा रहेको वासस्थान विनास, खण्डीकरण, चोरी शिकारी र संरक्षित क्षेत्रमै संख्या कम हुनु संरक्षणका मुख्य चुनौती हुन् ।’

हुन त नेपालमा रेडपाण्डाको संरक्षणमा रेड पाण्डा नेटवर्क क्रियाशिल छ । यसले मुलुकभित्रका ३५ जिल्लामा अध्ययन गरिसकेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, डोल्पा, लमजुङ, भोजपुर, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा रेड पाण्डा पाइन्छ ।

रेड पाण्डा नेटवर्कको अनुसार रेडपाण्डा विश्वमा करिब १० हजार र नेपालमा करिब २ जार ५ सयको संख्यामा छन् । नेपाल, भुटान र चीनको उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेड पाण्डाको तौल ३ किलोदेखि ६ किलोसम्म हुन्छ भने आयु १० वर्षसम्म हुने गर्दछ । लजालु स्वभावको वन्यजन्तु रेड पाण्डाको वासस्थान भनेको निगालोको जंगल हो ।

यसको बासस्थान २२ सयदेखि ४८ सय मिटर उचाइमा हुन्छ । यो प्रायः रूखमा बस्छ । एक रुखबाट अर्कोमा उफ्रन र जमिनमा छिटो दौडिन सक्छ । यसले जेठदेखि साउन महीनामा सन्तान जन्माउँछ । करिब १८ महीनाको उमेर पछि प्रजननका लागि सक्षम बन्छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : १६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने