भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी | Khabarhub Khabarhub

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ ।

कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो ।

विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो ।

सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् ।

मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिएको उनले बताए ।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो ।

विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय खुला गरिएको थियो ।

अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले विरोधसमेत जनाएका थिए ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ ।

घाट सेवामा आउने सबैलाई अनिवार्यरूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ ।

पशुपति क्षेत्रमा गत वर्षदेखि नै विदेशी पर्यटक आएका छैनन् । विसं २०७६ चैतदेखि पशुपति क्षेत्रका सबै पर्यटक टिकट काउन्टर बन्द छन् । कोरोनाका कारण पर्यटक आउन छाडेपछि पर्यटक गाइड तथा पर्यटकका लागि लक्ष्य गरी विभिन्न सामग्रीको व्यापार व्यवसाय गरेकाहरुसमेत मर्कामा परेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ४५ बजे

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।