को कसको 'बायोपिक'मा अभिनय चाहन्छन् ? | Khabarhub Khabarhub

को कसको ‘बायोपिक’मा अभिनय चाहन्छन् ?


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७५ जेठ २४ गतेदेखि असार १६ गतेसम्म बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा निलम कार्की निहारिकाको मदन पुरस्कार प्राप्त कृति ‘योगमाया’ मञ्चन भयो ।

राणा शासनकालमा सामाजिक कुरीति, विभेद र विसंगतिविरुद्ध आवाज उठाउँदै उक्त माग शासकले पूरा नगरेपछि भक्तहरूसहित अरुण नदीमा आत्मदाह गर्ने भोजपुरकी विद्रोही महिला योगमायाको कथा बोकेको नाटकमा अभिनेत्री मिथिला शर्माले शीर्ष भूमिका निभाएकी थिइन् ।

नाटकमा योगमायाको चरित्र निर्वाह गरे पनि मिथिलामा योगमायाको भोक मेटिएको छैन । त्यहीकारण उनी योगमायाको कथामा फिल्म बन्यो भने त्यसमा अभिनय गर्न चाहन्छिन् । ‘योगमायाको बारेमा फिल्म बन्यो भने उहाँको बारे सबै जानकारी लिएर योगमायालाई नै निरन्तरता दिन चाहन्छु । मलाई उहाँका भोगाइहरु, उहाँले गरेका कामहरु यति धेरै छ कि नाटक र फिल्ममा समेट्न गाह्रो छ,’ मिथिला भन्छिन् ।

‘जसरी भारतमा सिरिजका रुपमा बनाइन थालिएको छ । त्यसरी नै उहाँको बाल्यकालदेखि आउँदा त्यस्तो सिरिजमा जीवनको एउटा अन्त्यमा पुगेको हुन्छ । त्यसैले उहाँको जीवन भोगाईलाई अझ गहिराईमा पुगेर फिल्मको कथा आयो भने काम गर्न म तयार छु’, मिथिला भन्छिन्, ‘उहाँबाहेक मलाई अनुराधा कोइराला, अंगुरबाबा जोशी, रानी ऐश्वर्याजस्ता पात्रहरुको कथामा काम गर्न मन छ । तर अहिलेसम्म कसैबाट अफर आएको छैन ।’

कलाकार तथा अभिनेता मनोज गजुरेल स्टेण्डअप कमेडीमा भनिरहनु पर्ने नाम होइन । यी कलाकारको ‘सेन्स अफर ह्युमर’ आफैँमा उत्कृष्ट छ । नेपालका नेता वा पूर्व राजा हुन् अथवा विदेशका नेता नै किन नहुन्, उनको क्यारिकेचर शैली दुरुस्तै छ । यी अभिनेता नेता मदन भण्डारी र स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको बायोपिकमा अभिनय गर्न चाहन्छन् ।

‘म फिल्मी कलाकार नभएकाले फिल्मी अभिनय मेरो प्राथमिकता त रहेन । तर बायोपिक भनेको चाहिँ फिल्मभन्दा अलिक माथि रह्यो । त्यसमा सूचना र मनोरन्जनसँगै इतिहास पनि भएको हुनाले मेरो रुची छ । मैले मदन भण्डारीको क्यारिकेचर पनि धेरै गरेको, गेटअप पनि मिल्ने र अलिकति उहाँको योगदानको हिसाबले त्यो बायोपिक भयो भने एउटा त्यसमा सकियो’, फिल्म ‘सय कडा दश’का यी अभिनेता भन्छन्, ‘तत्कालीन राजा वीरेन्द्रको बायोपिक बन्दा पनि त्यसमा पनि मेरो रुची रहन्छ । अहिलेसम्म फिल्मकै लागि अफर आएको छैन । मदन भण्डारीले लेखेको गीतको लागि अफर आए पनि गरिनँ । त्यसमा राजनीति कुराहरु थियो ।’

उनले मदन भण्डारीलाई कुनै राजनीतिक पार्टी भन्दा पनि राजनीतिको नयाँ आयाम बोकेको र सनातन कम्युनिष्ट राजनीतिलाई प्रजातान्त्रिक गर्ने मान्छेको रुपमा चिनेकाले आफूले बायोपिक गर्न चाहेको बताए । ‘जबजका नेता अथवा नेकपाका नेता भन्ने किसिमले चाहिँ मैले चाहेको होइन’,उनी खुल्छन् ।

आफ्नो रोजाइको व्यक्तिको बायोपिकमा अभिनय गर्न चाहने मिथिला र मनोज एक उदाहरण मात्र हुन् । सामान्यतया बायोपिक समाजमा असल वा खराब काम गरेर लोकप्रियता पाएका व्यक्तिको बारेमा निर्माण गरिन्छ । नेपाली फिल्ममा हालसम्म कांग्रेस नेता गणेशमान सिंहको कथामा ‘वीर गणेशमान’, आदिकवि भानुभक्त आचार्यको कथामा ‘भानुभक्त’ र भजनशिरोमणि भक्तराज आचार्यको कथामा ‘आचार्य’ निर्माण भइसकेका छन् । तत्कालीन पूर्वयुवराज दीपेन्द्रको कथामा ‘दीपेन्द्र सरकार’ घोषणा भए पनि त्यो निर्माण भएको छैन । साहित्यिक कृतिमा भने फाट्टफुट्ट फिल्म बनिरहेका छन् ।

भजनशिरोमणि पिता भक्तराज आचार्यको बायोपिक ‘आचार्य’मा शीर्ष भूमिकामा अभिनय गरेका भक्तराज पुत्र गायक तथा अभिनेता सत्यराज आचार्य स्वरसम्राट नारायणगोपालको बायोपिकमा अभिनय चाहन्छन् । ‘मलाई नारायणगोपालको चरित्र एकदमै मनपर्छ । नारायणगोपालसँग मेरो धेरै कुराहरु मिल्छ । उहाँको सेन्स अफर ह्युमर एकदमै राम्रो, गेम पनि एकदमै राम्रो खेल्ने । म पनि चेस राम्रो खेल्छु । खाना बनाउने, रमाइलो गर्ने, एकदम मुडी, अलिकति सर्ट टेम्पर, अन्याय नसहने उहाँको बानी मिल्छ’, सत्यराज भन्छन्, ‘स्रष्टाको अधिकार, स्रष्टाले रोयल्टी पाउनुपर्छ भन्ने कुरामा अहिले हामी हिडिरहेका छौं । उहाँ पनि हिँड्नुहुन्थ्यो ।’

आफू संगीत क्षेत्रको व्यक्ति भएकाले पनि नारायणगोपालको बायोपिकमा अभिनय गर्दा संगीतका गहन विषयलाई बाहिर ल्याउन सजिलो हुने सत्यराजको विश्वास छ ।

फिल्म ‘हँसिया’बाट अभिनयमा डेब्यू गरेका अभिनेता अनुपविक्रम शाही पछिल्लो समयका व्यस्त अभिनेतामा पर्दछन् । फिल्ममा अभिनेता तथा खलपात्र दुवै चरित्रमा उनी फिट छन् । ‘गर्न त धेरै मान्छेको बायोपिकमा काम गर्न मन छ । तर मैले पाएँ भने स्वरसम्राट नारायण गोपालको चाहिँ गर्न सक्छु । मलाई पहिलोपटक नै गर्न मन लागेको चरित्र चाहिँ नारायणगोपालकै हो’, अनुपविक्रम भन्छन्, ‘अनि मलाई तत्कालीन युवराज दीपेन्द्र शाहको बायोपिक पनि गर्न मन छ । उहाँलाई देखिरहेको र उहाँका बारेमा जानकारी पनि केही हदसम्म पाएकाले गर्न इच्छा लागेको हो ।’

बायोपिकको विषयमा कलाकार हरिवंश आचार्यको बुझाइ अलिक फरक छ । ‘बायोपिकमा यसको राम्रो, यसको नराम्रो भन्ने हुँदैन । तर त्यो भूमिका, विषय स्ट्रङ हुनुपर्यो । बायोपिक के विषयमा बनाउने भन्ने कुरामा भरपर्छ । राजनीतिक र साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तिको बायोपिक बनाउदा विवाद हुँदैन । विवादास्पद व्यक्तिको बायोपिक बनाउदा त्यसले राम्रो सन्देश जाँदैन’, उनी भन्छन्, ‘कि हिटलर जस्तै हुनुपर्यो । त्यो मान्छेको बारे जानकारी लिँदा म गर्छु भन्ने हुनुपर्यो । मलाई अहिलेसम्म बायोपिकको अफर आएको छैन ।’

बायोपिकमा हाँस्यव्यंग्यका भैरव अर्यालको बायोपिक बनाउन सजिलो हुने हरिवंशको बुझाइ छ । ‘किनभने उहाँको जिन्दगीको संघर्ष यति धेरै छ कि, अन्तिममा उहाँले आत्महत्या नै गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटा, विपी कोइरालाको पनि बायोपिक बनेको छैन,’ उनी भन्छन् । हरिवंश फिल्म निर्माण समूहका सदस्यहरु नहेरीकन आफूले बायोपिकमा अभिनय गर्ने वा नगर्ने टुंगो लाग्ने बताउछन् । उनी भन्छन्,‘टिमको स्ट्रङनेस कत्तिको छ, त्यसले कथा, पटकथामा कतिको न्याय गरेको छ । यी सबै चिजहरु हेरेर गर्न मन लाग्ने छ भने गरिन्छ ।’

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : १५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला