महामारीविरुद्ध नागरिक सहकार्य बढ्दै | Khabarhub Khabarhub

महामारीविरुद्ध नागरिक सहकार्य बढ्दै



झापा– कोरोनाका सक्रिय संक्रमित ५ सय नाघेको झापाको दमकमा नागरिक स्तरबाट आईसोलेसन सेन्टर निर्माण गरिएको छ ।

दमक उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमक, लायन्स क्लब, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सामुदायीक वन लगायतको सहभागितामा २५ बेड क्षमताको आईसोलेन सेन्टर निर्माण गरिएको हो ।

उद्योगी व्यवसायी तथा सामाजिक संघ संस्थाको पहलमा निर्माण गरिएको आईसोलेसन सेन्टर दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

दमकमा कोरोना संक्रमण उच्च भएको र जिल्लाका अन्य क्षेत्रको तुलनामा जोखिम बढेकाले विभिन्न क्षेत्रको सहकार्यमा आईसोलेसन सेन्टर निर्माण गरी दमक नगरपालिका अन्तर्गतको कोभिड उपचार केन्द्रलाई हस्तान्तरण गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए ।

विगतमा भुटानी शरणार्थीहरुको रेखदेखका लागि दाताले उपयोग गरेका र लामो समयदेखि उपयोगविहीन संरचनाको सरसफाई गरी आईसोलेसन सेन्टर निर्माण गरिएको हो ।

कोभिड उपचार केन्द्र नजिकै रहेकाले आईसोलेसन सेन्टरमा पनि नियमित स्वास्थ्यकर्मीको निगरानी रहने अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताइन । यसअघि दमक अस्पताल अन्तर्गत ३० बेड क्षमताको कोभिड उपचार केन्द्र अस्थाई अस्पताल सञ्चालनमा रहेको छ ।

बढ्दो सहभागिता

कोरोना संक्रमितको उपचार र सहयोगमा नागरिक स्तरबाट सहभागिता बढ्दो क्रममा रहेको छ । स्थानीय संघ संस्थाका साथै विदेशमा रहेकाहरुबाट सहयोग प्राप्त भईरहेको छ ।

संयुक्त रुपमा आईसोलेसन सेन्टर निर्माण गरेका संस्थाहरुबाट मात्र ४ लाख ५० हजार रुपैयाँ भन्दा बढिको सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

यस्तै अस्पतालहरुमा बिरामी, स्वास्थ्यकर्मी तथा कुरुवाहरुलाई विभिन्न संस्थाहरुले निशुल्क खाना खुवाउँदै आएका छन् भने आईसियू बेड, नेबुलाईजर, ह्विल चियर लगायतका सामग्री समेत नागरिक स्तरबाट प्राप्त भएका छन् ।

सक्रिय संक्रमित ५ सय नाघे

दमक नगरपालिकामा मात्र सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार हाल नगरमा ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।

ती मध्ये ५६ जना मात्र अस्पताल भर्ना भएका छन् भने १ सय ४९ जनाले ओपीडी सेवा लिएर घरैमा स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर शुरु भययता मात्र दमकमा ७ सय ७२ जना संक्रमित भई सकेका छन् । १८५ जना संक्रमणमुक्त हुँदा १२ जनाको मृत्यु भएको छ ।

दमकका दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रसँगै आम्दा, लाईफलाईन र एडभान्स अस्पतालमा पनि कोभिड संक्रमितको उपचार हुने गरेको छ ।

होमडेलिभरीमा पनि रोक

जिल्ला प्रशासन कार्यालय झापाले संक्रमण र मृत्यु दर नरोकिएको भन्दै झापामा पुनः एकसाता निषेधाज्ञा थपिएको छ । आगामी जेठ १४ गते मध्यरातसम्म जारी रहने गरी निषेधाज्ञा थप गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सामग्री होमडेलिभरीका समय निर्धारण गरिएको छ भने अन्य कुनै पनि सार्वजनिक कार्यक्रम गर्न पाईने छैन । तर जिल्ला प्रशासनले बिहान ९ बजे सम्ममा आवश्यक खाद्यबस्तु होमडेलिभरी गर्न दिईने जनाए पनि दमकमा यसलाई पनि निषेध गरिएको छ ।

दमकका संक्रमण तीव्र रुपमा फैलिई रहेकाले होमडेलिभरी सेवा शुरु गर्दा संक्रमणको जोखिम झनै बढ्न सक्ने भएकाले एकसाता नगरबासीलाई धैर्य गर्न आग्रह गरिएको नगरप्रमुख रोमनाथ ओलीले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको जिल्ला स्तरीय समितिको बैठकले कोरोना संक्रमण बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि १ जेठदेखि जारी निषेधाज्ञालाई आगामी १४ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

घरैमा पुगेर पोषक र स्वास्थ्य सामग्री

झापाको कमल गाउँपालिकाले होम आईसोलनमा रहेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर आवश्यक सामग्री प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्याल लगायतले संक्रमितहरुलाई घरैमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

आईसोलेसनमा बस्नेका लागि केही औषधी, थर्मोमिटर, मास्कलगायतका सामग्री प्रदान गरिएको स्वास्थ्य शाखाका प्रमुख अर्यालले जानकारी दिए । कमल गाउँपालिकामा कोरोनाको दोस्रो लहरयता २१३ जना संक्रमित पहिचान भएका छन् ।

कमल गाउँपालिकामानै उद्यमशिलताका लागि युवा नेतृत्व कार्यक्रम अन्तर्गत कारिटास नेपालले पनि संक्रमितहरुलाई पोषण सामग्री प्रदान गरिएको छ । कारिटासका गोविन्दराज कट्टेलका अनुसार संक्रमितहरुको घर घरमा पुगेर विभिन्न पोषणयुक्त खाद्यसामग्रीहरु प्रदान गरिएको हो । संक्रमितहरुलाई मनोविमर्शको आवश्यकता भएमा सो समेत प्रदान गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १२ : २३ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय