एक्ला ‘रचनात्मक विपक्षी’ सांसद सुवाल ! | Khabarhub Khabarhub

एक्ला ‘रचनात्मक विपक्षी’ सांसद सुवाल !


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी दलका नेताहरू जहिले पनि आफ्नो दल ‘रचनात्मक विपक्षी’ हुने दाबी गर्छन् । नेकपाको सरकार रहँदा कांग्रेस नेताहरू आफ्नो पार्टीलाई ‘शालीन र रचनात्मक’ विपक्षी भन्थे । अहिले कांग्रेस सरकारमा छ, एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् ।

गत भदौ २३ मा सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा मुख्य विपक्षी दल एमालेले लगातार अवरोध गरेको छ । गत भदौ २९ गते एमालेका सांसदहरूको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक्ला सांसद प्रेम सुवालले एक्लै भाग लिएका थिए ।

छ दिनपछि सोमबार भएको प्रतिनिधिसभा बैठकमा पनि एमालेको नाराबाजी जारी रह्यो । नाराबाजीकै बीच सभामुख अग्निप्रसाद  सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत सबै मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपतिका कार्यालय, राष्ट्रिय योजना आयोग लगायतका शीर्षकहरूमा छलफल अघि बढाए ।

छलफलमा भाग लिए नेमकिपाका सांसद उनै सुवालले । उनले १२ मिनेटको समय पाएकोमा अधिकांशतः एमसीसीसँगको सम्झौताको विरोधमा उपयोग गरे । उनले संविधान दिवसका अवसरमा राज्यले घोषणा गरेको मानपदवी तथा विभूषणप्रति पनि विरोध जनाए ।

उनले विद्युत उपयोग बढाउन घरेलु प्रयोगको विद्युत महशुल घटाउन माग गरे । उनले गोर्खा भर्ती केन्द्र बन्द गर्न र लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा नेपाल–भारत–चीन त्रिदेशीय बिन्दु पत्ता लगाउन माग गरे । उनले राष्ट्रिय योजना आयोग खारेज गर्न र राजनीतिक दलमाथिको तीन प्रतिशत मतको बन्देज खारेज गर्न पनि माग गरे ।

सांसद सुवालले प्रत्येक वडामा एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक उपलव्ध गराउन सोही वडाबाट एक जनालाई छात्रवृत्ति दिन माग गरे । उनले काठमाडौँ–तराई द्रुतमार्ग, काठमाडौँको बाहिरी चक्रपथ र उपत्यकामा चार वटा शहर विकास गर्ने आयोजना खारेज गर्न माग गरे ।

सुवालले कोभिड–१९ बाट असर परेका मजदुर र किसानलाई क्षतिपूर्ति दिन माग गरे । उनले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग पनि गरे ।

बाह्र मिनेट समय पाएका सुवालले सभामुखले दुई पटक ध्यानाकर्षण गराउँदा करिब १६ मिनेटमा आफ्नो कुरा पूरा गरे ।

यसपछि अर्थमन्त्री शर्माले सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिए । उनले अध्यादेशमा सामान्य परिमार्जन गरेर तीन प्रतिशत बजेट हेरफेर गरेको, बजेटको आकार घटाएर यथार्थपरक बनाएको, स्रोत समन्यायिक बनाएको र स्रोतको भौगोलिक वितरण मिलाएको बताए ।

अर्थमन्त्रीले प्रदेश र स्थानीय तहका अधिकार त्यहीँ पुर्‍याउने नीति लिएको, कृषि बीमाको अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याएको, गरिबको पक्षमा कार्यक्रम ल्याएको बताए ।

जवाफको क्रममा अर्थमन्त्री शर्माले भदौ ३१ गतेदेखि नै ऐन लागु हुने प्रस्ताव गरे ।

अर्थमन्त्रीले दिएको जवाफमा स्पस्टीकरणका लागि पनि उनै सुवालले समय पाए । स्पष्टीकरणमाथि अर्थमन्त्रीले जवाफ दिए ।

सभामुख सापकोटाले मन्त्रालय तथा निकायहरूको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन सांसद सुवाललाई समय दिए । उनले आफ्ना प्रश्नहरूको जवाफ नआएको कारण देखाउँदै प्रस्ताव फिर्ता लिन अस्वीकार गरे ।

खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेश हुँदा बहुमतले अस्वीकृत भयो । अर्थमन्त्री शर्माले भदौ ३१ गतेदेखि ऐन लागु गर्न राखेको प्रस्ताव बहुमतले स्वीकृत भयो ।

विनियोजन विधेयक सम्बन्धी अन्य प्रस्तावहरू बहुमतले स्वीकृत भए । अन्त्यमा सभामुख सापकोटाले विनियोजन विधेयक, २०७८ पारित गरियोस् भनेर अर्थमन्त्रीले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे । प्रस्तावमा ‘हुन्छ’ भन्नेको बहुमत भयो । ‘हुन्न’ भन्ने एक्ला सांसद थिए सुवाल । विपक्षी एमाले नाराबाजीमा व्यस्त रह्यो ।

यसपछि सभामुखको आदेशमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । दुवै प्रस्तावको सैद्धान्तिक छलफलमा सांसद सुवाल एक्लैले भाग लिए ।  सुवालले भ्रटाचारको छानविन गर्न, ऋण लिने प्रधानमन्त्रीहरूमाथि छानविन गरेर कारबाही गर्न र राष्ट्र ऋण उठाउने विधेयक खारेज गर्न माग गरेका थिए ।

अर्थमन्त्री शर्माले दुवै छलफलमा सुवालले उठाएका प्रश्नको जवाफ दिए । सभामुख सापकोटाले दुवै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

नवौँ अधिवेशनका बैठकहरूमा सबै छलफलमा भाग लिने र प्रश्न उठाउने एक्ला सांसद भएका छन् सुवाल । गत भदौ २९ गतेको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावमा पनि सुवालले मात्रै भाग लिएका थिए ।

सत्तापक्षका सांसदहरू सरकारको प्रस्ताव पारित गर्न ‘हुन्छ’ भन्नमा र सुवालको प्रस्ताव अस्वीकार गर्न ‘हुन्न’ भन्नमा सीमित छन् ।

विपक्षीको सहभागिता विना संसदीय कारबाही अघि बढ्दैन भन्ने मान्यतामा सभामुख र सरकारका लागि सांसद सुवाल सहयोगी भएका छन् ।

विपक्षी एमालेको नाराबाजी बीच विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको घोषणा भयो । प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रियसभामा प्रस्तुत हुनेछ । राष्ट्रिसभाबाट फिर्ता आएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुनेछ ।

रष्ट्रियसभाले १५ दिनभित्र फिर्ता गर्नुपर्ने प्रावधान छ । म्यादभित्र फिर्ता नभए प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न रोकिने छैन ।

सोमबार सभाभुख सापकोटाले ‘माननीय सदस्यहरू ! आजको बैठकको कारबाही सुरु हुन्छ’ भनिनसक्दै एमाले सांसदहरूले नाराबाजी सुरु गरेका थिए ।

बिहान ११ बजेर २० मिनेटमा सुरु भएको बैठक करिब ५४ मिनेट चलेर दिउँसो १२ बजेर १४ मिनेटमा सकिएको थियो ।

अर्को बैठक असोज ७ गते अपराह्न २ बजे हुने भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : १० बजे

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले जित्यो सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक