गुरुयोजना अनुसार पर्यटकीय क्षेत्र बन्दै जितगढी | Khabarhub Khabarhub

गुरुयोजना अनुसार पर्यटकीय क्षेत्र बन्दै जितगढी

नेपालले अंग्रेजलाई पराजित गरेको आज २०६ वर्ष पुग्यो



बुटवल- विश्वविजेता अंग्रेजलाई नेपालले पराजित गरेको आज २०६ वर्ष पुग्यो । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो बुटवलको जितगढी किल्ला । १८७२ साल वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो ।

बुटवल उपमहानगरपालिका-१ मा तिनाउ नदी किनारामा रहेको जितगढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अंग्रेजी फौजलाई परास्त गरेको थियो ।

अंग्रेजले भारतलाई उपनिवेश बनाएर राज गरेका थिए । सोही क्रममा अंग्रेज फौजले नेपालमा आँखा गाडेर बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरू किल्लामा भने आफैँ हारेको थियो । जितगढीमा भएको १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाट भन्ने इतिहास छ ।

विजय उत्सवका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा संक्षिप्त कार्यक्रम आयोजना गर्‍यो । कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर शहीदहरूको सम्झना र सम्मानमा श्रद्धाञ्जलि अर्पण गरिएको गरियो । कोभिड-१९ को महामारीका कारणले जितगढीमा ठूलो सार्वजनिक समारोह नगरिएको उपमहानगरले जनाएको छ ।

किल्ला संरक्षण गर्न उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजना अनुरुपका काम भइरहेको छ । जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी स्थानीय पाठ्यक्रममा पनि पाठ समावेश गरिएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीका अनुसार जितगढीमा उतिबेलाकै झल्को दिने कलात्मक गेट, सैनिक पोशाकका कर्णेल उजिरसिंहको पूर्णकदको शालिक, उनीसँगै लडेका नेपाली सैनिकहरू १२ जना कमान्डरहरूको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजना अनुरूपका काम भइरहेको छ । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम पनि भइरहेको छ ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र र नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृकित महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी गुरुयोजना बनाइएको सुवेदीले बताए ।

नेपाल एकीकरणको अभियान (सन् १७४३ मा) शुरू भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरू अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो ।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलक र भारदारहरूले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । अन्ततः युद्ध नै भयो ।

शुरूका युद्धमा हारेको नेपालले १८७२ वैशाख ७ मा अंग्रेज फौजलाई पराजित गर्‍यो । बुटवल उपमहानगरले विजय भएको दिनको मिति यकिन गर्दै विजयोत्सव मनाउँदै आएको छ ।

अमरसिंह थापाका नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लडेको थियो ।

पर्यटनको आधार क्षेत्र

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ । उनका अनुसार जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरेको छ र त्यति बेलाका सैनिक शालिकहरू निर्माण भइरहेको छ ।

जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण कार्य चलिरहेको र यो पनि गुरुयोजनाकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्क जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य छ ।

उपमहानगरका सहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठका अनुसार संग्रहालय, पार्क र स्मारकहरू बनाउने, पुरानो बुटवललाई सांस्कृतिक सहर बनाउने र तिनाउ किनारमा रात्रिकालीन बजार बनाउने योजना छ ।

जितगढीनजिकैबाट नुवाकोट गढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ । तिनाउमा जलपर्यटनको योजना छ ।

यसरी जितगढीलाई पर्यटकीय क्षेत्र बनाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : ५८ बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज