प्रदेश २ मा कोरोना संक्रमितको विजोग | Khabarhub Khabarhub

प्रदेश २ मा कोरोना संक्रमितको विजोग

कतै भेन्टिलेटर अभाव त कतै जनशक्ति



जनकपुरधाम– गएको वैशाख २६ गते भेन्टिलेटर अभावमा जनकपुरधामस्थित एक जना कोरोना संक्रमितको मृत्यु भयो ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रदेशिक अस्पताल जनकपुरमा उपचार्थ जलेश्वर नगरपालिका–४ का ५५ वर्षीय सुखिचन महतोको भेन्टिलेटर अभावमा मृत्यु भएको थियो ।

वैशाख ३० गते महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय रघुनाथ पाण्डेयलाई समेत श्वासप्रश्वासमा समस्या आएपछि जलेश्वर अस्पताल भर्ना भए । स्वास्थ्य बिग्रिँदै गएपछि अस्पतालले उनलाई भेन्टिलेटरमा राख्नु पर्ने भन्दै प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु आफन्त वैभव चौधरीले जानकारी दिए ।

प्रदेश २ को अस्पतालमा कतै आईसीयू र भेन्टिलेटर हुँदाहुँदै बिरामीको मृत्यु भइरहेको छ भने कतै सञ्चालनमा ल्याउन नसक्दा बिरामीले ज्यान गुमाइरहेका छन् ।

प्रदेश सरकारको वेवास्ताका कारण ज्यान गुमाएका महतो र पाण्डेय प्रतिनिधि पात्र मात्र हुन् । तर, सरकारले गत वर्ष गरेको निर्णय अझै कार्यान्वयन गर्न सकेका छैनन् । भेन्टिलेटर अभावमा संक्रमितको मृत्यु हुन नदिन प्रदेश सरकारले गत वर्ष वैशाखमा नै गरेको निर्णय अझै कार्यनव्यन हुन सकेको छैन् ।

प्रदेश सरकारले कोभिड विशेष अस्पताल बनाउने गरेको निर्णय एक वर्ष बिते पनि पुरा भएको छैन् । वैशाख ७ गते ५० वटा भेन्टिलेटर खरिद र कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो । तर, कार्यान्वयन अझै हुन नसक्दा बिरामी उपचार अभावमा ज्यान गुमाइरहेका छन् ।

प्रदेशिक अस्पताल जनकपुरका मेसु प्रमोद यादवले प्रदेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा धेरै संक्रमितलाई बाहिर रेफर गर्नु परेको बताए । प्रदेश सरकारले गत वैशाख ७ को मन्त्रिपरिषद् बैठकले भेन्टिलेटर खरिद गर्न ६८ करोड रुपैया स्वीकृत गरेको थियो ।

स्वास्थ्य आपूर्ति महाशाखाले प्रदेश सरकारले निर्णय गरिसकेको ६८ करोड बजेटबाट २ वटा पीसीआर मेसिन, ५० भेन्टिलेटर, पीपीई, सेनिटाइजर, मास्क, ग्लोब र अन्य स्वास्थ्य उपकरण खरिद गर्ने निर्णय गरेको छ । ती भेन्टिलेटरबाट ६ जिल्लालाई ५–५ वटा र जनकपुर तथा वीरगन्जमा १०–१० दिइएको छ ।

कोभिड अस्पताल पनि बनेन्

गत वैशाख २० गते जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको भवनलाई कोभिड अस्पताल बनाउने निर्णय भएको थियो । अहिलेसम्म त्यसको प्रारम्भिक काम मात्र शुरु भएको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको एकसय बेड क्षमताको उक्त भवनलाई २० दिनभित्रै कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने गरी मणिपाल शिक्षण अस्पतालको मर्मत तथा ठेक्का दिने काम अगाडि बढाइएको बताइएको छ । काम भने सुस्त गतिमा भइरहेको छ ।

हालसम्म अस्पताल वरपर घाँस उखेल्ने र सरसफाई मात्र भएको छ । प्रदेश सरकारले मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने जिम्मा मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक एवं सिनियर डिभिजन ईन्जिनियर भगवान झालाई दिएको छ ।

त्यहाँ २० आईसीयू बेडसहित एक सय शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याइने ईन्जिनियर झाले जानकारी दिए । अस्पताल सञ्चालनका लागि अनलाइन टेन्डर प्रकृया पूरा भएको र जनशक्ति भर्नाको प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए ।

जनशक्ति अभावमा थन्किए भेन्टिलेटर

जनशक्ति अभावले जिल्ला अस्पताल जलेश्वरको आईसीयू तथा भेन्टिलेटर थन्किएका छन् । भेन्टिलेटर र आईसीयू नहुँदा त्यहाँबाट रिफर भएका बिरामीले ज्यानै गुमाएका छन् । एक वर्षअघि दुई करोड खर्चेर जडान गरिएको पाँच वटा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति पठाउन प्रदेश सरकारलाई बारम्बार तकेता गरे पनि अटेर गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयको भनाइ छ ।

प्रदेश सरकारले केही स्वास्थ्यकर्मी पठाए पनि अति आवश्यक रहेको इन्टर्नल मेडिसिन, एमडी एनेस्थेसिया र रेडियोलोजिस्ट नपठाउँदा सेवा सञ्चालन गर्न नसकिएको पाण्डेयले बताए । प्रदेश सरकारले स्टाफ नर्स तथा मेडिकल अफिसर मात्रै पठाएको उनले बताए । अस्पताल रेफरल सेन्टर जस्तै भएको देख्दा आत्मग्लानी महसुस भएको पाण्डेयको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  २ : १३ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्