पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित, मनाङे बने गठबन्धनका सारथि | Khabarhub Khabarhub

पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित, मनाङे बने गठबन्धनका सारथि



पोखरा– गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बुझाएका थिए ।

गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेलसमक्ष बुझाइएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा ३० मत परेको थियो । नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना गरी ३० सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । तर बहुमत पुग्न ३१ मत आवश्यक थियो ।

मनाङे बने गठबन्धनका सारथि

मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) विहीबारको संसद बैठकको मत विभाजनको प्रक्रियामा भाग लिएनन् । तर सोही दिन प्रदेशको युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिए ।

मनाङेलाई साथमा लिन भन्दै गुरुङ्ले दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिनुअघि नै युवा तथा खेलकुद मन्त्री बनाएका थिए । वैशाख २६ गते गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि मन्त्री बनेको ११ दिनमा नै मनाङेको मन्त्री पद गुम्यो । तर दोस्रो पटक सपथ लिएपछि पनि गुरुङले मनाङेलाई त्यही मन्त्रालय दिए ।

मनाङेले साथ दिए पनि गुरुङलाई विश्वासको मत नपुग्ने भएपछि बहुमत पुग्ने पक्षलाई सहयोग गरेर संसद जोगाउने निश्कर्षमा पुगे । त्यसैले विश्वासको मत लिने दिन मनाङे संसदमै उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि तटस्थ बसिदिए ।

आफ्नै गठबन्धनको सहयात्री दल जनमोर्चाका सांसदले साथ नदिँदा यसअघिका दुई दुई पटकको प्रयास असफल भएको विपक्षी गठबन्धनका लागि अन्तिम समयमा सत्ता पक्षमा गएर मन्त्री बनेका स्वतन्त्र सांसद मनाङे सारथि बने । मनाङेले गठबन्धनका नेता पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर मात्रै गरेनन्, गठबन्धनकै साथ लागेर प्रदेश प्रमुखको कार्यालय पुगे ।

प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन गर्नका लागि आह्वान गरेको समय शनिवार अपरान्ह ३ बजे सकिदैछ ।

नवलपरासी कांग्रेसको नेतृत्वमा १९ वर्ष

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको क्षेत्र नम्बर १ ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

तनहुँको कांग्रेस राजनीतिमा सक्रिय गोवर्द्धन शर्माका माहिलो छोरा पोखरेल झण्डै तीन दशक नवलपरासीको राजनीतिमा सक्रिय रहे ।

कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बन्नुभएका पोखरेलले १९ वर्ष नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए ।

तनहुँको तनहुँसुरबाट बसाइँसराइ गरी नवलपरासी आएका पोखरेल कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य समेत बने ।

वि.सं २०२९ देखि २०३६ सम्म अध्यापन पेशा अंगालेका उनले प्रजातान्त्रिक आन्दोलनका निम्ति ०३७ र ०४६ सालमा जेल जीवन समेत ब्यतित गरेका थिए । २०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेवारसमेत बनेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ५० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश