कोरोना सङ्क्रमितको नियमित डायलासिस गरिँदै | Khabarhub Khabarhub

कोरोना सङ्क्रमितको नियमित डायलासिस गरिँदै


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धवलागिरि अस्पतालले कोरोना सङ्क्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत छन् ।

अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार अस्पतालमा नियमित डायलासिस गराउनेको संख्या २० छ । ‘कोरोना सङ्क्रमितका लागि विशेष सावधानीसहित डायलासिस गराइरहेका छौँ’, उनले भने, ‘जोखिम हुँदा पनि हामीले मिर्गौलाका बिरामीलाई अन्यत्र पठाएनौँ, यही व्यवस्थापन गर्‍यौ ।’

कोरोना सङ्क्रमितलाई आइसोलेशनकक्षमा छुट्टै राखेर डायलासिस गराउने गरिएको छ । होम आइसोलेशनमा रहेका तीन जना मिर्गौलापीडित भने सुरक्षित तवरले अस्पताल आई डायलासिस गरेर फर्कन्छन् । अस्पतालले कोरोना सङ्क्रमित महिलालाई प्रसूतिसमेत गराउँदै आएको छ ।

महामारीको दोस्रो लहर शुरु भएयता दुई जना सङ्क्रमित महिलाले अस्पतालमा शिशु जन्माएको प्रमुख चिकित्सक पोखरेलले बताए । कोरोनासँगै अन्य दीर्घ रोग भएका बिरामीको पनि उपचारमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

त्यस्ता बिरामीलाई कोरोनाले चाँडै गम्भीर बनाउने चिकित्सक बताउँछन् । मिर्गौला रोगी पनि बढी जोखिममा पर्छन् । अस्पतालले तीन वर्षअघि मिर्गौलापीडितको उपचारका लागि डायलासिस सेवा शुरु गरेको थियो । डायलासिस सेवा दिने अस्पताल जिल्लामा यही मात्र हो ।

विसं २०७६ चैत १५ मा देशकै पाँचौ सङ्क्रमित जिल्लामा भेटिएपछि अस्पतालले गण्डकी प्रदेशमै पहिलोपटक कोरोनाको उपचार थालेको थियो । हालसम्म सयौँ सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका छन् । अहिले १४ जना सङ्क्रमित अस्पतालमा उपचाररत छन् ।

सीमित स्रोत साधनका बावजुद अस्पतालले सङ्क्रमितको उपचार र व्यवस्थापन गरिरहेको छ । दरबन्दी अनुसार चिकित्सक/स्वास्थ्यकर्मी नहुँदा कामको चाप छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि पूर्वाधार र मानव संशाधनको व्यवस्थापनमा सम्बन्धित निकायको उचित ध्यान पुगेको छैन ।

पछिल्लो सातायता अस्पतालमा सङ्क्रमितको संख्या ५० प्रतिशतले घटेको जनाएको छ । हालसम्म जिल्लाका चार हजारबढीमा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको संख्या ६९० छ भने कोरोनाका कारण ४७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ४ : ०२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने