वर्तमान सरकारको भविष्य | Khabarhub Khabarhub

वर्तमान सरकारको भविष्य


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्वोच्च अदालतको फैसलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज भएर एकीकरणपूर्वका नेकपा (एमाले) र र नेकपा (माओवादी केन्द्र) कायम भएका छन् ।

परिणास्वरूप वर्तमान सरकार यी दुई पार्टीको संयुक्त सरकारमा रूपान्तरण भएपछि सरकारको भविष्यबारे अडकल काट्न प्रारम्भ भएको छ । एकल बहुमतको सरकार फेरि गठबन्धनमा परिणत भएपछि आगामी दिनका सम्भावित गठबन्धनहरूको चर्चा अहिलेको राजनीतिक बहसको तातो विषय बनेको छ ।

अहिलेसम्मको समीकरण हेर्दा नेकपा (माओवादी केन्द्र) को समर्थन प्राप्त प्रधानमन्त्री ओलीको सरकार कानूनीरूपमा बहुमतमै छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको घोषणा गरेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण नबनेसम्म समर्थन फिर्ता नलिने भनेकोले वैधानिकरूपमा सरकार अल्पमतमा परिसकेको छैन । अब सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पारित गर्ने सवालमा सहयात्री दलले अपनाउने रणनीतिबाट पनि धेरै कुराको निक्र्यौल हुने देखिन्छ ।

प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट हौसिएकाहरू सत्तारुढ दलको नाम खारेज गर्ने अर्को फैसलाबाट भने आहत भएका देखिन्छन् । खास गरेर प्रचण्डसँग निकट भएर ओली विरोधी अभियानमा लागेका एमाले नेताहरूको बिचल्ली भएजस्तो छ ।

केही दिनअघि माधवकुमार नेपालले एमाले वा जनताको बहुदलीय जनवाद (जबज) ब्युँतिन नसक्ने ठोकुवा गरेका थिए । सर्वोच्चको फैसला त्यस विपरीत आएपछि माधव नेपाल र झलनाथ खनाललाई त्यही एमालेमा ओत लाग्न बाध्य भएका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधीको हुर्मत लिने स्वभावका व्यक्ति भएकोले फिर्ता आउनु परेकाहरूलाई बढी उकुसमुकुस हुने नै भयो ।

वर्तमान राजनीतिक परिदृश्यमा परिवर्तन गर्न एकमात्र विकल्प नेकपा (माओवादी केन्द्र) ले सरकारबाट समर्थन फिर्ता लिनु नै हो । यसो भएको खण्डमा प्रधानमन्त्री ओली अल्पमतमा पर्नेछन् । यसपछि राष्ट्रपतिबाट उनलाई एक महिनाभित्र संसदमा आफ्नो बहुमत प्रमाणित गर्न समयसीमा तोकिनेछ । त्यसरी विकसित हुनसक्ने घटनाक्रमबारे अहिले नै पूर्ण अनुमान गर्न नसकिए पनि केही विषय प्रष्ट देख्न सकिन्छ ।

वर्तमान परिदृश्य प्रष्ट हुन अझै केही समय पर्खिनुपर्ने हुन्छ । जुनसुकै तरिकाले पुनः नियुक्त भएको खण्डमा प्रधानमन्त्री ओलीले अर्को दुई वर्ष सजिलै पदमा बसिरहने अवसर पाउनेछन् ।

अल्पमतमा परेपछि नेकपा (एमाले) ले अर्को सरकार गठन गर्न सामान्यतया तीन वटा बाटो रोज्न सक्नेछ । पहिलो, अहिलेसम्मको सहयात्री नेकपा (माओवादी केन्द्र) सँग नयाँ सहमतिको आधारमा यही सरकार कायम राख्ने । दोस्रो, विपक्षी नेपाली कांग्रेससँग गठबन्धन सरकार बनाउने । र, तेस्रो विकल्पको रूपमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन गर्ने ।

नेपाली कांग्रेसले आफ्नो प्रधानमन्त्रीत्वमा मात्र सरकारमा जाने नीति लिएकाले दोस्रो विकल्पले काम गर्ने देखिन्न । अहिलेसम्मको जानकारीअनुसार जसपाभित्र पहिलेको समाजवादी खेमा ओलीसँग सहकार्य गर्न चाहँदैन । प्रधानमन्त्री ओलीसँग सहयात्राको कटु अनुभव र प्रचण्डसँगको निकटताका कारण उपेन्द्र यादवको लागि सत्तारोहण तिक्ततापूर्ण विषय बनेको छ । त्यसमा पनि बाबुराम भट्टराईको प्रवेशपछि थपिएको माओवादी मधुरताले पनि भूमिका खेलेको हुनसक्छ ।

यसको ठिक विपरीत, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) तर्फका नेताहरू प्रचण्ड भन्दा ओलीप्रति बढी सहजता महसुस गर्छन् । तर, आफ्ना सांसद रेशम चौधरी लगायत मधेस आन्दोलनदेखि जेलमा रहेकाहरूको रिहाई र संविधान संशोधनका विषयमा ठोस निर्णय नगरी सत्तामा जान हतारिँदा गम्भीर राजनीतिक क्षति हुनसक्ने सम्भावना पनि उत्तिकै छ । धेरै नेताहरूको समान हैसियतका कारणले पनि तिनको व्यवस्थापन सहज हुने छैन ।

अहिले कायम रहेको पहिलो विकल्प जोगाउनु नै ओलीका लागि सहज हुन सक्छ तर पुस ५ पछिको तिक्तता यति गहिरिएको छ कि, नेताहरू एक ठाउँमा बसेर कुरा गर्न समेत नसक्ने अवस्थामा छन् ।

केही गरी यी तीन वटै विकल्प असफल भएको खण्डमा प्रधानमन्त्री ओलीले दल विभाजनको अध्यादेश जारी गर्न सक्नेछन् । वर्तमान राजनीतिक गन्जागोल हेर्दा उक्त अध्यादेशले सबै दलहरूलाई घोच्न सक्ने देखिन्छ । एकीकरणअघिको अवस्थामा पुगे पनि मन्त्रिमण्डलमा सामेल रहेका नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरू पुरानो घर फर्किन इच्छुक देखिँदैनन् ।

दल विभाजन सहज भए कांग्रेसबाहेक अन्य पार्टीलाई तत्कालै प्रभाव पार्ने देखिन्छ । जसपाको हविगत त्यही होला । प्रधानमन्त्री ओलीको पार्टीभित्र पनि उनले राजीनामा दिनुपर्ने दबाबको वातावरण निर्माण हुनसक्नेछ । माधव नेपाल लगायतका नेताहरूको अस्तित्वविहीन अवस्थाले उनीहरूलाई कठोर निर्णय लिन प्रेरित गर्न सक्छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सहकार्य र एकीकरण गराइदिने शक्ति केन्द्रहरूको सक्रियताले पनि धेरै कुराको निक्र्यौल हुनसक्ने देखिन्छ ।

स्वाभाविक छ, कुनै पनि हालतमा पद नत्याग्ने सोच बनाएका प्रधानमन्त्री ओलीले अहिले सहजै छोड्छन् भन्नु अर्थहीन हो । अर्थात, उनको अझ दुई वर्षे कार्यकाल वा मध्यावधि निर्वाचन बारेको अन्यौल समाप्त हुन थप केही दिन पर्खिनु पर्नेछ ।

धर्मनिरपेक्षता पक्षधरहरूले यी दुवै पार्टीको एकता फेरि जोड्न प्रयास गरिरहेको देखिन्छ ।

यससँगै निर्वाचनदेखि एकीकरणसम्म र प्रशिक्षण कार्यक्रम समेतको खुला प्रयास गर्दै आएका चिनियाँहरू अहिले नदेखिए पनि सधैँ मौन बस्ने सम्भावना छैन । आफ्नो देशको सबैभन्दा संवेदनशील भूभाग तिब्बतसँग जोडिएको राष्ट्रमा विगतदेखि प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको चीनले फेरि पनि कुनै न कुनै प्रकारको वामपन्थी एकता गराउने प्रयास गर्ने नै छ ।

यस अतिरिक्त नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाको गठबन्धन सरकार पनि बन्न सन्छ । यसबारे पूर्वानुमान गर्दै केही दिन पहिले नै प्रधानमन्त्री ओलीले आफू डेढ दुई वर्ष प्रतिपक्षमा बसेर दुई तिहाइको बहुमतसहित फर्किने बताएका थिए ।

भारत विरोधी राष्ट्रवादको बलमा चल्दै आएको नेपालको वामपन्थी राजनीतिमा लिम्पियाधुरासहितको नक्शांकन र ठोरीको अयोध्यापुरीलाई भगवान रामको जन्मस्थान बताएर ओलीले आफ्नो स्थान सुदृढ पारेका छन् । उनको ध्यान अहिले पनि आगामी निर्वाचनमा केन्द्रित देखिन्छ । त्यसैले आउने दिनमा ओलीले प्रधानमन्त्री वा प्रतिपक्षको नेताबाहेक अर्को ठाउँ स्वीकार्ने सम्भावना छैन ।

वर्तमान परिदृश्य प्रष्ट हुन अझै केही समय पर्खिनुपर्ने हुन्छ । जुनसुकै तरिकाले पुनः नियुक्त भएको खण्डमा प्रधानमन्त्री ओलीले अर्को दुई वर्ष सजिलै पदमा बसिरहने अवसर पाउनेछन् । प्रधानमन्त्री विरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव दर्ता हुन नसक्ने संवैधानिक व्यवस्था छ । यसबारे प्रचण्ड, देउवा लगायतका सबै पक्ष जानकार छन् ।

संसद विघटनबारे दिएका तर्कहरू जेजस्तो भए पनि वास्तवमा आफ्नो प्रधानमन्त्री पद गुम्ने सम्भावना देखेरै केपी ओलीले विघटनको कदम चालेका थिए । स्वाभाविक छ, कुनै पनि हालतमा पद नत्याग्ने सोच बनाएका प्रधानमन्त्री ओलीले अहिले सहजै छोड्छन् भन्नु अर्थहीन हो । अर्थात, उनको अझ दुई वर्षे कार्यकाल वा मध्यावधि निर्वाचन बारेको अन्यौल समाप्त हुन थप केही दिन पर्खिनु पर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १२ : ५५ बजे

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू