सालदाङमा चामल अभाव | Khabarhub Khabarhub

सालदाङमा चामल अभाव


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन ।

ठेक्का सम्झौता भएको छ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।

कम्पनीले गत वर्ष सालङका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले सालङमा ६०० क्विन्टल खाद्यान्न मात्र पुगेको छ ।

उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो । दुई स्थानीय तहको चामल पुगे पनि सालङमा भने अहिलेसम्म पुगेको छैन ।

गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७०० क्विन्टल र डोल्पोबुद्धको धोमा ८७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ ।

हिमपातका कारण कम्पनीको चामल पुर्‍याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए । “चामल दुनै आएर थन्किएको छ , ढुवानी सेवालाई छिटो लिन आग्रह गरिएको छ”, उनले भने ।

केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ । माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयवासीले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयवासीलाई यसअघि प्रतिक्विन्टल रु २० हजार तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो ।

कम्पनीले प्रतिक्विन्टल जिरा  मसिनो चामल रु सात हजार र सोना चामल रु पाँच हजार ६०० मा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।

कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसितुन्डुप गुरुङले बताए ।

कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लो डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगतका वर्षमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो ।

खाद्यान्न उत्पादन कम हुने उपल्लो डोल्पा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ । केही हुने खानेले दुनैमा आएर खच्चड, घोडा र चौँरीमा खाद्यान्न लैजाने गरे पनि अधिकांश निम्न वर्गका स्थानीयवासीहरु समस्यामा पर्ने गरेका छन् । सामानको मूल्यभन्दा ढुवानी खर्च महँगो हुने गर्छ ।

चिसो मौसममा तल्लो क्षेत्र झरेका सबै सर्वसाधारण अहिले उपल्लो डोल्पामा जाँदा खाद्यान्नको माग व्यापक बढेको हो ।

उपल्लो डोल्पामा खेतीपातीको मौसम भएकाले यहाँका सर्वसाधारण खाद्यान्न आपूर्तिका लागि गुहार लगाइरहेका छन् । खडेरीका कारण हिउँदेबाली उत्पादन नभएको यहाँ आयातित अन्नमा यो पटक धेरै भर पर्नुपरेको वडा नं ४ का तसी गुरुङले बताए ।

सिँचाइ सुविधा नभएको उपल्लो डोल्पामा हिमपात भएमा मात्र खेतीपाती गर्न सहज हुने गुरुङको भनाइ छ । आलु, उवा र फापर उपल्लो डोल्पामा उत्पादन हुने गर्दछ । उपल्लो डोल्पामा खाना पकाउने दाउराको समेत अभाव छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : २५ बजे

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ