हलिउड फिल्मको छायाँमा चिनियाँ फिल्म | Khabarhub Khabarhub

हलिउड फिल्मको छायाँमा चिनियाँ फिल्म


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— अमेरिका र चीन अहिलेका दुई महाशक्ति । राजनीति, संस्कृति, व्यवसाय र रङ्गमञ्च सबैमा यी दुई देशको सङ्घर्ष चलेको छ ।

शक्तिको रूपमा उदाउँदै गरेको चीनले फिल्मी दुनियाँमा पनि आफ्नो प्रभाव जमाउन अनेक उपाय लगाउन थालेको छ ।

बेलायतबाट हङकङ चीन अन्तर्गत पुग्यो तर यहाँको संस्कृति भने पश्चिमा झैँ छ । चीनले जर्बजस्ती आफ्नो फिल्म देखाउन प्रयास गर्ने र आफूहरू बाँधिनु पर्ने चिन्तामा देखिन्छन् हङकङका बासिन्दा ।

चिनियाँ कम्युनिस्ट पार्टीको वार्षिक उत्सवमा चीनले बक्स अफिसमा चिनियाँ फिल्म प्रवेश गराउने निर्णय गरेको थियो । पश्चिमा सञ्चार माध्यमले यो निर्णयलाई आफ्नो अनुकूलको फिल्म देखाउने नयाँ चिनियाँ रणनीतिका रूपमा लिएका छन्

गत महिना बेइजिङमा जेआरआर टल्कनको ‘द लर्ड अफ द रिङ्स’ का लागि टिकट बिक्री भइसकेको थियो तर प्रिमियर रोकियो ।

‘द फेलोसिप अफ द रिङ्स’, ‘द छु टावर्स’ र ‘द लर्ड अफ द रिङ्स’ देखाउन मार्चमै अप्रिल ९ देखि २३ सम्मका लागि मिति भएको थियो । यसले चिनियाँ दर्शकहरूमा उत्साह थपेको थियो । यसअघि चीनमा जेम्स क्यामरुनको ‘अवतार’ प्रस्तुत भइसकेको थियो ।

अप्रिल १ मा डिजिटल एपबाट ‘द लर्ड अफ द रिङ्स’ को टिकट बिक्री भइरहेको थियो । नियामक संस्थाको नीति एकाएक फेरियो । चाइना फिल्म एडमिनिस्ट्रेसनले पार्टीले अनुमोदन गरेको फिल्मलाई प्रोत्साहित गर्न निर्देशन गरेपछि हलको तालिकाबाट हलिउड फिल्म एकाएक हटाइए । पछि केही फिल्मले सीमित अवसर पाए, त्यहाँ दर्शकको ठूलो उपस्थिति भयो ।

यो घटनाले चीनका फिल्म समीक्षक र दर्शकमा निराशा छाएको छ । एक जनाले सामाजिक सञ्जालमा लेखे, ‘हामी केही पप कर्न फिल्म हेर्न चाहन्छौँ । सधैँ अमेरिका र चीनको शक्तियुद्धको फिल्म हेरेर बोर हुनु छैन ।’

‘द फेलोसिप अफ रिङ्स’ को निर्माण कम्पनीले त अन्तिम समयसम्म फिल्म देखाउने भनेको थियो । जापानको डकुमेन्ट्री ‘डिटेक्टिभ कोनान’, ‘द फेलोसिप अफ द रिङ्स’, ‘गोड्जिला भर्सेस किङ’ लगायत समावेश गरेर महोत्सवको तयारी पनि भएको थियो । अन्तिम समयमा चिनियाँ फिल्म अधिकारीले मापदण्ड नपुगेको भन्दै रोके ।

चीनको यो नीतिभन्दा अघिको कथा भने फरक थियो । चिनियाँ विकास क्रम हेर्नेहरू त्यहाँको खेल नीति र आइटीमा राखेको प्रभाव सम्झनु पर्नेमा जोड दिन्छन् । संसारबाट अलग रहेर आर्थिक विकास गर्ने र त्यसपछि विश्व बजारमा प्रवेश गर्ने नीति लिएको चीन सन् १९८० मा खेलकुदको ओलम्पिक यात्रामा समावेश थियो ।

सन् १९८० मा ओलम्पिक खेलमा सहभागी हुन थालेको चीनले विश्व स्तरमा शक्तिको रूपमा उदाउन केही दशक कुर्नुपरेको थियो । परन्तु, ८० कै दशकमा जापान र दक्षिण कोरियालाई छाडेर चीन खेलकुदमा एसियाको एकल शक्ति स्थापित भयो ।

नब्बेको दशकमा पुग्दा चीनले केही खेलमा आफूलाई संसारको अजेय शक्तिको रूपमा स्थापित ग¥यो ।  टेबल टेनिस र डाइभिङमा चिनियाँ खेलाडी बलशाली मानिए । भारोत्तोलन, सुटिङ लगायतका खेलमा पनि प्रभाव जमाउँदै चीन ९० को दशकको अन्त्यसम्ममा अमेरिकासँग प्रतिस्पर्धा गर्ने दोस्रो शक्तिको रूपमा स्थापित भयो ।

अन्य उत्पादन र बजारमा चिनियाँ नीति बुझ्नेहरू आइटीमा पनि चीनको उपस्थिति उदाहरणीय रहेको बताउँछन् । यो सबै घटनाक्रम हेर्नेहरूका अनुसार चीन पहिला आफ्नो देशमा बजार व्यवस्थापन गर्छ र त्यसपछि संसारमा बजार बनाउँछ । फिल्ममा पनि चिनियाँ नीति यस्तै छ ।

सांस्कृतिक क्षेत्रमा पनि चिनियाँ नीति फरक थियो । चीनले विश्वको संस्कृति अङ्गीकार गर्न थालेको सन् १९९० को दशकमा मात्रै हो ।

सन् १९९४ मा हेरिसन फोर्डको मुख्य भूमिका रहेको ‘द भोगेटिभ’ चीनमा भित्रिएको थियो । यसअघि चिनियाँ फिल्म उद्योग धरापमा थियो । सरकारी अध्ययन केन्द्र ‘चाइनिज नेसनल एकेडेमी अफ आर्ट्स’ मा आबद्ध लुफ्लानले तयार गरेका रिपोर्ट अनुसार सन् १९९० देखि १९९३ सम्म चलचित्र उद्योगमा ४० प्रतिशतले गिरावट आएको थियो ।

अन्तर्राष्ट्रिय कम्पनीलाई प्रवेश दिएपछि चीनमा अन्तर्राष्ट्रिय संस्कृतिले पनि प्रवेश पायो । फगेटिभले एक वर्षमै ३० लाख अमेरिकी डलर कमाएको थियो । यो कमाइ चिनियाँ बजारमा दोस्रो पकड राखेको सन् १९४५ को चोक्ववीन नेगोसेसनमा आधारित त्यहीँको चलचित्रको भन्दा तीन गुणा बढी थियो ।

धेरै समीक्षकहरूले चीनमा हल भरिन फेरि एक पटक पश्चिमा फिल्ममा भर पर्नुपर्ने ठानेका छन् । चिनियाँ फिल्मी बजार जोगाउन ‘अवतार’ र ‘द लर्ड अफ द रिङ्स’ जस्ता धेरै फिल्म चाहिने उनीहरूको निष्कर्ष छ ।

यसपछि अधिकारीहरूले बर्सेनी केही नयाँ चलचित्र निर्यात गर्न स्वीकृत दिन थालेका थिए । अनुमति पाउनेमा अमेरिकी फिल्म धेरै थिए ।

अन्तर्राष्ट्रिय फिल्मलाई प्रवेश दिएपछि चिनियाँ बक्सले ठूलो फड्को मारेको थियो । सन् १९९५ देखि सन् २०१९ सम्ममा टिकट बिक्रीमा सात हजार प्रतिशतले वृद्धि भएर हलिउडपछिको दोस्रो ठूलो फिल्मी बजार बनेको थियो ।

पछिल्लो दुई दशकमा विदेशी चलचित्रले चिनियाँ बजारमा कुल आम्दानीको ४० प्रतिशत हिस्सा ओगट्न थालेका थिए । सन् २०२० मा चीनले बक्स अफिसमा अमेरिकालाई उछिन्ने लक्ष्य राखेको थियो । यो लक्ष्यको नजिक पुग्न कोरोना महामारी चीनका लागि सहयोगी साबित भयो ।

यसपछि चिनियाँ फिल्म बजारमा दलको प्रभाव हुन पर्छ भन्नेमा सरकारको चासो हुन थाल्यो । गत मार्चमा सन् २०२१ को अन्त्यसम्ममा हरेक सिनेमा घरले कम्युनिस्ट पार्टीलाई प्रोत्साहन गर्ने फिल्म सातामा कम्तीमा दुई वटा देखाउनु पर्ने नीति बन्यो ।

चिनियाँ फिल्म प्रशासनले गत महिना विज्ञप्ति जारी गर्दै चलचित्रको मुख्य विषय पार्टी प्रेम, देश र समाजवाद हुनुपर्ने तथा चिनियाँ कम्युनिस्ट पार्टी, राष्ट्र प्रेम र यसका नायकहरूका बारे गीत बज्नुपर्ने जानकारी गरायो ।

सन् १९४९ देखि १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको समयमा चर्चित फिल्म अप्रिलमा देखाउन उपयुक्त ठहर्‍याइयो ।

अहिलेको युवाहरूमा कम्युनिस्ट पार्टीको प्रभाव बारे जानकारी दिन ती फिल्महरू उपयुक्त हुने विश्वासका साथ सरकारले यस्तो नीति लिएको हो ।

यस बीचमा ‘लर्ड अफ द रिङ्स’ को प्रदर्शन का कारण चिनियाँ फिल्ममा एउटा विवाद देखिएको छ । लर्ड अफ द रिङ्सले संसार भरमा १ करोड ५० लाख डलर कमाएको छ । यस वर्ष ‘डिटेक्टिभ कोनान’, ‘गोड्जिला भर्सेस किङ’ र चिनियाँ ड्रामा ‘सिस्टर’ चर्चामा रहे ।

सरकारको नीतिमा भने धक्का लाग्यो, सरकारको प्रभावमा देखाइएका फिल्मले दर्शक नै पाएनन् । सन् १९६१ को ‘द रेड डिट्याचमेन्ट अफ ओम्यान’ लगाउने हल नै रित्तिए । अप्रिल १ देखि १५ का बीचमा १५०० पटक यो फिल्म देखाइएको थियो । कति पटक त हलमा दर्शक नै थिएनन् ।

गत वर्षलाई छाड्ने हो भने सन् २०१७ यता यो सबैभन्दा खराब वर्ष रहन पुग्यो । गत वर्ष कोरोना महामारीका कारण चीनको लुनार इयरमा पनि असर परेको थियो । बक्स अफिसमा भने यो वर्ष ३९ लाख डलरको मात्र व्यापार भएको छ । यो सन् २०१४ पछिको सबैभन्दा खराब अवस्था हो ।

पछिल्लो समय फिल्मबारे अध्ययन गरिरहेका धेरैले चीनमा फिल्म हल भरिन फेरि एक पटक पश्चिमा फिल्ममा भर पर्नुपर्ने ठानेका छन् ।

चिनियाँ फिल्मी बजार जोगाउन ‘अवतार’ र ‘द लर्ड अफ द रिङ्स’ जस्ता धेरै फिल्म चाहिने समीक्षकहरूको निष्कर्ष छ । गत वर्ष कोरोनाको महामारीका कारण संसारका सबै हलहरू खाली रहने अनुमान थियो । बिस्तारै खुला हुँदै गएपछि टिकट बिक्री पनि बढ्यो ।

लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय एक सञ्चारकर्मी यो वर्ष ‘एफ नाइन’ र ‘फास्ट एन्ड फ्युरियस’ जस्ता फिल्म सफल हुने अनुमान गर्छन् । गत वर्ष कुनै ब्लग बस्टर फिल्म बनेका छैनन् । केही सीमित फिल्ममा भर पर्नुको विकल्प छैन ।

अन्य क्षेत्रमा संसारको शक्ति बन्न थालेको चीन फिल्ममा भने पश्चिमालाई स्वीकार गर्न बाध्य भएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : ५५ बजे

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई