गोकर्णेश्वरमा फोहोर जलाउने ५ करोडको मेसिन अलपत्र | Khabarhub Khabarhub

गोकर्णेश्वरमा फोहोर जलाउने ५ करोडको मेसिन अलपत्र

प्रदूषणका डरले स्थानीयवासीको विरोध



काठमाडौँ— शहरी फोहोर व्यवस्थापनमा सोच निकै पुरानो छ । नगरपालिकाहरू उठाउँछन् र डम्पिङ साइटमा पुर्‍याउँछन् ।

यहाँका हरेक स्थानीय तहले आफ्ना क्षेत्रभित्र उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनका लागि कर्मचारी राखेका छन् । नगरपालिकाहरूले प्रत्येक घरबाट फोहोर संकलन गर्ने व्यवस्था मिलाएका छन् । फोहोर पुर्‍याउन नागरपालिकाका गाडी ल्यान्डफिल साइटसम्म जान्छन् ।

त्यसो त अधिकांश जनप्रतिनिधिहरूले चुनावी माहोलमा स्थानीय तहका समस्या हल गर्ने एजेन्डामा फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेका हुन्छन् । कतिपय जनप्रतिनिधिहरू त विभिन्न मुलुकको फोहोर व्यवस्थापन अध्ययन गर्न पनि जान्छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे आफू निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनबारे बुझ्न जापान गए । चुनावका बेला आफूले गरेको वाचा पूरा गर्न कम्मर कसेर लागे । उनले जापानमा मेसिनले फोहोर जलाएको देखेपछि आफ्नो नगरमा पनि त्यस्तै मेसिन ल्याउने अठोट गरे ।

मेसिन आयो तर प्रयोग भएन

नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को अन्तिमतिर जापानको ‘चुहा स्टार’ कम्पनीबाट फोहोर जलाउने अत्याधुनिक दुई वटा मेसिन ल्यायो । नगर प्रमुख चालिसेले पाँच महिनाभित्र मेसिन प्रयोगमा ल्याउने बताए ।

मेसिनले कसरी फोहोर जलाउला भन्ने स्थानीयवासीको चासो जहाँको तहीँ छ । डेढ वर्ष बितिसक्दा पनि मेसिन प्रयोगमा आउन सकेको छैन । एक वर्षअघि मेसिन आइपुग्दा खुसी व्यक्त गर्दै नगर प्रमुख चालिसेले खबरहबसँग भनेका थिए, ‘फोहोर जलाउन ५ करोडको जापानिज मेसिन ल्याइसकेका छौँ । अब गोकर्णेश्वर एक उदाहरणीय नगर हुनेछ ।’

उनले नगरले उक्त मेसिन चलाउन पूर्वाधारको तयारी गरिरहेको र पाँच महिनाभित्र सञ्चालन हुने बताएका थिए । थप १५ महिना बितिसक्दा पनि मेसिन कहाँ राख्ने र कसरी सञ्चालन गर्ने भन्ने टुङ्गो लागेको छैन । मेसिनले फोहोर जलाउँदा वरपरको वातावरण प्रदूषित हुने भयले स्थानीयवासीले मेसिन राख्न नदिएको नगर प्रमुखको भनाइ छ ।

‘हामीले यहाँका बासिन्दालाई पटकपटक सम्झाउँदा पनि मान्नुभएन, उहाँहरूको सोचाइमा यो मेसिनबाट धेरै प्रदूषण हुन्छ र मानव स्वास्थ्यमा असर पर्छ भन्ने छ’ उनले खबरहबसँग भने, ‘हामी स्थानीय बासिन्दालाई कुरा बुझाउने क्रममा छौँ ।’

उक्त मेसिनका लागि ५ रोपनीसम्म जग्गा आवश्यक पर्ने भएकोले छलफलकै चरणमा रहेको उनले बताए ।

नगर प्रमुख चालिसेका अनुसार मेसिन राख्न ठूलो टहरो बन्नेछ । फोहोरका गाडी सिधै प्रवेश गर्नेछन् र फोहोर निकाल्दै बालिनेछ ।

एउटा मेसिनले दैनिक चार ट्रक फोहोर जलाउन सक्ने क्षमता रहेको उनले बताए । उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर धेरै फोहोर उत्पादन हुने तेस्रो नगर हो, जहाँ दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

यस्ता छन् मेसिन

चालिसेका अनुसार मेसिनमा सय किलो फोहोर हाल्दा एक किलोभन्दा कम खरानी बन्छ । त्यो खरानी सिमेन्टमा घोलेर इट्टा बनाउन सकिन्छ ।

‘१३ सय डिग्रीको तापक्रम उत्सर्जन गर्ने गरी आगो बल्छ,’ चालिसेले भने, ‘फलामको ४ इन्ची डन्डीसमेत खरानी बनाउँछ ।’

फोहोर जलिरहँदा मेसिनको टुप्पोबाट धुँवा निस्कने र त्यो धुँवाले मानिसको स्वास्थ्यमा कुनै असर नपर्ने चालिसेको जिकिर छ ।

मेसिन प्रयोग हुन थालेपछि गोकर्णेश्वर नगरपालिका फोहोरबाट सुरक्षित हुने उनको दाबी छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  २ : ४५ बजे

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो