प्रतिनिधि सभाको बैठक आज शुरू हुँदै, सबैको चासो सत्तारूढ र विपक्षी दलमा | Khabarhub Khabarhub

प्रतिनिधि सभाको बैठक आज शुरू हुँदै, सबैको चासो सत्तारूढ र विपक्षी दलमा



काठमाडौँ— प्रतिनिधि सभाको हिउँदे ‘अधिवेशन’ आज, फागुन २३ गते, शुरू हुँदैछ । विघटन नभएको भए ढिलोमा गत पुस १८ गते नै संघीय संसदको अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठक पनि शुरू हुने थियो ।

गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा मानिन्छ । यसपटक भने नेपालको संविधान बनेपछि पहिलोपटक सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा अधिवेशन शुरू हुन लागेको छ ।

सत्तारुढ नेकपाको एक खेमामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष छन् । अर्को खेमामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष छन् । प्रचण्ड—माधव खेमाले ओलीलाई अध्यक्ष र पार्टीको साधारण सदस्यता समेतबाट कारबाही गरेको भनेको छ । ओली खेमाले भने द्वितीय अध्यक्षमा प्रचण्डलाई कायमै राखेको छ ।

प्रचण्ड—माधव खेमाले पार्टीको आधिकारिकताका लागि निर्र्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले ठोस निर्णय गरेको छैन ।

दुवै पक्षले आ-आफ्नो संसदीय दलको बैठक राखेका छन् । शुक्रबार भएको प्रचण्ड—माधव खेमाको संसदीय दलको बैठकमा ११५ जना सदस्य सहभागी रहेको जनाइएको थियो । बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो ।

शनिबार भएको ओली खेमाको संसदीय दलको बैठकमा पनि ११५ जना सदस्य सहभागी रहेको जनाइको छ । विभिन्न कारणले चार जना सहभागी हुन नसकेको पनि जनाइएको छ । दुवै खेमाले आआफ्नो बहुमतको दाबी गरेका छन् ।

संघीय संसदको प्रतिनिधि सभामा नेकपाका १७३ र राष्ट्रिय सभामा ४९ जना सदस्य छन् ।

अविश्वास प्रस्तावको तयारी

नेकपाको प्रचण्ड—माधव खेमाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेको छ । यो खेमाको संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा नआएको अवस्थामा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।

प्रचण्ड—माधव खेमाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र नयाँ सरकार गठनका बारेमा आवश्यक निर्णय गर्ने लगायतको अधिकार सचिवालयका नेताहरूलाई दिएको छ । आगामी रणनीतिबारे यस खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अरू राजनीतिक दलहरूसँग छलफल भइसकेको छैन । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्नेमै छौँ ।’

श्रेष्ठले संसदीय दलको नेतामा समेत ओलीले बहुमत गुमाएकोले अविश्वासको प्रस्तावमा जानै पर्दैन भन्ने आफूहरूको ठहर रहेको बताए । उनले दलहरूसँग छफल गरेर निर्णय गर्ने पनि बताए ।

अविश्वास प्रस्ताव आए सामना

नेकपाको ओली खेमाले प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए सामना गरेर अघि बढ्ने निर्णय गरेको छ । यस खेमाको शनिबार भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । संसदीय दलमा आफ्नो बहुमत रहेको यस खेमाको खाबी छ ।

बैठकले प्रचण्ड—माधव खेमाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नसक्ने आधार समेत नरहेको निष्कर्ष निकालेको छ ।

प्रतिनिधि सभाको बैठकमा पार्टीको रणनीतिबारे यस ओली खेमाका मुख्य सचेतक विशाल भट्टराईले भने, ‘हाम्रो कुनै रणनीति नै आवश्यक परेन । हामी सरकार पक्ष हो । हरेक वर्ष संसदको बैठक बसेकै छ । त्यसैअनुरूप आज बैठक शुरू हुँदैछ । संसदलाई कसरी प्रभावकारी बनाउने भन्ने हाम्रो चिन्ता हो ।’

अविश्वासको प्रस्ताव आउनै नसक्ने मुख्य सचेतक भट्टराईले बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव कहिले आउने, कसले ल्याउने, के आरोप लगाएर ल्याउने, कसलाई प्रधानमन्त्री प्रस्ताव गर्ने ! कहाँबाट आउँछ अविश्वासको प्रस्ताव ?’

पर्खेर हेर्ने कांग्रेसको रणनीति

प्रतिनिधि सभाको बैठकमा कुन दल कसरी प्रस्तुत हुन्छ भन्ने मुख्य चासो रहेको छ । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपाको आगामी हैसियतका आधारमा रणनीति बनाउने भएको छ ।

कांग्रेस संसदीय दलको बैठकले नेकपा विभाजन नभइसकेको अवस्थामा विश्वासको मत वा अविश्वासको प्रस्ताव कसरी आउँछ भन्ने विषय नै अन्यौलमा रहेको भन्दै उपुयुक्त समयमा निर्णय लिने भनेको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले प्रतिनिधिसभाको आगामी अधिवेशनमा आफ्नो पार्टीको भूमिकाबारे भनिन्, ‘कांग्रेसले संविधानको कार्यान्वयन र स्थिर संसदका विषयमा कुरा उठाउनेछ । यसबाहेक जनजीविका र राष्ट्रिय राजनीतिका विषयमा समेत हामी कुरा उठाउँछौँ ।

भुसालले विपक्षी दलका रूपमा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । नेकपाको प्रचण्ड—माधव खेमाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको विषयमा उनले प्रस्ताव आएपछि निर्णय गर्ने बताइन् ।

उनले भनिन्, ‘अहिले अविश्वासको प्रस्ताव राजनीतीकरण भएको छ । नेकपाको राजनीतिक विभाजन भइसकेको छ तर कानूनीरूपमा एकै छ । परिस्थिति हेरेर हाम्रो पार्टी र संसदीय दलले निर्णय लिन्छन् ।’

जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीको राजीनामा, विश्वासको मत वा अविश्वासको प्रस्तावबारे कुनै निर्णय गरेको छैन ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ६ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर