दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ कम्पनीहरुलाई जरिवाना गरेको छ ।
एक महिनामा कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरेको कुवेत न्युज एजेन्सीलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।
पीएएमका अनुसार ८७९ जान कामदारहरूले समेत नियम उलङ्घन गरेको जनाएको छ । श्रमिकलाई चर्को घाममा काम लगाएको भन्दै पीएएमलाई विभिन्न मध्यम ५७ वटा उजुरी परेको थियो भने पीएएम आफैँले १ हजार ११८ वटा कम्पनीको साइटहरूको निरीक्षण गरेको जनाएको छ ।
निरीक्षणका क्रममा ४२५ कम्पनीहरुले मात्र नियम पालना गरेको पाइएको पीएएमले जनाएको छ । कारबाही परेका कम्पनीहरुलाई के कति जरिवाना गरिएको भन्ने बारे केहि खुलाईएको छैन ।
पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थमा ध्यान दिन आग्रह गर्दै आएको छ ।
पीएएमले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ ।
कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।
दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झैँ बराबर गर्न सकिने बताइएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।
प्रतिक्रिया