दिनदिनै जान्छ बिजुली | Khabarhub Khabarhub

दिनदिनै जान्छ बिजुली

पूर्वप्रमुख घिसिङ भन्छन् : अहिले लोडसेडिङ हुनुपर्ने कारण छैन



काठमाडौँ– दैनिक १८ घण्टासम्म बिजुली कटौती हुने गरेकोमा करिब चार वर्षयता समस्या समाधान भएको थियो ।

खासगरी विद्युत प्राधिकरणमा कुलमान घिसिङ प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेपछि लोडसेडिङ अन्त्य भएको थियो ।

केही दिनयता दैनिक कुनै न कुनै समयमा बिजुली बन्द हुन थालेको छ । यसले फेरि लोडसेडिङ हुन थालेको आशंका बढाएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बिजुली आपूर्तिमा कटौती हुने जानकारी गराउन थालेपछि त्यस्तो शंका भएको हो ।

खासगरी काठमाडौँ उपत्यकामा कुनै न कुनै क्षेत्रमा दैनिक केही घण्टा बिजुली बन्द हुने गरेको छ । कतिपयले कुलमान घिसिङको बहिर्गमनलाई बिजुली कटौतिसँग जोडेर हेर्न थालेका छन् ।

आशंका र आलोचना बढ्न थालेपछि विद्युत प्राधिकरणले सूचना जारी गरेर लोड सेडिङ गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पार्ने प्रयास गरेको छ । विद्युत आपूर्तिमा हुने अनियमितता भने उस्तै छ ।

लोडसेडिङ अन्त्य गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङले भने अहिले लोडसेडिङ हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । आपूर्तिमा पर्ने लोडको उचित व्यवस्थापन गर्न सके कटौती नहुने उनको भनाइ छ ।

अहिले देखिएको बिजुली कटौतिका विषयमा उनले भने, ‘तलसम्म चेन अफ कमाण्ड व्यवस्थापन पनि गर्नुपर्छ । लोडको व्यवस्थापन पनि गर्नुपर्छ । पावर सप्लाइले मात्रै लोडसेडिङ नहुने भन्ने होइन ।’

घिसिङका अनुसार लोडसेडिङ नहुन ट्रान्समिसनको पनि उचित प्रबन्ध हुनुपर्छ । उनले भने, ‘वितरणका क्रममा सबस्टेसनहरूमा लोड छ भने हेर्नुपर्‍यो । आज बेलुका ८ बजे बत्ति गयो भने भोलि बनाउँछु भन्दा त रातभरि गयो नि ! अहिलेको समस्या यही हो ।’

विद्युत प्राधिकरणले पनि अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिना भन्छन्, ‘हामीले विज्ञप्ति पनि जारी गरेका छौँ, लोडसेडिङ भएको होइन । कुनै स्थानमा मर्मतका लागि केही समय बिजुली काट्नुपरेको हो । अहिले डिमान्ड र सप्लाई बराबर छ ।’

हाल पिक आवरमा दैनिक १ हजार ४७० मेगावाट बिजुली माग रहेको तिम्सिनाले बताए । मागअनुसार आपूर्ति भइरहेको उनको भनाइ छ । स्वदेशी उत्पादन र भारतबाट भएको आयातले लोड व्यवस्थापन भइरहेको छ ।

तिम्सिनाले भने, ‘माग १४७० मेगावाट पुगेको थियो । भारतबाट समेत ल्याएर आपूर्ति गरेका छौँ । कुलेखानी पूर्ण क्षमतामा चलाएर भए पनि माग पूरा गरेका छौँ । अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था छैन ।’

घिसिङ व्यवस्थापकीय कमजोरीका कारण बिजुली आपूर्तिमा समस्या देखिएको बताउँछन् । उनका अनुसार बिजुली काटिएका विषयमा आम सर्वसाधारणको गुनासो तुरुन्तै सम्बोधन हुने विश्वास बढाउनु पर्छ ।

उनले भने, ‘पब्लिकको गुनासो तत्कालै सम्बोधन हुनुपर्छ । कर्मचारीहरूलाई उत्प्रेरणा पनि हुनुपर्‍यो । राइट म्यान इन राइट प्लेस हुनुपर्‍यो । भताभुङ्ग तरिकाले कर्मचारीको सरुवा गर्दा कहाँ कुन ठाउँ भन्ने पनि कर्मचारीलाई थाहा नहुन सक्छ ।’

घिसिङका अनुसार प्राधिकरणको उच्च नेतृत्वमा बस्नेलाई देशका सबै आयोजनाको जानकारी हुनुपर्छ । सप्लाई साइटमा कुनै पावर प्लान्टहरू बिग्रन थालेको छ भने पहिला नै थाहा हुनुपर्छ । बिजुली चोरी पनि नियन्त्रण हुनुपर्छ ।

उनले भने, ‘अहिले धेरै चोरी हुने समय हो । चोरी भएको बिजुली सित्तैमा पाएपछि एकै ठाउँमा धेरै पनि चलाउँछन् । यस्तो लोड बढी हुँदा भार थेग्न नसकेर लाइन काटिने सम्भावना हुन्छ ।’

अहिलेको लोड सेडिङ देखिनुमा चुहावट पनि कारण हुनसक्ने घिसिङको अनुमान छ । व्यवस्थापन पनि चुस्त हुनुपर्ने उनी बताउँछन् । उनले भने, ‘व्यवस्थापन राम्रो भएन भने पनि लोडसेडिङ बढ्छ । भौतिक पूर्वाधार सुधार नगर्दा र सप्लाई राम्रो गर्न नसक्दा लोडसेडिङ बढ्छ ।’

लोड व्यवस्थापनका लागि प्राधिकरणको नेतृत्वले पहल लिनुपर्ने घिसिङको भनाइ छ । उनी भन्छन्, ‘टप म्यानेजमेन्टले जुनसुकै ठाउँको पनि तत्काल रेस्पोन्स हुनुपर्छ । कुनै ठाउँमा बत्ति गयो भन्ने कुरा सम्बन्धित ठाउँमा पुग्न दुईतीन घण्टा लाग्यो भने त काम भएन । समस्या समाधान गर्ने नै टप म्यानेजमेन्टले हो ।’

बिजुलीको खपत घटाउन पनि व्यवस्थापन राम्रो हुनुपर्छ । लोडसेडिङ हुने भयो भन्ने परेपछि सबैले पावर व्याकअपको व्यवस्था गर्न थाल्छन् । यसले लोड थपिन्छ । घिसिङका अनुसार लोड सेडिङ हुँदैन भनेर उपभोक्तालाई विश्वास दिलाउन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ३२ बजे

सिधाकुरा प्रकरण : सर्वोच्चले राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगायो

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनलाई स्टिङ अपरेसनको विवादास्पद अडियो उपलब्ध

आतंककारी च्यानल भन्दै इजरायलले अल जजिरालाई लगायाे प्रतिबन्ध 

काठमाडौं– इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ । इजरायलको

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई विभाजन

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

काठमाडौं-  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झट्का

जलवायु परिवर्तनको असरबारे जापान चिन्तित, हिमाल जोगाउन सबैले सहकार्य गरौँ : परराष्ट्रमन्त्री योको

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा