राणालाई राजीनामा दिन बाध्य पार्ने बारको 'रणनीति', तिहारपछि आन्दोलन चर्काउने (भिडियोसहित) | Khabarhub Khabarhub

राणालाई राजीनामा दिन बाध्य पार्ने बारको ‘रणनीति’, तिहारपछि आन्दोलन चर्काउने (भिडियोसहित)


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एशोसिएसनले पहिलो चरणको कार्यक्रम आज सकेको छ ।

इजलास नै बहिष्कार गर्दै आन्दोलित भएका अधिवक्ताहरुले बार एशोसिएनअघि चार दिनसम्म धर्ना र खबरदारीसभा गरेर पहिलो चरणको कार्यक्रम सकेका हुन् ।

अधिवक्ता र न्यायाधीशहरुको दबाबकाबीच राजीनामा नदिने अडानमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन थप चर्काउँदै पदबाट हटाइछाड्ने ‘रणनीति’ बारले अख्तियार गरेको छ । बुधबारको धर्नामा अधिवक्ताहरुले जबराले राजीनामा दिनपर्ने एक दर्जन कारण प्रस्तुत गरेका छन् ।

बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता टीकाराम भट्टराईले सडकले माग्दैमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति भएको टिप्पणी गरे ।

‘चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो’,बारका पूर्वउपाध्यक्ष भट्टराईले भने, ‘ प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् ।’

न्यायमा अवरोध सिर्जना गरेको, स्वेच्छिक पेसी तोकेको, पारदर्शी पेसी तोक्न असफल भएको, न्यायिक विचलनलाई प्रोत्साहन गरेको, सहकर्मीको सम्पूर्ण विश्वास गुमाएको, न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन नसकेको, बिचौलियाको दबाब र प्रभाव हटाउन नसकेकोसहितका १२ वटा कारणले जबराले तत्कालै राजीनामा दिनुपर्ने माग उनले गरे ।

अधिवक्ता चूडामणि भट्टराईले प्रधानन्यायाधीशको सहज बहिर्गमनले मात्रै अब न्यायलय शुद्धीकरण हुने जिकिर गरे ।

उनले भने,’ बारको आन्दोलन न्यायको शुद्धीकरण अभियान हो । शलिनतापूर्वक गरिएको आग्रहलाई कमजोरी ठानिए प्रत्युत्पादक हुनेछ’, उनले भने, ‘न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नमानेपछि आन्दोलनमा आयौं । २३ कात्तिकमा फेरि आउनेछौं । त्यतिञ्जेल हाम्रो माग सम्बोधन गर्नुभएन र सहज बहिर्गमन भएन भने उहाँले सम्मानजनक बहिर्गमन पनि पाउनु हुने छैन।’

राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न भएको र अब २३ कात्तिकबाट निरन्तर आन्दोलन हुने बार महासचिव लीलामणि पौडेलले जानकारी दिए । ‘आजको कार्यक्रम सकियो । नयाँ कार्यक्रम घोषणा तिहारपछि, आन्तरिक छलफल भने जारी रहनेछ,’ पौडेलले भने ।

यसअघि विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गरिन् । ‘न्यायलयको सुधारका लागि बार लागेको छ। बारको प्रांगण त्यागेर सर्वोच्च पुगिसकेका छौं । न्याय शुद्धीकरणको अभियानमा अवरोध भएकाले प्रधानन्यायाधीशको राजीनामा मागेको हो । विकृति, विसंगति र भ्रष्टाचार हटाउन द्वार खोल्न पनि प्रधानन्यायाधीशको राजीनामा आउनुपर्छ,’ उनले भनिन्, ‘जुन धाराबाट आएको त्यही धाराबाट जान खोज्नुभयो भने त्यो धाराको पानीले बगाउनेछ । सम्मानजनक बहिर्गमनका निम्ति अनुरोध गर्दछौं ।’

बार उपाध्यक्ष मानबहादुर रूम्जाली राईले प्रधानन्यायाधीश जबराको राजीनामा नै बटमलाइन भएको बताए । ‘समग्र न्यायपालिकाको स्वतन्त्रता जवाफदेहिता स्वच्छता खोजेको हो । सेतोपट्टीवाला साथीहरू बारको विज्ञप्ति पढिदिनुस् । उहाँहरूले प्रधानन्यायाधीशको राजीनामाका लागि मात्र बारको आन्दोलन हो भन्ने भन्नु भएछ । शान्तिपूर्ण रूपमै आन्दोलन टुंग्याउन चाहन्छौ । यसका लागि राजीनामा बटमलाइन हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले समग्र न्याय सुधारका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । ‘अहिले विस्फोट भयो । संषर्घ पहिलेदेखि हो । चोलेन्द्र नहटाउने हो भने नयाँ आउने प्रधानन्यायाधीशलाई पनि समस्या हुन्छ । राजनीतिक नेतृत्वको राजनीतिले आज यो अवस्था आयो । प्लिज यसलाई अगाडि बढाउनुभयो भने हामी छोड्दैनौं । बहिर्गमन मात्र होइन, यो राजद्रोह पनि हो । आजको आन्दोलन चोलेन्द्र हटाउने मात्र होइन, समग्र न्याय सुधारको हो,’ उनले भने ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : २९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा