घरमा डोजर चलेको त्यो दिन | Khabarhub Khabarhub

घरमा डोजर चलेको त्यो दिन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघीय राजधानी बालाजुको बाइपास, जहाँ काठमाडौँ उपत्यका विकास प्राधिकरणले त्यहाँको सडक दुवैतर्फ ७ मिटर फराकिलो बनाउन २०७२ साल माघमा पक्की घरमा डोजर चलाएको थियो ।

त्यही सडकको एक छेउमा बसिरहेकी छन् ५५ वर्षीया रमा श्रेष्ठ । रमा ५ वर्षअघि भत्काइएको घर सम्झिएर सडकमै दिन बिताइरहेकी छिन् । मङ्गलबार दिउँसो पनि उनी त्यही सडकमै भेटिइन् ।

पाँच वर्षअघि सरकारले भत्काएको घर र ४ महिनाअघि बितेका श्रीमानको सम्झनाले उनको मन बिथोलिन्छ ।

मर्नुअघि श्रीमानले ‘रमा ! मैले छोडेर गए पनि यो घरको मुद्दा तिमीले जसरी पनि जित्नु है’ भनेका थिए । श्रीमानको यही वाक्य रमाको कानमा गुन्जिरहन्छ ।
‘शनिबार सडक पिच गर्न डोजर चलेको थियो’ रमाले भनिन्, ‘म बाटोमा सुतेँ, बरु म डोजरले पेलेर मर्न तयार छु तर यो ठाउँ छोड्दिनँ ।’

रमाको परिवारको आम्दानी स्रोत त्यही १८ इन्चको पर्खाल सहितको दुई तले पक्की घर थियो । उनले भनिन्, ‘५ वर्षदेखि घर छैन, आम्दानी पनि केही छैन ।’

रमा त्यो घरमा बसेको ३० वर्ष भएको थियो । अहिले आफन्तको घरमा आश्रय लिएर बसेको उनले बताइन् ।

यसरी चल्यो डोजर

२०७२ साल माघ महिना, श्रीपञ्चमीको दिन थियो । रमा ज्वरो आएर सुतिरहेकी थिइन् । साथमा उनका श्रीमान तीर्थमान र छोरा पनि थिए ।

अचानक बाहिर होहल्ला सुनियो । उनीहरूले झ्यालबाट तल हेरे । एक हुल प्रहरी आएका रहेछन् । किन आएका होलान्, कहाँ के भएछ भनेर रमाको मनमा कुतुहल उत्पन्न भयो ।

प्रहरीको हुल त्यही अडियो । प्रहरीको कमान्डरले घर भत्काउन आदेश आएको कुरा सुनायो र घरबाट बाहिर निस्किन भन्यो । नजिकै एउटा डोजर पनि तयार थियो ।

‘पुर्जीविना कसले दियो आदेश ?’ रमाले यति भन्न्न नपाउँदै घरमा एकाएक चल्न डोजर चल्यो । त्यो दिन स्मरण गर्दै रमाले भनिन्, ‘छिनभर मै घर तहसनहस नै भयो, हामीले केही सामन पनि झिक्न पाएनौँ, अत्तालिँदै बाहिर निस्किएका थियौँ ।’

त्यसपछि रमा र उनीजस्ता अरू परिवारहरू कहिले सडकमा त कहिले अदालतमा छन् । उनीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन् ।

रमाले भनिन्, ‘सरकारले घर भत्काइदिएपछि त्यही चिन्ताले हामी सुत्न सकेनौँ, यस्तै हुँदाहुँदै ४ महिनाअघि श्रीमानको मृत्यु भयो ।’ रमाका अनुसार श्रीमान मस्तिष्कमा रगत जमेर बिते । उनी उच्च रक्तचापका बिरामी थिए ।

घरकै चिन्ताले छट्पटिएर श्रीमानले संसार छाडे । रमा पनि त्यही सडकमा छिन्, न्याय पाउने आशामा ।

‘रामवीर (मानन्धर) वडाध्यक्ष हुँदा हामीलाई स्ववासी प्रमाणपत्र दिनुभएको थियो हाम्रो साथमै छ यो पत्र,’ उनले भनिन्, ‘आज राज्यमन्त्री हुँदा हामीलाई घरबारविहीन बनाइदिनुभयो ।’

रमासँग आफ्नो जग्गाको लालपुर्जा छैन । रमाको सहित त्यहाँका ३९ घर भत्काएका थिए । तीमध्ये ४ जना घरधनीसँग मात्र लालपुर्जा थियो । बाँकीसँग भने आफ्नो जग्गा हो भनेर पुष्टि गर्ने अन्य कागजात मात्र छन् ।

रमा भन्छिन्, ‘२००५ सालदेखि मेरा ससुराले त्यो घर उपभोग गर्दै आएको कागजात छ, दाजुभाइको अंश बाँड्दा मेरा श्रीमानको भागमा त्यो घर पर्‍यो ।’

श्याम मानन्धरको पीडा पनि फरक छैन । आमा विष्णुदेवीका नाममा रहेको जग्गामा बनेको घर उपत्यका विकास प्राधिकरणले २०७० सालमा भत्कायो ।

‘सरकारले मुआब्जा दिइसकेको भनेको छ तर हामीले मुआब्जाका नाममा एक रुपैयाँ पनि पाएका छैनौँ’ श्याम भन्छन्, ‘सम्पत्तिको नाममा त्यही एउटा घर थियो, त्यही पनि सडक बढाउने बहानामा सरकारले हड्प्यो ।’

बाइपासका ३९ घर गैरकानुनीरूपमा भत्काएको भन्दै घरधनीहरू आन्दोलित छन् । उनीमध्ये केहीले शनिबार माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरे । काठमाडौँ महानगरपालिकाको कार्यालय पनि घेराउ गरे ।

राज्यले सार्वजनिक जग्गा भनेपछि छोड्नुको विकल्प नरहेको शहरी विकास राज्यमन्त्री रामवीर मान्नधरका प्रेस सल्लहाकार रामचन्द्र अर्यालले बताए ।

यस विषयमा राज्यमन्त्री मान्नधरले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

सूचना केन्द्र बनाउँदै महानगर

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार पहिले सार्वजनिक जग्गा थियो, त्यहाँ व्यक्तिले अतिक्रमण गरेका थिए, सरकारले अहिले खाली गरेको हो ।

खाली गरिएको जमिनमा महानगरले सूचना केन्द्र निर्माण गर्ने तयारी गरेको डङ्गोलले खबरहबलाई बताए ।

उनले भने, ‘त्यहाँ सूचना केन्द्र राख्न लागेका हौँ, त्यहाँ काठमाडौँको फोहोर कति गयो भन्नेबारे विवरण राख्ने छौँ, त्यहाँ सार्वजनिक शौचालय पनि बन्नेछ ।’

पक्राउ परेका ८ जना रिहा

सडकको घरटहरा भत्काएको विरोध गर्दा पक्राउ परेका ८ जना रिहा भएका छन् । गत फागुन १२ गते सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायामीसहित ८ जनालाई प्रहरीले प्रक्राउ गरेको थियो । उनीहरू एक सातापछि मङ्गलबार रिहा भएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ३० बजे

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा