१५ दिनमा बाढीपहिरोबाट ६७६ परिवार विस्थापित | Khabarhub Khabarhub

१५ दिनमा बाढीपहिरोबाट ६७६ परिवार विस्थापित



काठमाडौँ– यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट ६७६ घर परिवार विस्थापित भएका छन् । असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् । यी घटनामा २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् ।

बाढीबाट ५८४, पहिरोबाट ३७ र भारी वर्षाबाट ५५ गरी ६७६ घरपरिवार विस्थापित भएका हुन्, ५७२ निजी आवासमा क्षति पुगेको छ । यसमध्ये ११० घर आंशिक र ४६२ घर पूर्ण क्षति भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन, २०७८ पाक्षिक प्रतिवेदन’ जारी गरेर उक्त जानकारी गराएको हो ।

त्यस्तै, २१ वटा सरकारी कार्यालय, ५ वटा सरकारी तथा सामुदायिक विद्यालय, १९ वटा झोलुङ्गे पुल, ७ वटा पक्की पुल र १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष यस अवधिमा बाढीपहिरोका ७२ वटा घटना भएका थिए । त्यसमा २८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । उही अवधिमा यस वर्ष दोब्बर घटना भएका छन् ।

सडकहरूमा क्षति

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको लिपिङस्थित हिमरिभर हाइड्रोपावर जाने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकामै अरनिको राजमार्ग सडक भासिएर यातायात बन्द भएको छ ।

मकवानपुरको भीमफेदी–कुलेखानी राजमार्ग भीमफेदी गाउँपालिकामा गएको पहिरोले अवरुद्ध भएको छ । बेँसीशहर–मनाङ राजमार्ग पनि पहिरोले दुई ठाउँमा अवरुद्ध भएको छ ।

बाजुराको मार्तडी–कोल्टी सडकखण्ड बुढीनन्दा खोलाले कटान गरेर अवरुद्ध भएको छ ।

सबैभन्दा धेरै त्रिपाल र टेन्ट

बाढीपहिरोले क्षति पुगेका घरपरिवारको राहतका लागि केन्द्रबाट प्रादेशिक गोदाम तथा जिल्लाहरूमा सामग्रीहरू पठाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रतिवेदनमा उल्लेख भएअनुसार मनाङ, सिन्धुपाल्चोक, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, सुनसरी, रूपन्देही, बाँके, सुर्खेत र कैलाली जिल्लामा टेन्ट, त्रिपाल, प्लास्टिक र स्लिपिङ ब्याग पठाइएको छ ।

यी सबै जिल्लामा गरी ३ हजार ४५६ वटा त्रिपाल, १ हजार १०९ वटा टेन्ट, ११४ वटा स्लिपिङ ब्याग, ब्लाङ्केट र ६० वटा प्लास्टिक सिट पठाइएको छ । मनाङका लागि २ हजार लिटर डिजेल र सिन्धुपाल्चोकका लागि पाँच सय थान ग्याबिन तार पनि पठाइएको छ ।

यसै गरी प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत वितरण हुने गरी कुल १५९५ त्रिपाल, १ हजार ६२७ म्याट्रेस, ९६९ ब्लाङ्केट, ६०७ झुल ३६७ थान भाँडाकुँडा र २०६ थान टेन्ट पठाएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रदेशमा पठाइएका सामग्री विभिन्न संघसंस्थाबाट प्राप्त भएका हुन् ।

खोज तथा उद्धार

यस वर्ष हालसम्मको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, बाजुरा, पाल्पा लगायतका २६ जिल्ला बढी प्रभावित भएका छन् ।

जेठ ३१ गते रातिको वर्षाका कारण मनाङ जिल्लाको चामे र तालगाउ क्षेत्रमा बाढीपहिरोको जोखिममा परेका पाँच सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मनाङको विभिन्न स्थानमा जोखिममा रहेका ११८ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको जनाइएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुक्षेत्रमा करिब ५०० जना र मेलम्ची क्षेत्रमा करिब ६०० जनालाई स्थानीय प्रशासन र सम्बन्धित स्थानीय तहको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सिम्रिक एयरको हेलिकोप्टरबाट गोरखाको सुलीकोट गाउँपालिका १ बाट ४ जनालाई उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माणका लागि १९ करोड

चालु आर्थिक वर्षमा मनसुनी विपदबाट क्षति भएका निजी आवासको पुनर्निर्माणका लागि हालसम्म २० जिल्लामा रकम पठाइसकेको प्राधिकरणले जनाएको छ ।

क्षति पुगेका ३ हजार ९४९ लाभग्राहीका लागि प्रथम किस्ता बापत १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ पठाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ३ : ४९ बजे

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०