सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले | Khabarhub Khabarhub

सुक्खा पहाड खनेर निकालियो खानेपानी, फर्किए बसाइँ सर्ने गाउँले


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ ।

सुक्खा क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् ।

जमिनमुनि करिब १२३ मिटर खनिएको छ तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ ।

लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने बाध्यताले आजित गाउँबासी बसाइँ सर्ने क्रम बढ्दो क्रममा थियो । पानीकै समस्याले गाउँले विस्तापित हुन थालेपछि इलाम नगरपालिकाले डिप बोरिङबाट पानी निकाल्ने योजना बनाएको हो ।

जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने/नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका हुन् ।

लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको ७० वर्षीया टीका पराजुली बताउँछन् । पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पर्थ्यो । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई ‘जीवनले काँचुली’  फेरिएझैँ भएको छ ।

एक वर्षअघि दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम शुरु गरिएको थियो । सुक्खा डाँडामा अन्य क्षेत्रबाट पानी ल्याउन सकिने अवस्था थिएन । सोही कारण नगरले यो नयाँ उपाय अपनाएको हो ।

गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्य बताउँछन् ।

आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति हुनुहुन्छ । उहाँ यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै हुनुहुन्थ्यो तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ ।

यहाँ अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए । झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् ।

पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी सङ्कलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन ।

नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेन बताउँछन् । खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका छन् । खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन् ।

वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा/एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन् ।

बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिए ।

अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ८ : १० बजे

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

नेपाल भित्रिने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।