भारतबाट आयात गरिएको तरकारी बिक्री वितरणमा रोक | Khabarhub Khabarhub

भारतबाट आयात गरिएको तरकारी बिक्री वितरणमा रोक


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके जिल्लाका स्थानीय तहले भारतबाट आयात गरिको तरकारी बिक्री वितरणमा रोक लगाएका छन् । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि गाउँगाउँमा पुग्ने भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको भन्दै भारतीय सीमासँग जोडिएका यहाँका स्थानीय तहले बिक्री वितरणमा रोक लगाएका हुन् ।

बाँकेसँग जोडिएको भारतको उत्तर प्रदेशका जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दो रहेकाले पनि भारतीय तरकारीबाट सङ्क्रमणको जोखिम बढेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले कोरोना सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई थप कडाइ गर्दै आइतबारदेखि भारतबाट आयात तथा बिक्री वितरण हुने तरकारीमा पनि रोक लगाइएको जानकारी दिए ।

‘खजुरा गाउँपालिकाको वडा नं १ राधापुर क्षेत्र भारतसँग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुरचौकीलाई भारतीय तरकारी रोक्न आग्रह गरिएको छ भने स्वयंसेवक दस्ता पनि परिचालित हुने गरेको छ,’ उनले भने, ‘सीमा क्षेत्रमा पूर्णरुपमा आवतजावत रोक्न सुयुक्त सुरक्षा फौज लागिपरेको छ ।’

खजुरा क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलगायत कृषि उत्पादन पर्याप्त रहेकाले भारतीय तरकारीमा रोक लगाउँदै स्थानीय कृषि उपजको बजारीकरणमा ध्यान दिइएको उनको भनाइ छ । बन्दाबन्दीका कारण किसानको खेतमा अलपत्र तरकारी बजार व्यवस्थापनका लागि खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसँगको छलफल गरेर खजुरामै कृषि उपजको खपत गर्नेतर्फ गाउँपालिकाले जोड दिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

बाँकेकै कोहलपुर नगरपालिकाले पनि भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको तरकारी कृषि बजारसम्म पुर्‍याउने व्यवस्था गर्न लागिरहेको छ । नागरिकस्तरबाटै भारतीय तरकारी बिक्रीवितरणमा रोक लगाउनुपर्ने माग भएपछि अहिले नगरपालिकाले त्यसलाई कार्यान्वयन गरिरहेको नगर प्रमुख लुटबहादुर रावतले बताए । ‘विगतमा गाडीका गाडी आउने भारतीय तरकारी आयातमा रोक लगाइएको छ, लुकिछिपी आउने व्यापारीहरुलाई समेत बिक्रीवितरणमा रोक लगाउने तयारी भइरहेको छ,’ नगरप्रमुख रावतले भने ।

अहिले पनि व्यापारीले ठेला र साइकलमा नेपालगञ्जका टोलटोलमा भारतीय तरकारी पुर्‍याउने गरेका छन् । भारतीय तरकारी पूर्ण रुपमा आयात रोक लगाएर बाँकेमा किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरण गनुपर्ने नागरिकस्तरबाट माग गर्न थालिएको छ । स्थानीय मानवअधिकार सञ्जाल नेपालगञ्जका संयोजक तेजविक्रम शाह भारतबाट दैनिक रुपमा ठूलोमात्रामा भित्रिने तरकारीबाट कोरोनाको जोखिम बढेकाले तुरुन्तै यसतर्फ स्थानीय सरकार सजग हुनुपर्ने बताउँछन् । कम्तीमा आआफ्नो स्थानीय तहमा भारतीय तरकारी बिक्री वितरणमा रोक लगाउन सकिए पनि ठूलो उपलब्धि हुन सक्ने उनको भनाइ छ ।

बन्दाबन्दीका कारण नेपाली किसानले आफूले उत्पादन गरेको तरकारी बजार पुर्‍याउन सकिरहेका छैनन् । बाँकेमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका खजुरा गाउँपालिका –२ सीतापुर निवासी अगुवा किसान लालबहादुर खत्री भन्छन्,’सबभन्दा ठूलो कुरा स्वास्थ्य हो, रोग नलागेर बाँचियो भने तरकारी त अर्को सिजनमा बेचौँला । अहिले किसानले तरकारी बिक्री गर्दै हिँड्ने र उपभोक्ताले हरियो तरकारी खोज्दै हिँड्ने अवस्था होइन, घरमा जेजस्तो छ त्यसैले निर्वाह गर्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन ।’

हरियो तरकारी अत्यावश्यक भन्दै घरघरमा पुर्‍याउँदा त्यसैबाट कोरोना सङ्क्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्ने उनको सुझाव छ । गाउँमा उत्पादित तरकारी किसानले बजारमा ल्याउन नसकेपछि यहाँ सञ्चालित सब्जीमण्डीमा ९० प्रतिशत भारतीय तरकारी रहेको छ ।

बन्दाबन्दीपछि पनि नेपालगञ्ज नाकामार्फत भारतबाट खाद्यवस्तुसँगै तरकारी पनि नियमित रुपमा आयात भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्ताराम निरौलाले जानकारी दिए । नेपालगञ्ज नाकाबाट आयात भएको तरकारी प्रदेश नं ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका जिल्लामा निर्यात हुने गरेको छ ।

भारतबाट आयातीत तरकारी महँगो दरमा घरघरमा पुग्ने गरे पनि बाँकेमा व्यावसायिक रुपमा उत्पादित तरकारीले भने बजार नपाउँदा किसान मर्कामा परेको खजुरा सीगाउँ निवासी किसान अर्जुन उप्रेतीले बताए । उनले नेपाली किसानले उत्पादन गरेको तरकारी खेतबारीमै नोक्सानी गराएर भारतबाट तरकारी आयात गर्ने कार्य बन्द गरिनुपर्ने माग गरे । किसानले उत्पादन गरेको तरकारी गाउँमै पुगेर खरीद गर्ने व्यवस्था स्थानीय सरकारले मिलाउनुपर्ने उनको सुझाव छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बन्दाबन्दीका कारण किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि थोक बजारसम्म पुर्‍याउन नसक्दा भारतीय तरकारीको बिक्रीवितरण भएको हुन सक्ने बताउँछन् । बन्दाबन्दीमा किसानसँग आवतजावतको इजाजत नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १ : २३ बजे

दाताको फेबरमा सरकारले ल्यायो पाँच वर्षे ‘लगानी व्यवस्थापन कार्ययोजना’

काठमाडौं – सरकारले लगानी प्रभावकारिता बढाउने भन्दै दातालाई सजिलो हुने

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो

प्रधानमन्त्रीको टिप्पणी- जसपा फुटाउन मेरो कुनै भूमिका छैन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका