कालीमाटीमा तरकारी कुहिँदै, खुद्रा बजारमा दोब्बर भाउ | Khabarhub Khabarhub

कालीमाटीमा तरकारी कुहिँदै, खुद्रा बजारमा दोब्बर भाउ



काठमाडौं— दैनिक ८ सय टन तरकारी खपत हुने काठमाडौंमा अहिले ५ सय टन खपत हुन मुश्किल भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेपछि मानिसहरू घरघरमा क्वारेनटाइन बसेका छन् ।
सरकारले लकडाउनको समयमा पनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा वितरणमा समस्या नआउने बताएको छ ।

यता शहरभित्र तरकारी व्यवसायीले तरकारी ओसारपसार गर्न पाएका छैनन् । फलस्वरूप राजधानी काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल थोक बजारमा तरकारी कुहिन थालेको छ ।

काठमाडौं उपत्यकाका लागि तरकारी ढुवानी तथा खरिदबिक्री गर्ने मुख्य थलो कालीमाटी बजार अहिले करीब सुनसान छ । दिउँसो कालीमाटीमा उपभोग्य सामग्री ओसार्ने सवारीबाहेक अरूलाई आवगमन बन्द छ ।

उपत्यकाका धेरैजसो खुद्रा व्यापारीले कालीमाटी बजारबाटै तरकारी लिने र उपभोक्तालाई बेच्ने गर्ने गर्छन् । व्यापारीहरू अहिले कोरोना भाइरसको संक्रमणका कारण तरकारी खरिद गर्न कालीमाटी पुग्न नसकेको बताउँछन् ।

बौद्धकी कमला भुसाल ६ दिनदेखि तरकारी पसल बन्द गरेर घरमा बसेकी छिन् । सरकारले एक साताका लागि देशव्यापी लकडाउन घोषणा गरेकै दिनदेखि तरकारी पसल बन्द गरेको उनले बताइन् ।

‘लकडाउन घोषणा नगरुन्जेल पनि त्रास लिएरै काम गरिरहेकी थिएँ’ व्यापार बन्द गरेर घरमा बसेकी भुसालले भनिन्, ‘थोरै तरकारी बाँकी थियो आफ्नै लागि राखेँ, अहिले घरमा क्वारेनटाइनमा बसेकी छु ।’

तरकारीको खुद्रा व्यापार गर्ने कमलाजस्ता धेरै व्यापारीहरू अहिले आफू र परिवारलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न घरमै बसिरहेका छन् ।

कालीमाटीमै कुहिन थाल्यो तरकारी

तरकारी व्यापारीहरू घरबाहिर ननिस्केपछि अहिले कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी कुहिन थालेको छ ।

बजारमा तरकारीको खपत कम भएकाले कालीमाटी बजारमा कुहिन थालेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।

अहिले दैनिक ५ सय देखि ६ सय टन तरकारी कालीमाटीमा भित्रिने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

उनका अनुसार गत शुक्रबार ६३० टन तरकारी आएको थियो । त्यस्तै शनिबार ५४० टन र आइतबार दिउँसोसम्म १८० टन आएको थियो ।
काठमाडौंमा काभ्रे, धादिङ, नुवाकोट लगायतका छिमेकी जिल्ला र भारतबाट तरकारी आउँछ । हाल समितिले खरिद बिक्रीका लागि बिहान र बेलुकाको समय तोकेको छ ।

‘धेरै भीडभाड हुने भएकाले दिउँसोे कालीमाटी बन्द गरिएको छ’ श्रेष्ठले खबरहबसँग भने, ‘बिहान २ बजेदेखि ७ बजेसम्म थोक बजार खुल्छ, साँझ ५ बजेदेखि ७ बजेसम्म खुद्रा बजार खुल्ने व्यवस्था गरिएको छ ।’

दिनभर बजार बन्द गर्नु परेकोले तरकारी कुहिन थालेको श्रेष्ठले बताए । ‘अहिले तरकारीको आयातअनुसार खपत छैन’ उनले भने, ‘त्यसकारण तरकारी कुहिन र बिग्रिन थालेको छ ।’

उपभोक्ता तिर्छन् दोब्बर मूल्य

कालीमाटी बजारमा तरकारीको ५ दिन अघिदेखिको मूल्यसूची हेर्दा तरकारीको भाउ थोरै मात्र बढेको देखिन्छ । यता खुद्रा व्यापारीले कालीमाटी बजारको तुलनामा दोब्बरसम्म भाउ बढाएर बेच्ने गरेका छन् ।

खुद्रा व्यापारीले कालीमाटीबाट प्रतिकेजी ८० रुपैयाँमा किनेको गोलभेंडा उपभोक्ताले १५० रुपैयाँसम्ममा किन्नु परेको छ ।

खुद्रा पसलमा काउली, प्याज, बोडी, सिमी लगायतका तरकारीको मूल्य अत्यधिक बढेको छ ।

हरियो खुर्सानीको मूल्य दोब्बरले बढेको छ । पाँच दिनअघि कालीमाटीमा प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको हरियो खुर्सानीको भाउ आइतबार ३३० रुपैयाँ पुगेको थियो ।

उपभोक्ता भने लकडाउनको समयमा पनि तरकारी पाइएको भनेर खुसी हुने गरेका छन् ।

‘लकडाउनको समय छ यसरी तरकारी पाउनु पनि ठूलो कुरा हो नि’ आइतबार जोरपाटीमा तरकारी किनिरहेकी मिना शाक्यले भनिन्, ‘भाउ बढे पनि तरकारी सहजै पाएका छौँ, यसैमा खुसी हुनुपर्छ ।’

यस्तो छ तरकारीको मूल्य 

सोमबार कालीमाटी बजारमा गोलभेंडा प्रतिकेजी ८० रुपैयाँ, रातो आलु प्रतिकेजी ६०, सुकेको प्याज प्रतिकेजी ८०, लसुन प्रतिकेजी ५५०, बन्दा प्रतिकेजी ५०, काउली प्रतिकेजी ७०, मटरकोसा प्रतिकेजी ८० रुपैयाँ थियो ।

त्यस्तै घिउ सिमी प्रतिकेजी ८० रुपैयाँ, लौका प्रतिकेजी ९०, परवल प्रतिकेजी १४०, घिरौला प्रतिकेजी १ सय, हरियो फर्सी प्रतिकेजी ५० र भिण्डी प्रतिकेजी १३० रुपैयाँ थियो ।

रायोको साग ५० रुपैयाँ, चमसुर ५०, पालुंगो ५०, मेथी ५०, सौफको साग ५० र हरियो प्याज प्रतिकेजी ९० रुपैयाँ थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १२ : ५९ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट