एक समयको कुरा हो । दीपावली नजिकिँदै थियो । मानिसले दियो बालेर आआफ्ना घरलाई झिलिमिली पार्ने हुनाले बजारमा माटाको दियोको राम्रै माग हुन्थ्यो । त्यसैले व्यापारीले माटाका प्रशस्त दियो बिक्रीका लागि सजाएर राखेका थिए ।
एकदिन तिनै माटोका दियोहरू आपसमा गुनासो गर्न थाले । पहिलो दियोले भन्यो– म जीवनमा निकै ठूलो बन्न चाहन्थेँ । चिल्लो र आकर्षक घडा बन्ने कत्रो रहर थियो, कुमालेले मलाई दियो बनाइदियो । भाग्यै खोटो भएपछि के गर्नु ?
यदि हामी एकातिर असफल भयौँ भने अर्को ढोका खुल्छ । जीवनमा अवसरको कमी छैन । एउटा गुम्यो भने अर्को अवसर आउँछ ।
दोस्रो दियोले भन्यो– म पनि एक भव्य मूर्ति बनेर कुनै धनी मानिसको घरको शोभा बढाउन चाहन्थेँ । तर के गर्नु, मलाई पनि त कुमालेले एक दियो बनाइदियो ।
तेस्रो दियोले भन्यो– मलाई त सानैदेखि पैसा निकै मन पथ्र्यो । त्यसैले, म एक खुत्रुके बन्न चाहन्थेँ । मेरो सपना पूरा भएको भए आज मेरो यो गति हुँदो हो त ?
चुपचाप उनीहरूको कुरा सुनिरहेको चौथो दियोले मन्द मुस्कानसाथ विनम्रतापूर्वक भन्यो– साथीहरू, म जीवनको एक रहस्य तपाईंहरूलाई बताउँछु ।
कुनै उद्देश्य राखेर पूर्ण लगनसाथ त्यसलाई हासिल गर्न प्रयास गर्नेजति सबै लक्ष्यमा सफल हुन्छन् नै भन्ने हुँदैन । कथम् कोही असफल भइहाल्यो भने आफ्नो भाग्य या अरू कसैलाई दोष दिएर बस्नु मूर्खतासिवाय केही होइन ।
यदि हामी एकातिर असफल भयौँ भने अर्को ढोका खुल्छ । जीवनमा अवसरको कमी छैन । एउटा गुम्यो भने अर्को अवसर आउँछ । यसो सोच्नुहोस् त, दीपावली आउँदै छ । बजारमा मानिसको भिड लाग्न थालिसकेको छ । सबैले हामीलाई किन्छन् र हामीलाई पूजाकोठामा सजाउँछन् ।
हामीले कति घरको शोभा बढाउने सौभाग्य पाउँछौँ ! त्यसैले, आफ्नो भाग्य र कुमालेलाई दोष दिएर दुःखी हुनुभन्दा खुसी हुनुहोस् । आखिर एकबारको जुनीमा के नै लानु छ र ? चौथो दियोको कुरा सुनेपछि सबै दियो खुसी भए ।
प्रतिक्रिया