अभिभावकलाई ढाँटेर ५ प्रतिशत कमिसनमा विद्यालयको जग्गा बिक्री | Khabarhub Khabarhub

अभिभावकलाई ढाँटेर ५ प्रतिशत कमिसनमा विद्यालयको जग्गा बिक्री



नवलपुर– नवलपरासीपूर्वको मध्यबिन्दु नगरपालिका–१, सेतापानीस्थित शान्ति आधारभूत विद्यालयमा तीन सय जनाभन्दा बढी विद्यार्थी पढ्छन् । केही अनाथ विद्यार्थीहरू आवासीय सुविधासहित राखिएका छन् । सुकुम्बासी बस्तीमा नमुना बन्दै गएको यो विद्यालयका लागि आर्थिक स्रोत जुटाउन दुई वर्षअघि धनधान्याचल महायज्ञ लगाइएको थियो ।

महायज्ञबाट विद्यालयलाई १४ कठ्ठा ऐलानी जग्गा प्राप्त भएको थियो । दान दातब्यबाट केही नगद पनि प्राप्त भयो । महायज्ञपछि विद्यालय ऋणमुक्त भयो । विद्यालयका प्रधानाध्यापक दधि सापकोटाका अनुसार यज्ञमा बोलकबोल भएको करिब १० लाख रुपैयाँ अझै उठ्न बाँकी छ ।

यज्ञका अवसरमा विद्यालयलाई दाताले दिएको १४ कठ्ठा जग्गामध्ये ८ कठ्ठा प्रधानाध्यापक सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धिमान खड्काले मिलेमतोमा बिक्री गरेका छन् । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकहरूलाई तलबका लागि रकम जुटाउन जग्गा बिक्री गर्नु परेको उनीहरूको भनाइ छ ।

निजी विद्यालयका सञ्चालकलाई जग्गा बिक्री

सरकारी विद्यालयको ऐलानी जग्गा कावासोती नगरपालिका–१६, डण्डास्थित नवलपुर बोर्डिङ स्कुलका सञ्चालक हरिहर अधिकारीले किनेका हुन् । कुल मूल्य ३२ लाख रुपैयाँमध्ये १६ लाख असोज २७ गते प्रधानाध्यापक सापकोटा र अध्यक्ष खड्काले बुझेका छन् ।

जग्गा बिक्री गरेबापत सापकोटा र खड्काले ५ प्रतिशत कमिशन पाउनेछन् । विद्यालय व्यवस्थान समितिको गत साउन ४ गते भएको बैठकमा जग्गा बिक्री गर्नेलाई ५ प्रतिशत प्रोत्साहन भत्ता दिने कुरा निर्णय पुस्तिकामै उल्लेख गरिएको छ ।

हेर्नुहोस् निर्णय :

अधिकारीले विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा आफूले जग्गा किन्ने सम्झौता गरेको बताए । उनले विद्यालयले दुई महिनाभित्र ब्याजसहित फिर्ता गर्ने गरी ऋण दिएको कागज पनि आफूसँग रहेको बताए ।

ऋण चुक्ता गर्न नसके कानूनी प्रक्रिया मिलाएर हस्तान्तरण गर्ने गरी जग्गा धरौटीमा लिएको अधिकारको भनाइ छ । प्रधानाध्यापक सापकोटाले नै जग्गा खरिद गरिदिन आग्रह गरेको पनि उनले बताए ।

स्थानीयबासीको चर्को विरोधपछि बैना रकम फिर्ता गर्ने आश्वासन आफूले पाएको पनि अधिकारीको भनाइ छ ।
यज्ञमा आम्दानीभन्दा खर्च बढी !

विद्यालयलाई आर्थिक भार कम गर्न २०७५ सालमा धनधान्याचल महायज्ञ गरिएको थियो । यज्ञबाट १४ कठ्ठा जग्गा प्राप्त भयो । यसबाहेक यज्ञमा सञ्चालन खर्चसमेत नउठेर उल्टै ऋण लागेको प्रधानाध्यापक सापकोटाको भनाइ ।

‘अझै केही ठाउँमा महायज्ञको खर्च तिर्न बाँकी छ,’ सापकोटाले भने, ‘त्यतिबेला बोलकबोल भएको आठ—दश लाख रुपैयाँ अझै उठ्न बाँकी छ ।’

अभिभावकहरूले भने यज्ञको हिसाबकिताब पनि पारदर्शी नभएको आरोप लगाएका छन् । महायज्ञमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी भएको उद्घोष गरिएकोमा उल्टै घाटा देखाइएको अभिभावक सुकराम थनेतको भनाइ छ ।

अभिभावकलाई ढाँटेर हस्ताक्षर !

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले कोरोनाको कारण देखाएर आमभेला गर्न नसकिने भन्दै आफू निकटका मान्छे बोलाएर बैठक राख्ने गरेको धेरैको गुनासो छ ।

सेतापानीका १४ वटै टोलका सचिव सुनीललाल कुमालले व्यवस्थापन समितिका अध्यक्षले दुईचार कुरा बोल्न सक्ने मान्छेहरूलाई बैठकमा नबोलाउने र निकटकालाई मात्रै बोलाएर भित्रभित्रै जग्गा बेच्ने निर्णयमा हस्ताक्षर गराएको आरोप लगाए । जग्गा बेचिएको थाहा पाएर आफूहरूले बोलाएको आमभेलामा प्रधानाध्यापक सापकोटा र अध्यक्ष खड्का उपस्थित नभएको कुमालको भनाइ छ ।

सात वटा टोलले आमभेला गर्न माग गरेको र निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको कुमालले बताए । दरबन्दीका शिक्षकको तलब पनि प्रधानाध्यापक र अध्यक्षले चलाउने गरेको उनको आरोप छ ।

दुई वर्षमै ३४ लाख रुपैयाँ ऋण कसरी लाग्यो भन्ने अभिभावकहरूको प्रश्न छ । व्यवस्थापन समितिका सदस्यहरू पनि जग्गा बेच्ने निर्णयबारे अनभिज्ञ छन् । समितिकी एक सदस्य राधिका परियारले अध्यक्ष र प्रधानाध्यापक बाहेक अरूलाई केही कुरा थाहा नभएको बताइन् ।

धेरै अभिभावकहरूको प्रश्न छ— एकपटक जग्गा बेचेर तलब खुवाउने अनि अर्को पटक के गर्ने ? अध्यक्ष खड्काले निजी स्रोतका शिक्षकहरूलाई हटाउने बताए ।

यस्तो छ शिक्षा नियमावलीको प्रावधान

शिक्षा नियमावलीमा विद्यालयको विकासको काममा बाहेक विद्यालयको नाममा दर्ता भएका जग्गा वा अन्य सम्पत्ति बेचबिखन गर्न नहुने प्रावधान छ । सामुदायिक विद्यालयको जग्गा धितो राख्नसमेत नपाउने प्रावधान छ ।

‘सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास सम्बन्धी विशेष योजनाको लागि नेपाल सरकार वा वित्तीय संस्थाबाट ऋण प्रवाह हुने भएमा सो प्रयोजनको लागि व्यवस्थापन समिति र नियम १५८ बमोजिको समितिको सिफारिसमा मन्त्रालयले स्वीकृत गरे बमोजिम विद्यालयको सम्पत्ति धितो राख्न सकिने’ नियमावलीमा उल्लेख गरिएको छ ।

विद्यालयको नाममा रहेको सम्पत्तिको सुरक्षा गर्ने प्रमुख दायित्व व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने प्रावधान नियमावलीमा छ ।

सामुदायिक विद्यालयको नाममा रहेको सम्पत्तिको व्यवस्थापन र संरक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा संरक्षण समिति रहने व्यवस्था पनि छ । विद्यालयको नाममा प्राप्त भई दर्ता हुन बाँकी रहेको जग्गा दर्ता गर्ने व्यवस्था मिलाउने काम विद्यालय सम्पत्ति संरक्षण समितिको हुने नियमावलीमा उल्लेख छ ।

यसरी स्थापना भयो विद्यालय

हालको नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका–१, सेतापानीमा २०६० सालमा विभिन्न ठाउँबाट आएर सुकुम्बासीहरूको बस्ती बसेको थियो । सङ्गठित हुँदै गएका सुकुम्बासीहरूको नेतृत्व सिद्धिमान खड्काले गरे ।

सुकुम्बासीको बस्तीमा २०६२ सालमा स्थापना शान्ति प्रावि स्थापना भयो । उक्त विद्यालय अहिले कक्षा ८ सम्मको आधारभूत विद्यालय बनेको छ ।

खड्का नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्बद्ध सुकुम्बासी सङ्गठनका केन्द्रीय अध्यक्षसमेत थिए । अहिले आफू तटस्थ रहेको खड्का बताउँछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  २ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र