सरकार ! उद्धारमा यस्तै सास्ती खेप्नुपर्ने हो ? « Khabarhub
Logo
२४ असार २०७७, बुधबार

सरकार ! उद्धारमा यस्तै सास्ती खेप्नुपर्ने हो ?



काठमाडौँ– सरकारले विदेशमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकताका आधारमा उद्धार गर्ने निर्णय गरेसँगै युएईको आवुधावीमा रहेकी दमककी कृष्णा आचार्यले दूतावासमा नाप टिपाइन् ।

गर्भवती भएकै कारण उनको नाम प्राथमिकताका आधारमा उद्धारको सूचीमा पर्‍यो । कोरोना भाइरस परीक्षण लगायतका अन्य प्रक्रिया पूरा गरेर उनले युएईबाट हुने दोस्रो चार्टड उडानमा नेपाल फर्किन टिकट काटिन् ।

सामान्य अवस्थामा १८ हजार रुपैयाँमा टिकट पाउने भए पनि अहिले उनले ४० हजार रुपैयाँ तिर्नुपर्‍यो । बेरोजगार भएर विदेशमा बस्नुभन्दा स्वदेश नै फर्कन्छु भन्ने उनले सोचिन् ।

उनी जुन १८ तारिखमा साँझ ५ बजे उनी कोठाबाट निस्किन् । उडान राति १ बजे हुने कुरा थियो जसमा कोरोना परीक्षण गर्न तीन/चार घण्टा लाग्ने थियो । उडान भने १९ तारिख बिहान ५ बजे भयो ।

विमानस्थलमा १२ घण्टासम्म गर्भवती महिलाले विमान कुरेर कुर्सीमा बस्नुपर्दा असहज त थियो नै त्यसमाथि भोको पेट । स्वदेश फर्किने पक्का भएकोमा भने खुसी थिए उनीहरू ।

तीन महिनादेखि होम क्वारेन्टिनमा बसेकी कृष्णा गर्भवती छिन् । गर्भवती महिलालाई कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ भनिन्छ । उनको मनमा संक्रमणको त्रास चाहिँ कतिको थियो त ?

कृष्णा भन्छिन्, ‘सबैजनाको पीसीआर परीक्षण गराएर नेगेटिभ देखिएपछि नै उद्धार हुने हो । कोरोना पोजेटिभ देखिनेहरू फर्किन पाउँदैनन् । त्यसैले त्रासभन्दा पनि उत्साह थियो ।’

नेपाल सरकारले उद्धार गरिएका नागरिकलाई होल्डिङ सेन्टरदेखि क्वारेन्टिनसम्म पुर्‍याउने समाचारले पनि उनलाई सुरक्षित महसुस गराएको थियो ।

गत शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदासम्म १८ घण्टा भएको थियो । समय समयमा खाइरहनुपर्ने बेला भोकभोकै हिँड्नुपरेको गुनासो गरिन् गोरखाकी मिना अधिकारीले ।

महँगो टिकट काटेपछि खाने कुराको व्यवस्था पनि होला भन्ने उनले सोचेकी थिइन् तर विमानमा जंक फुड भनिने सुख्खा खानेकुरामात्र दिएको मिनाले बताइन् ।

उनले भनिन्, ‘विमानमा दिएको खानेकुरा रुचेन, स्वदेश पुगेपछि त खान पाइएला भनेको अनेक प्रक्रिया पूरा गर्दागर्दै पेट भोकै रह्यो । कतिपय साथीले होटलमा खाएछन्  । तर हामी पुग्दा त खाना सकियो ।’

मिनाले प्यास लागेर पानी किन्न जाँदा पनि नपाएको बताइन् । उनले भनिन्, ‘सटर नै बन्द गरे । यो जति दुःखलाग्दो कुरा के होला र !’

उक्त विमानमा आएका गर्भवतीहरूले सरकारले निर्देशिका बनाए पनि कार्यान्वयन नभएको र शरीर र लगेजभरी कोरोना ल्याएको जस्तो व्यवहार गरेको बताए ।

युएईमा रहँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आए पनि नेपालमा अवतरण गरेपछि कुनै पनि मापदण्ड कायम नभएको कृष्णा बताउँछिन् ।

मिनाका अनुसार विमानबाट निस्केपछि एउटा बसमा २० जना राखेर अध्यागमनभित्र प्रवेश गराइयो । त्यहाँ स्यानिटाइजर थिएन । सामाजिक दूरीको कुनै वास्ता थिएन । दूरी कायम गर्छु भन्नेले पनि सक्ने अवस्था थिएन ।

सबै प्रक्रिया पूरा गरेपछि उनीहरू प्रदेशअनुसारका बसमा चढेर होल्डिङ सेन्टरमा पुग्नुपर्ने थियो । मिनाले गाडीमा चढ्ने बेला छेउमा उभिएका नेपाली सेनाका जवानसँग लगेज उठाउन सहयोग मागिन् । ती सैनिकले लगेज छुने आदेश नभएको बताए ।

मिनाले भनिन्, ‘डाक्टरले नै यो बेला गह्रौँ सामान नउठाउनु भन्छन्, गर्भवती महिलालाई २५/३० किलोको लगेज उठाउन सहयोग गर्ने कोही भएन । सैनिकको जवाफले हामी सबैलाई दुःखी बनायो ।’

भोको पेट र गर्भवती शरीर, रिँगटा लागरे ढल्ने अवस्था भए पनि सामान घिसार्दै बसमा राखेको मिनाले बताइन् । उनले भनिन्, ‘सरकारले प्राथमिकताका आधारमा हामीलाई ल्याएको भने पनि कुनै कुरामा प्राथमिकता थिएन ।’

उनीहरू भक्तपुरको होल्डिङ सेन्टरमा पुगे । त्यहाँ पनि कुनै सहयोग थिएन । मिनाले भनिन्, ‘होल्डिङ सेन्टर पुगेपछि नेपाल टेलिकमको एउटा सिमकार्ड र मनि एक्सचेन्ज थियो । सरकारले गरेको राम्रो काम भनेको त्यति नै हो’ उनले खबरहबसँग भनिन्, ‘हामीले पैसा साट्न पायौँ ।’

साटेको पैसाले पानी र रिचार्ज कार्ड किन्न जाँदा पसलेले सटर नै बन्द गरेको देख्दा उनीहरू दुःखी भए । होल्डिङ सेन्टरमा करिब ४ घण्टा बसेपछि प्रदेश १ को स्थानीय क्वारेन्टिनमा लैजाने तयारी हुँदै थियो । प्रदेश १ को क्वारेन्टिनमा पुर्‍याउन डिलक्स बस आयो ।

फेरि पनि दोब्बर भाडा तिरेर साँझ ५ बजे राजधानी काठमाडौबाट झापातर्फ बस छुट्यो ।

शौच गर्न पनि अनुमति भएन

दिनभरको थकानले जीउ शिथिल भइसकेको थियो । स्थानीय तहका क्वारेन्टिनमा जान पाउने भएकाले उनीहरूको मुहारमा केही खुशी भने छाएको थियो ।

सिन्धुलीको बाटो हुँदै सैनिक स्कर्टिङमा बसेले क्वारेन्टिनमा पुर्‍यायो । बसमा २० जना महिला र २० जना महिला पुरुष राखिएका थिए, जहाँ सामाजिक दूरीको कुनै शब्द नै थिएन ।

‘होल्डिङ सेन्टरबाट स्थानीय क्वारेन्टिनसम्म पुग्दा बीचमा काहीँ उत्रिन नदिने र खाना पनि नदिने नियम रहेछ,’ कृष्णाले प्रश्न गरिन्, ‘गर्भवती महिलाले छ/सात घण्टासम्म कसरी पिसाब रोकेर राख्ने ? यस्तो नियम पनि हुन्छ ?’

कृष्णाका अनुसार महिलाहरूले हामी गर्भवताीहरूले हिजोदेखि खाना पाएका छैनौँ भनेर बस चालकलाई भने । चालकले कुरा मानेर खाना अर्डर गरिदिए । उनले भनिन्, ‘हामी खाना खान बसेका थियौँ, सैनिकहरू आएर गाली गरे ।’

सैनिकको व्यवहारले होटलका मालिक र कामदार हच्किए । कृष्णाले भनिन्, ‘त्यसपछि दमककी एक महिलाले बरु म यही मर्छु तर खाना नखाई यहाँबाट हिँड्दिनँ भनेपछि सबैले थोरै खाना पायौँ ।’

बिहानको झुल्के घामसँगै उनीहरू प्रदेश सरकारले बनाएको क्वारेन्टिनमा पुगे । त्यहाँ सामान्य सुविधासमेत थिएन । कृष्णाले भनिन्, ‘पानी थिएन, शौचालय फोहोर थियो, कोरोनाभन्दा पनि ब्याक्टेरियाको इन्फेक्सन हुने जोखिम देखिन्थ्यो ।’

त्यहाँ बस्न नसक्ने भएपछि उनीहरू स्थानीय तहको क्वारेन्टिनमा पुगे ।

अहिले कृष्णा र उनका साथीहरू मदन भण्डारी स्मृति प्रतिष्ठान क्याम्पस दमकको क्वारेन्टिनमा छन् । त्यहाँ भारत, कुवेत, कतार, युएई लगायतका मुलुकबाट आएका गर्भवती तथा सुत्केरी महिलालाई राखिएको छ ।

‘यहाँ भने राम्रो सुविधा छ । खाजा र खानाको समय तालिका राम्रो छ’ कृष्णाले भनिन्, ‘बिहान बेलुका खानामा दाल, भात, तरकारी हुन्छ दिउँसो खाजाको पनि व्यवस्था छ ।’

सामान्यतया दुई साता क्वारेन्टिनमा बस्नुपर्ने भए पनि गर्भवती महिलाको हकमा परीक्षण रिपोर्ट नेगेटिभ आए एक हप्तामा घर जाने सुविधा दिइएको छ ।

तीन दिनदेखि क्वारेन्टिनमा रहेका उनीहरूको कोरोना परीक्षण मंगलबार सुरु हुने र तीन दिनपछि रिपोर्ट आउने भनिएको छ । रिपोर्ट नेगेटिभ आए स्थानीय तहले एम्बुलेन्सबाट घरमै पुर्‍याइदिने भनेको छ ।

यसरी फर्किएका थिए दुवईबाट नेपाली


भर्खर

0