कोरोना त्रास– अस्पतालहरुमा रगत अभाव, रक्तदानमा पनि कमी | Khabarhub Khabarhub

कोरोना त्रास– अस्पतालहरुमा रगत अभाव, रक्तदानमा पनि कमी


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार बिहान बालुवाटारकी २७ वर्षीया एक महिलाको न्यूरोको सर्जरी थियो ।

सर्जरीका लागि चिकित्सकहरुले २ पिन्ट रगत आवश्यक पर्ने बताए । ती महिलाको रक्त समूह ‘बी पोजेटिभ’ थियो ।

‘बी पोजेटिभ’ रक्त समूह धेरै व्यक्तिमा हुने रक्त समूह मध्ये एक हो । बी पोजेटिभ रगत सहजै पाइन्छ भनेर बिरामीका आफन्त शुरुमा त ढुक्क थिए । तर, बाँसबारीको न्यूरो अस्पतालमा दुई पिन्ट बी पोजेटिभ रगत उपलव्ध हुन सकेन ।

बिरामीका आफन्तले काठमाडौंका करिब ४ वटा अस्पतालमा पनि सम्पर्क गरे । तर, ती अस्पतालमा पनि बी पोजेटिभ रगत पाइएन । उनीहरु रगतको खोजीमा रक्त सञ्चार केन्द्र पुगे तर त्यहाँ पनि रगत पाउन सकेनन् ।

दिनभरी दुईपिन्ट ब्लडको लागि चारतिर बुझ्दा बल्लतल्ल साँझ एकजना डोनर नै अस्पतालमा आए र एकपिन्ट रगत पनि मुस्किलले उपलब्ध भयो ।

समयमै रगत नपाइएकाले बिरामीको अप्रेसन करिब ४ घण्टा ढिला भएको बिरामीका एक आफन्तले बताए ।

‘मेरो साथीको श्रीमतीलाई व्रेनमा समस्या भएर अप्रेसन गर्नुपर्ने थियो, बी पोजेटिभ रगत २ पिन्ट चाहिएको थियो । तर कोरोनाको त्रासले गर्दा रगत पाउन नै मुस्किल भयो,’ ती व्यक्तिले खबरहबसँग भने, ‘साथीले अरु ३,४ वटा अस्पतालमा पनि बुझेको थियो, तर त्यहाँ पनि छैन भनेछन् । रगत समयमै नपाउदा अप्रेसन नै करिव ४ घण्टाजति ढिला भयो ।’

बिरामीको आफन्तका अनुसार कोरोनाको त्रासले रक्तदान कार्यक्रमहरु कम भएपछि बजारमा रगत पाउन मुस्किल हुन थालेको हो ।

उनले भने, ‘बी पोजेटिभ ब्लड त सहजै पाइने ब्लडग्रुप हो र पनि पाउन यति मुस्किल भयो भने अन्य कम व्यक्तिमा हुने ब्लड ग्रुपको रगत चाहिएमा त कति समस्या भोग्नुपर्छ होला ।’

बालुवाटारकी यी महिलालाई मात्र होइन, काठमाडौंका धेरै अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन समस्या हुन थालेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज न्यूरोडका अध्यक्ष केदारप्रसाद न्यौपानेका अनुसार बजारमा अहिले सबै किसिमका रक्त समूहका रगतहरुको अभाव छ ।

कोरोनाको त्रासले मानिसहरुले रक्तदान गर्ने छाडेपछि रगत अभाव हुन थालेको न्यौपानेले खबरहबलाई बताए ।

‘अहिले रगतको अभावको अवस्था आइसकेको छ । रगत तत्काल आवश्यक पर्‍यो भन्दै दिनमा एकसय जनासम्मको फोन आउन थालेको छ,’ न्यौपानेले भने, ‘कोरोना भाइरसको संक्रमणको त्रासले गर्दा पनि मानिसहरु रगत दिन नै चाहेनन् । त्यसैले ब्लड आवश्यक पर्‍यो भन्नेहरुलाई समयमा डोनर खोज्दिन पनि समस्या छ अहिले ।’

सरकारले कोरोनाको त्रासका कारण घर बाहिर ननिस्कनु भनेपछि रक्तदान गर्नेहरुले नियमित रक्तदान नै गर्न छाडेको न्यौपाने बताउँछन् ।

‘अहिले कोरोनाको त्रास छ, सरकारले सुरक्षित बस्नुस्, घरबाट बाहिर ननिस्किनु भनेर सूचना जारी गर्‍यो,’ न्यौपानेले भने, ‘त्यसमाथि काठमाडौंमा औषधिको प्रयोग गर्नेहरु धेरै छन्, उनीहरुले ब्लड डोनेसन गर्न मिल्दैन । रक्तदान गर्न मिल्ने तर डोनरहरु घरबाहिर निस्किन चाहनुहुन्न ।

सरकारले २५ जना भन्दा धेरै जना भेला भेला नहुन भनेसँगै रक्त दानका कार्यक्रम पनि प्रभावित भएका छन् ।
कोरोनाको त्रास बढेसँगै नेपाल रेडक्रस सोसाइटिको केन्द्रीय रक्तसञ्चार केन्द्रमा समेत रगतको अभाव देखिन थालेको छ ।

रक्तदाताहरुबाट रक्तदानका कार्यक्रम रोकिएपछि केन्द्रमा रगतको सप्लाई कम हुन थालेको केन्द्रकी निर्देशक डा मनिता राज कर्णिकारले बताइन् ।

‘अहिले रक्तदाताहरुबाट रगत नै आएको छैन, पहिला दैनिक ३ सय ५० युनिट रगत सप्लाई गर्ने गरेका थियौं,’ डा कर्णिकारले भनिन्, ‘अहिले बढीमा दैनिक २ सय ५० युनिटसम्म सप्लाई हुन्छ ।’

सरकारले भीडभाड नगर्नु र भीडभाडमा नजानु भनेपछि रक्तदानका कार्यक्रमहरु समेत हुन छाडेको डा कर्णिकारको भनाइ छ ।

‘कोरोना संक्रमण देखिएपछि अहिले डोनरहरु र रक्त दान कार्यक्रम आयोजकहरुले पनि रक्तदानको कार्यक्रम स्थगित गर्न थालेका छन् । त्यसले गर्दा रगतको अभाव देखिएको छ,’ उनले भनिन्, ‘हामीले अब भीडभाड नहुने गरी केही व्यक्ति निश्चित दूरीमा जम्मा भएर रक्तदान कार्यक्रम गर्नुपर्छ, नत्र भने रगत अभावले बिरामीको उपचारमा समस्या आउन थाल्छ ।

केन्द्रमा रगत खोज्दै टिचिङ, गंगालाल, पाटन, कान्ति, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, नर्भिक लगायतका निजी अस्पतालहरुबाट बिरामीका आफन्तहरु रगतको खोजीमा आउने गरेका छन् ।

विशेषगरि अप्रेसन गर्ने बिरामीका लागि रगतको आवश्यकता पर्ने तर केन्द्रीय रक्तसञ्चारमा नै रगतको अभाव हुने भएपछि अप्रेसनमा नै थप समस्या पर्ने देखिन्छ ।

आफ्नो रक्त समूहका व्यक्तिको पहिचान गर्ने र उनीहरुको लिस्टिङ गर्न तथा आवश्यक परेको बेलामा रक्त दानका लागि बोलाउनु पर्ने सुझाव चिकित्सकको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ०८ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा