सबैभन्दा गरीब मुलुकबाट कसरी तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने राष्ट्र बन्यो इथियोपिया ? | Khabarhub Khabarhub

सबैभन्दा गरीब मुलुकबाट कसरी तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने राष्ट्र बन्यो इथियोपिया ?



धेरै भएको छैन, पाँच वर्षअघि मात्र पनि हाजिरीजवाफमा संसारको सबैभन्दा गरीब देश कुन हो भन्ने प्रश्नको जवाफ हुन्थ्यो– इथियोपिया ।

अब यस्तो जवाफ आए प्रश्नकर्ताले ‘गलत’ भन्ने छन् ।

कुनै समय थियो– इथियोपिया संसारकै सबैभन्दा गरीब मुलुकको सूचीमा आउँथ्यो । दुई दशकअघि सन् २००० मा इथियोपिया विश्वको तेस्रो गरीब मुलुक थियो ।

त्यसबेला अफ्रिकी मुलुक इथियोपियाका ५० प्रतिशतभन्दा धेरै मानिस गरीबीको रेखामुनि थिए । गरीबीको दर विश्वमै सबैभन्दा धेरै थियो । त्यसैले इथियोपिया विश्वको सबैभन्दा गरीब मुलुक भनियो ।

समय बदलिएको छ । समयसँगै इथियोपियाको अर्थतन्त्र, त्यहाँका जनताको आर्थिक अवस्था र जीवनशैली बदलिएको छ । इथियोपिया अहिले अफ्रिकी महादेशको सबैभन्दा तीब्र गतिको आर्थिक वृद्धिदर रहेको मुलुकको सूचीमा आउँछ ।

विश्व बैंकको तथ्यांकअनुसार सन् २००० देखि सन् २०१८ सम्म इथियोपियाको आर्थिक वृद्धि म्यान्मार र चीनपछि सबैभन्दा तीब्र गतिमा थियो । उक्त तथ्यांक अनुसार इथियोपियाको प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन १ सय ८९ प्रतिशतले बढेको छ ।

इथियोपियाको राजधानी शहर आदिस अबाबामा अहिले उन्नत सडकमार्गको जालो छ । विभिन्न स्थानमा जलविद्युत परियोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापनका लागि बाँधहरु धमाधम निर्माण भइरहेका छन् ।

विश्व बैंकले इथियोपियाको गरीबी दरबारे पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१५ मा गरीबीदर ३१ प्रतिशतमा झरेको छ । त्यस्तै, सन् २००० मा ५२ वर्ष रहेको औसत आयु सन् २०१७ मा ६६ वर्ष पुगेको छ । शिशु मृत्युदर सोही अवधिमा आधाले घटेको छ ।

वल्र्ड इकोनोमिक आउटलुक डाटाबेसको तथ्यांकअनुसार सन् २०१० देखि सन् २०१९ सम्म इथियोपियाको वास्तविक कूल ग्राहस्थ उत्पादन ९.५ प्रतिशत प्रतिवर्षका दरले बढेको थियो । त्यस अवधिमा यो विश्वको सबैभन्दा तीब्र आर्थिक वृद्धि हो ।

अफ्रिकी मुलुकका लागि यो चानचुने सफलता होइन । इथियोपियाको आर्थिक वृद्धि २१ औं शताब्दीका लागि चामत्कारिक नै छ । साढे १० करोडको विशाल जनसंख्याले चरम गरीबीको स्तर छिचोलेका कारण इथियोपियाको आर्थिक विकास अझ महत्वपूर्ण बन्न पुगेको छ ।

इथियोपियाको राजधानी शहर आदिस अबाबामा अहिले उन्नत सडकमार्गको जालो छ । आदिस अबाबामा लाइट रेल सञ्जाल शुरु भइसकेको छ । सडकमा कारहरु देख्न पाइन्छ । एक दशक अघिसम्म यस्तो दृश्यको कल्पना सायदै कसैले गरेका थिए । त्यस्तै, इथियोपियाका विभिन्न स्थानमा जलविद्युत परियोजना सिँचाइ तथा जलस्रोत व्यवस्थापनका लागि बाँधहरु धमाधम निर्माण भइरहेका छन् ।

नाइजेरियापछि अफ्रिकी महादेशको दोस्रो ठूलो जनसंख्या रहेको मुलुक इथियोपियाको अर्थतन्त्र निकै लामो समयदेखि राज्यको कठोर नियन्त्रणमा थियो । राजनीतिक अस्थिरता पनि उत्तिकै ।

९० भन्दा धेरै जनजाति बसोबास गर्ने मुलुकमा जातीय द्वन्द्व पनि उत्तिकै थियो । एकहदसम्म इथियोपियामा जातीय द्वन्द्व अझै चलेकै छ । मुलुकका विभिन्न क्षेत्रमा जातीय समुदायहरु अनेक माग राखी राज्य एवं प्रतिद्वन्द्वी अर्को जातीय समुदायविरुद्ध लड्दै आएका छन् । राजनीतिक अस्थिरता र जातीय द्वन्द्वका माझ इथियोपियाले कसरी यतिको स्तरमा आर्थिक समृद्धि हासिल गर्यो भन्ने विषय कम्ता चाखलाग्दो छैन ।

सन् २०१८ मा एकाएक प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्न आइपुगेका युवा राजनीतिज्ञ अबिये अहमद अलीले आफ्नो कार्यकालमा मुलुकको अर्थतन्त्र सुधार एवं उदारीकरणका लागि महत्वपूर्ण कदमहरु चालेका छन् । उनको नेतृत्वमा दूरसञ्चार सेवा प्रतिस्पर्धात्मक बनाउन निजी क्षेत्रलाई स्थान दिइयो ।

इथियोपियामा अमेरिका र चीनबीच लगानी गर्न एककिसिमको प्रतिस्पर्धा नै छ । तीब्र गतिमा आर्थिक विकास गरिरहेको चीनले अफ्रिकी महादेशको आफ्नो महत्वपूर्ण साझेदार इथियोपियामा लगानी बढाइरहेको छ । अमेरिकाले पनि उत्तिकै ठूलो स्तरमा लगानी गरिरहेको छ ।

सन् १९९१ अघि समाजवादी मुलुकका रूपमा रहेको इथियोपियाको चीनसँग नजिकको सम्बन्ध छ । चीनको स्वार्थ अफ्रिकी महादेशमा विस्तार भएपछि उसले इथियोपियामा लगानी बढाउन थाल्यो । सोही कारण चीनको ऋण सहयोगमा इथियोपियाले विभिन्न पूर्वाधारका परियोजनाहरु अघि बढाउन थाल्यो ।

इथियोपिया चीनको मात्र नभई अमेरिकाको पनि महत्वपूर्ण साझेदार मुलुक हो । सोमालियामा आतंककारी समूह अल शबाबविरुद्धको लडाइँमा अफ्रिकी संघ तथा अमेरिकाका लागि इथियोपिया महत्वपूर्ण सैनिक एवं रणनीतिक भूमिकामा छ । इथियोपियामा अमेरिकी लगानी पनि उत्तिकै बढ्दै गएको छ ।

गत वर्ष न्यू बिजनेश इथियोपिया नामक अनलाइनले इथियोपियाका लागि अमेरिकी राजदूत माइकल रेनोरलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार पछिल्ला तीन वर्षमा अमेरिकाले इथियोपियामा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गरेको बताएका थिए ।

केही साताअघिमात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उच्च प्राथमिकता दिँदै इथियोपियाको भ्रमण गरी त्यहाँ थप ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरे । यसरी चीन र अमेरिका दुई प्रतिस्पर्धी मुलुकलाई एकहदसम्म सन्तुलन गरी इथियोपियाले विदेशी लगानी भित्र्याउन सफलता हासिल गरिरहेको छ ।

सस्तो श्रम, ठूलो जनसंख्या एवं तीब्र गतिमा पूर्वाधारको विकास गरिरहेको इथियोपिया विदेशी लगानीकर्ताका लागि पनि आकर्षक मुलुक भएको छ ।

यसका लागि इथियोपियाले आफ्नो अर्थतन्त्र उदार बनाउँदै लगेको छ । लामो समयदेखि इथियोपियाको अर्थतन्त्र राज्यको कठोर नियन्त्रणमा थियो । केही वर्षअघिसम्म इथियोपियामा आर्थिक उदारीकरण अकल्पनीय नै मानिन्थ्यो ।

इथियोपियाको अर्थतन्त्रको ठूलो हिस्सा अझै पनि सरकारी खर्चमा निर्भर छ । आर्थिक विकासकाका लागि पूर्वाधारको विकासमा सरकारले गर्दै आएको खर्चको दिगोपनबारे आशंका गर्ने ठाउँहरु प्रशस्त छन् ।

सन् २०१८ मा एकाएक प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्न आइपुगेका युवा राजनीतिज्ञ अबिये अहमद अलीले आफ्नो कार्यकालमा मुलुकको अर्थतन्त्र सुधार एवं उदारीकरणका लागि महत्वपूर्ण कदमहरु चालेका छन् ।

उनको नेतृत्वमा दूरसञ्चार सेवा प्रतिस्पर्धात्मक बनाउन निजी क्षेत्रलाई स्थान दिइयो । अफ्रिकी महादेशको सबैभन्दा ठूलो हवाई सेवा इथियोपियन एअरलाइन्सको शेयर निष्कासन गरी थप उदार बनाइयो । निजीकरणलाई प्रोत्साहन गर्न शेयर बजार स्थापना गर्ने उनको कदम आर्थिक उदारीकरणका क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ ।

उनकै नेतृत्वमा इथियोपियाले निकै लामो समयदेखि शत्रु मानेको छिमेकी मुलुक इरेट्रियासँगको सम्बन्ध पनि सुमधुर बनाउने प्रयास भएको छ । यसैका लागि उनलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार पनि प्रदान गरियो ।

इथियोपिया निकै लामो समयदेखि जातीय द्वन्द्वमा रुमल्लिएको छ । प्रभावशाली जातीय समुदायहरु आत्मनिर्णयका लागि संघर्षरत छन् । त्यहाँको सरकारले पछिल्लो समय आर्थिक विकासका माध्यमबाट यस्ता द्वन्द्व साम्य पार्न प्रयास गरिरहेको छ ।

इथियोपियाको अर्थतन्त्रको ठूलो हिस्सा अझै पनि सरकारी खर्चमा निर्भर छ । आर्थिक विकासकाका लागि पूर्वाधारको विकासमा सरकारले गर्दै आएको खर्चको दिगोपनबारे आशंका गर्ने ठाउँहरु प्रशस्त छन् । आफ्नो आर्थिक वृद्धिलाई निरन्तरता दिन इथियोपियाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : १३ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।