नेकपालाई सभामुख छान्न सकस, संवैधानिक संकटको खतरा ! | Khabarhub Khabarhub

नेकपालाई सभामुख छान्न सकस, संवैधानिक संकटको खतरा !



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ । सभामुख चयनका विषयमा नेकपाका शीर्ष नेताहरुबीच नै मतान्तर देखिएपछि संसद नै बन्धक बन्ने अवस्था पुगेको हो ।

वर्तमान उपसभामुखलाई राजीनामा गराएर आफ्नै दलबाट सभामुखको उम्मेदवारी दिने नेकपाको तयारीमा उपसभामुख बाधक बनेको आरोप लाग्न थालेको छ । तर, उपसभामुख शिवमाया तुम्बाहाम्फे भने भावी सभामुखको टुङ्गो नलाग्दासम्म राजीनामा नदिने अडानमा छिन् ।

उनले आफू सभामुखका लागि हर–हिसाबले योग्य रहेको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अर्का अध्यक्ष प्रचण्डलाई स्पष्ट जवाफ दिएको बताएकी छिन् ।

सभामुख र उपसभामुख एउटै दलको बन्न नमिल्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसदमा आवाज समेत उठाउँदै आएको थियो । जुन विषय सर्वोच्च अदालतमा विचाराधीन छ, सर्वोच्चमा विराचाधीन विषयमा संसदमा छलफल गर्न नपाइने भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख एउटै दलको भएको विषयमा बहस गर्न नमिल्ने रुलिङ नै गरेका थिए ।

नेकपाका नेताहरु खासगरी संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङले सभामुख र उपसभामुख एउटै दलको भएको भन्ने कांग्रेसको आलोचनालाई सही तर्क नभएको बताएका थिए । त्यसको कारणका रुपमा सभामुख र उपसभामुख भइसकेपछि सम्बन्धित दलको सदस्यको हैसियत समेत नरहने तर्क पेश गरेका थिए ।

गत शनिबार सचिवालय बैठकले भने उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको थियो । जुन निर्णयलाई उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अस्वीकार गर्ने धारणा सार्वजनिक गरिसकेकी छन् । उनले यसअघि पनि उपसभामुख रहेका व्यक्ति अर्को कार्यकालमा सभामुखमा चयन भएको उदाहरण दिने गरेकी छन् । उनले सचिवालयको निर्देशनलाई नमान्ने घोषणा गरिसकेकी छन् ।

संवैधानिक संकट आयो– देव गुरुङ

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने उपसभामुखले राजीनामा नदिएका कारण संवैधानिक संकट सिर्जना भएको बताएका छन् ।

उनले भने ‘संवैधानिक संकट उत्पन्न भयो, अब संवैधानिक अंगले नै निकास दिनुपर्छ । सर्वोच्चको निर्णय चाहियो । उपसभामुखले पनि निकास दिनुपर्छ । यो पार्टीको निर्देशनले मात्र समस्या समाधान हुँदैन ।’

नेकपाभित्र उपसभामुखको राजीनामाले गन्तव्यहीन यात्रा शुरु भएको उनको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको राजनीतिक परिघटनाले संसद ‘डेडलक’ भयो । उपसभामुखले राजीनामा नदिइ सभामुखको उम्मेदवारी दिन मिल्दैन । सांसद भएकाहरु मात्र उम्मेदवार बन्न पाइन्छ । विश्वको अभ्यास हेर्दा सबैभन्दा ठूलो पार्टीले सभामुख पाउने चलन छ । यसमा पार्टीको निर्देशन र ह्वीप चल्दैन । यसले सिस्टमलाई नै असर गरेको छ । हामीलाई विश्वास छ, उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

राजीनामा दिन्न–उपसभामुख

सभामुख चयनमा उपसभामुख बाधक नबने नेकपा नेताहरुको तर्क भए पनि उपसभामुख तुम्बाहाङ्फेले भने राजीनामा कुनै पनि हालतमा नदिने अडान राखेकी छन् ।

उनले भनिन्,‘मैले त्यही बेला उपसभामुख बन्दिनँ भनेर भनिसकेको थिएँ । तर अन्तिममा उहाँहरुले आग्रह गरेपछि दललाई आपत पर्छ कि भनेर नोमिनेशन गरेको अवस्था थियो । त्यही कारण त्यो दलले आग्रह गर्नुपर्छ । एउटा संस्थाको प्रमुखलाई दलले निर्देशन जारी गर्न मिल्दैन ।’

अबको सभामुख अग्नि सापकोटा-गजुरेल

नेकपाभित्र प्रचण्ड निकटका मानिने नेता हरिबोल गजुरेलले कसैप्रति लक्षित नगरी प्रचण्डलाई गलाउने राजनीतिका रुपमा उपभामुखको अडान रहेको संकेत गरेका छन् ।

उनले भने,‘ अहिलेसम्म धकाउने र गलाउने राजनीति मात्र भयो । अब परिस्थिति ‘क्लाइमेक्स’मा पुग्यो । निर्णय ६ गतेसम्म हुनैपर्छ ।

षड्यन्त्रपूर्वक ढंगले शक्ति केन्द्रीकरण गरेर अरुलाई नियन्त्रण गर्न खोजिएको छ । यो पार्टीको एकता, कम्युनिस्टको राजनीतिक भविष्य र नेपाली जनतामाथिको अविश्वास तथा घात हो । अबको सभामुख भनेको अग्नि सापकोटा नै हो ।’

नेकपाका स्थायी समिति सदस्य मणि थापाले निकास निस्कन सकेन भने अप्रिय घटना हुने बताएका छन् । उनले भने,‘ निकास ननिस्के पार्टीमा अप्रिय अवस्था सिर्जना हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली यस सवालमा जानकार हुनुहुन्छ । प्रचण्ड आफ्नो अडान अर्थात अग्नि सापकोटा सभामुख बनाउनुपर्छ भन्ने विषयबाट पछि नहट्ने पक्का छ ।’

राजीनामा अनिवार्य सर्त–नेकपा

नेकपा सचिवालय सदस्य समेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत उपसभामुखको राजीनामा अनिवार्य रहेको बताए । लमजुङ पुगेका प्रवक्ता श्रेष्ठले वर्तमान उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्ने भएपनि राजीनामा अनिवार्य सर्त रहेको उनको तर्क छ ।

उनले भने, ‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ । यो स्वभाविक पनि हो । तर, उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ । ‘सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ ।’

उनले सभामुखका लागि पहिला उपसभामुखले मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले भने, ‘मार्गप्रशस्त गरेपछि हाम्रो पार्टीको एउटा सशक्त दाबेदार उहाँ पनि भएको सबैलाई थाहा हुन्छ । तत्पश्चात पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिनुपर्छ ।’

प्रतिनिधिसभालाई नेकपाको छाया बनाइयो–कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सत्तारुढ नेकपाले संसदलाई आफ्नो पार्टीको एउटा विभागजस्तो बनाउन खोजेको आरोप लगाएको छ ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्व हुन्छ, तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’

स्वयं सत्तापक्षकै कारण महिनौं दिनदेखि सदन अवरुद्ध हुँदा कामकारवाही प्रभावित भएका छन् । महत्त्वपूर्ण विधेयकमाथिको छलफल समेत हुन सकेको छैन ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ६ : ०७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र