कोरोना भाइरसजस्तै विश्वमा फैलिएका १० महामारी, जसले लिएको थियो लाखौंको ज्यान | Khabarhub Khabarhub

कोरोना भाइरसजस्तै विश्वमा फैलिएका १० महामारी, जसले लिएको थियो लाखौंको ज्यान



काठमाडौं- अहिले कोरोना भाइरसका कारण विश्वभर आतंक फैलिएको छ । चीनको वुहान शहरबाट अघिल्लो वर्षको अन्त्यबाट शुरु भएको कोरोनाका कारण हालसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ ।

एक लाख १४ हजारभनदा धेरै संक्रमित छन् । कोरोना भाइरस हालसम्म विश्वका एक सय १५ मुलुकमा यसको संक्रमण फैलिएको छ ।

विश्वभर फैलिएर यतिका संख्यामा मानिसहरुको ज्यान लिएको कोरोना भाइरस एकमात्र स्वास्थ्य प्रकोप भने होइन । विश्वमा बेलाबेला यस्ता स्वास्थ्य प्रकोप तथा महामारी फैलिरहेका हुन्छन् । यस्ता महामारीका कारण धेरै मानिसहरुको ज्यान समेत जाने गरेको छ ।

हुन त हरेक १ सय वर्षमा नयाँ किसिमका महामारी आउने गरेको विश्वास गरिन्छ । सन् १७२० मा फ्रान्सको मार्से शहरमा महामारी फैलियो । त्यसको १ सय वर्षपछि सन् १८२० मा दक्षिणपूर्वी एसियामा हैजा फैलिएको थियो ।

सन् १९२० मा स्पेनिस फ्लू फैलिएको उदाहरण दिँदै त्यसको ठीक १ सय वर्षपछि सन् २०२० मा विश्वभर कोरोना भाइरसको महामारी फैलिएको भन्नेहरु पनि छन् । तर, यसमा कुनै वैज्ञानिक सत्यता भने देखिन्नछ ।

कुनै महामारी सानो क्षेत्रमा मात्र प्रभाव पार्ने तर ठूलो संख्यामा मानिसको ज्यान लिने खालका पनि हुन्छन् । कुनै विश्वभर फैलिने तर केही हजार हजारको मात्र ज्यान लिने किसिमका हुन्छन् ।

आज हामी इतिहासमा मानव सभ्यतामाथि नै ठूलो असर पारी गहिरो साँस्कृतिक एवं सामाजिक छाप छाडेका १० खतरनाक एवं विनाशकारी महामारीको चर्चा गर्दैछौं ।

१. ब्लाक डेथ

ब्लाक डेथ आजभन्दा करिब ७ सय वर्षअघि देखा परेको थियो । मध्य एशियाबाट १४ औं शताब्दीको शुरुबाट देखा परेको भनी विश्वास गरिने ब्लाक डेथका कारण सन् १३४७ देखि सन् १३५१ सम्म युरोप र एशियाका करिब २० करोड मानिस अर्थात् त्यसबेला युरेशियाको कूल जनसंख्याको आधा मानिसहरु मारिएका थिए ।

येर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण लाग्ने यो रोगबाट संक्रमितलाई अत्यधिक ज्वरो आउने, रगतको बान्ता आउनेलगायतका लक्षण देखा पर्ने इतिहासकारहरुको अभिलेखमा उल्लेख छ ।

२. लण्डनको विशाल महामारी

ब्लाक डेथ देखिएको तीन शताब्दी पछि बेलायतको लण्डनमा यस्तै किसिमको लक्षण देखिएको महामारी देखा परेको थियो । सन् १६६५ मा लण्डनमा देखा परेको महामारीका कारण केबल १८ महिनामा लण्डनको २० प्रतिशत जनसंख्या अर्थात् करिब १ लाख मानिसहरुको ज्यान गएको थियो ।

येर्सिनिया पेस्टिस ब्याक्टेरियाकै कारण लागेको यो रोगमा पनि मानिसहरुमा रगतको बान्ता आउने, अत्यधिक ज्वरो आउने, श्वास फेर्न समस्या आउने लगायतका लक्षण देखा पर्ने गरेको थियो ।

३. जस्टिनियनको महामारी

बैजान्टाइन साम्राज्यलाई नै ध्वस्त बनाएको यो महामारी छैटौं शताब्दीमा फैलिएको थियो ।

यसबाट २ करोड ५० लाख भन्दा धेरै मानिसहरु मारिएका थिए । महामारीले खासगरी विशाल बैजान्टाइन साम्राज्य एवं भूमध्य सागर तटका मुख्य शहरहरुमा प्रभाव पारेको थियो ।

यो महामारी चरम सीमामा रहेका बेला युरोप र एशियालाई जोड्ने ऐतिहासिक शहर एवं विशाल बैजान्टाइन साम्राज्यको राजधानी कोन्स्टान्टिनोपोलमा हरेक दिन ५ हजार भन्दा धेरै मानिसहरुको ज्यान गएको थियो ।

यसले उक्त शहरका करिब आधा जनसंख्यालाई मृत्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ । त्यसबाहेक यसबाट भूमध्य सागरको पूर्वी तटका एक चौथाई मानिसहरुले मृत्युवरण गर्नुपरेको थियो ।

यो महामारीको साँस्कृतिक एवं सामाजिक असरलाई ब्लाक डेथसँग तुलना गर्ने गरिन्छ ।

४. एन्टोनिन महामारी

करिब २ हजार वर्षअघि मध्यपूर्व र युरोपमा देखिएको एन्टोनिन महामारीका कारण करिब ५० लाख मानिसहरुको मृत्यु भएको थियो ।

सन् १६५ मा मेसोपोटेमियामा सैनिक अधियान पछि स्वदेश फर्केका रोमन साम्राज्यका सैनिकले यो महामारी युरोप पुर्‍याएको बताइन्छ ।

यसले शरीरमा विफार तथा दादुरा रोग लाग्ने गरेको इतिहासमा उल्लेख छ । यही महामारीले विशाल रोमन साम्राज्यका सम्राट लुसियस भेरसको समेत ज्यान लिएको विश्वास गरिन्छ ।

५. स्पेनिस फ्लू

आजभन्दा ठीक एक सय वर्षअघि विश्वभर स्पेनिस फ्लू फैलिएको थियो । सन् १९१८ देखि सन् १९१९ सम्म यसबाट ५० करोड मानिसहरु अर्थात् एक तिहाईमा यसको संक्रमण देखा परेको थियो ।

एचवानएनवान भाइरसका कारण लाग्ने यो संक्रमणका कारण ५ करोड मानिसहरु मारिएका थिए । अमेरिकामा मात्रै यसबाट ६ लाख ७५ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।

पहिलो विश्वयुद्ध सकिएलगत्तै शुरु भएको स्पेनिस फ्लू चराका माध्यमबाट फैलिएको बताइन्छ । यो संक्रमणको शुरुवात कहाँबाट भयो भन्ने स्पष्ट छैन ।

यद्यपि यसका कारण संक्रमितमा श्वास प्रश्वासमा समस्या आउने र फोक्सो कुहिने लक्षण देखा पर्ने गरेको थियो । पछि निमोमिया भएर संक्रमितको मृत्यु समेत हुने गरेको थियो ।

६. रुसी महामारी

सन् १८८९ देखि १८९० सम्म विश्वका विश्वभर फैलिएको महामारीका कारण १० लाख भन्दा धेरैले ज्यान गुमाएका थिए । यसले रुस, जर्मनी लगायत युरोपका सबै ठूला मुलुकहरुमा यो भाइरस फैलिएको थियो ।

तत्कालीन रुसी राजधानी सेन्ट पिटर्सबर्गमा पहिलो पटक देखा परेको यो महामारी त्यसबेला बढ्दो आधुनिकीकरण तथा पूर्वाधारको विकाससँगै तीब्र गतिमा फैलिन पुगेको थियो ।

सन् १८९० को पहिलो साताहरुमा अमेरिकामा समेत यो महामारी देखा परेको थियो । इन्फ्लुएन्जा ए भनिएको यो महामारी उत्पन्न गर्ने भाइरस कुन थियो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

७. एसियाली महामारी

सन् १९५७ मा सिंगापुरमा सर्वप्रथम देखा परेको यो महामारी विश्वभर फैलिएको थियो ।

चीनको धेरै जनसंख्या रहेको क्षेत्रमा सबैभन्दा धेरै असर पारेको यो भाइरसका कारण विश्वभर ११ लाख भन्दा धेरैले ज्यान गुमाएका थिए ।

एचटूएनटू नामक नयाँ भाइरसबाट सबैभन्दा धेरै असर बालबालिका, बृद्धबृद्धा र गर्भवती महिलामा देखा परेको थियो । तीब्र गतिमा यस महामारीविरुद्ध खोपको विकास गरिएका कारण यो महामारी धेरै फैलिन पाएको थिएन ।

८. हङकङ महामारी

सन् १९६८ मा चीनबाट शुरु भएको एचथ्रीएनटू भाइरसका कारण विश्व नै आतंकित बनेको थियो । यो भाइरस सन् १९५७ मा देखा परेको भाइरसबाटै विकसित भएको वैज्ञानिकहरु विश्वास गर्छन् ।

सन् १९६९–७० सम्म विश्वभर आतंक मच्चाएको यो महामारीका कारण १० लाख भन्दा धेरैले ज्यान गुमाएका थिए ।
यस भाइरसविरुद्ध मानव रोग प्रतिरोधी क्षमता अत्यन्त न्यून हुने भएका कारण यसको महामारीले ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको थियो ।

९. स्वाइन फ्लू

स्वाइन फ्लूको महामारी सर्वप्रथम अमेरिकामा सन् २००९ मा देखा परेको थियो । यसअघि कहिल्यै देखा नपरेको एचवानएनवान भाइरसका कारण करिब ६ लाख जनाको मृत्यु भएको थियो ।

शुरुमा यो भाइरसको संक्रमण मेक्सिकोको भेराक्रुज शहरमा देखा परेको थियो । नयाँ किसिमको यो भाइरसको उत्पती कहाँ र कहिले भयो भन्ने स्पष्ट नभएपनि वैज्ञानिकहरुले सन् २००८ बाट नै यो भाइरस मानिसमा लाग्दै आएको तर, पछि भने यसले महामारीको रुप लिएको बताउने गरेका छन् ।

यो भाइरसबाट संक्रमितलाई अत्यधिक ज्वरो आउने, सुख्खा खोकी लाग्ने, मांशपेशी दुख्ने, सास फेर्न समस्या हुने लगायतका लक्षण देखा पर्ने गरेको र अन्त्यमा निमोनियाका कारण संक्रमितको ज्यान समेत जाने गरेको थियो ।

१०. एचआईभी/एड्स

एचआईभी अर्थात् ह्युमन इमुनोडिफिसिएन्सी भाइरस र एक्वाइर्ड इमुनोडिफिसिएन्सी सिण्ड्रमको महामारी सन् १९८० मा अमेरिकी समलिंगीहरुको समुदायमा फेला परेको थियो ।

यद्यपि यो सन् १९२० को दशकतिरै अफ्रिकाका चिम्पान्जीबाट मानिसमा सरेको विश्वास गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ७ करोड ५० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित छन् ।

यसबाट हालसम्म विश्वभर ३ करोड २० लाख मानिसहरुको ज्यान गइसकेको छ । यसको कुनै उपचार सम्भव नभएकाले अझै पनि यो विश्वभर फैलिरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १० : १० बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको