चारदिनसम्म मुलुकभर बाढी -पहिरो र डुबानको खतरा | Khabarhub Khabarhub

चारदिनसम्म मुलुकभर बाढी -पहिरो र डुबानको खतरा


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार संघीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

मौसमविद्हरूका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठका अनुसार मनसुन सुरु भएदेखि नै वर्षा भइरहेकाले पानीको सतह माथि आइसकेको छ ।

जुलाई र अगस्टमा मौसम थप सक्रिय हुने र अबको चार दिन अलि बढी पानी पर्ने उनले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा वर्षा भइरहेको छ ।

यस्तै दिउँसोसम्म प्रदेश १, प्रदेश २ , बागमती प्रदेश  र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  प्रदेश ५  र  सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतसँग सीमा जोडिएका नेपालका सीमा क्षेत्रमा न्यून चापीय रेखा नजिकिएकाले आगामी तीन दिन तराईमा व्यापक वर्षाको सम्भावनासमेत रहेको मौसमविद्ले जनाएका छन् ।

कुन कुन क्षेत्रमा छ खतरा ?

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको छ।

उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका कतिपय ठाउँमा डुबानको सम्भावना छ ।

प्राधिकरणले यी चार प्रदेशबाहेक प्रदेश नं ५ तथा कर्णाली, सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ ।

प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।

नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।

जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेल/पहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गरे ।

पानीको स्रोत व्यवस्थापन नभएको र वर्षाको पानी बग्ने बाटो नष्ट भएकाले जथाभाबि रुपमा क्षति पुर्‍याउन सक्ने हुँदा थप सचेत बन्नुपर्ने उनको सुझाव छ ।

विपद् जोखिम व्यवस्थापन विज्ञ डाक्टर कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्‍याउन सक्ने भएकाले थप जोखिम बढेको बताए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ३० बजे

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।