लकडाउनले नेपालका खेल संघ प्रभावित | Khabarhub Khabarhub

लकडाउनले नेपालका खेल संघ प्रभावित

खेलाडीले अभ्यास गर्नै पाएनन्, शारीरिकसँगै मानसिक चिन्ता


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्व आक्रान्त छ । नेपालमा पनि सामाजिक दूरी कायम गर्न सरकारले लकडाउन गरेको डेढ महिना पुगेको छ ।

कोरोना भाइरसको संक्रमण र यसको नियन्त्रण गर्न चालिएका कदमले विश्वका सबै क्षेत्र प्रभावित छन् । यसबाट खेलक्षेत्र पनि अलग हुन सकेन ।

कोरोनाकै कारण नेपाली खेलकुदका गतिविधि पनि ठप्प भएको डेढ महिनाभन्दा लामो समय भइसकेको छ । सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आह्वानपछि खेल गतिविधि पूर्ण रुपमा बन्द छन् ।

खेल गतिविधि नभएपछि खेलाडी, प्रशिक्षक, क्लब र संघका पदाधिकारीहरू घरमै बसेर सरकारको लकडाउनको निर्देशन पालना गरिरहेका छन् । यस्तैमा, नेपालमा दर्तामा रहेका झण्डै २ सय हाराहारी संघ मध्ये केही प्रतिनिधि संघका पदाधिकारीसँग खबरहबले कुराकानी गरेको छ ।

कोरोनाले खेलकुद संघलाई कस्तो असर पारेको छ ? भन्ने विषयमा गरिएको कुराकानीमा संघका अध्यक्षको चिन्ता खेलाडीको प्रदर्शन खस्किने र तालिका प्रभावित बनेकोमा छ ।

कर्मा छिरिङ शेर्पा/अध्यक्ष, अखिल नेपाल फुटबल संघ (एन्फा)

नेपालमा कोरोना भाइरसले सबै क्षेत्रमा अर पारेको छ । खासगरि फुटबलमा नियमित कार्यक्रमलाई असर पुगेको छ । शहीद स्मारक ‘बि’ डिभिजन लिग बीचैमा स्थगित भयो । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को बन्द प्रशिक्षण स्थगित भयो । ‘सी’ डिभिजनलाई प्रभावित बनायो ।

राष्ट्रिय लिग पनि स्थगित भयो । अहिले हुने तय भएका धेरै नकआउट प्रतियोगिता स्थगित भएका छन् । ग्रासरुट कार्यक्रमहरू प्रभावि भएका छन् । सबैक्षेत्र बन्द हुँदा ठूलो आर्थिक क्षती भएको छ । एएफसीदेखि फिफासम्मका सबै गतिविधि प्रभावित छन् ।

अहिलेसम्म दशरथ रंगशाामा प्रतियोगिता गर्न सकेका छैनौं । यसअघि रंगशाला नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएन । अब रंगशाला बन्यो त्यहिँ पनि यसरी सबै गतिविधि बन्द गरेर बस्नु पर्दा समस्या झन बढ्ने देखिन्छ ।

यहिँ महिना फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तरगत संयुक्त छनोटको चाइनिज ताइपेइ र अस्ट्रेलियासँगको खेल स्थगित हुँदा समस्या भयो ।

अहिलेका लागि सबैलाई सुरक्षित भएर घरमा बस्नुस् भन्नु बाहेक केही गर्न सकिँदैन् । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकसँग नियमित कुराकानी भइरहेको छ ।

अशोकनाथ प्याकुरेल/ सचिव, नेपाल क्रिकेट संघ (क्यान)

नेपाली क्रिकेटलाई यसले ठूलो असर गर्छ । आईसीसीको सशर्त फुकुवा पछि जसरी हामी अगाडि बढ्नु पथ्र्यो, त्यसमा असर गरेको छ ।

सेट व्याक के के कुरामा गर्यो त ! लामो समय क्यान नहुँदा घरेलु क्रिकेटका गतिविधि भइरहेका थिएनन् । त्यो अहिले सुरु गर्ने अवस्थामा थियौं । यो बन्द जस्तै भयो।

जिल्ला, प्रदेश स्तरीय र राष्ट्रिय प्रतियोगिताहरू आयोजनाको तयारी भइरहको थियो । जुन नेपाली क्रिकेटका लागि महत्वपूर्ण हुन् । लामो समयको अनुपस्थितिपछि क्यान आएपछि गतिविधि सुरु गर्ने बेला रोकिन पुग्दा समस्या भएको हो ।

अन्तर्राष्ट्रिय सहभागीताका कुरा पनि प्रभावित बने । त्यो हाम्रो नियन्त्रणमा पनि छैन । फुकुवा सशर्त भनेको थियो । यो समयमा हामी आईसीसीसँग डकुमेन्टेसनर बजेटका विषयमा छलफल गरिरहेका थियौं त्यो पनि प्रभावित बन्यो ।

मनोरञ्जन रमण शर्मा/ अध्यक्ष, नेपाल भलिबल संघ

लकडाउनेले शारीरिक रुपमा खेलाडीले खेल्न पाएनन् त स्वतहः असर पुग्यो नै । त्यो भन्दा पनि मानसिक रुपमा बढि असर गरेको छ ।

मैले महासचिवसहित सम्पूर्ण पदाधिकारीहरूलाई खेलाडीसँग प्रत्यक्ष छलफलमा रहनु होला भनेको छु । म पनि सबैलाई मोटिभेट गरिरहेको छु । अहिले सबै प्रभावित बन्न पुगेको छ । अब जुन दिन खुल्छ त्यहिँ दिन आफ्नो कार्यक्रम अगाडि बढाउने योजनामा छौं ।

खेल तालिका त प्रभावित बन्यो नै एनभिए लिगदेखि सबै प्रतियोगिता रोकिएका छन् । लकडाउन खुलेपछि पनि सरकार र राखेपको निर्णय अनुसार अगाडि बढ्छौं । आर्थिक रुपमा पनि समस्या छ ।

भलिबल संघलाई सरकारले एक पैसा दिएको छैन । यस्तो अवस्थामा प्रायोजक र आफुसँग पैसा भएन भने समस्या हुन्छ । हरेक कुरामा राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग समन्वय गरिरहेका छौं । अब रुटिन अनुसार काम कसरी अघि बढाउने भन्ने कुरामा चिन्तित छौं ।


आरके बिष्ट/सचिव, नेपाल एथलेटिक्स संघ

लामो समय खेलकुद गतिविधि बन्द भएपछि असर पर्छ नै । लगातार खेलिरहेका र अभ्यासमा रहेका खेलाडी एकै पटक घरमा बस्दा फर्म गुम्ने चिन्ता छ ।

लकडाउन खुकुलो भएको भए आन्तरिक कुराहरू हुन्थे होला । खेलाडी आ–आफ्नो ठाउँमा छन् । एथलेटिक्स संघ सरकारकै भर पर्नुपर्ने अवस्थामा भएकाले पनि समस्या छ । संघले लकडाउन खुल्नासाथ प्राथमिकता हेरेर काम अगाडि बढाउँछ ।

प्रकाश शमशेर राणा/ अध्यक्ष, नेपाल तेक्वान्दो संघ

अन्य क्षेत्र जस्तै नेपाल तक्वान्दो संघलाई पनि असर गरेको छ । खेलाडीलाई तयारी घरमै गरिरहन भनिरहेका छौं । विभागीय टोलीमा रहेका खेलाडीहरूले नियमीत अभ्यास गरिरहेका छन् ।

अन्य खेलाडीहरूले घरमै तयारी गरिरहेका छन् । यो बेला अन्तर्राष्ट्रिय खेल पनि छन् । टोकियो ओलम्पिक पनि १ वर्षका लागि सरिसकेको छ । ओलम्पिकको तयारीमा असर गरेको हो ।

विश्वभर गतिविधि बन्द रहेकाले हामीले पनि सबैले जे गरिरहेका छन् त्यस्तै गर्नु पर्ने भएको छ ।

तेक्वान्दो संघलाई आर्थिक रुपमा पनि असर गर्छ । हाम्रो कार्यालयमा १२ जना कर्मचारी नै छन् । उहाँहरूलाई तलब दिनै पर्यो । हाइ अल्टिच्यूट टेनिङ सेन्टर यहिँ वर्षदेखि सुरु गर्ने योजनामा थियौं । कोरोनाले त्यसमा पनि असर गरेको छ ।

पुरेन्द्रविक्रम लाखे/उपाध्यक्ष, नेपाल कराते संघ

कोरोना भाइरसले करातेलाई असर पारेको छ । राष्ट्रिय टोली, ‘ए’ र ‘डी’ गरी खेलाडीहरूलाई वर्गीकरण गरेका छौं । कराते संघले खेलाडीहरूलाई जो जहाँ छन् त्यहिँ अभ्यास गर्न भनिसकेका छौं ।

खेलाडीलाई व्यक्तिगतरुपमा अभ्यास गर्न सातै प्रदेशमा खबर गरिसकेका छौं । लकडाउन पछिको विषयमा भने हामी वल्र्ड कराते फेडेरेसनको क्यालेन्डर कस्तो आउँछ त्यहिँ अनुसार अगाडि बढ्छौं ।

हामीले करातेका लागि सकारात्मक प्रयास र पहल चाहिँ गरिरहेका छौं । करातेलाई चाहिँ आर्थिक रुपमा खासै असर गर्दैन । लकडाउन पछि प्राथमिकताका आधारमा काम गछौं ।

राम अवाले /अध्यक्ष, नेपाल बक्सिङ संघ

नियमित कार्यसम्पादनदेखि खेल गतिविधिहरू नहुँदा असर हुन्छ नै । खासगरी अहिले हामीले खेलाडीलाई व्यक्तिगत तयारी गर्न भनेका छौं । म आफैले पनि कति खेलाडीसँग कुरा गरेको छु भने प्रशिक्षकहरू मार्फत् पनि घरमा, कोठामा जहाँ छन् त्यहाँ अभ्यास गर्न भनेका छौं ।

बक्सिङका लागि अभ्यास गर्न ठूलो ठाउँ चाहिँदैन मन हुनुपर्छ । म आफै पनि बक्सिङ खेलेको मान्छे हुँ । भित्रै बसेर पनि अभ्यास गर्न सकिन्छ ।

इन्डियन बक्सिङ फेडेरेसनले नेपालसहित दक्षिण एसियाली देशका खेलाडी, प्रशिक्षक, रेफ्रि र अफिसियलहरूबीच अनलाइन कक्षा संचालन गरिरहेको छ । त्यसमा हामी पनि सहभागी छौं । त्यसमा बक्सिङ खेलको विकासका लागि छलफल हुने गरेको छ ।

लकडाउन खुले लगत्तै संघले आफ्नो काम सुरु गर्नेछ । लकडाउन सकिएपछि कसरी अगाडि बढ्ने भन्ने पनि छलफल गरिरहेका छौं ।

दीपक राज गुरुङ /अध्यक्ष, नेपाल आर्चरी संघ

यसले आर्चरी संघलाई पनि शतप्रतिशत असर गरिरहेको छ । ओलम्पिकको तयारी गर्नु पर्ने थियो । १३ औं सागका खेलाडीहरूले तयारी गर्न पाएका छैनन् ।

अन्य समयमा टेक्निकल कुराहरूमा बढी छलफल हुन्थ्यो । यो समयमा मानसिक रुपमा बलियो हुने समय मिलेको छ । आर्चरीमा तिर प्रहार गर्ने भन्दा पनि मनमा त्यो लक्ष्य पहिल्याउन धेरै सोच्नुपर्छ । त्यसैले पनि यतिबेला खेलाडीहरूलाई मनोबल उच्च बनाउन भनेका छौं । ओलम्पिक छात्रवृत्ति पाएका ज्ञानु अवाले र तिकल पुन मगर यसका खास पीडित बनेका छन् । नेपाल ओलम्पिक कमिटीले मनोबैज्ञानिक कक्षा दिँदा केही हदसम्म खेलाडीहरूलाई सजिलो भयो ।
एउटा खेलाडीले तीर तान्दा धेरै कुराहरू सम्झिन्छ । अहिलेको समयमा तीर दिमागमै खेलाइ राख्न भनेका छु ।

आगामी फागुनमा नवौं राष्ट्रिय हुँदैछ । त्यसका लागि पनि खेलाडीलाई आफ्नो तरिकाले तयारी गरिराख्न भनेका छौं । अन्तर्राष्ट्रिय सहभागिता हुँदा लगानीका कुराहरू समस्या हुने हो । अहिले त्यो छैन ।

अशोक बज्राचार्य /अध्यक्ष, नेपाल पौडी संघ

अहिले खेल भन्दा पनि मानव जातिको स्वास्थ्यको चिन्ताको कुरा हो । अहिले खेलाडीहरू आ–आफ्नो इनिसिएसनमा तयारी गरिरहेका छन् । यस्तो लकडाउनको समयमा हामीले केही भन्न सकिने अवस्था छैन । तर, लकडाउन सकिएपछि कसरी अगाडि बढ्ने भन्ने योजना बनाइरहेका छौं ।

लकडाउन सकिएपछि पनि एकै पटक प्रतियोगिता आयोजना हुने पक्कै होइन । विस्तारै खुल्दै जाँदा हामी पनि खेलाडीको अभ्यास खुल्ला गर्नेछौं । विश्व नै महामारीसँग जुधिरहेकाले यो डिस्टर्वलाई सहज रुपमा लिनु पर्छ ।

लकडाउन सकिएपछि हाम्रा गतिविधि अघि बढाउने योजनामा छौं । अहिले हुने तय भएका दुई प्रतियोगिता ओपन च्याम्पियनसिप र ग्यालेक्सी कप प्रभावित भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ११ : ४७ बजे

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव