आलोचनाप्रति प्रधानमन्त्री रुष्ट | Khabarhub Khabarhub

आलोचनाप्रति प्रधानमन्त्री रुष्ट


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट स्वास्थ्य सामग्री खरिदमा अनियमिता भयो भन्ने चौतर्फी अलोचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गरेका छन् ।

मंगरबार राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले आलोचनाहरूलाई ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा’ भनेका छन् ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको भने पनि सरकारलाई असफल देखाउन बेमौसमी प्रचार भएको उनको ठहर छ । सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्, ‘मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो ।’

प्रधानमन्त्रीले यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय नहुने पनि प्रष्ट पारेका छन् । भ्रष्टाचार भएको भनेर उठेका प्रश्नलाई प्रधानमन्त्रीले ‘लगातारको निराधार कुप्रचार’ पनि भनेका छन् । यस्तो कुप्रचार सरकारलाई कमजोर पार्ने प्रयास हो भन्ने प्रधानमन्त्रीको ठहर छ ।

सम्बोधनका प्रधानमन्त्रीले भनेका छन, ‘भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कुप्रचारले कमजोर पार्न सक्ने छैन ।’ उनले कहीँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि नपर्ने पनि प्रष्ट पारेका छन् ।

प्रधानमन्त्रीले सरकारको बचाउ गर्दै र आलोचकहरूप्रति कटाक्ष गर्दै संकटको घडीमा सबैले खेलेको भूमिकाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । उनले भनेका छन्, ‘संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौँ भन्ने मूल्यांकन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’

प्रधानमन्त्रीले मानव जातिलाई नै चुनौती दिइरहेको यस संकटसँग जुझिरहेको बेला ध्यान यसै लडाइँमा एकाग्र गर्न पनि आग्रह गरेका छन् । उनको भनाइ छ, ‘अरू छलफल र कामहरू त स्थिति सामान्य बनेपछि गरौँला नै !’

प्रधानमन्त्रीले आलोचना र विरोधलाई निराधार आरोप र मिथ्या प्रचार पनि भनेका छन् । उनको भनाइ छ, ‘कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।’

प्रधानमन्त्रीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् भन्दै स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको जनाएका छन् । उनले भनेका छन्, ‘नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरू हुन सक्दैन ।’

प्रधानमन्त्रीले जस्तोसुकै अवस्थामा पनि सरकारको काम विधिसम्मत हुनुपर्ने र सुशासनका मानकमा खरो उत्रिनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरूको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ ।’

प्रधानमन्त्री ओलीले यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने प्रत्यक्ष देखिएको भन्दै यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरूको आपूर्तिमा परेको जनाएका छन् ।

प्रधानमन्त्रीले अनियमितता भयो भनेर उठेका प्रश्नलाई कुप्रचार र बेमौसमी बाजा भने पनि स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरू जनसमक्ष पुर्‍याउन सञ्चारमाध्यमहरूको भूमिकाको भने सराहना गरेका छन् । उनले संकटको बेलामा आशावादको, संकटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि अझ जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमहरूलाई आग्रह पनि परेका छन् ।

सुशासनमा जोड दिँदै संवैधानिक अङ्गहरूको सम्परीक्षण र फैसलाका लागि तयार रहेको भने पनि प्रधानमन्त्रीको सम्बोधनमा प्रयुक्त ‘बेमौसमी बाजा, मिथ्या आरोप, निराधार कुप्रचार, सरकारलाई असफल देखाउने प्रचारवाजी’ जस्ता पदावलीले त्यस्तो ‘सम्परीक्षण र फैसला’ कस्तो प्रभाव पार्ला !

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  २ : ०४ बजे

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।