सर्वकालिक गान्धी विचार | Khabarhub Khabarhub

सर्वकालिक गान्धी विचार



कुनै पनि युग स्थायी हुँदैन । समय सधैँ चलायमान हुन्छ । जसरी हामी अघि बढ्दै जान्छौँ, त्यसरी नै समय पनि अगाडि जान्छ । सूचना र ज्ञानका आयाम पनि बदलिँदै र फराकिला हुँदै जान्छन् । यसैको परिणाम हो इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्ला कि अहिलेको सामाजिक सञ्जाल युग पनि सकिएर अर्को केही आउनेछ । कुनै नयाँ प्रविधिले ठाउँ लिनेछ ।

सुविधाहरूको अभिवृद्धि नै आधुनिकता हो । हामीले युग र समयको माग अनुकूल आफूलाई परिवर्तन गर्न सकेनौँ भने पिछडिएका हुनेछौँ । यो तथ्य प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमाथि होइन । असल र प्रासङ्गिक विचार हाम्रो निम्ति सधैँ उपयोगी र सान्दर्भिक रहिरहनेछ । महात्मा गान्धीको विचार आज पनि त्यति नै सान्दर्भिक छ जति एक शताब्दी पहिले थियो, जतिबेला गान्धीको जीवनकालामा जति थियो ।

गान्धीको विचारको एउटा खास विशेषता भनेको उनको सन्देशको सार्वभौमिकता र सर्वव्यापकता नै हो । उनको विचार कुनै एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वको निम्ति प्रेरणादायक मानिएको छ । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाको निम्ति उनको विचार सान्दर्भिक छ । त्यसैले विश्वको साझा मञ्च संयुक्त राष्ट्रसंघले पनि गान्धी विचारको सर्वकालिकता पहिचान गरेर विश्व अहिंसा दिवस घोषणा गरेको हो ।

सत्य र अहिंसाको विचार प्रतिपादन गरेका महात्मा गान्धी मानवीय मूल्यमान्यता बलियो बनाउने मामिलामा महान व्यक्तित्व थिए । गान्धीको विचार प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गान्धीवादी संघसंस्थाहरूले सत्य र अहिंसाको प्रचारप्रसार गर्ने गरेका छन् ।

विश्वको जुनसुकै देशमा हिंसात्मक गतिविधि चलेको छ भने त्यसमाथि रोक लगाउने एउटामात्र अस्त्र गान्धीको ‘सत्य र अहिंसा’ विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गान्धी विचारको निकै ठूलो महत्व छ । हामीले नैतिक र धार्मिकरूपमा पनि सत्य र अहिंसा पालन गर्न थाल्नेछौँ भने यसको सकारात्मक प्रभाव व्यक्ति, समाज र राष्ट्रको जीवनका हरेक क्षेत्रमा पनि पर्नेछ ।

वर्तमान अवस्थामा गान्धीको स्वराज सिद्धान्त व्यावहारिक धरातलमा उतार्न सहज छैन तर केही कुरामा गम्भीरतापूर्वक ध्यान दिने हो भने नजिक अवश्य पुग्न सकिन्छ ।

लोकतान्त्रिक व्यवस्थामा ‘स्वराज’ को सपना साकार पार्नु सहज काम होइन । स्वराजमा ‘स्व’ को राजमात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’ को निर्माणमात्रै भइरहेको छ । पैसा, जाति, पद, वर्ग, पुँजी आदिको रूपमा मात्रै ‘स्व’ को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ । गान्धीको शब्दमा ‘स्व’ लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन ।

गान्धीलाई संसद र राज्यसत्तासित कुनै दुराग्रह थिएन तर उनी विकेन्द्रीकरण नीतिअनुसार गाउँलाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमाण्डर तथा संसदलाई अपेक्षाकृत कम शक्ति दिन चाहन्थे तर उनको जीवनकालमा र पछि पनि आजसम्म त्यस्तो हुन सकेन । राजनेताहरूले लामो समय सत्तामा बसिरहन जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्न योग्य वस्तु ठान्नेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्तिमात्रै आयो ।

राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आफ्नो हितका लागि, आफ्नो निजी स्वार्थका लागि मात्रै गरिरहेका छन् । फलस्वरूप नेताहरूको (अ)राजनीतिक गतिविधिप्रति जनताको मोहभङ्ग हुन थालेको छ । यसको नकारात्मक असर व्यवस्थामाथि पनि परेको छ । आज फेरि पनि गान्धीको स्वराज सिद्धान्तको आवश्यकता महसुस हुँदैछ । नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियम पालना भएको हुनुपर्छ ।

गान्धीको स्वराज अन्य व्यवस्थाको तुलनामा अपेक्षाकृत बढी नै जनतासमर्थक मानिन्छ । आम जनताले पनि स्वच्छता, सादगी र अहिंसाका लागि तथा अपेक्षाकृत असल नागरिक बन्नका निम्ति स्वराजको नियम पालन गर्नु आवश्यक छ ।

गान्धीको स्वराजमा गरिबी र निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका निम्ति अनेकौँ उपाय बताइएका छन् । यसका अतिरिक्त भावी पुस्ताको शिक्षा व्यवस्थाको ढाँचा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासनअन्तर्गत आउनसक्ने सबै खाले चुनौतीहरूको समाधानको बाटो देखाइएको छ ।

वर्तमान अवस्थामा गान्धीको स्वराज सिद्धान्त व्यावहारिक धरातलमा उतार्न सहज छैन तर केही कुरामा गम्भीरतापूर्वक ध्यान दिने हो भने नजिक अवश्य पुग्न सकिन्छ । यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिका जाँच गर्न सकिन्छ । जाँचको परिणाम कार्यान्वयनमा ल्याएर जनताको विश्वास जित्न सकिन्छ । अहिले लोककल्याणकारी समाजमार्फत केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालेको पनि मान्न सकिन्छ ।

लोकतान्त्रिक शासन प्रणालीमा शासक र व्यवस्थाप्रति असन्तोष बढ्न थालेको छ । जनताको निम्ति बनाइएका कानून र संस्थाले जनताको हितमा काम गर्न सकेनन् । निष्पक्ष भावले काम गर्न सकेनन् । अझ उल्टो परिणाम आउन थाल्यो । जनतामा असन्तोष बढ्नुको मुख्य कारण यही हो । जब जनतामा शासन व्यवस्थाले हाम्रो पक्षमा काम गरेको छैन भन्ने धारणा बन्न थाल्छ, तब राज्य प्रणाली हल्लिन थाल्छ ।

सरकारको काममा समानता र निष्पक्षता हुन आवश्यक छ । महात्मा गान्धीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन, पूरा त के मार्ग समेत निर्माण हुन सकेको छैन । स्वराज प्राप्तिको निम्ति गरिबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्षेत्रको विकास अपरिहार्य मानिन्छ ।

गान्धीको विचारमा स्वराज भनेको व्यक्तिको आफ्नो मनको शासन हो । आफूमाथि आफ्नै शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक साबित हुन सक्छ तर यसको उपयोग त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला हामीले पूर्णरूपेण स्वदेशी वस्तु उपयोग गरेका हुनेछौँ ।

यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथवा विरोध गर्नका निम्ति नभई यसलाई आफ्नो कर्तव्य ठानेर गर्नेछौँ । व्यक्ति र राज्य प्रणालीको प्रत्येका काममा कर्तव्यबोध र उत्तदायित्वबोध भएको हुनेछ । गान्धीको विचारमा छात्रछात्रालाई जीवनगत मूल्य र मान्यतामा आधारित शिक्षा दिइएन भने त्यो पनि महत्वहीन नै साबित हुनेछ ।

मूल्यमान्यता, नैतिकता र विवेक ताकत हो भने गान्धीको विचार हाम्रो निम्ति सर्वकालिक छ । एक्काइसौँ शताब्दीमा मात्रै के, शताब्दियौँ शताब्दी गान्धीवाद सान्दर्भिक रहिरहने छ । सत्य र अहिंसा कहिल्यै महत्वहीन हुँदैन ।

गान्धीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गरेका छन् । उनको भनाइअनुसार स्वराज स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्छ । उनी पश्चिमेली सभ्यतालाई सरुवा रोगजस्तो ठान्थे । उनको विचारमा पश्चिमा सभ्यता भौतिक सुखमा आधारित छ, त्यसैले उनी यसको अन्धानुकरणको विरोधी थिए । आफ्नो सभ्यतामा बाधा नपर्ने हदसम्म आत्मसात गर्न सकिन्छ पनि भनेका थिए ।

पूरै विश्वमा सभ्यताको भविष्यबारे जुन बहस चलिरहेको छ, त्यसमा पनि गान्धीको विचार नै सबैभन्दा बढी प्रासङ्गिक छ । कुनै राम्रो र कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्छ । मेशिन, प्रविधि र यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्छ । यसलाई नै साध्य बन्न दिनुहुँदैन । त्यसैलाई साध्य ठान्ने हो भने कुनै समयमा मानिस साधनविहीन हुनेछ ।

आधुनिक सभ्यताको आधार मूल्य, नीति र धर्मको ठाउँ अत्याधुनिक प्रविधिले लिएको छ । मनुष्यको जीवन, आकाङ्क्षा, सुख–दुःख सफलता, असफलता, लाभ–हानि, उन्नति–अवन्नति जस्ता मूल विषयमा जब मूल्यमान्यताको ठाउँ प्रविधिले परिभाषित गर्न थाल्छ अनि सभ्यतामाथि सङ्कट आउन थाल्छ । गान्धी व्यक्तिगत स्वार्थ एवं सङ्कीर्ण प्रतिगामी विचारलाई सभ्यताको पहिलो चुनौती ठान्थे ।

सर्वत्र मूल्यमान्यताको क्षय भइरहेको अवस्थामा व्यक्तिले आफ्नो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गान्धीकै ताकतको प्रतीक हो । यदि मूल्यमान्यता, नैतिकता र विवेक ताकत हो भने गान्धीको विचार हाम्रो निम्ति सर्वकालिक छ । एक्काइसौँ शताब्दीमा मात्रै के, शताब्दियौँ शताब्दी गान्धीवाद सान्दर्भिक रहिरहने छ । सत्य र अहिंसाको महत्व कहिल्यै कम हुँदैन, बितेको कुनै कालखण्डमा पनि भएको छैन ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : २९ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको