अभिभावक भन्छन् : छोराछोरीलाई 'कोरोना' नलाग्दै नेपाल ल्याइदेउ सरकार | Khabarhub Khabarhub

अभिभावक भन्छन् : छोराछोरीलाई ‘कोरोना’ नलाग्दै नेपाल ल्याइदेउ सरकार


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित राज्यमन्त्रीको कक्ष बाहिर रसिला आँखा बनाएर टोलाउदै थिइन्– चितवनकी विमला श्रेष्ठ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको खबर पछि चितवनकी श्रेष्ठको ओठमा मुस्कान छैन । डाक्टरी पढ्न चीन गएका श्रेष्ठका छोरा कोरोना भाइरस फैलिएको शहरमा कोठाभित्रै थुनिएका छन् ।

छोराले हरेक दिन फोनमा आमालाई सोध्छन् ‘आमा ! यहाँ कोठाभित्र बस्न गाह्रो भइसक्यो । सरकारले हामीलाई कहिले नेपाल फर्काउँछ ?’

छोराको प्रश्नको जवाफ श्रेष्ठसँग छैन । उनी मन अमिलो बनाउँदै भन्छिन्, ‘यहाँबाट सरकारले पहल गर्दैछ । नआत्ति बस ।’

‘आमा अहिलेसम्म मलाई रोग लागेको छैन, कोठामा पानी सकिँदा बाहिर लिन जान पनि डरलाग्छ, रोग सरिहाल्छ कि भनेर । सरकारले ढिला गर्‍यो भने मलाई कुनबेला कोरोना सर्छ थाहा छैन । !’ चीनमा रहेका छोराको कुरा सुन्दा निकै दुःख लाग्ने गरेको श्रेष्ठले सुनाइन् ।

अर्काको देशमा रोग सर्छ कि भनेर त्रासमा बाँचेको छोरालाई उनी आफ्नो रुवाइको आवज सुनाउन चाहन्नन् । मन बलियो बनाउँदै भन्छिन्, ‘म स्वास्थ्य मन्त्रालय धाइरहेको छु । सरकारले छिटो ल्याउछु भनेको छ ।’

कोरोना भाइरस फैलिएको चीनमा रहेका नेपाली स्वदेश ल्याउने खबर पाएपछि श्रेष्ठ माघ १४ गते यता काठमाडौंमा छिन् । १४ गते स्वास्थ्य मन्त्रालय आउँदा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ‘प्लेनको व्यवस्थापनको तयारी भएको र एक दुई दिनमै ल्याउने जवाफ दिएका थिए । तर एकसाता भन्दा बढी भइसक्दा पनि कुनै नेपाली विद्यार्थीलाई सरकारले स्वदेश ल्याएको छैन ।

सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वादेश ल्याउन पहल नगरेको भन्दै चीनमा रहेका नेपालीका अभिभावक बिहीबार स्वास्थ्य मन्त्रालय नै घेराउ गर्न आइपुगे । श्रेष्ठ पनि उनीहरुसँगै स्वास्थ्य मन्त्रालय आएकी थिइन् ।

कोरोना भाइरस प्रभावित क्षेत्रका नेपालीलाई छिट्टै स्वदेश ल्याउन उनीहरुले सरकारसँग माग गरेका हुन् ।

‘मेरो छोरा चीनमा छ, १४ गते स्वास्थ्य मन्त्रालयमा आउँदा मन्त्रीज्युले एक–दुई दिनमा ल्याउछौं भन्नुभएको थियो, दुई हप्ता हुन लागिसक्यो अहिलेसम्म कुनै तयारी देखिँदैन,’ श्रेष्ठले गुनासो गरिन्, ‘सरकारले कहिले ल्याउँछ हाम्रो छोराछोरी ?’

आफ्नो छोरा चीनको कोठाभित्रै थुनिँदा आफूलाई छोरालाईभन्दा बढी पीडा भएको श्रेष्ठ सुनाउँछिन् ।

‘छोरा उता कोठामा थुनिएको महिना दिन बित्यो, सधै फोनमा कुरा हुन्छ, पानी लिन बाहिर जाँदा पनि कोरोना सर्छ कि भनेर डर लाग्छ भन्छ,’ श्रेष्ठले छोराको भनाइ उद्धृत गर्दै भनिन्, ‘अहिलेसम्म रोग लागेको छैन, तर भोलिका दिनमा कुन दिन संक्रमित हुनेहुन् थाहा छैन । खै सरकारले रोग लागेपछि मात्र हेर्ने हो कि ?’

सरकारले स्वादेश ल्याउँला भन्ने आशामा बस्दाबस्दै आफू थाकिसकेको श्रेष्ठ बताउँछिन् ।

‘सरकारले तयारी गर्दै छ भनेर आशा गरेर बसेका थियौं, खै तर कुनै तयारी नै देखिँदैन । उता छोराछोरी पीडामा छन्, हाम्रो यता भोकनिद्रा हराएको छ,’ श्रेष्ठले भनिन्, ‘अहिले छोराछोरीलाई संक्रमण छैन, कोरोनाको संक्रमण लाग्नु भन्दा अगाडि नै सरकारले नेपाल ल्याइदिए हुन्थ्यो ।’

श्रेष्ठजस्तै करिव १५ जना अभिभावकहरु आफ्ना छोराछोरीलाई छिटो स्वदेश फर्काउन माग राख्दै बिहीबार स्वस्थ्य मन्त्रालयमा पुगेका थिए ।
आफ्ना छोराछोरीहरु चीनमा स्वस्थ्य रहेको भन्दै रोग नलाग्दै स्वदेश फर्काउने आशामा रहेको अर्की एक अभिभावकले सुनाइन् ।

‘हाम्रा छोराछोरी कोठाको झ्याल समेत नखोली त्रासमा बसेका छन्, सबै देशले आफ्नो नागरिक लगिसक्यो, नेपाल सरकारलाई पनि आफ्नो देशका नागरिकको माया छ भने छिटो नेपाल ल्याउनुपर्‍यो,’ उनले भनिन्, ‘अहिलेसम्म हाम्रा छोराछोरी सुरक्षित छन्, उनीहरुलाई कोरोना भइहाल्यो भने अर्काको देशमा कस्तो अवस्था होला, त्यसैले हाम्रो छोराछोरीलाई कोरोना नलाग्दै स्वदेश फर्काइदिनु पर्‍यो सरकार ।’

बिहान ११ बजेदेखि स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले दिउँसो साँढे ३ बजेसम्म पनि मन्त्रालयका पदाधिकारी कोहीसँग पनि भेट्न पाएनन् ।

स्वास्थ्य मन्त्री मन्त्रालयभित्र नभएको जानकारी पाएपछि उनीहरु स्वास्थ्य राज्यमन्त्रीलाई भेट्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतको कक्षमा जान खोजे ।

तर, उनीहरुलाई सुरक्षाकर्मीले स्वास्थ्य राज्यमन्त्रीको कक्षमा जान दिएनन् । करिब आधि घण्टासम्म अभिभावकहरुले स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्ष बाहिर धर्ना दिएपछि बल्ल उनीहरुले स्वास्थ्यराज्य मन्त्री रावतलाई भेट्न पाएका थिए ।

केही आफन्तहरुले स्वास्थ्य राज्यमन्त्री रावतलाई चीनमा रहेका आफ्ना सन्तानले पोखेको पीडा सुनाए । केही अभिभावकले उनीहरुलाई कहिले स्वदेश ल्याउने भनेर प्रश्न गरे । तर स्वास्थ्य राज्यमन्त्री रावतले कुनै जवाफ दिएनन् । उनले स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठलाई बोल्न निर्देशन दिए ।

अभिभावकहरुको गुनासो सुनेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले सरकारको निर्देशन स्वास्थ्य मन्त्रालयसम्म नआइपुगेको र सो निर्देशन आएपपछि मात्र प्रक्रिया अघि बढ्ने जवाफ दिए ।

‘स्वास्थ्य मन्त्रालयले उनीहरुलाई ल्याउने पक्षमा छ, हामीले हाम्रो तयारीहरु गरेका छौं, प्रधानमन्त्रीज्यूले आजै निर्देशन दिनुभएको कुरा सुनिएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यो निर्देशन आएपछि सोही अनुसारको प्रक्रिया अगाडि बढ्छ ।’

मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनमा रहेका नेपाली स्वदेश ल्याउने जिम्मा स्वास्थ्य मन्त्रालय एक्लैको नभएको बताए । उनले चीनबाट आउने नेपालीको स्वास्थ्य परीक्षण र बिरामी भएका उपचारको जिम्मेवारी मात्र स्वास्थ्य मन्त्रालयले लिने समेत बताए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले एक्लै ल्याउने होइन, हामीसँग त्यो क्षमता पनि छैन, स्वास्थ्य मन्त्रालयले मात्र बिरामीको जिम्मा लिन्छ, यदि आएको मान्छे केही बिरामी छ भने त्यसको उपचारको व्यवस्था गर्छ ।’

उनले चीनमा रहेका नेपालीहरुको उद्दारका लागि सबै मन्त्रालयको संमन्वयमा विभिन्न समितिहरु पनि गठन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : १९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी