ट्रम्पको अस्थिर र घमण्डी व्यवहारले मध्यपूर्वमा क्षेत्रीय युद्ध निम्तिने चिन्ता | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

ट्रम्पको अस्थिर र घमण्डी व्यवहारले मध्यपूर्वमा क्षेत्रीय युद्ध निम्तिने चिन्ता



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीलाई मार्न आदेश दिने असम्भवप्राय: ठानिएको विकल्प रोजेसँगै मध्यपूर्व एक भयाभह अवस्थाको सम्मुख धकेलिएको छ ।

अनिश्चित षड्यन्त्रको सूचनाको भरमा इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको हत्या नै गर्ने खराब विकल्प रोज्नुहुन्न भन्ने अमेरिकी मन्त्रीहरु, सेनापति, रक्षा अधिकारीहरु र गुप्तचर अधिकारीहरुको सल्लाहविपरीत ट्रम्पले मध्यपूर्वमा एक अनिश्चितताको शुरुवात गरिदिएका छन् ।

युद्धमा जाने होइन, युद्ध अन्त्य गरी देशको विकास र समृद्धिमा केन्द्रित हुने नीति बोकेका ट्रम्प सुलेमानीको हत्या गर्ने निर्णयले राष्ट्रपति सम्हालेयताकै सबैभन्दा खतरनाक परिस्थितिमा पुगेका छन् ।

ट्रम्पले सुलेमानीको हत्या गर्ने आदेश दिएपछि मध्यपूर्वमा जारी तनावमा नाटकीय वृद्धि भएको छ ।

सुलेमानीको हत्यापछि इजरायलले भनेजस्तो मध्यपूर्वमा पुन अमेरिकी महानताका दिन शुरु भएको होइन । बरु विनाशकारी दिनतर्फको यात्राको शुरुवात भएको छ ।

आन्तरिक र बाह्य संकटले घेरिएका ट्रम्प अहिले पनि मध्यपूर्वमा टकराव र तनावलाई बढाउन किन तल्लीन भइरहेका छन् भन्नेमा सबै आश्चर्यमा छन् ।

अमेरिका र इरान दुवैले चेतावनीपूर्ण सन्देश जारी गरिरहेका छन् । आफ्ना राष्ट्रिय प्रतीककै रुपमा रहेका जरनलको लज्जास्पद हत्यापछि इरानले शोक मात्र मनाउने छैन, अमेरिकी हमलाको बदलामा उसको निशानालाई लक्षित बनाई घातक हमला गर्ने निश्चित नै छ ।

प्रश्न इरानले कहिले, कहाँ र कुन स्तरको हमला गर्छ र अमेरिकाले कस्तो प्रत्याक्रमण गर्छ भन्नेमा हो ।

सुलेमानीको हत्यासँगै अमेरिकाले आफ्नो संयमित रणनीतिको अन्त्य गरेको छ भने इरान पनि पछि हट्नेवाला छैन भन्ने देखिएको छ । दुवैको आक्रामक कदम अब कसको कतिवटा निशानामा क्षेप्यास्त्र प्रहार गर्ने भन्नेमा केन्द्रित छ ।

ट्रम्पले घातक निर्णय लिएसँगै अमेरिका र इरानबीचको चारदशकदेखि चलिरहेका छद्म युद्ध अब प्रत्यक्ष युद्धको सम्मुख आइपुगेको छ

सुरक्षा अधिकारीहरुले इरानले ३५ वटा अमेरिकी निशानालाई लक्षित गरी आक्रमण गर्ने योजना बुनिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले कुनै पनि आक्रमण गरे इरानको ५२ वटा निशानामा अत्यन्तै छिटो र विध्वंशक आक्रमण गर्ने धम्की दिएका छन् ।

अमेरिकाले मध्यपूर्वमा ३५ सयभन्दा बढी सैनिक थपेको छ, जुन दशकयताकै सबैभन्दा छिटो गरिएको सैन्य तैनाथी हो ।

ट्रम्पको आक्रोशपूर्ण चेतावनी अमेरिकी गुप्तचर निकायहरुले शनिवारदेखि इरानले ब्यालिस्टिक क्षेप्यास्त्रका सबै इकाइहरुलाई उच्च शर्तकता राखेका विवरणहरू बाहिर आएका छन् ।

इरानले अमेरिकी निशानाहरुमा प्रहार गर्न ती इकाइहरुलाई तयारी हालतमा राखेको हो या अमेरिकी सम्भाव्य अर्को हमला टार्न हो भन्नेबारे एकिन भइसकेको छैन ।

ट्रम्पले घातक निर्णय लिएसँगै अमेरिका र इरानबीचको चार दशकदेखि चलिरहेको छद्म युद्ध अब प्रत्यक्ष युद्धको सम्मुख आइपुगेको छ ।

धम्कीकै भरमा आफ्नो उद्देश्य प्राप्ति गर्ने सोचमा रहेका ट्रम्पलाई इरानले लगातार हैरानी बनाएपछि सैन्य शक्ति देखाउने जोखिमपूर्ण र आवेगपूर्ण निर्णय लिएका छन् । जसले उनको राजनीतिक भविष्यसँगै मध्यपूर्वभरि ठूलो जनधनको क्षति पुर्‍याइदिन सक्छ ।

इरानसँगको पूर्ण युद्ध अमेरिकाका लागि विकल्प मात्र हो, बाध्यता होइन । त्यसैले चार दशकदेखिको टकराव यसअघि कहिल्यै पूर्ण युद्धमा परिवर्तन भएको थिएन ।

स्पष्ट छ, अमेरिका र इरान दुवैले युद्ध चाहेका छैनन् । तर, अब इरानले आफ्ना जनरलको हत्याको बदलामा अमेरिकी निशानमा आक्रमण गर्नेछ । जुन सम्भवत इराक या अन्य मध्यपूर्वी देशहरुमा हुनसक्छ ।

इरानले अमेरिकी वरिष्ठ अधिकारीहरुमाथि नै निशाना लगायो भने अमेरिका र इरानबीचको सम्भाव्य युद्धको आशंका वास्तविकतामा धकेलिदिने छ। युद्धले ट्रम्प र इरान दुवैलाई अकल्पनीय क्षति पुर्‍याउनेछ ।

सुलेमानी । तस्वीर : गेट्टी इमेज

सुलेमानीको हत्या गर्ने निर्णयमा कसरी पुगे ट्रम्प ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आक्रामक र आश्चर्यजनक कदमपछि मध्यपूर्वमा अस्थिरताको बादल मडारिएको छ । पक्कै पनि ट्रम्प एक्लैले दूरगामी प्रभाव पार्ने निर्णय लिएका होइनन् । अमेरिकी सुरक्षा र गुप्तचरी प्रणालीमार्फत आउने धेरै विकल्पहरुमध्ये उनले घातक विकल्पको छनोट गर्ने निर्णय लिएका हुन् ।

प्रश्न उठ्छ, उनको छनोट किन युद्ध टार्ने लचिलो नीति नभई घातक शक्तिको प्रयोग गर्नमा केन्द्रित भयो ?

गत आइतवार विदा मनाइरहेका ट्रम्पलाई रक्षामन्त्री र सेनापतिले उनी बसिरहेको ठाउँ मार–ए–लागोमै पुगी विकल्पहरु दिएका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको इरानविरुद्धको अमेरिकी कदममा सुलेमानीको हत्या प्रारम्भिक विकल्पहरुमा थिएन । बरु इरानको जलसैन्यमाथि आक्रमण, इरानको क्षेप्यास्त्र भण्डारहरुमा आक्रमण, इरान समर्थक लडाकुहरुमाथि अर्को आक्रमण लगायतका विकल्पहरु थिए । यसअघि पनि यिनै विकल्पमा ट्रम्पले इराक र सिरियामा रहेका इरानसमर्थक लडाकुहरुको शिविरहरुमा आक्रमण गर्ने विकल्प छानेका थिए ।

गत डिसेम्बर २७ तारिखमा इरान समर्थक लडाकुको मुर्खतापूर्ण रकेट आक्रमणमा अमेरिकी सुरक्षा ठेकेदार मारिएपछि अमेरिकाले इरानसमर्थक लडाकुहरुको शिविरहरुमा आक्रमण गरेको थियो । त्यसको बदलामा इराकीहरुले दुई दिनसम्म अमेरिकाको बग्दादस्थित दूतावास घेरा हालेर हिंसात्मक प्रदर्शन गरेका थिए ।

दूतावासको घेराबन्दीलाई अमेरिकाले आफ्नो विश्वव्यापी शाख र शक्तिमाथि ठेस लागेको अर्थमा बुझेको थियो ।

सुलेमानी सयौं अमेरिकीको हत्याका लागि जिम्मेवार हुन् । तर, उनले तत्कालै अमेरिकीमाथि आक्रमणको योजना अघि नसारेको अमेरिकाले इरानबाट हाता पारेको सञ्चार सम्पर्कहरुमा देखिएको अमेरिकी गुप्तचर रिपोर्टको निष्कर्ष थियो । तत्कालै अमेरिकाविरुद्ध हिंस्रक कदम चाल्न इरानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले स्वीकृति नजनाएको गुप्तचर विवरणहरू समेत ट्रम्पलाई ‘ब्रिफिङ’ गरिएको थियो ।

अमेरिकी रक्षा र गुप्तचर अधिकारीहरुले ट्रम्पलाई इरानी सर्वोच्च नेता पनि मूर्ख होइनन् । जसले ‘अमेरिकामाथि ठूलो आक्रमण गरी आफ्नो शासनलाई नै धरापमा पार्दैनन्’ भनेका थिए । तर पछिल्लो समय घटनाले नाटकीय रुप लिएको छ ।

दूतावास घेराउपछि पनि ट्रम्पले पहिलेकै शैलीको विकल्प रोज्नेमा अधिकांश ढुक्क थिए । तर, पनि अमेरिकी संसद, कुटनीतिक, सैनिक तथा गुप्तचर अधिकारीहरुलाई समेत छक्क पार्ने गरी ट्रम्पले सुलेमानीको हत्या गर्ने घातक विकल्प रोजे । जुन उनलाई यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बाल्टनले पटक-पटक दिने गरेका थिए । त्यसमा अमेरिकी रक्षा र गुप्तचर अधिकारीहरुको फरक मतमा ट्रम्पले साथ दिने गरेका थिए ।

सुलेमानीको हत्या निर्णयमा अमेरिकी रक्षामन्त्रीको धारणा के थियो अहिलेसम्म स्पष्ट भइसकेको छैन । यसमा उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पम्पेओले भने अमेरिकी सैनिक ठेकेदारको मृत्युपछि भने ट्रम्पलाई लगातार सुझाव दिइरहेका थिए ।

सुरक्षा र गुप्तचर अधिकारीहरुको सुझावको बेवास्ता हुँदै उपराष्ट्रपति पेन्सको जोडबल र पराष्ट्रमन्त्री पम्पेओको सुझावमा सुलेमानीको हत्या भयो । पेन्स बलनै प्रयोग गरेर भए पनि इरान, भेनेजुएला र उत्तर कोरियाली सत्ता ढाल्ने पक्षमा रहे पनि ट्रम्पका पछिल्ला कदमहरुप्रति असन्तुष्टि जनाउँदै आएका थिए । भेनेजुएला, इरान र उत्तर कोरियामा सैन्य आक्रमण नै गरेर भए पनि सत्ता परिवर्तन गरिनुपर्ने नीतिमा रहेका पेन्स र युद्ध नै गरिहाल्ने मनस्थितिमा नरहेका ट्रम्पबीच गहिरो मतभिन्नता रहँदै आएको थियो ।

कट्टरपन्थी अमेरिकी मन्त्रीहरु सन् २०१२ मा लिबियामा अमेरिकी राजदूतको हत्या जस्तो या अमेरिका कमजोर रहेको सन्देश जाने भन्दै घातक हमलाको तयारीमा ट्रम्पलाई उक्साइरहेका थिए ।

उपराष्ट्रपति पेन्स र परराष्ट्रमन्त्री पम्पेओ भने ट्रम्पको मध्यपूर्वबाट बाहिरिने नीतिप्रति असन्तुष्ट थिए र यसलाई मौकाको रुपमा उपयोग गर्न चाहन्थे ।

अन्य विकल्पहरु व्यवहारिक नभएमा भन्ने सूचीमा रहेका सुलेमानीको हत्या गर्ने विकल्पको छनौटसँगै मध्यपूर्व दशकौं यताको सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

ट्रम्प भने सुलेमानीको हत्यालाई इस्लामिक स्टेटका नेता अबुबकर अल बग्दादीसँग दाँज्दै आफूले अमेरिकीको रक्षाका लागि धेरै प्रभावकारी कदम चालेको भन्दै आफ्नै प्रशंसा गरिरहेका छन् ।

जबकि तत्कालीन राष्ट्रपति जर्जडब्लु बुस र बाराक ओवामाका अलावा ट्रम्पकै कार्यकालमा यसअघि पनि सुलेमानीको हत्या गरी इरानमा सत्ता परिवर्तनको अभियान शुरु गर्न प्रशस्त सुझाव नआएका होइनन् । उनीहरुले ठूलो युद्ध भड्किने ठानेर इरानलाई अन्य ढंगले दबाव दिँदै संयमित नीति लिएका थिए ।

यसअघि इरानसँग किन पछि हटे ट्रम्प ?

यसअघि गत जुनमा इरानले अमेरिकी ड्रोन खसालेपछि इरानमा आक्रमण गर्न दिएको आदेश उपरराष्ट्रपति, राष्ट्रिय सुरक्षा सल्लाहकार र उनकै प्रमुख सचिवलाई समेत आश्चर्यमा पारेर १० मिनेटअघि आक्रमण नगर्ने निर्णय लिए ।

ट्रम्पले सैन्य बलको त्रासलाई हल्का रुपमा लिने गरेकाले पनि इरानको अराजकता बढेको हो । गत जुनमा इरानले गल्फ अफ ओमानमा गरेको तेलको ट्याङकरमाथिको आगजनी होस् या गत सेप्टेम्बरमा साउदी अरेबियाली तेलखानीमा भएको आक्रमण होस् । ट्रम्पले सैन्य आक्रमणको चेतावनी दिए तर केही पनि गरेनन् ।

इरानलाई कुनै सांकेतिक कदम चालेर आराजक नियन्त्रण गर्नु उनले दायित्व ठानेनन् । फलत: इरानले उनको निर्णय क्षमतालाई हल्का रुपमा हेर्न थाल्यो । ट्रम्प भने इरानको लगातारको हैरानीलाई व्यक्तिगत मानहानीको रुपमा लिन थाले ।

फाइल तस्वीर

इतिहासकै अस्थिर राष्ट्रपतिको हातमा घातक अधिकार

अमेरिकाभित्रै आन्तरिक राजनीतिक संकट भोगिरहेका तथा संसद्मा बहुमत समेत नरहेका ट्रम्पले किन जोखिमपूर्ण कदम चाले भनी अमेरिकाभित्रै विवाद भइरहेको छ।

ट्रम्पले आक्रमणबारे अमेरिकी कंग्रेसलाई समेत शनिवार मात्र औपचारिक जानकारी गराए । अमेरिकी कानूनअनुसार सशस्त्र युद्ध या युद्ध हुनसक्ने परिस्थितिबारे ४८ घण्टाभित्र कंग्रेसलाई जानकारी गराउनुपर्ने प्रावधान छ । संसद र अमेरिकी जनतालाई समेत अन्धकारमा राख्दै ट्रम्प भने अस्वभाविक रुपमा तनाव भड्काउन चेतावनी दिन तल्लीन छन् ।

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता नै जोखिमपूर्ण सैन्य कदम चालेका प्रशस्त्र उदाहरणहरु छन् । उनले पदभार सम्हालेको १० दिनभित्रै यमनमा एउटा जोखिमपूर्ण स्थल कारवाहीको आदेश दिए । जहाँ धेरै सर्वसाधारण मारिए भने एक अमेरिकी सेनाको ज्यान गयो । यो कारवाहीपछि पनि उनको जोखिमपूर्ण निर्णय रोकिएन ।

अमेरिकी विशेष बलहरुलाई अफगानिस्तान, सोमालिया, यमन, सिरिया लगायतका स्थानहरुमा स्थल र हवाई कारवाहीको अनुमति दिइरहे। जबकि, यसअघिका राष्ट्रपतिहरु यस्तो जोखिम मोल्न निकै सावधानीका साथ निर्णय लिन्थे ।

ओबामाले आतंकवादविरुद्धको युद्धलाई समेत व्यवस्थित तथा सैन्य मात्र नभएर सबै पक्षको संलग्नतामा विशेष प्रमाण जम्मा गरेर मात्र आक्रमण गर्ने नीति तयार गरेका थिए ।

ओबामाको कार्यकालमा कहिलेकाहीँ एउटै निशानामा प्रहार गर्न पनि अमेरिकी सैनिकलाई झण्डै एक महिना कुर्नुपर्थ्यो । तर, ट्रम्पले कार्यकाल सम्हालेपछि जति सक्यो ठूलो सैन्य प्रदर्शन गर्नु भन्दै सैनिक कमाण्डरहरुलाई नै अधिकार सुम्पे । जति सक्यो छिटो आतंकवादीलाई निमिट्यान्न पार्न भन्दै घातक बल प्रयोगको सिद्धान्त उनले अपनाए ।

ट्रम्पको कार्यकालमा अमेरिकाद्वारा सिरिया, इराक, अफगानिस्तान, सोमालिया लगायत धेरै देशमा तीव्र हवाई हमला भए । नतिजाको अस्पष्टतामा पनि ट्रम्पले झोँककै भरमा आक्रमणको आदेश दिँदा धेरै सर्वसाधारण मारिए भने कुनै लामो योजनाविनाको शक्ति प्रदर्शनले सफलता दिने कुरा पनि भएन ।

ट्रम्प हरेक अमेरिकी सफलतालाई आफ्नो व्यक्तिगत निर्णयबाट प्राप्त प्रतिफलका रुपमा अर्थ्याउँछन् ।

ट्रम्पको विदेश नीतिप्रतिको असफलताले उनमा निकै ठूलो निराशा र कुण्ठा जन्माइदिएको छ

असफलता हात लागे पहिलेका राष्ट्रपतिको खराब नीतिले निम्ताएको अवस्था भन्दै आलोचना गर्छन् । ट्रम्पले उपराष्ट्रपतिसहित राष्ट्रिय सुरक्षा सल्लाहकार, मन्त्रीहरु र अमेरिकी गुप्तचर र सुरक्षा निकायको कुनै प्रवाह नगरी उत्तर कोरियाली नेता किम जोङ उनसँग व्यक्तिगत सम्बन्ध गाँसे ।

दुनियाँलाई आश्चर्यचकित पार्ने गरी आणविक निशस्त्रीकरण गर्ने उनको सोचाइले सफलता नपाएपछि अहिले उनी निराश छन् ।

ट्रम्पको विदेश नीति प्रतिको असफलताले उनमा निकै ठूलो निराशा र कुण्ठा जन्माइदिएको छ । युक्रेनमा पूर्व उपरराष्ट्रपतिका छोराको व्यापारलाई लिएर अनुसन्धान गर्न लगाई अर्को राष्ट्रपतिको कार्यकाल सुनिश्चित गर्ने राजनीतिले महाअभियोगको सामना गरिरहेका छन् ।

दबावबाटै इरानलाई वार्तामा ल्याई सफलताको जस आफूले लिने भन्दै ओबामाको कार्यकालमा भएको आणविक सम्झौता भंग गरे तर उल्टो अस्थिरता मात्र हात लाग्यो । तर्साएरै कुनै क्षतिबेगर भेनेजुएलाको सत्ता पलट गर्ने उनको अस्थिर निर्णयका कारण भेनेजुएलाले ठूलो अस्थिरताको सामना गरिरहेको छ ।

धम्काएरै मेक्सिकोलाई पर्खालको पैसा तिराउने चुनावी नारा व्यवहारिक बनेको छैन । अमेरिकाका यूरोपेली साझेदारीहरु ट्रम्पको मुर्खतापूर्ण कामबाट आजित भएर व्यक्तिगत रुपमा उनीसँग टाढिएका छन् ।

अमेरिका विश्व मामिलाबाट टाढा रहनुपर्ने उनको धारणाले साझेदारहरुलाई निराश बनाइदिएको छ । अमेरिकी राष्ट्रपतिको पद र शक्तिलाई मात्र साझेदारहरुले सम्मान गरेका छन् । तर, ट्रम्पलाई कसैले विश्वसनीय रुपमा हेरेका छैनन् । ट्रम्पले सत्ता सम्हालेयता धेरै साझेदारहरुलाई आलोचना गर्ने, सार्वजनिक मानमर्दन गरिदिने र अनावश्यक समयमा आफ्नो मुडमा टेलिफोन गरी हैरानी बनाउने गरेका छन् ।

मध्यपूर्वबाट सेना फिर्ता ल्याई आफ्ना मतदातामाझ शान्तिवादी छवि देखाउने धोको होस् या चीनलाई गलाएर व्यापारिक सम्झौता गरी जस लिने सबै उनका महत्त्वाकांक्षामा ब्रेक लागेको थियो ।

यसअघि उनले सारेको चुनावी नाराहरु कार्यान्वयन हुन नसकेकाले उनी यसपटकको चुनावप्रति निराश छन् ।

महाअभियोगको सामना गरिरहेका उनका कुनै पनि कदमहरुका परिणाम र उद्देश्यहरु स्पष्ट छैनन् । ‘जे पर्छ, त्यही टर्छ’ भन्ने शैलीका साथ उनले अमेरिकी राष्ट्रपतिको ‘सुपर पावर’ चलाइरहेका छन्, जुन यसअघि उनले नाफाका लागि चलाइरहेका ट्रम्प टावरमा हुने व्यापारमा नाफाको कारोबारले मात्र काम गर्दैन ।

यदि ट्रम्पले थप जोखिम मोलेमा विश्व नै निकै डरलाग्दो अवस्थामा धकेलिन सक्छ । सामाजिक सञ्जालहरुमा पनि युद्धको सम्भावनालाई लिएर व्यापक टिप्पणी गर्दै तेस्रो युद्धको भय छाएको छ । यदि अमेरिका–इरानबीच साँच्चै नै युद्ध भएमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्ध हुनेछ ।

ट्रम्पको आक्रमण शंकास्पद

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता लिएका कुनै पनि निर्णयहरु सावधानीपूर्वक दीर्घकालीन सोचेर लिएका छैनन् । ट्रम्पको कच्चापन र निर्णयमा अदूरदर्शीताले गर्दा धेरै यो पुस्ताकै राम्रा मानिएका मन्त्रीहरुले भटाभट राजीनामा गरिसकेका छन् । अहिले उनी आफूप्रति बफादार र पदका स्वार्थीहरुले घेरिएका छन् । हरेक मामिलामा एकपछि अर्को असफलताले निराश ट्रम्पको हातमा अहिले सुप्रिम पावर छ ।

सन् २००१ सेप्टेम्बर ११ देखि अमेरिकी राष्ट्रपतिलाई युद्धमा जानसक्ने ठूलो अधिकार दिएको छ । यस्तो अधिकार अमेरिकी इतिहासकै अस्थिर र घमण्डी राष्ट्रपतिको हातमा रहँदा दुरुपयोग भएमा अमेरिकालाई सदाका लागि द्वन्द्वमा धकेल्न सक्छ ।

सुलेमानीको हत्या यसअघिका राष्ट्रपति बुस र ओबामाले पनि गर्न सक्थे । किनकि‌, उनैले संरक्षण गरेका लडाकुबाट अमेरिकाले ६ सयभन्दा बढी अमेरिकी सैनिक गुमाएको थियो । तर उनीहरु अर्को क्षेत्रीय युद्धमा नधकेलिन संयमित थिए ।

मध्यपूर्वको तनावलाई अनुमानविपरीत छिटो-छिटो बढाइरहनुमा ट्रम्प मुख्य कारक रहे पनि इरान पनि अछूतो छैन । ट्रम्पले राष्ट्रपति अभियानको दौडभर युद्धविरोधी छवि देखाएका थिए ।

तनाव थप बढ्दै नयाँ आक्रमण–प्रत्याक्रमण भएमा ठूलो युद्धको त्रास फैलिएको छ । एक अर्काविरुद्ध कठोर चेतावनीहरु आइरहेका छन् । दुवै देशले सुरक्षा र रक्षात्मक उपायका अलावा गुप्तचरी गतिविधि बढाएका छन् ।

इरान अमेरिकालाई मध्यपूर्वमा हैरान बनाएर फर्काएर आफ्नो प्रभुत्व विस्तार गर्न खराब कार्यहरु र हिंसा गर्दै आएको सबैमा प्रष्ट छ तर पनि ट्रम्प इरानले जस्तै गैरजिम्मेवारपूर्ण हिंसक कदममार्फत नै बदला लिन तल्लीन हुँदा मध्यपूर्व हिंसामा फस्ने खतरामा पुगेको छ ।

राष्ट्रपति उम्मेदवारी र पदभार सम्हालेपछि पनि अधिकांश भाषणमा ट्रम्प भन्थे, ‘हामीले मध्यपूर्वमा १९ वर्षको युद्धमा ६ खर्ब खर्च गरिसक्यौं, जुन खेर गएको पैसाले हामीले देशको दुई पटकसम्म पुर्ननिर्माण गर्न सक्थ्यौं ।’ ट्रम्प महान राष्ट्र अन्त्यहीन युद्धमा जान नहुने र स्वदेशकै अर्थतन्त्र बलियो बनाउने र रोजगारी सिर्जना गर्ने युद्धविरोधी नीतिमा थिए । तर, तिनै ट्रम्प कसरी ‘यू टर्न’ भएर ठूलो जोखिम मोलिरहेका छन् भनेर सबै आश्चर्यमा छन् ।

यदि ट्रम्पले थप जोखिम मोलेमा विश्व नै निकै डरलाग्दो अवस्थामा धकेलिन सक्छ । सामाजिक सञ्जालहरुमा पनि युद्धको सम्भावनाका बारेमा व्यापक टिप्पणी गर्दै तेस्रो युद्धको भय छाएको छ । यदि अमेरिका–इरानबीच साँच्चै नै युद्ध भएमा दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्ध हुनेछ ।


(यो विश्लेषण समाचार एजेन्सीहरु, सञ्चारमाध्यमका अलावा अमेरिकी रक्षा र प्रतिआतंकवादसम्बन्धी अधिकारीहरुसँगको कुराकानीमा समेत आधारित भई तयार पारिएको हो ।)

यो पनि पढ्नुहोस्

अमेरिकाले हत्या गरेका मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डरको नालीबेली

मध्यपूर्वमा ठूलो युद्ध भड्किने खतरा !


भर्खर

0