अमेरिकाले हत्या गरेका मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डरको नालीबेली « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

अमेरिकाले हत्या गरेका मध्यपूर्वकै सबैभन्दा रहस्यमयी सैन्य कमाण्डरको नालीबेली



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाको हवाई कार्वाहीमा इराकको राजधानी बग्दादमा मारिएका इरानी जनरल कासिम सुलेमानी एक रोचक इतिहास बोकेका शक्तिशाली सैन्य कमाण्डर थिए ।

इरानको सैन्य रणनीतिका ‘मास्टरमाइन्ड’ मानिने सुलेमानी मध्यपूर्वकै सबैभन्दा रहस्यमय तथा शक्तिशाली सैनिक कमाण्डर थिए ।  उनलाई इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खमेनीपछि दोस्रो शक्तिशाली व्यक्तिका रुपमा चिनिन्थ्यो । उनले इरानको सर्वोच्च नेता आयतुल्लाह अली खोमेनीसंगको प्रत्यक्ष समन्वयमा इरानको सबै वाह्य गोप्य सैन्य तथा गुप्तचरी गतिबिधिहरुको नेतृत्व गर्थे ।

सुलेमानी अन्य सैन्य कमाण्डरहरु भन्दा फरक थिए । उनी स्वयं युद्ध मैदानमै जान्थे। उनी अधिकांश समय कार्यालयमा भन्दा युद्ध मैदान र युद्ध रणनीतिको योजनामै बिताउथे । अमेरिकी रक्षा र गुप्तचर अधिकारीहरु सुलेमानी एक्लैले मध्यपूर्वको भविष्य नै निर्धारण गर्न सक्ने कमाण्डर ठान्थे । इरानले मध्यपूर्वमा बढाइरहेको क्षेत्रीय अभियानको  नेतृत्व उनैले गरिरहेका थिए ।

इराक, सिरिया, लेबनान र यमनको युद्धमा उनको व्यक्तिगत निर्देशनमै काम हुने गरेको ठानिन्छ । अमेरिकाको आतंकवादीको सूचीमा रहेका सुलेमानी इरानले सहायता गरेका मध्यपूर्वका शिया लडाकुहरुका लागि भने ठूलो प्रेरणाका स्रोत थिए ।

इरानीहरुका लागि सुलेमानी अमेरिकी प्रतिबन्ध र दबाबविरुद्ध लड्ने राष्ट्रिय प्रतिककै रुपमा थिए ।

इरानको क्षेत्रीय प्रभुत्वका लागि भइरहेको छद्म युद्धको पर्दा पछाडिबाट नेतृत्व गर्ने उनी इरानको क्षेत्रीय प्रभुत्व बिस्तार गर्ने सबैभन्दा महत्वपूर्ण व्यक्ति थिए ।

सुलेमानी । तस्वीर: रोयटर्स

अमेरिकाको लागि भने उनी ठूलो टाउको दुखाइका विषय थिए । पटक पटक अमेरिकाले उनको हत्याको प्रयास गरेपनि ठूलो युद्ध भड्कनसक्ने भयका कारण जोखिम मोलेको थिएन ।

सन् २०१७ डिसेम्बर २ मा तत्कालीन सीआइएका निर्देशक (हालका परराष्ट्रमन्त्री) माइक पम्पेओले एक मध्यपूर्व गुप्तचर विभाग प्रमुख मार्फत सुलेमानीलाई लिखित पत्राचार नै गरेका थिए । पत्रमा उनले लेखेका थिए,’ स्पष्ट होस्, यदी इराकमा कुनैपनि अमेरिकी हितमा आक्रमण भए या हानी भए हामी तपाई र इरानलाई जवाफदेही बनाउँने छौं।’

सुलेमानी अमेरिकाका लागि भने एक्लै पनि निकै खतरनाक व्यक्ति थिए ।  सन् १९५७ मार्च ११ मा जन्मेका सुलेमानी सन् १९८० देखि १९८८ सम्म भएको इरान–इराक युद्धमा समेत सामेल थिए । सुलेमानी इरानभित्र निकै साहसीक कमाण्डरका रुपमा चर्चित थिए ।

सन् २००३ मा अमेरिकाले इराक आक्रमण गर्नु पूर्व खासै चर्चामा नरहेका सुलेमानी अमेरिकाबिरोधी शिया लडाकुको बिद्रोह र अमेरिकाले उनको हत्या गर्ने धारणा राखेपछि एकाएक चर्चामा आएका थिए । उनीयसअघि पनि धेरै पटक–पटक इराक र सिरियामा मारिएको अफवाहरु भने नआएका होइनन् ।

सुलेमानीको पर्दापछाडि बस्ने ‘स्याडो’ छविलाई सिरियाली सत्ता जोगाउने र इस्लामिक स्टेटविरुद्धको युद्धले चर्चाको केन्द्रमा पुर्‍याइदिएको हो । सन् २००७ मा अमेरिका र संयुक्त राष्ट्रसंघले खोलेमानीलाई नाकाबन्दी लगाएको थियो तर उनको यात्रा भने रोकिएको थिएन ।  सन् २०११ मा अमेरिकाले उनलाई म्याक्सिकन लागूऔषध तस्कर लगायत अमेरिकामा साउदी कुटनीतिज्ञको हत्या गर्न लगाएको अभियोग लागाएको थियो ।

आयतुल्लाह अली खोमेनीसँग सुलेमानी ।

अमेरिकी अधिकारीहरु उनलाई ‘वर्थी एडवर्सरी’ मान्थे । उनी इराकमा अमेरिकाबिरुद्ध शिया लडाकुहरुको बिद्रोहपछि वर्षौसम्म अमेरिकाको एक नम्बर शत्रु थिए ।  उनलाई अमेरिकीहरुलाई दुस्साहसीको रुपमा अर्थ्याउँदै लगातार निगरानीमा राखिरहेका थिए । किनकी अमेरिकीहरु उनलाई इरानी विदेश नीतिको सबैभन्दा ठूलो हतियार ठान्थे। कतिपयले उनलाई अमेरिकी गुप्तचर विभाग सीआइए र अमेरिकी विशेष सैन्य दस्ता दुबैसँग रहेको अधिकार उनी एक्लैमा रहेको ठान्थे।

सुलेमानीले दुई दशकअघि (सन् १९९८ देखि) इरानको सबैभन्दा शक्तिशाली कुर्द फोर्सको प्रमुखको जिम्मेवारी सम्हालेयता मध्यपूर्वमै ठूलो उतारचढाब आयो ।

उनले इरानका विरोधीहरुको हत्या गर्नेदेखि, अन्य देशका सहयात्रीहरुलाई हतियार, तालिम र रकम दिनेसम्मको क्रियाकलापलाई तिब्रता दिए ।

इराकमा उनैले दिएको निर्देशनको पालना गर्ने लडाकुहरुबाट सयौं अमेरिकी सैनिकले ज्यान गुमाए। सुलेमानीले हरतबरबाट इरानको क्षेत्रीय प्रभुत्व बिस्तार गरे । रणनीतिक साझेदारीतासँगै इराक, सिरिया र लेबनानको राजनीति र सैनिक क्षेत्रमा पकड जमाए । व्यक्तिगत रुपमा भने उनी निकै शान्त स्वभावका तथा कम मात्र बोल्ने गर्थे ।

उनी अधिकांश समय पर्दापछाडिनै रहे।  सैद्धान्तिक रुपमा उनले नेतृत्व गरेको कुर्द फोर्सले इजरायलबाट जेरुसलेमलाई मुक्त गराउने उदेश्य राखेको छ ।

सन् २०११ मा मध्यपूर्व आएको आन्दोलनको आँधीले धेरै शासन विस्थापित गर्‍यो । आन्दोलनको हुरी इरानको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार देश सिरिया प्रबेश गरेपछि बिस्तारै रक्तपातपूर्ण बिद्रोह शुरु भयो ।

तस्वीर : गेट्टी इमेज

सुलेमानीको जिम्मेवारी इरान समर्थक बसर अल असदलाई सत्तामै टिकाइराख्नु रह्यो । असदले एकपछि अर्को गर्दै भूभागहरु गुमाउँदै गए। सिरियाली सैनिकहरु भाग्न थाले । इरानका प्रतिद्धन्दी शुन्नी देशहरुबाटै समर्थनप्राप्त लडाकुहरुसंग आफ्नो साझेदारको हारलाई सहजै स्विकार्ने पक्षमा थिएनन सुलेमानी ।

सिरियामा असदको पतन इरानको क्षेत्रीय प्रभुत्वको रणनीतिक हार थियो। सिरियामा पकड गुम्दा लेबनानका हेजबुल्लाहलाई समर्थन गर्ने क्षमतामात्र नभएर विश्वसनियता नै गुम्थ्यो ।  तर इरान आफै संकटमा रहेपनि सुलेमानीले सिरियालाई इरानकै अस्थित्व गुम्ने खतराको रुपमा लिए ।

इरानको क्षेत्रीय प्रभाव बिस्तारमा लागि धेरै ठूलो आर्थिक र मानवीय मूल्य चुकाएर उनले आफ्ना साझेदारहरुलाई जोगाए र निरन्तर सहायता गरे। संभवत सुलेमानीले इरानी सर्वोच्च नेता आयतुल्लाह अलि खमेनीलाई विश्वास नदिलाएको भए इरानमा अरुले जोखिम मोलेर सिरियाली सत्तामा बसर अल असलाई टिकाउन संभव थिएन ।

इरानीले आवश्यकता परेका बेला जस्तोसुकै सहायता गर्छन् र आफ्ना साझेदारको रक्षाका लागि कुनै कसर बाँकी राख्दैनन् भन्ने उनी विश्वास गर्थे। तर असदका सैनिक लड्न सक्ने हालतमा रहेनन् । सन् २०१२ को अगष्टमा उनका ४८ जना लडाकु बिद्रोहीले पक्राउ गरे। इरानले धार्मिक पर्यटकको रुपमा अथ्र्याएपनि पछि सुलेमानीकै पहलमा २ हजाभन्दा बढी पक्राउ परेका बिद्रोही लडाकु रिहा गरी उनीहरुलाई छुटाए ।

सुलेमानीको गोप्य सहायताले असदलाई रक्षा गर्न सक्ने अवस्था रहेन किनकी सिरियाली सैनिकनै लड्न सक्ने देखिएनन् । सिरियामा इरानले गरिरहेको सैन्य सहायताको प्रत्यक्ष आफ्नै नियन्त्रणमा ल्याएर लड्न सुलेमानी आफै बारम्बार दमास्कस जान थाले। उनी आफै युद्ध मोर्चाहरुमा बारम्बार जान्थे। बिस्तारै सिरियामा उनैले युद्धको नेतृत्व लिए ।

सिरियामा सुलेमानीको युद्ध भने सहज भएन ।  इरानले धेरै आर्थिक र मानवीय क्षति बेहोर्‍यो। उनले असदलाई टिकाइराख्न इरानका अलावा लेबनान, इराक, अफगानीस्तान, पाकिस्तानदेखि शिया लडाकुहरु सिरिया लान थाले। उक्त समय हप्तामा मात्र जाने इरानी जहाजहरुले दैनिक उडान भर्न थालेका थिए ।

बिमानहरुमा लडाकु र हतियारहरु हुन्थे। सन् २०१३ को अप्रिलमा उनकै निर्देशनमा लेबनानको इरान समर्थित हेजबुल्लाह लडाकुले सिरियाली बिपक्षीबिरुद्ध सिरिया प्रवेश गरी युद्ध थाल्यो ।

झण्डै २ महिना एक हप्ताको भयानक युद्धपछि सिरियाको रणनीतिक अलकुसेर क्षेत्रबाट बिद्रोहीलाई हटायो। सिरियाको अलकुसेर क्षेत्र इरान समर्थिक हेजबुल्लाहको पकड रहेको लेबनानको बाका भ्यालीमा रहेको मिसाइल भण्डारण केन्द्र तथा अन्य रणनीतिक अस्त्र संचालन गर्ने अत्यन्त नजिक रहेको क्षेत्र भएकाले सुलेमानीलाई त्यसलाई निकै प्राथमिकता दिँदै व्यक्तिगत रुपमै सामेल भएका थिए ।

सिरियाको युद्धमा रसियालाई तान्नेपनि उनै सुलेमानी थिए । उनले धेरैपटक मस्कोमै पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई भेटेर आश्वस्त पारेका थिए ।

सन् २०१४ को शुरुवातबाट इराक र सिरियामा इस्लामिक स्टेट आतंकवादी संगठनको शक्तिशाली उदय भयो। मध्यपूर्वको सिंगो छद्म युद्धमै बदलाब आयो । अमेरिका र क्षेत्रीय देशहरुको खतराको प्रथामिकता इरानभन्दा इस्लामिक स्टेटतर्फ मोडियो । सुनेमानीको युद्धभने अझ बहुआयामीक हुन पुग्यो । इरानको समर्थन प्राप्त इराकमा रहेको इरानी सत्ताले इस्लामिक स्टेटसँग नाटकीय रुपमा अधिकांश भू–भाग गुमायो ।

इराकी सेनाको पतनपछि सन् २०१४ को जुनमा इराकले एकै रातको भीडन्तमा दोस्रो ठूलो शहर मोसुल गुमायो। त्यस्तै एकपछि अर्को गर्दै रणनीतिक शहरहरु टिक्रीट, सामरादेखि उत्तरमा र्किकुट, पश्चिमा जोडर्न र सिरियासँगका सबै सीमा इस्लामिक स्टेटले नियन्त्रणमा लियो । इराक र सिरियाको नक्सानै मेटेर स्लामिक स्टेटले शासन गर्न थाल्यो ।

इरानका लागि सिरिया र इराकमा आफ्ना साझेदारले गुमाइरहेको नियनत्रण ठूलो खतराको घन्टी थियो। एकातर्फ सिरियाको महंगो युद्ध संचालन गरिरहेको इरानले फेरि इराकमा इस्लामिक स्टेट बिरुद्धको युद्धको नेतृत्वपनि उनै सुलेमानीलाई दियो। इरानको पहिलो प्राथमिकतामा सिया क्षेत्रहरु र राजधानी बग्दादको सुरक्षा गरी इस्लामिक स्टेटलाई रोक्नु थियो । सुलेमानी केही कमाण्डरसहित बग्दाद हानिए ।

इराकको सम्पूर्ण सैनिक युद्ध लड्न नसक्ने भएकाले तत्कालै शिया धर्मगुरुहरुको आह्वानमा जनतालाई लड्न आह्वान गरिएको थियो ।  त्यसरी लड्ने अधिकांश शिया लडाकु समूहका कमाण्डर सुलेमानीका मित्रहरु थिए । केही अमेरिकाले इराक अतिक्रमण गर्दा उनकै आदेशमा अमेरिकी सेनाको हत्यामा जिम्मेवार इराकी लडाकु समूहहरु थिए। इराकका मन्त्रीहरुनै पद छाडि इस्लामकि स्टेट बिरुद्धको युद्धको कमाण्डर बनेका थिए र ती सबैका सञ्चालक थिए सुलेमानी । सुलेमानीले नै इरानबाट ट्रकका ट्रक हतियारहरु र सैन्य सल्लाहकारहरु इराक पठाए ।

सुलेमानी शिया लडाकुलाई संगठित गरी इस्लामिक स्टेट विरुद्धमा होमिएका थिए । सन् २०१४ को मध्यपछि उनी अधिकांश समय इस्लामिक स्टेट र अरु लडाकुहरु विरुद्धको कारवाहीमा होमिए

सिरियाको युद्धमा रसियालाई तान्नेपनि उनै सुलेमानी थिए । उनले धेरैपटक मस्कोमै पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई भेटेर आश्वस्त पारेका थिए । असदलाई सत्तामा टिकाउन सन् २०१५ सेप्टेम्बर ३० बाट सिरियामा रुसले सैन्य हस्तक्षेप गरेको थियो। हवाई कार्वाहीमा रुस रहेपनि स्थल कार्वाहीका लागि भने सम्पूर्ण व्यवस्थापन सुलेमानीले नै गरेका थिए ।

सुलेमानीले विनाशकारी युद्धको नेतृत्व गर्दा उनका धेरै पुराना र विश्वसनिय सैन्य मित्रहरु इरान बाहिरको युद्धभूमिमा मारिए ।  इरान–इराक युद्धका बेलामा निकै अनुभवी कमाण्डरहरु इरानले आफ्नो रणनीतिक साझेदारको रक्षाका लागि युद्धमैदानमा मारिए। निकै महंगो मूल्यबाट पनि जित हासिल गरी इरानको क्षेत्रीय प्रभुत्व यथावत राखे। उनी अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको पनि हेडलाइन बन्न थाले।

उनैको निर्देशनमा इरान संलग्न रहेको यमनमा पनि रक्तपात छाएको थियो। साउदी समर्थक सत्तालाई इरान समर्थित हुत्ती बिद्रोहीले हटाइदिएपछि सन् २०१५ मार्च २६ देखिको साउदी आक्रमणले सिंगो यमन ध्वस्त भएको छ। सुलेमानीलाई इराक र सिरियाको युद्धमा इस्लामिक स्टेटबिरुद्धको युद्धमा जित हासिल गरेकाले निकै साहसीक कमाण्डरको रुपमा अर्थ्याइन्छ।

सुलेमानी शिया लडाकुलाई संगठित गरी इस्लामिक स्टेट विरुद्धमा होमिएका थिए । सन् २०१४ को मध्यपछि उनी अधिकांश समय इस्लामिक स्टेट र अरु लडाकुहरु विरुद्धको कारवाहीमा होमिए ।

यो द्वन्द्व भने इरान र उनकै लागि पनि निकै महंगो थियो । इजरायली आक्रमणमा इरानी कुर्द फोर्सका केही महत्वपूर्ण कमाण्डरहरु मारिए ।  केही इस्लामिक स्टेटसंगको युद्धमा मारिए भने केहीले सिरियाली सत्ताविरुद्ध युद्ध लडिरहेका लडाकुहरुबाट मारिए । तर सुलेमानी थाकेनन्, उनले लेबनान, इराक, पाकिस्तान अफगानिस्तान देखि अन्य देशहरुबाट समेत शिया युवाहरु भर्ना गरे । इरानमा तालिम गराएर सिरियाली युद्धको मोर्चा समाले ।

इरानका शक्तिशाली कमाण्डर इराकको बग्दादमा मारिएपछि मध्यपूर्वको तनाव उत्कर्षमा पुग्ने देखिन्छ

सिरियाको सत्ता विरुद्धको लडाईलाई उनले धार्मिक युद्धसँगै जोडेर रक्षा गर्दा धेरै मारिए । बिदाई हुँदा उनी प्रायजसो अन्तिम सम्मान दिन आफै पुग्थे । गोप्य युद्धका उनका धेरै सारथीहरु सिरिया, इराक, लेबनान र यमनसम्म मारिएपनि उनको सक्रियता घटेन। इरानभित्र प्रभाव बलियो बन्दै गयो भने अधिकांश स्थानमा आफ्ना लडाकुहरुको युद्धमोर्चाको आफै प्रत्यक्ष निरीक्षण गर्ने भएकाले सिया लडाकुका बीच साहसका प्रतिक नै मानिन्थे उनी। सुलेमानी इरानभित्र इरानको वाह्य नीतिमा विदेशमन्त्रीभन्दा प्रभावशाली थिए। यसरी युद्धै युद्धबाट इरानी शासनको निकै महत्वपूर्ण व्यक्तिका रुपमा सुलेमानी दर्ज भएका थिए ।

नाम नबताउने शर्तमा एक अमेरिकी सुरक्षा अधिकारीले खबरसँग कुराकानी गर्दै भने– ”सुलेमानीले अधिकांश करियरको समय विदेशमै बिताए । इरानको क्षेत्रीय प्रभुत्व बिस्तार गर्नुमा सुलेमानी व्यक्तिगत रुपमै धेरै संलग्न भए ।  सन् २०१४ को अन्त्यतिर मध्यपूर्वको असाध्यै खराब समयमा पनि सुलेमानी बग्दाददेखि दमास्कस र बेरुतसम्मको यात्रा हाम्रो निगरानीबाहिर थिएन । तर हामीले निशाना बनाएनौं, किनकी हाम्रो प्राथमिकता इस्लामिक स्टेटलाई ध्वस्त गर्नु थियो तरपनि इस्लामिक स्टेटको पतनपछि उनले निम्त्याउनसक्ने क्षेत्रीय अस्थिरताप्रति चिन्तित थियौं। ”

सुलेमानीको हत्याको बदलामा इरानले कुनैपनि अमेरिकी निशानमा इरानले प्रत्यक्ष वा इरान समर्थक लडाकुहरुबाट आक्रमण गर्नसक्ने संभावना प्रबल छ । अनि फेरि अमेरिकाले फेरि आक्रमण गर्दा अमेरिका र इरानबीच भिडन्तकै संभावना समेत नर्कान सकिँदैन । अनि दुईबीचको लडाईको चेपुवामा भने इराक परेको छ । जसमा दुबै देशको समान पकड छ ।  इरानका शक्तिशाली कमाण्डर इराकको बग्दादमा मारिएपछि मध्यपूर्वको तनाव उत्कर्षमा पुग्ने देखिन्छ ।


भर्खर

0