कांग्रेसमा पारिवारिक विरासतका यी हस्तीहरू | Khabarhub Khabarhub

कांग्रेसमा पारिवारिक विरासतका यी हस्तीहरू



काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मिति, आगामी फागुन ७–१०, मा हुने सम्भावना करिब समाप्त भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थानीय तहमा क्रियाशील सदस्यता वितरणको काम अनिश्चितकालका लागि स्थगित भएको छ ।

२०७८ भदौ २० गतेभित्र कुनै पनि हालतमा १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता नेपाली कांग्रेसलाई छ । महाधिवेशनको अर्को मिति अनिश्चित भए पनि समयसीमा भने निश्चित छ । यसैले सभापति पदका सम्भावित उम्मेदवारहरू भावी सम्भावनाको जोडघटाउमा छन् । गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल यसपटक निर्विकल्प छैनन् ।

इतर पक्षमा पौडेलको विकल्प खोज्ने सम्भावना भए पनि संस्थापन पक्षमा भने देउवा निर्विकल्प रहेको अनुमान राजनीतिक विश्लेषकहरूको थियो । तर, संस्थापन पक्षमा पनि देउवा निर्विकल्प हुने सम्भावना कमजोर भएको छ । दुवै पक्षमा विकल्पका रूपमा पारिवारिक विरासत बोकेका नेताहरू अघि सरेका छन् ।

२०७८ भदौ २० गतेभित्र कुनै पनि हालतमा १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता नेपाली कांग्रेसलाई छ । महाधिवेशनको अर्को मिति अनिश्चित भए पनि समयसीमा भने निश्चित छ ।

नेपाली कांग्रेसको सात दशकभन्दा लामो यात्रामा पारिवारिक विरासत बोकेका नेताहरू सभापति पदका लागि प्रतिस्पर्धामा नउत्रेको गत १३औँ महाधिवेशनमा मात्रै हो । देउवा र पौडेल दुवै सामान्य किसानका छोरा थिए । १४औँ महाधिवेशनमा भने देउवाको विकल्पमा विमलेन्द्र निधि अघि सरेका छन् ।

निधिको विरासत

निधि तीन पुस्ते विरासत बोकेका नेता हुन् । उनका बाजे राजेश्वर निधि भारतीय स्वतन्त्रतता संग्रामका हस्ती हुन् । महात्मा गन्धीले आरम्भ गरेको दाँडी मार्च अभियानको आरम्भमा सामेल ७९ जनामध्ये दुई जना नेपाली थिए । राजेश्वर निधि जनकपुरकै एक जना गिरीलाई लिएर त्यो अभियानमा सामेल भएका थिए । राजेश्वरका छोरा महेन्द्रनारायण निधि २००७ सालको जनक्रान्तिका मुख्य योद्धामध्येका हुन् । उनी नेपाली कांग्रेसको महामन्त्रीसम्म भए । विमलेन्द्र तेस्रो पुस्ताका हुन् ।

यसैगरी संस्थापन इतर पक्षमा प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइराला पौडलको विकल्पका रूपमा खडा भएका छन् । यी तीनै जना तीनपुस्ते विरासत भएका नेता हुन् ।

सिंहको विरासत

प्रकाशमान सिंहका बाजे रत्नमान सिंहले राणाकालमै काजीको जिम्मेवारी पाएका थिए । राणाकालमा सर्वसाधरण जनताको तर्फबाट श्रीपेच लगाउने पदमा पुग्नेमा रत्नमान पहिला थिए ।

यसै गरी प्रकाशमान पिता गणेशमान सिंहले राणाशासन विरुद्ध विद्रोहमा उत्रिएर जेलनेल भोगे । एक हिसाबले आफ्नै बाजेको विरोधमा उत्रनुजस्तै थियो गणेशमानको उक्त कदम । बाजेको शिरमा श्रीपेच थियो र उनकै काखमा हुर्केका नाति सत्ताको विद्रोहमा थिए ।

गणेशमान सिंह २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए । जनआन्दोलनपछि उनले आफूलाई प्राप्त प्रधानमन्त्री पद नै त्यागिदिए । नेपाली कांग्रेसको राजनीतिमा वीपी कोइरालापछिको दोस्रो स्थान गणेशमानको छ ।

कोइरालाहरूको विरासत

महान समाज सुधारक अभियन्ता कृष्णप्रसाद कोइरालाको निधन राणाहरूको जेलभित्रै भोकहड्तालका क्रममा भएको हो । उनका पाँच भाइ छोरामध्ये जेठा मातृका २००७ सालको जनक्रान्तिका मुख्य कमाण्डर थिए । उनी राणाहरूपछि नेपालको पहिलो प्रधानमन्त्री भए । माहिला बीपी नेपाली कांग्रेसको संस्थापक सभापति हुन् । उनी मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए ।

आज पनि कांग्रेसले बीपीकै नीति र सिद्धान्त अङ्गीकार गरेको दाबी गर्दै आएको छ ।

कान्छा छोरा गिरिजाप्रसाद मुलुकको दोस्रो जननिर्वाचित प्रधानमन्त्री हुन् । जनआन्दोलन २०६२/६३ का कमाण्डर गिरिजाप्रसादलाई गणतन्त्रका पिता पनि भन्ने गरिन्छ ।

यतिबेला कोइराला परिवारको विरासत थाम्दै नेपाली कांग्रेसको नेतृत्व लिन अघि सरेका डा. शशांक र डा. शेखर कृष्णप्रसाद कोइरालाका नाति हुन् । जसमध्ये शशांक बीपीका छोरा हुन् । डा. शेखर बीपीका भतिजा हुन् । शेखरका आमाबाबुको पनि कांग्रेसमा उल्लेखनीय योगदान छ ।

प्रतिस्पर्धामा विरासतका हस्तीहरू

कोइराला परिवारको विरासतका रूपमा शशांक र शेखरमध्ये को अघि सर्लान्, निर्क्यौल भइसकेको छैन । विमलेन्द्र र प्रकाशमानले करिब निर्क्यौल गरिसकेका छन् । कांग्रेस भित्रका यी चार हस्तीहरूको पारिवारिक विरासतसँगै योगदान तथा निरन्तरता पनि खोजी हुन थालेको छ । नेपाली कांग्रेसबाहिर यसमा निकै चासो देखिएको छ ।

पारिवारिक विरासतकै कारण यी चार हस्तीहरूले पार्टीभित्र आफ्नो हैसियत बढाउँदै लगेर सभापति बन्नेसम्मको आकांक्षा राखेका हुन् कि भन्ने जिज्ञासा उत्पन्न हुनु स्वाभाविकै हो । यो प्रश्नको उत्तर खोज्दा चार नेताको पृष्ठभूमि फरक देखिन्छ । विमलेन्द्र निधिको पृष्ठभूमि अन्यको भन्दा केही फरक छ । आफ्ना पिताका कारण उनले कतिपय अवसरहरू गुमाउनु परेको थियो ।

कोइराला परिवारको विरासतका रूपमा शशांक र शेखरमध्ये को अघि सर्लान्, निर्क्यौल भइसकेको छैन । विमलेन्द्र र प्रकाशमानले करिब निर्क्यौल गरिसकेका छन् ।

कांग्रेसले २०४८ सालको आम निर्वाचनमा प्रतिनिधिसभाको सदस्य उम्मेदवारीमा युवाहरूलाई अवसर दिन एउटा मापदण्ड तयार गर्‍यो, नेविसंघका सबै अध्यक्षहरूलाई उम्मेदवार बनाउने । पञ्चायतमा प्रवेश गरेका कारण पहिलो सभापति विपिन कोइराला रिङ आउट भए । दोस्रो अध्यक्ष शेरबहादुर देउवाले डडेलधुराबाट सांसदको टिकटमात्रै पाएनन्, सुदूपश्चिमका सबै जिल्लामा टिकट वितरणको अवसरसमेत पाए ।

चौथो अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरबाट, पाँचौँ अध्यक्ष बलबहादुर केसीले ओखलढुंगाबाट र छैठौँ अर्थात बहालवाला अध्यक्ष बालकृष्ण खाँणले रूपन्देहीबाट टिकट पाए । तेस्रो अध्यक्ष निधि रिङ आउट भए । यसो हुनुको एउटामात्रै कारण थियो, उनका पिता महेन्द्रनारायाण निधिलाई टिकट दिनुपर्ने अवस्था ।

एउटै परिवारका दुईजनालाई टिकट नदिने मापदण्ड कोइराला परिवार र गणेशमान सिंहको परिवारमा भने लागू भएन । त्यतिबेला कांग्रेस पंक्तिमा जबरजस्तरूपमा उठेको एउटा प्रश्न थियो, मापदण्ड पुग्दापुग्दै पनि महेन्द्रनारायण निधिका छोराले टिकट नपाउने र मापदण्डविपरीत गणेशमानकै छोरा प्रकाशमानले किन पाउने ?

काठमाडौँ कांग्रेसका तत्कालीन नेता मार्शलजुलम शाक्यले चुनावी आमसभामै गणेशमान सिंहलाई कटाक्ष गर्दै उक्त प्रश्न राखेका थिए । शाक्यले यस्तो प्रश्न राख्नुको पनि कारण थियो । २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा गणेशमान सिंहले काठमाडौं कांग्रेसको सभापति पदबाट शाक्यलाई हटाएर प्रकाशमानलाई पदस्थापन गराएका थिए ।

त्यसो त विमलेन्द्र पनि जनकपुर क्याम्पसको स्ववियु सभापति, केन्द्रीय सदस्य हुँदै नेविसंघको अध्यक्ष भएका थिए । २०४८ सालमा सांसदको टिकट नपाएकै कारण निधि नेपाली कांग्रेसको राजनीतिक प्रतिस्पर्धाका विजयकुमार गच्छदार, खुमबहादुर खड्का, गोविन्दराज जोशी लगायत धेरै नेताभन्दा पछि परे ।

विमलेन्द्र र प्रकाशमान दुवै जना २०५७ सालमा पोखरामा सम्पन्न दशौँ महाधिवेशनबाट एकसाथ कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । निधिले २०५३ सालमा काठमाडौँमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला कांग्रेसमा पाँच विकास क्षेत्रबाट एकएक जना गरी पाँच जनामात्रै केन्द्रीय सदस्य निर्वाचित हुने र अरू सबै मनोनित हुने प्रावधान थियो । निर्वाचित केन्द्रीय सदस्यहरू क्षेत्रीय कमाण्डर हुन्थे । मध्यमाञ्चल विकास क्षेत्रबाट निधिले उमेदवारी दिँदा प्रकाशमान सिंह समर्थक थिए । दशौँ महाधिवेशनपछि विमलेन्द्र र प्रकाशमानबीच को सिनियर भन्ने द्वन्द्व छ ।

त्यतिबेला कांग्रेस पंक्तिमा जबरजस्तरूपमा उठेको एउटा प्रश्न थियो, मापदण्ड पुग्दापुग्दै पनि महेन्द्रनारायण निधिका छोराले टिकट नपाउने र मापदण्डविपरीत गणेशमानकै छोरा प्रकाशमानले किन पाउने ?

राजनीतिक सक्रियता र निरन्तरताका हिसाबले निधि अगाडि छन् । अवसरका हिसाबले प्रकाशमान अगाडि छन् । १२औँ महाधिवेशनको पूर्वसन्ध्यामा प्रकाशमान उपसभापति थिए भने निधि महामन्त्री । १२औँ महाधिवेशनमा दुवै जना महामन्त्री पदमा प्रतिस्पर्धामा उत्रिए, प्रकाशमान निर्वाचित भए ।

कोइराला परिवारका दुवै हस्ती डा. शशांक र डा. शेखर पार्टी विभाजनपछि सम्पन्न ११औँ महाधिवेशनबाट केन्द्रीय समितिमा प्रवेश गरेका हुन् । त्यसअघि यी दुवै नेता पार्टीको पदीय जिम्मेवारीमा थिएनन् । दुवै जना आआफ्नो पेशामा थिए तर पार्टीकै सदस्यका रूपमा नेपाली कांग्रेसलाई योगदान गर्थे ।

निरन्तरताका हिसाबले नेतृत्वका आकांक्षीमध्ये सभापति देउवा र वरिष्ठ नेता पौडेलपछि निधिको नाम आउँछ । तर, प्रकाशमान र कोइरालाबन्धुद्वय डा. शेखर र डा. शशांकको तुलनामा निधिसँग पारिवारिक विरासतका रूपमा कार्यकर्ता छैनन् । नेपाली कांग्रेसको ७४ वर्षको इतिहासमा कोइराला परिवारको प्रभुत्व अविछिन्न रहेको छ ।

गणेशमान सिंह पनि स्थापनाकालदेखि पार्टी छाड्नु अघिसम्म कांग्रेसका प्रभुत्वशाली नेता थिए । गणेशमानलाई कांग्रेसले सर्वमान्य नेता मानेको छ । २०४६ सालको जनआन्दोलनका कमाण्डरका रूपमा गणेशमान अन्य पार्टीबाट पानि सर्वोच्च मान पाएका नेता हुन् ।

गान्धीवादी आदर्शका महेन्द्रनारायण निधि भने यो मामिलामा लगभग निरपेक्ष थिए । कार्यकर्तालाई अवसर बाँड्ने कुरामा कहिल्यै पनि उनको ध्यान गए । पार्टीले तोकेको मापदण्ड पुगेका आफ्नै छोरालाई पनि सांसदको टिकट दिलाउन अडान लिएनन् । छोराले टिकट पाएपछि आफू सक्रिय राजनीतिबाट बाहिरिए ।

निरन्तरताका हिसाबले नेतृत्वका आकांक्षीमध्ये सभापति देउवा र वरिष्ठ नेता पौडेलपछि निधिको नाम आउँछ । तर, प्रकाशमान र कोइरालाबन्धुद्वय डा. शेखर र डा. शशांकको तुलनामा निधिसँग पारिवारिक विरासतका रूपमा कार्यकर्ता छैनन् ।

यी चार हस्तीमध्ये कोइरालाबन्धु र प्रकाशमानले पारिवारिक विरासतका रूपमा नाम र आदर्शका साथ कार्यकर्ताहरू समेत प्राप्त गरेका छन् । विमलेन्द्रले पारिवारिक विरासतका रूपमा नाम र आदर्शमात्रै पाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १२ : १५ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ