एउटा यस्तो ‘विश्वस्तरीय’ अस्पताल जो कतै दर्ता छैन | Khabarhub Khabarhub

एउटा यस्तो ‘विश्वस्तरीय’ अस्पताल जो कतै दर्ता छैन


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय राजधानी काठमाडौंको कान्तिपथमा ‘ग्राण्डी सिटी हस्पिटल’ नामको एउटा अस्पताल छ । वेबसाइटमा दिइएको जानकारी अनुसार २४ शय्याको उक्त अस्पतालले विश्वस्तरीय सेवा उपलव्ध गराउँछ ।

अस्पतालले आधुनिक प्रविधिको अधिकतम उपयोग गरी विश्वस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्ने उद्देश्य राखेको वेबसाइटमा उल्लेख गरिएको छ ।

अस्पतालमा इएनटी, अफ्थाल्मोलोजी, स्किन, युरोलोजी/नेफ्रोलोजी, कार्डियोलोजी, गाइनोकोलोजी, जनरल सर्जरी, न्युरो सर्जरी, हाडजोर्नी, बालरोग, मुटुरोग, आइसीयु एचसीयु, एनआइसीयु लगायत २६ वटा डिपार्टमन्ट रहेको उल्लेख गरिएको छ ।

वेबसाइटमा विभिन्न विभागमा ५३ जना चिकित्सकहरूको नाम समावेश छ । यति आधुनिक सेवा दिने ग्राण्डी सिटी हस्पिटल ७ वर्षदेखि सञ्चालनमा छ ।

अनौठो के छ भने राजधानी शहरको केन्द्रमा रहेको र विश्वस्तरीय दाबी गरिएको ग्राण्डी सिटी हस्पिटल राज्यका कुनै पनि निकायमा दर्ता छैन ।

ग्राण्डी सिटी हस्पिटल स्थानीय तह, प्रदेश तथा संघका कुनै पनि निकायमा संस्था दर्ता नरहेको पाइएको छ । दर्ता नभई अस्पताल सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाले खोजी गरेको थियो ।

महाशाखाले गत असार ३१ गते ग्राण्डी सिटी हस्पिटललाई पत्राचार गरेर संस्थाको स्वास्थ्य सेवा सञ्चालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि तीन दिनभित्र पठाउन निर्देशन दिएको थियो ।

उक्त हस्पिटलले विभागको पत्राचारको वास्ता गरेन, मागेको कुनै पनि विवरण बुझाएन । महाशाखाले गत असार २६ गते वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरी उक्त अस्पतालको दर्ता प्रक्रियाबारे सोधेको थियो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले गत साउन ८ गते जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंलाई पत्राचार गर्दै उक्त अस्पतालको दर्ताबारे सोध्यो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले खोजी गर्दा ग्राण्डी सिटी हस्पिटल दर्ता भएको फेला परेन ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले उक्त अस्पताल दर्ता नभएको जानकारी साउन ९ गते स्वास्थ्य सेवा विभागलाई दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखालाई पठाएको पत्रमा भनिएको छ :

प्रस्तुत विषयमा ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिको सञ्चालन अनुमति सम्बन्धमा तहाँबाट जानकारी माग भएको सम्बन्धमा यस कार्यालयको अभिलेख अनुसार उक्त स्वास्थ्य संस्थाले यस कार्यालयबाट स्वास्थ्य संस्था सञ्चालनको अनुमति लिएको नदेखिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

उजुरीको आधारमा ग्राण्डी सिटीको दर्ता प्रक्रियाबारे अस्पताललाई पत्राचार गर्दा पनि अस्पताल व्यवस्थापन सम्पर्कमा नआएको र मागिएको विवरण नपठाएको उपचारात्मक महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।

‘हामीले पत्राचार गर्दा समेत उहाँहरू (अस्पताल प्रशासन) ले अटेर गरेर कुनै जवाफ दिनु भएन,’ डा. पोखरेलले भने, ‘हामी छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँदै छौँ ।’

जनतालाई स्वास्थ्य सेवा दिने अस्पताल राज्यको कुनै पनि निकायमा दर्ता नभई सञ्चालन भएको र महाशाखाले ताकेता गर्दा समेत सम्पर्कमा नआएकोले ग्राण्डी सिटी हस्पिटलमाथि कारबाहीको प्रक्रिया अघि बढाउन लागिएको डा. पोखरेलको भनाइ छ । कारबाही प्रक्रिया सुरु गर्न छुट्टै समिति गठन गरेर अध्ययन भइरहेको डा. पोखरेलले बताए ।

‘हामीलाई धेरैतिरबाट उजुरी आयो, त्यो अस्पताल दर्ता छ कि छैन भनेर, हामीले दुई–तीन पटक उहाँहरू (अस्पताल प्रशासन) लाई जानकारी गरायौँ तर रेस्पोन्स पटक्कै आएन,’ डा. पोखरेलले खबरहबसँग भने, ‘प्रदेश र जिल्लाका स्वास्थ्य निकायले पनि दर्ता नभएको जानकारी गराएपछि हामीले कारबाहीका लागि छानविन समिति गठन गरेका छौँ ।’

कोरोना संक्रमणका कारणले छानविनमा केही ढिलाइ भएको डा. पोखरेलको भनाइ छ । उनका अनुसार पहिलो चरणको लकडाउन सकिएपछि छनविन समिति बनाएकोमा फेरि निषेधाज्ञा लागू भएकोले अस्पताल गएर छानविन गर्न नसकेको हो ।

उनले भने, ‘हामीले सरकारी निकायमा संस्था दर्ता भएको देखेनौँ, अब हाम्रो समिति त्यहाँ गएर अनुसन्धान गर्छ । गैरकानुनी रूपमा सञ्चालन भएको रहेछ भने हामी कारबाही गर्छौं ।’

डा. पोखरेलका अनुसार ७ वर्षदेखि सञ्चालित उक्त अस्पताल जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता भएको हुनुपर्ने हो तर दर्ता नभएको पाइएको छ ।

डा. पोखरेलका अनुसार ५० शय्यासम्मका अस्पताल प्रदेश सरकारले स्थापना, सञ्चालन र स्तरोन्नति तथा अनुगमन गर्ने प्रावधान छ । यस्तै, ५१ देखि २०० शय्यासम्मका अस्पताल स्वास्थ्य सेवा विभागले दर्ता, अनुमित, नियमन तथा नियन्त्रण गर्ने र २०० शय्याभन्दा माथिका निजी मेडिकल कलेज तथा अस्पताल स्वास्थ्य मन्त्रालयले नियमन गर्ने व्यवस्था छ ।

ग्राण्डी सिटी हस्पिटलले सेवा सुरु गर्दाको प्रावधानअनुसार जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता भएको हुनुपर्ने थियो तर डा. पोखरेलका अनुसार कतै पनि दर्ता भएको पाइएन । उनले भने, ‘आइसियु सेवासमेत रहेको भन्ने उजुरी परेकाले त्यो अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएको जस्तो देखिन्छ ।’

यसरी सुरु भयो हस्पिटल

ज्योति भवन, कान्तिपथमा रहेको ग्राण्डी सिटी हस्पिटल सन् २०१३ मा धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा सञ्चालन भएको थियो ।

सञ्चालकहरूबीचको मतभेदका कारण कान्तिपथमा रहेको शाखा अस्पताल ‘ग्राण्डी सिटी हस्पिटल’ नामले सञ्चालन हुन थाल्यो ।

प्रतिक्रिया दिन अस्वीकार

ग्राण्डी सिटी हस्पिटल दर्ता नभएको भनेर परेको उजुरीका सम्बन्धमा हस्पिटल प्रशासनसँग जानकारी माग्ने प्रयास गर्दा कुनै जानकारी उपलब्ध भएन ।

हस्पिटलको वेबसाइटमा दिइएका नम्बरमा फोन गर्दा ‘ग्राण्डी सिटी हस्पिटल’ भनेर फोन उठाउनेले कुरा गराउने प्रयास गरे पनि सफल भएनन् ।

वेबसाइटमा दिइएको इमेल ठेगानमा इमेल पठाएकोमा इमेल प्राप्त भएको मौखिक जानकारी दिए पनि कुनै जवाफ प्राप्त भएन । यसैगरी, वेबसाइटमा जिज्ञासा दर्ता गराउने स्थानमा पठाएको जिज्ञासामा पनि कुनै प्रतिक्रिया प्राप्त भएन ।

फोन उठाउने व्यक्तिले आफू रिसेप्सनको कर्मचारी रहेको र अस्पतालका कुनै पनि व्यक्तिको नाम र व्यक्तिगत फोन नम्बर उपलव्ध गराउने अनुमति नभएको बताए ।

अस्पताल प्रशासनका आधिकारिक व्यक्तिको नाम र फोन नम्बर प्राप्त गर्ने दुई दिनको प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ३ : १० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल